(१) पढ, फेरि पनि पढ
विधासिद्धान्त पढेर लेखक भइँदैन भन्ने मत छ मेरो । म पनि विधासिद्धान्त पढेर लेखक भएको हैन । मैले विधासिद्धान्त धेरैपछि पढेको हुँ, जतिखेर म कविमा दरिइसकेको थिएँ । यसको अर्थ म जन्मजात कवि गुण लिएर आएको थिएँ भन्न खोजेको हैन । म त कविता पढेर कवि भएको मान्छे हुँ ।
यस्तो कुराले म अराजक ठहरिन सक्छु । कतिपयले यति पढेपछि नाक खुम्च्याउने छन् । विधासिद्धान्तलाई नै लेखन र अध्ययनको मूल आधार मान्नेहरूका लागि यस्ता कुराले गम्भीर बनाउनु स्वभाविकै हो । उनलाई लाग्नसक्छ यो सबै उत्तरआधुनिकतावादी विभ्रम हो । उत्तरसंरचनावादी वा यस्तैयस्तै ।
अहिले म आख्यानको जुन ठाउँमा उभिएको छु यो मेरो आख्यानप्रतिको वर्षौंको साधनाले निर्माण गरेको चौतारी हो । सयौँ उपन्यास र कथाकृति पढेर आख्यानमा हात हालेको हुँ । यसको अर्थ आख्यान पढ्नेजति सबै लेखक हुन्छन् भन्न खोजेको हैन । कुरा सफा छ, लेखनका लागि अध्ययन अनिवार्य सर्त हो ।
मेरो दृष्टिमा लेखनको कुनै विधिशास्त्र छैन, जसले ठ्याक्कै यसरी लेखिन्छ भनेर सिकाओस । न त्यहाँ कुनै नियम र सूत्र छ जसले विजगणितमा जस्तै समस्याको हल गरोस् । यो त भावनात्मक कुरो हो । संवेदनाको कुरो हो । तसर्थ म साहित्य यसरी लेखिन्छ भनेर विधासिद्धान्तको नियम बताउने पक्षमा छैन ।
हुन त मानिसमा जे क्षमता छ त्यही बन्ने हो । प्रकृतिले हरेक मानिसलाई केही न केही प्रतिभा दिएको हुन्छ । उसले आफूभित्रको प्रतिभालाई चिन्न सके सफल हुन्छ, नसके असफल । यसको अर्थ प्रतिभा हुँदैमा ऊ सफल हुन्छ भन्ने हैन । आफूभित्र सुशुप्त अवस्थामा रहेको प्रतिभालाई प्रस्फुरण हुनका लागि पनि वातावरण चाहिन्छ । प्रतिभाको विकासमा मानिसको रुचि, उसको साधना, पारिवारिक अवस्था, सामाजिक सम्बन्ध र अध्ययनले महङ्खवपूर्ण भूमिका खेलेको हुन्छ ।
किशोरावस्थामा अरूको देखासिकीले खास विधाप्रति आकर्षण बढ्छ । यो उमेरमा कसैले राम्रो गीत गाए गायक बन्ने, राम्रो कविता लेखे कवि बन्ने र राम्रो अभिनय गरे कलाकार बन्ने चाहना जागृत हुन्छ । नेता, अभिनेता वा कलाकार बन्ने चाहना अरूको प्रतिभाबाट अभिप्रेरित भएरै गर्ने हो । प्रायः धेरैजसो स्थापित लेखक, कलाकार यस्तै अनन्त इच्छा, चाहना र अरूजस्तै बन्ने हुटहुटी पार गरेर आएका हुन्छन् ।
किशोर उमेर कपी उमेर हो भन्दा फरक नपर्ला । पढेका, सुनेका र देखेका कुराले सबैभन्दा बढी प्रभाव यही उमेरमा पार्छन् । किशोरवयको अति जिज्ञासु र संवेदनशील चरित्रले मन परेको कुरा लतका रूपमा अङ्गिकार गर्छ । किशोरसँग छनोटको अधिकार र अध्ययनको वातावरण भएमा उक्त विधा जीवनको रोजाइ बन्छ । ज्ञानका ढोकाहरू जति खुल्दै जान्छन् विधाप्रतिको अभिरुचि बढ्दै जान्छ । सुरुमा अग्रजले लेखेजस्तै, गाएजस्तै र नाचेजस्तै गर्नेहरू अब आफै गाउन थाल्छन् । आफै लेख्न र नाच्न थाल्छन् । विधाप्रतिको यही प्यासनले, अरूभन्दा राम्रो बन्ने आवेगले उनीहरू त्यही विधालाई जीवनको अहम उपलब्धि बनाउन पुग्छन् ।
