बहिनी ताराले फोनमा लामै कुरा गरिन् र अन्त्यमा भनिन्, “पर्सि बिहीवार एघार बजे भेट्ने निधो भएको छ । सबै कुरा गर्ने हजुरले नै हो, समयमै आउनुहोला ।”
म अक्कनबक्क भएँ ।
मेरो बसाई तिलोत्तमा– ८, दिपनगरमा थियो । बहिनीहरू बुटवल बस्ने हुँदा जान आउन त्यत्ति टाढा त होइन तर कोभिडले चारैतिरबाट घेर्दै आइरहेको हुनाले अति जरुरी काम परेमा बाहेकघरबाट बाहिर निस्केको थिइनँ । बहिनीले भान्जीको विवाहजस्तो महत्त्वपूर्ण काममा बोलाएपछि आउँदिन भन्न पनि सकिनँ । निकै सकसमा परेँ ।
बहिनी र ज्वाइँ बुटवलका व्यापारी भएकाले नियमित रूपमा पसल खोल्नु उहाँहरूको बाध्यता थियो । पसलमा अनेकौँ किसिमका मानिसहरू आउँथे । पैसाको कारोबार हुन्थ्यो । त्यसैले उहाँहरूलाई कोभिड सङ्क्रमण हुने सम्भावना अधिक हुन्थ्यो । पटक पटक फोन गरेर सतर्क हुन सल्लाह पनि दिइरहेको थिएँ । जे होस्, कोरोना सङ्क्रमण भयो भन्ने खालको अप्रिय समाचार सुन्नु परेको थिएन । त्यस्तो अवस्थामा उहाँहरूकै घरमा जानु, भेटघाट गर्नु र चिया खाजा खानु कम चुनौतिको विषय थिएन । तैपनि गह्रौँ मन बनाएर सहमति जनाएँ ।
वि.सं. २०७७ साल भाद्र १८ गते बिहीबार बिहान ठिक एघार बजे भेट्ने, सङ्क्षेपमा कुराकानी गर्ने र फर्किने कार्यक्रम तय भएको थियो । सोही अनुसार मैले आफ्नो तयारी गर्दै थिएँ । सुरुमा म एक्लै जाने विचार गरेको थिएँ । पछि सुमन पनि जाने भए । छोरा सँगै जानेभएपछि मलाई झन् सजिलो भयो ।
म समयको पक्का छु । जहिले जहाँ जाँदा पनि समयमै पुग्छु र अरु पनि समयमै पुगुन भन्ने अपेक्षा राख्छु । जागिरको सिलसिलामा पनि मैले यो नियमलाई पालना गरिरहेँ । जिल्लाको प्रमुख भई काम गर्दा पनि मैले सबैलाई समयमै जुट्ने र समयको पूर्ण पालना गर्ने वातावरण बनाएको थिएँ । सुरु सुरुमा केही असजिलो भएको भए पनि पछि सहज हुँदै गएको थियो ।
एघार बजे भेट्ने कार्यक्रम तय भएको हुनाले घरबाट समयमै हिँड्यौँ । बुटवल चौराहा पुग्दा मेरो घडीमा बिहानको १०ः५० बज्दै थियो, त्यस्तैमा फोनको घण्टी बज्यो । ताराले गरेकी रहिछन् भनिन्, “दाजु एघार बजे आउने भन्नुभएको थियो तर उहाँहरू आउन केही ढिला हुन्छ रे, एक बजेको समय दिनुभएको छ । कसो गरौँ ?”
