चराचुरुङ्गीको चिरबिर चिरबिर आवज
भालेको डाको
चिसोचिसो मौसममा
आँखा मिच्दै
गुडमर्निङ म्यासेज पठाउँछु
म्यासेजमै कफीको कप सेन्ट गर्छु
दिनभरि बेलाबेला म्यासेज कल गरेर सताउँछु
अनि जब साँझ पर्छ
कल गरेर दिनभरिको बेलिबिस्तार लगाउँछु ।
दशैँ आउँछ आफ्नो खाली निधार छाम्छु
तिहार आउँछ टीकाको दिन टीका लगाउने निधारमा
पसिना बगिरहेको कल्पना गर्छु
सपनामै दादा भनेर चिच्याउँछु
यता मेरो सहजै यतिको उमेरमा न्वारान गरिदिन्छन्
पागल भन्छन्, बौलाही भन्छन्
सुस्ता भन्छन्
म सहर्ष स्विकार्न तयार छु
किनकि
मेरो दादा घर आउने आशमा
सपनाको माला उनिरहेकी छु
जुन दिन सिङगो माला बन्ने छ
त्यो दिन
सानो झुपडीमा माइतीको आगमन हुनेछ ।
हरेक दिनमा होस् या रातमा
मलाई बुने भनेर बोलाएको आभाष हुन्छ
अनि लाग्छ मेरो दादा यहीँ कतै मेरो नजिकै हुनुहुन्छ
मेरो मनमा
मेरो खुसीमा
मेरो दुःखमा
मेरो सपनामा
अनि मेरो एक मुठी प्राण रहुनजेल मेरो साथमा ।
दादा आउने दशैँमा बहिनीको निधार खालि नहोस्
अनि तिहारमा हजुरको ।
(हतुवागढी हाल सुनसरी चतरा)