सुरुमा अरूबाट प्रभावित किशोरले अध्ययनको विस्तारसँगै आफू पनि महान् लेखक बन्छु भन्ने सपना देख्न थाल्छ । ऊभित्र अरू सुन्दर र अरू धेरै लेख्ने हुटहुटी जाग्दै जान्छ । उसले लेख्छ र फेरि पढ्छ । उसले पढ्छ र फेरि लेख्छ । उसले सुन्दर कृति पढ्ने गति जति बढाउँदै लग्छ सुन्दरताको परख गर्ने चेतना पनि बढ्दै जान्छ ।
किशोरवयमा आफूले पढेको सामान्य कृति पनि सुन्दर लाग्छ । कृतिको कथा, पात्रले भोगेका कठिनाइ र सौन्दर्यात्मक अनुभूतिका कारण ऊ रन्थनिन्छ । उसलाई यस्तै कथा मैले पनि लेख्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर, समयक्रममा पहिले अब्बल लागेका कृतिहरू विस्तारै कमजोर लाग्न थाल्छन् । आफ्ना रचना र पढेका सिर्जनाबिचमा ठूलो खाडल छ भन्ने कुरा बोध हुन थाल्छ । ऊ निराश हुन्छ र फेरि पढ्छ । निरन्तरको पढाइ र लेखाइले उसको कलात्मक क्षमतामा अरू निखार आउँछ । ऊ अरू सुन्दर, अरू कलात्मक र अरू विशिष्ट सिर्जनाको खोजमा भौँतारिन थाल्छ ।
सुन्दरताको मूल्य ठाउँ, परिवेश, अध्ययन, शिक्षा, सामाजिक सम्बन्ध र सामाजिक चेतनाका आधारमा निर्माण हुने हो । दूरदराजमा बसेको सामान्य पाठकलाई औसत सिर्जना पनि सुन्दर लाग्छ । त्यसको तुलनामा विकसित भाषाका उत्कृष्ट साहित्यसँग परिचित पाठकलाई त्यस्ता रचनाहरू सामान्य लाग्न सक्छन् । सुरुमा म पनि गुलबकावलीको कथाले अति प्रभावित भएको थिएँ । समयक्रममा म पनि त्योभन्दा खँदिला र सुन्दर कृतिको खोजमा लागेँ । साहित्यकार हुन खोज्ने साथीहरूलाई म धेरैभन्दा धेरै पढ्न र त्यसमाथि लेखिएका समालोचना अध्ययन गर्न सल्लाह दिन्छु ।
मैले भिन्नभिन्न शैली र विचारका रचना नपढेको भए विधा सिद्धान्तले मात्र मलाई यो ठाउँमा ल्याउने थिएन । चेर्नोसेब्स्कीको ‘क्या करेँ’ र तोल्स्तोयको ‘आन्ना क्यारेनिना’ नपढेको भए विधासिद्धान्तका आधारमा मात्र प्रेममा अन्तर्निहित समर्पण र स्वतन्त्रताको महत् तथ्यलाई साहित्यमा कसरी देखाउन सकिन्छ भन्ने कुरा बुझ्न सक्ने थिइनँ । म्याक्सिम गोर्कीको ‘आमा’ र फ्योदर दोस्तोब्स्कीको ‘अपराध और दण्ड’ नपढेको भए चरित्रको विकास कसरी गर्नुपर्छ भन्ने महङ्खवपूर्ण पक्ष बुझ्न मलाई धेरै समय लाग्ने थियो । यो सबै बुझ्नका लागि पढ्नु नै सबैभन्दा उत्तम विकल्प हो ।
(२) विधासिद्धान्तको खोज प्रभावकारीताको यात्रा हो ।
साहित्यिक बजारमा विधासिद्धान्तबारे प्रायः बहस भइनै रहन्छ । साहित्यिक प्रशिक्षण, विश्वविद्यालय र साहित्यिक कार्यक्रममा समालोचकहरू विधासिद्धान्तमा जोड दिन्छन् । उनीहरूको भनाइ सुन्दा यस्तो लाग्छ कि विधासिद्धान्तविना रचना सिर्जना गर्न खोज्नु असम्भव कुरो हो । तर के विधासिद्धान्तविना साहित्य सिर्जना गर्न सकिदैन ?