झनक्क रिस उठ्यो । ‘समय दिएपछि समयमा आउनुपर्दैन ?’ मनमनै भनेँ । तर, बहिनीसँग रिस पोख्न उचित हुन्नथ्यो, त्यसैले आफूलाई सहज बनाउँदै भनेँ, “हामी नजिकै आइसकेका छौँ । त्यैँ आउँछौँ र भेटेरै कुरा गरौँला ।”
दुई घण्टा समय कसरी बिताउने भन्ने समस्याले पिरोल्न थाल्यो । सुमनसँग सल्लाह गरेँ । केही समयको लागि जमुना बहिनीको घरमा जानेसल्लाह भयो ।
कोभिडको जोखिम भएको बेला बिनाकाम अर्काको घरमा जानु र बस्नु पनि राम्रो हुँदैनथ्यो । अर्को कुरा भान्जीको विवाहको कुरो पक्का नभएसम्म कतै जानकारी नगराउने भन्ने पूर्व सहमति भएको हुनाले बुटवल आउनुको कारण बताउन पनि मिल्दैनथ्यो । त्यसैले जमुनाको घरमा बस्दा पनि साह्रै समस्या प¥यो । ‘एक जना साथीलाई भेट्न आएका थियौँ’ भनेर झूठो बोल्यौँ ।
जेनतेन एक बज्यो । त्यो समय पनि केटा पक्षले नै दिएको समय थियो तैपनि उहाँहरूको आगमन भएन । पर्खदा पर्खदै पट्यार लाग्न थाल्यो । दुई बज्यो, तीन बज्यो, चार बज्यो तैपनि उहाँहरू आउनु भएन । ‘कतै विवाह गर्नै पो नखोजेका हुन् कि ?’ मनमा शङ्का लाग्न थाल्यो । मेरो शङ्का सबैका सामू सुनाएँ । भान्जीले भनिन्, “त्यसो होइन, आउनुहुन्छ । एक जना अङ्कललाई पर्खिंदा ढिलो भएको हो रे ! उहाँहरू त बिहानैदेखि तयार भएर बस्नुभएको छ ।”
कुर्नु थियो कु¥यौँ । बेलुकी पाँच बजेको हाराहारीमा उहाँहरू आउनु भयो ।
सामान्य कुराकानी भए । पछि विषयवस्तुमा प्रवेश ग¥यौँ । अलिअलि कुराकानी पहिलेदेखि नै भएको रहेछ, त्यो दिन पहिले भएका कुराकानीलाई औपचारिकता दिने काम भयो । विवाह हुने कुरा पक्का भयो ।
छोरी हेर्न र विवाहको छिनोफानो गर्न आउने केटा पक्षलाई मानसम्मान गर्नु हाम्रो नेपाली संस्कार हो । त्यसैले बहिनीले फलफूल, मिठाई, दही लगायत खानेवस्तुको जोहो गरेकी थिइन् । भोक लागेको थियो । फ्रिजको जुस, दही, मिठाई, फलफूल सबै चिज खायौँ । चिया नास्तापछि भेटघाटको कार्यक्रम समाप्त भयो । हासीखुसीसाथ बिदावारी भयौँ ।
साँझ खासै खाना खान मन लागेन । हल्काफुल्का खाएर शयनकक्षतिर लागेँ ।
राति सुतिरहेको बेला घाँटी खसखस गरेजस्तो भयो । दिउँसो खाएको चिसो रसबरी र दहीले होला भन्ने अनुमान लगाएँ । बिहान उठ्ने बेलासम्म त्यो क्रम बढ्दै गयो ।
बिहान उठेर तातो पानी र तातो चिया खाएँ तैपनि घाँटीको खसखस कम भएन ।
‘कोरोनाको ओखती गुर्जो हो ।’ सबैले यसै भन्थे । त्यो बेला गुर्जोको गुणगान, माग र प्रयोगले एक छत्र शासन गरेको थियो । चिया नास्तापछि लागेँ म पनि गुर्जोको खोजीमा ।
गाउँ डुलेँ । घर घर चाहारेँ र धेरै जनासँग सोधेँ । भेट्नेजतिले सोधे, “कसलाई के भयो र ?”
कति जना त सशङ्कित पनि भए । सहज रूपमा जवाफ दिएँ, “केही होइन, पूर्वतयारी मात्रै गरेको !”
