एउटै धर्ती टेक्छ्यौ तिमी जहाँ म उभिएको छु
त्यही आकाश हो तिम्रो पनि म ओतिने गरेकै
क्षितिजको वल्लो-पल्लो छेउ र पृथ्वीको अक्षांश-देशान्तर
एकै-एकै हुन् हाम्रा
प्रभात-साँझ, दिन-रात
अन्तर नै के छ र हाम्रा लागि ?
हुँदा-हुँदै पनि बारम्बार तिमी देखिने मेरा सम्मुखहरु
सधैं-सधैं दोबाटोहरुमा भेटिंदाधरी तिमी दूर दराजझैं प्रतीत छ्यौ
अवाक सुस्केरामा आँफैलाई सोध्ने गर्छु
किन छुन सकिरहेको छैन म तिमीलाई !
फूलहरु तिमीतिरै लर्किएर जान्छन्
पवनहरु उसैगरी
तिम्रै झ्याल,ढोका,छिड्किनी र भेन्टीलेशनतिर फर्किएर जान्छन्
चुम्बकिय स्पर्श तृषित मेरो मन बेचैन छ,आहात छ
रित्तो…एकदमै रित्तो…खाली महशुस मात्र छ मसँग
आफ्नै नावीको शुवासना थाहा नपाएर रन-बन,चार-चौरास भौंतारिने कस्तुरी तिमी
म भने तिम्रो वदनबाट छुटेको
इन्सेक्ट किलर अत्तरको चर्को रागमा
जीवन भोगको तृप्तिच कल्पिरहेछु
ओभानो तिम्रो सिउँदोको निमन्त्रणा याचीत मेरा पारदर्शी औंलाहरु
तिम्रो प्रेमिल सर्वाङ्गको सुकोमलतामा
आफ्नो बैंशालु रहरको मधुमास खोजिरहेछन् l
किन यत्ति प्रिय लाग्छ्यौ तिमी ?
नानाथरी प्रश्नका हुलहरु मेरै सिरानीमा
अनुत्तरित भएर खसिरहन्छन् निरन्तर-निरन्तर
यी यावत् जवाफबिहिन सवालहरु नै पो तिमी हौ कि ?
मैले अन्दाज गर्न नसकेको ध्रुब सत्य
हुन सक्छ तिम्रै अस्तित्वमा निहित छ
तिमी दूराकाशकी जून त हुँदै होइनौ
न त पा……री क्षितिजमा चम्किने तारा नै
मेरै भूगोलको समकक्षी बगैंचामा
ढकमक्क फूलेकी फूल नै हौ तिमी l
र पनि टपक्क टिपेर कानमा सिउरिन,
छातीमा टाँस्न, गलामा पहिरिन
या त मेरो मन मन्दिरको भगवानलाई चढाउन
किन असमर्थता झेल्दैछु म ?
आखिर किन यत्ती अप्राप्य लाग्छ्यौ तिमी ?
कालो बादल जस्तो तिम्रो केशरासी सुमसुम्याउने
र चिउँडो उचालेर आँखैनेर टाँस्ने चाहनाको पर्खाल टेकेर
पहिल्यै देखीको तिमीलाई छुने रहर पूरा गर्न व्यग्रातुर छु म
लाग्दैछ कुन दिन पहाडसँग दुश्मनी गरेरै भए पनि
तिमीभित्रै समाहित हुन घ्वाम्लाङ्गै हाम्फाल्नेछु म
तिम्रै अङगालोभरिको गाथमा
सिर्फ तिमीलाई छुने रहर मेटाउन ।
(भोजपुर हाल सेसेल्स)