विधासिद्धान्त साहित्यका विधाहरूको सिद्धान्त हो । साहित्य सिद्धान्तले समग्र साहित्यको अध्ययन गर्छ भने विधासिद्धान्तले एउटा विधाभित्र रहेर त्यसको साङ्गोपाङ्गो अध्ययन गर्छ । कुनै पनि विधाका रचनाको अन्तर्वस्तु, संरचना र रूप पक्षसित यसको सम्बन्ध हुन्छ । यसको अर्थ विधासिद्धान्त यतिमै सीमित रहन्छ भन्ने हैन । साहित्यकार डा. ऋषिराज बराल विधासिद्धान्तको प्रश्न केवल काव्यशास्त्रको प्रश्न मात्र नभएर सौन्दर्यशास्त्रको प्रश्न पनि हो भन्छन् । उनी लेख्छन्, ‘विधासिद्धान्त कालक्रमिक स्थिति, उत्पादन इतिहास, समाज, लेखक तथा पाठकको सौन्दर्य चाहना, सौन्दर्यात्मक आवश्यकता र सौन्दर्य बोधात्मक स्थितिसित पनि गाँसिएको प्रश्न हो ।’ (बराल : २०६३ : १०३)
विधासिद्धान्तले सिर्जनाको संरचनात्मक पक्षका विभिन्न पाटापक्षको व्याख्या विश्लेषण गर्छ । विधाको चरित्रका आधारमा भाषा, शैली, संवाद, नाटकीयता, आख्यानात्मकताको प्रयोग कसरी हुन्छ भनेर सिकाउने काम विधासिद्धान्तले गर्छ । बिम्ब विधान, प्रतीक र अलङ्कारको प्रयोगदेखि कल्पना, जादू र यसको सामाजिक र राजनीतिक पक्षको समेत विहङ्गम व्याख्या गर्छ । कविताको विधासिद्धान्तले कवितामा प्रयोग हुने भाषाको स्वरूप, विचलन र बिम्ब र अलङ्कारको प्रयोगबारे जानकारी दिन्छ । के भए कविता हुन्छ र के नभए कविता हुन्न भन्ने ज्ञान पनि विधा सिद्धान्तले दिन्छ ।
विधासिद्धान्त आलोचनात्मक दृष्टि हो । यसले सिर्जनालाई आलोचनात्मक आँखाले हेर्न सिकाउँछ । यसरी लेखे सुन्दर कविता बन्छ भन्ने तरीका बताउँछ । सिर्जना र सर्जकमा विचार र दृष्टिकोणको महङ्खव कस्तो हुन्छ ? दृष्टिकोणहीन लेखकको सिर्जना कलात्मक हुँदाहुँदै पनि कसरी प्लास्टिकको फूलजस्तो प्राणहीन हुन्छ ? यो सबै विधासिद्धान्त पढेर थाहा पाउन सकिने कुरा हुन् ।
विधासिद्धान्तले सिकाउने अर्को कुरो हो विधाको ऐतिहासिकता । विधाको विगत र वर्तमानको संरचना र यसमा प्रयोग भएको शैलीबारे विधासिद्धान्तले नै जानकारी दिन्छ । कतिपय कवि लेखकहरू पहिले नै लेखिएका वा व्यापक प्रयोगमा आएका विषय र शैलीलाई हुबहु प्रयोगमा ल्याउँछन् । कतिले विधाको अन्तरसम्बन्ध, बुनोट र बनोटका कतिपय पक्षलाई बुझ्न नसक्दा रचनालाई सशक्त बनाउन सक्दैनन् ।
