चिनियाँ साहित्यकार मो यन (Mo Yan) २ फेब्रुअरी, १९५५ मा जनवादी गणतन्त्र चीनको शान्दोङ् प्रान्तको उत्तर–पूर्वमा पर्ने गाओमी नगर छेउको पिङ्गान गाउँको एउटा किसान परिवारमा जन्मेका थिए । चारवटा छोराछोरी मध्ये दुई दाइ र एउटी दिदी पछिका उनी कान्छा थिए । मोका बाबुहरुको पुख्र्यौली सम्पत्तिको अंशबण्डा नभएको हुँदा सबै संयुक्त परिवारमा भएकोले गाउँमा उनको परिवार निकै ठुलो थियो । आफ्ना उपन्यासहरुमा मोले त्यस घरको बर्णन पनि गरेका छन् ।
उनको खास नाउँ गुआँ मोये (Guan Moye) हो । उनका बाबुको नाउँ गाओ शुजुआन र आमाको नाउँ यिफान गुआँ हो । बाल्यकालमा उनी अल्छी थिए, धेरै खान खोज्ने लोभी थिए र धेरै बोलिरहन्थे । त्यसैले गाउँ र आफ्नो परिवारमा समेत उनलाई कसैले मन पराउँदैनथे ।
छोरालाई कसैले माया नगर्ने हुँदा उनकी आमा लज्जित थिइन् । उनको परिवार गरिब थियो । आफ्नो बाल्यकाल सम्झँदै उनी भन्छन्, “आफ्नो दुखद बाल्यकाल मेरो स्मरणमा गहिरिएर बसेको छ । भोकले हुने शारीरिक कष्ट मात्र असह्य हुँदैन, कसैबाट माया नपाउनु झन् कष्टप्रद हुन्छ । गाउँमा मलाई कसैले पनि त्यति मन पराउँदैनथे, वास्तवमा सबैले मलाई घृणा गर्थे । मैले त्यस चरित्रलाई आफ्नो कथा “गोरु” मा प्रस्तुत गरेको छु ।”
उनले आफ्नो गाउँको प्राथमिक स्कुलमा पाँचौ कक्षासम्मको अध्ययन गरे । राम्रो ग्रेड ल्याउन नसके पनि र उनलाई कसैले मन नपराए पनि उनमा एउटा विशेष योग्यता थियो । उनको हस्तलिपि भने अब्बल थियो । एक पटक गाउँको कृषि माध्यमिक विद्यालयका शिक्षकले मोले लेखेको निबन्ध कक्षा कोठामा विद्यार्थीलाई पढेर सुनाउनु भयो । यस घटनाबाट उनका बाबु आमालाई खुशी भए । त्यसपछि चीनमा साँस्कृतिक क्रान्ति शुरु भयो । अनि उनका दु:खका दिन शुरु भए । उनले स्कुलको भित्तामा जथाभावी लेखेको भनी स्कुललाई नै समस्यामा पारे ।
सन् १९६७ को गृष्ममा उनले स्कुल छोडे । त्यसपछि पढाइ छोडी ११ वर्षको उमेरमा उनी गाईवस्तुको हेरचाह गर्ने गोठालोको काम गर्न थाले । स्कुल अगाडिबाट गाईवस्तु धपाउँदै हिँड्दा उनका पहिलेका साथीहरु स्कुलको चउरमा खेलिरहेका हुन्थे । घाँसको भारी बोकेर स्कुलको ढोका अगाडिबाट बाटो काट्ता उनी आफूलाई समूहबाट निष्कासित भए झैँ एक्लो ठान्थे ।
सन् १९७३ मा उनले एउटा कारखानामा पनि काम गरे । युवा अवस्थामा सन् १९७६मा चिनियाँ जनमुक्ति सेनामा छनौट भएपछि उनको साहित्यिक प्रतिभा प्रस्फुटन भयो । मो यनले सन् १९७९ मा दु किन्तानसँग विवाह गरेका थिए । सन् १९८४ देखि १९८६ सम्म उनले चिनियाँ जनमुक्ति सेनाको कला प्रतिष्ठानमा अध्ययन गर्ने मौका पाए ।