भेटेँ, एउटा घरमा ठुलै झाल रहेछ । दुई चार टुक्रा दिए । त्यति भएपछि दुई चार दिन झोल खान पर्याप्त भयो ।
घर आएर गुर्जोलाई पानीमा पकाएर तितो पानी पिएँ । तैपनि बिसको उन्निस भएन । दिनभरि पनि असजिलो भइरह्यो । बेलुकीतिर नाक पनि बन्द भयो । खाना खाने रुचि मर्दै जान थाल्यो । बेलुकी राम्ररी निद्रा पनि परेन ।
बिहान उठेपछि कतै डुल्न, घुम्न वा कुनै घरायसी काम गर्न पनि मन लागेन । पढ्ने लेख्ने कुरामा त झन् ध्यानै गएन । जीउ गलेजस्तो, अल्छी लागेजस्तो, दिक्क लागेजस्तो भयो । सुमनको अनुहारमा हेरेँ, उनको अनुहार पनि उज्ज्यालो थिएन । उनले भने, “के भयो भयो मलाई त रातभरि फिटिक्कै निद्रा लागेन ।”
सुमनको सुत्ने कोठा त छुट्टै थियो नै, म पनि अलग्गै कोठामा सुत्न थालेँ । आर्यालाई बोक्ने वा काखमा लिने काम पनि बन्द गरेँ । नातिनीको हेरचाहको जिम्मा पनि मीनाले नै लिइन् ।
एकदुई दिनपछि खानाको स्वाद हराएको महसुस भयो । चिया पनि बेस्वादिलो लाग्न थाल्यो । डराई डराई बहिनीलाई फोन गरेँ ।
“सासु बिरामी भएर तनावमा छु दाजु !” बहिनीले भनिन् ।
“के भयो ?” आत्तिँदै सोधेँ ।
“पखला र बमिट नरोकिएकोले अस्पतालमा भर्ना गरेका छौँ ।”
बहिनीको कुरा सुनेपछि मेरो छाती ढुकढुक गर्न थाल्यो । यो सबै कोभिडको लक्षण हो भन्ने कुरा थाहा थियो मलाई । त्यसैले बिस्तारै सोधेँ, “कोरोना जाँच गरायौ त ?”
“पर्दैन भन्नुभएको छ डाक्टरसाहेबले । सामान्य झाडापखला हो रे । उपचार भइरहेको छ ।”
दिनभरि छटपटी भयो । खाना खान मन लागेन । राति फिटिक्कै आँखा जोडिएनन् । मनमा अनेकौँ कुरा खेल्न थाले ।
कोरोनाको प्रभाव बढ्दै गइरहेको थियो । त्यसको मारमा परिने भइयो भन्ने डरले शरीरमा रक्त प्रवाह पनि बढ्दै जान थाल्यो ।
अर्को दिन मीनाले भनिन्, “धाराको पानीमा गन्ध आइरहेको छ । मुसोसुसो म¥यो कि ।”
छतको टङ्कीमा गएर हेरेँ, केही देखिनँ । त्यही कुरो मीनालाई रिपोटिङ गरेँ ।
उनले मेरो कुरामा विश्वास गरिनन् कि, आफैमाथि गइन् । टङ्कीको ढक्कन खोल्नासाथ वमिट आउलाजस्तै गरी गन्हाएको रहेछ । उनले सुमनलाई बोलाइन् र सबै कुरा सुनाइन् । राम्ररी हेर्दा टङ्कीमा छिपकिली मरेको पाइयो ।
तल झरेपछि मीनाले घोषणा गरिन्, “लौ हजुरलाई कोरोना भएजस्तो छ । त्यस्तो गन्ध पनि थाहा नपाउने !”
मीनाको कुराले मेरो छाती चसक्क ग¥यो । उनले थाहा नपाउने गरी आँगनको डिलमा गएँ र हजारी फूलकापात टिपेर सुघेँ । नाकको टुप्पोमै लगेपछि मात्रै अलिअलि गन्ध आयो ।
त्यसपछि त झन् गाह्रो भयो । तन र मन दुवै गल्दै जान थाल्यो । सुमनको फुर्तीफार्ती पनि बिस्तारै कम हुँदै गइरहेको थियो । बिस्तारै सुमनलाई सोधेँ, “छोरा कतै हामीलाई कोरोना त भएन ?”
