यौटा गीत तँ लेखिदे न दुनियाँ त्यै गीत गाई हिँडोस् यस्तो गीत तँ लेखिदे जगतनै त्यै गीतमा लठ्ठियोस् घन्कोस् मादल खैजडी र मुजुरा सङ्गीतमा बाँसुरी आऊन् विम्ब प्रतीक छम्छम गरी लालित्य शब्दावली । यौटा पुस्तक लेखिदे मन छुने बेजोड आख्यानको पढ्दा देश पढेँकि झैँ हुनसकोस् भण्डार होस् ज्ञानको घोचोस् चस्चस छेडिएर मुटुनै चिर्दै कलेजो पनि जल्ले गर्दछ राष्ट्रघात तिनकोअस्तित्व निम्ट्याउनी । तेरो गीत सुनेर चर्चर फुटोस् पर्खाल चट्टानको तेरा काव्य पढेर होस गुमहोस् बैमान सैतानको छादून् हुल्हुल गिध्दले सडकमै उठ्नै नसक्ने गरी चिच्याओस् तर मौन भै जन बसून् हेरेर आँखा तरी । भष्मीभूत बनेर उठ्न नसकून् यो देशका दुस्मन आऊन् स्वच्छ विचार धार शिरमा ढोका खुलून् कन्चन तेरो काव्यिक चेतनासित उठोस् यो देशको गौरव यौटै होस् तर भव्य होस् कलमको सामर्थ्यको सौरभ । कोदाली फरुवा उठून् जुरजुरी आख्यान तेरा पढी कापीमा रङ पोतिऊन् कलमको आभा सुनौलो छरी हल्लाओस् जग भत्कियोस् चरचरी त्यो सिंहदर्वारको साँढेको सिङ भाँचियोस् अधमरो त्यो बालुवाटारको । नाडीमा बल प्राप्तहोस् युवकको यो देश चम्काउने खाडी होइन देशमै श्रमिकको संसार फर्काउने तेरो लेखनशक्तिबाट दुनियाँ हावा र कावा बनोस् रातो घाम सँगैसँगै मुलुकको गाथा नयाँ कोरियोस् । (चितवन)