सन् १९८१ देखि आफ्नो फूल नाउँ मो यन (जसको अर्थ ‘नबोल्नु’ भन्ने हुन्छ) बाट उनले कथा लेख्न थालेका थिए । जनमुक्ति सेनामै छँदा उनले Touming de hongluobo(पारदर्शी रातो मुला), Baozha (बिस्फोट) र अरु कथाहरु प्रकाशित गरे । उनको ‘रेड सोरघुम’ पछि चारवटा आख्यानहरुमा प्रकाशित भयो । उनको रोमान्सेली ऐतिहासिक आख्यान Honggaoliang (रेड सोरघुम, १९८६) माथि १९८७ मा फिल्म बनेपछि उनी विश्वभर चर्चित भए ।
मो यन कथा, उपन्यास र निबन्ध विधाहरुमा कलम चलाउँछन् । उनका पहिलेका कृतिहरु त्यस बखतका शासकहरुको चाहना अनुसारका हुने गर्थे भने आज उनी आफ्नो स्वतन्त्र बाटो अवलम्बन गर्दछन् । होङ् गाओलियाङ जिआजु (Red Sorghum), तिआनताङ् सुआन्ताइ झी जे (The Garlic Ballads) र शेङसी पिलाओ (Life and Death are Wearing Me Out) उनका महत्वपूर्ण कृतिहरु हुन् ।
उनको लेखन शैली मुख्यतः जादुमयी यथार्थवाद हो । काल्पनिक घटनालाई वास्तविक झैँ लाग्ने गरी प्रस्तुत गर्ने साहित्यिक शैलीलाई जादुमयी यथार्थवाद भनिन्छ । उनी प्रायः आफ्ना कृतिहरु चिनियाँ लोक साहित्य, दन्त्यकथा, उखान, पौराणिक कथा र जनप्रिय लोकोक्तिहरुबाट प्रारम्भ गर्दछन् र तिनलाई इतिहास र समकालीन सामाजिक सन्दर्भसँग जोड्छन् । गम्भीर विषयलाई पनि हाँस्यब्यङ्ग्यमा रुपान्तरण गर्नसक्ने र काल्पनिक विषयलाई आफ्नै आँखाले देखे जस्तो गरी प्रस्तुत गर्नसक्ने उनको लेखन शैली विशिष्ट प्रकारको छ । मानवीय लालच र भंष्टाचार उनका धेरैजसो सिर्जनाहरुमा पाइने साझा विषयवस्तु हुन् । उनका पुस्तकमा चीनको सामाजिक आलोचना समावेश भएता पनि उनी चीनका अग्रपङ्तिका लेखक भनी चिनिए ।
सन् १९८९ मा उनको उपन्यास तिआन्ताङ सुआन्ताइ झि गे (The Garlic Ballads) प्रकाशित भएको थियो भने १९९५ मा उनका कथाहरुको सङ्कलन ‘सङ्कलित रचनाहरु’ प्रकाशित भयो । त्यस सङ्ग्रहमा उनले आफूले सफल मानेको कथा ‘जिउगुओ (१९९२)’ (द रिपब्लिक अफ वाइन) पनि समावेश भएको थियो । उनको उपन्यास फेङ्ग्रु फीतुन,१९९५ (ठुला छाति र चौडा नितम्ब) प्रकाशित भएपछि उनी विवादास्पद बने । चिनियाँ कम्युनिष्ट पार्टीले यस कृतिलाई वर्ग सङ्घर्षको अवधारणा चित्रण गर्न नसकेको र यौनिक विषयवस्तुलाई प्रस्तुत गरेको भनी आलोचना ग¥यो । त्यस पुस्तकबारे आत्मआलोचन गर्न उनी बाध्य भए र त्यसपछि त्यस कृतिलाई प्रकाशनबाट हटाइयो ।
सन् १९९७ मा मोले चिनियाँ जनमुक्ति सेवा छाडे र समाचार पत्रको सम्पादन गर्न लागे । त्यसपछि उनी आफ्नो गाउँको पृष्ठभूमिमा आख्यानहरु लेख्न थाले । उनका पछिल्ला अरु कृतिहरु यी हुन्ः आटओटा कथाहरुको सङ्ग्रह शिफु यु लाइ यु मो (२०००) (शिफु हँसाउनको लागि तिमी जे पनि गर्न सक्छौ), उपन्यासहरुः (१) तानजियाङ जिङ २००१, (सेण्डलउड डेथ), शेङ्सी पिलाओ २००६, (लाइफ एण्ड डेथ आर वियरिङ्ग मि आउट) र वा (Wa) २००९ (फ्रग) ।