हाँस्दै सुमनले भने, “मलाई त भएको छैन, तपाईँलाई भयो कि !”
केही समय यस्तै कुराकानी भए ।
एक्कासि खसीको मासु खाने इच्छा जागृत भयो मनमा । मेरो कुरालाई सुमनले पनि समर्थन जनाए । खसीको मासु ल्याउने, रस बनाउने र त्यसैसँग भात खाने सहमति भयो ।
सुमनले नै जुटाए सबै कुरा । भान्साको काम मीनाले गरिन् ।
भान्सामा जानुपूर्व भोक लाग्लाजस्तो भएको थियो तर खान बसेपछि मन म¥यो । खानामा कुनै स्वाद आएन । नुन नहालेको हो कि मसला पनि नहालेको हो कुनै पत्तो पाउन सकिनँ । त्यसपछि मन झन् खिन्न हुँदै गयो ।
हामीलाई त्यस्तो हुन थालेको चार पाँच दिन भइसकेको थियो । ‘बहिनीकी सासूलाई के भयो होला’ भन्ने चिन्ता लागिरहेको थियो मनमा । डराई डराई बहिनीलाई फोन गरेँ ।
फोन उठाउँदै बहिनीले सुइया गर्दै लामो सास फेरिन् ।
“सासूलाई कस्तो छ अहिले ?” डराई डराई सोधेँ ।
“सासूलाई घर ल्यायौँ । ठिकै छ । मै बिरामी परेँ दाजु ।”
“के भयो ?” आत्तिँदै सोधेँ ।
“सन्चो छैन । सासू बिरामी हुनुभएकोले निकै धपरी भयो । बसाउने, उठाउने सबै काम गरेर हो कि यो ढाड पनि दुखेको छ । पुरै शरीर दुखेर चल्नै नसक्ने भएकी छु ।”
उनको शरीर दुखेको खबर सुनेर मेरो टाउको दुख्न थाल्यो । छाती ढुकढुक गर्न थाल्यो । मुख पनि सुक्यो ।
“सासूलाई कस्तो छ ?” अलिकति शाहस बटुलेर सोधेँ ।
“घरमा ल्याएका छम् । पुरा होस पनि छैन । खाना खुवाउनुपर्छ ।”
बहिनीसँगको सम्वादपछि मनले हरेस खायो । बहिनीका सासू बुहारी र हामी बावु छोरालाई भएको कोभिडै हो भन्ने कुरामा म सहमत भएँ ।
“ताराका सासू बुहारी पनि सामान्य बिरामी छन् रे !” घरमा हल्का रिपोर्टिङ गरेँ ।
“के भएको रहेछ ?” मीनाले सोधिन् ।
“सामान्य धपरी होला नि । अरु के हुन्थ्यो ।” सत्य कुरा बोलिनँ ।
“बिहान चार बजे नै उठेर पसलमा पुग्नुपर्छ । बिचरीको शरीरले कति सकोस् ।” मीनाले सहानुभूति व्यक्त गर्दै भनिन्, “अहिले फोन गर्छु ।”
मलाई अहिले पनि सम्झना छ । त्यो बेला शरीर गलेर यतिसम्म भयो कि एक ठाउँबाट उठेर अर्को ठाउँमा जान पनि मन लाग्न छाड्यो । लेख्न, पढ्न त के फेसबुक र समाचार हेर्न समेत मनले मानेन । कसैसँग बोल्न मन पनि मन लाग्न छाड्यो । फोनको घण्टी बज्यो कि झर्को लाग्न थाल्यो ।
“छोरा ! जचाउन जाने कि ?” एक दिन सुमनसँग भनेँ ।
हाँस्न प्रयास गर्दै उनले भने, “पर्दैन । मलाई केही भएको छैन क्यारे, तपाईँलाई पनि कोभिडै त नहोला ।”
भन्न त भने तर उनको अनुहार पनि उज्ज्यालो थिएन । खानाको मात्रा घटेको थियो । घुमफिर बन्द भएको थियो । चौबिसै घण्टा ओछ्यानमा पल्टिरहन्थे ।