उनी ग्याब्रियल गार्सिया मार्खेज, विलियम फकनर, जेम्स जोयस, मिशिमा युकिओबाट प्रभावित छन् । उनले आफ्ना आख्यानहरुमा पौराणिक विषयदेखि यथार्थवाद, ब्यङ्ग्यात्मक देखि प्रेमका विषयवस्तु अँगालेता पनि मानवतावादलाई गम्भीर रुपमा लिएका छन् ।
मोले कल्पनाशील र मानवतावादी उपन्यासका लागि सन् २०१२ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए । नोबेल पुरस्कार प्राप्त गरेपछि विश्वभर उनी चर्चित मात्र भएनन्, विवादास्पद बनी बने । चिनियाँ कम्युनिष्ट पार्टीको बफादार सदस्य, जनमुक्ति सेनाका समर्पित योद्धा, चिनियाँ लेखक सङ्घका उपाध्यक्ष र चिनियाँ राजनीतिक व्यवस्थाप्रति भिन्न मत राख्ने विदेशी कार्यक्रमहरुका बहिष्कारवादी एउटा लेखकले नोबेल पुरस्कार प्राप्त गर्नु पश्चिमा बुज्र्वा मिडिया र आलोचक वृत्तमा एक विवादास्पद विषय बन्यो ।
राजनीतिक सेन्सरसिप लागु भएको देशको लेखकले के उत्कृष्ट सिर्जना तयार गर्न सक्छ ? उनका कृतिमा ग्रामीण शब्दहरुको गन्जागोल र साम्यावादी भाषाका शब्दजाल भन्दा बढी के उत्कृष्ट साहित्यको आशा राख्न सकिन्छ भन्ने जस्ता अनेकौँ नकारात्मक टिका टिप्पणीहरु भए ।
के जनताका बिचमा काम गर्ने वातावरण र त्यसको अनुभवबाट मो साहित्यकार बनेका हुन् ? जनताबाट अलग्गिएर पनि कोही सफल साहित्यकार बन्न सक्छ ? निश्चय नै भुइँ मानिस अथवा तल्लो वर्गका जनताको जनजीविका, उत्पीडन र समस्या बारे साहित्यिक सिर्जना गर्ने हो भने जनताको बिचमा नगई कुनै पनि साहित्यकार सफल लेखक बन्न सक्तैन । त्यसैले जनताको बिचमा काम गरेको अनुभवबाट नै उनलाई साहित्यिक कर्म गर्ने वातावरणबाट मिलेको हो ।
साहित्यमा कला पक्ष आवश्यक हुन्छ, तर ‘कलाको निम्ति कला’ भनिने मनगढन्ते साहित्यको निम्ति भने जनताको माझ नगए पनि हुन्छ; यौन, कल्पना र उडन्ते कुरा भए पुग्छ । स्वीडेनमा निर्वासित चिनियाँ मूलका प्रतिक्रियावादी लेखक मो लिका विचारमा मो यनलाई नोबेल पुरस्कार प्रदान गरेर स्वीडिश एकेडेमीले यसका संस्थापकले स्थापित गरेका सिद्धान्तलाई नै उल्लङ्घन गरी सत्ता शक्तिसँग सम्झौता गरेको छ ।
तर स्वीडिस एकेडेमीमा सदस्यहरुको भनाइ भने बेग्लै छ, स्वीडिस एकेडेमीका सदस्य गुस्ताफ हेल्स्ट्रोमका भनाइमा अमेरिकी लेखक विलियम फकनरलाई झैँ मो यानलाई यो पुरस्कार न्याय र मानवताको निम्ति दिइएको हो । मोलाई यो पुरस्कार प्रदान गर्दा विशेषतः सामाजिक अन्यायको आलोचनात्मक कथा प्रस्तुत गर्ने उनको क्षमता वा शैलीलाई प्रमुख रुपमा हेरिएको छ ।