त्यसपछि मैले दिन गन्न थालेँ । आज पाँच दिन भयो, छ दिन भयो, सात दिन भयो, यस्तै यस्तै । हामीलाई त्यस्तो भएको आठ दिनपछि अलि राहत महसुस भयो ।
‘अब त मरिन्न कि ! च्याप्ने भए च्यापिसक्थ्यो । थप लक्षण देखिन्थे होला ।’ मनमनै कुरा गर्न थालेँ ।
एवम् प्रकारले दिनहरू बित्दै गए । चौध दिन भएपछि मनमा थप शाहस आयो । ‘अब पक्कै बाँचियो । अब केही हुन्न होला । हुने भए भैसक्थ्यो । चौध दिनपछि त यसै पनि नेगेटिभ सरह हुन्छ भनेको सुनेको थिएँ । त्यसैले मन थामेर बस्न थालेँ ।’
यति हुँदाहुँदै पनि त्यसको असर करिब डेड महिनासम्म परेको आभाष भयो मलाई । शरीर गलेर उठ्न नसक्ने, हिँडडुल गर्न जाँगर नचल्ने, पढ्न लेख्न पनि मन नलाग्ने आदि लक्षण जारी रहे । त्यसपछि भने बिस्तारै पुरानो अवस्थामा फर्कन थाले ।
विज्ञहरूले ‘रुघा लाग्नु, शरीर दुख्नु, काम गर्न जाँगर नचल्नु, निद्रा नलाग्नु, खाना खान रुचि नहुनु, स्वाद वा गन्ध थाहा नहुनु यी सबै कोभिडका लक्षण हुन्’ भन्ने गरेको र ती लक्षणहरू हामीमा पनि देखिएका हुँदा हामीलाई पनि कोभिड लागेको हो कि भन्ने अनुमान गर्न गाह्रो भएन ।
हामीलाई लागेको कोभिड सानु थियो जस्तो लाग्छ मलाई । सानो कोभिडले त त्यति गाह्रो बनायो भने अलि ठूलै किसिमले लागेको कोभिडले झन् कति दुःख दिन्छ होला । हिजो आज कोभिडका सङ्क्रमितहरू बढ्दै गएको, यसको प्रभाव पहिले भन्दा अहिले झन् बढी भएको, बिरामीहरूले अस्पतालमा बेड तथा अक्सिजन नपाएको र मृत्यु दरसमेत बढ्दै गएको वर्तमान अवस्था देख्दा मन वेचैन हुन्छ । कतिबेला कोरोनाले आक्रमण गर्ने हो र ज्यानै जाने हो भन्ने त्रासले पिरोलिरहन्छ ।
विज्ञहरूले भनेको सुन्छु, ‘घरभित्रै बस्नु, बाहिर ननिस्कनु, निस्कनै परे मास्क लगाउने र भौतिक दुरी कायम गर्न नबिर्सनु ।’
विज्ञहरूका कुरा सुन्दा भने मन अलिकति हल्का हुन्छ ।
कोभिडको मुख्य औषधि नै आफू सुरक्षित हुनु हो । ‘मलाई के हुन्छ र ?’ भन्दै मुख देखाएर र छाती फुलाएर हिँड्ने बेला होइन यो । धेरै सज्जनहरूले मास्क लगाउने तर कसैसँग कुरा गर्ने बेला मास्क झिकेर बोल्ने गरेको पनि देखिन्छ । त्यो गर्नु पनि अपराध हो । कतिपयले चिउँडोमा मास्क लगाएर हिँडेको देखिन्छ । त्यो पनि मुर्खताबाहेक केही होइन ।
त्यसैले, सकभर घरमै बसौँ, सुरक्षित बनौँ । बाहिर निस्किँनै परे मास्कको उचित प्रयोग गरौँ । अहिलेको पहिलो प्राथमिकता बाच्नु हो । पहिले बाचाँै, त्यसपछि अरु काम गरौँला । हुँदैन र ?
(रूपन्देही)