हामीलाई कुनै रचना सुन्दर लाग्नुका दुई कारण हुन्छन्, एउटा संरचना र अर्को विषय । सुन्दर विषयमा लेखिएको कविताको संरचना पनि कलात्मक भयो भने पढ्न आनन्द आउँछ । हामी पनि त्यस्तै सुन्दर कविता लेख्न खोज्छौँ । लेख्छौँ पनि । तर विधासिद्धान्त नबुझेको लेखकले रचना सुन्दर हुनुका पछाडिको ऐतिहासिक र समकालीन कारणहरू बुझ्न सक्दैन । सिर्जनामा संरचनात्मक र कलात्मक एकत्वको निर्माण कसरी भएको छ छुट्याउन सक्दैन ।
विधासिद्धान्तले पनि सिर्जनाकै आधारमा संरचना, कलापक्ष र अन्तर्वस्तुमा बहस गर्ने हो । यो रचना यसकारण सुन्दर छ अथवा यो रचना विचार र कलाका दृष्टिले यसकारण सुन्दर नमूना हो भन्ने काम रचनाकै आधारमा गर्ने हो । विधासिद्धान्तले पनि सिर्जनाकै जगमा उभिएर सिद्धान्त बनाउने हो । कतिपय सामालोचकहरू सिर्जनाका लागि सिद्धान्त नै पहिलो सर्त हो भन्छन् । त्यसो किन हुन्थ्यो र ! पहिलो सर्त त सिर्जना नै हो । भावना र कल्पना नै हो ।
विधासिद्धान्त जड या यान्त्रिक नभएर परिवर्तनशील र गतिशील हुन्छ । हुनुपर्छ । जति धेरै सुन्दर रचना आउँछन्, जति धेरै प्रयोगशील र नवीन शैलीका सिर्जना आउँछन् त्यति नै छिटो विधासद्धान्तमा परिवर्तन हुन्छ ।
सौन्दर्य चिन्तन र यसका मूल्यहरूको निरुपण कुनै व्यक्तिले गर्ने हैन । जति नै प्रतिभाशाली भए पनि देवकोटाले आधुनिक कविता र उपन्यासमा काम गर्न नसक्नुको कारण उनीभित्र रहेको पुरातन विचार हो । समाजसँग अन्तक्रियाको कमी र नवीन भावधारालाई प्रष्ट रूपमा स्वीकार गर्न नसक्नु हो । त्यतिखेरको समय र समाज पनि त्यस्तै पुरातन र जर्जर थियो । उनले त्यसलाई भत्काउन सकेको भए, उनीभित्र भएको विद्वता र कल्पनाशीलतालाई नयाँ यथार्थसँग जोडेर लग्न सकेको भए, उनले आधुनिक रचना दिन सक्थे । विडम्बना ! अपार सम्भावना हुँदाहुँदै पनि उनले शास्त्रीयता र स्वच्छन्दतावादलाई मिसमास गरेर खिचडी साहित्य सिर्जना गर्नमै समय खर्चिए ।
सिर्जना होस् कि सिद्धान्त सबै समाज विकासको क्रममा देखापर्ने अन्तरविरोधका उपज हुन् । समाजमा विकसित हुने उत्पादन सम्बन्धका आधारमा रुचि, सम्बन्ध र संस्कृतिमा परिवर्तन देखिने हो । पुरातन उत्पादन सम्बन्ध र विकसित नवीन यथार्थका बिचमा हुने अन्तरविरोधले कलाको नयाँ शैली र विधाको जन्म हुने हो । उपन्यास यसैको प्राप्ति हो । आधुनिक कविता पुँजीवादी उत्पादनकै परिणाम हो । सौन्दर्यमूल्य र सौन्दर्य अनुभूतिमा देखिने परिवर्तन पनि समाज विकासकै प्रक्रियाको उपज हो । नेपाली साहित्यमै पनि केही दशक पहिले र अहिलेका विषय, संरचना र शैलीमा भिन्नता आउनुको मुख्य कारण समाज परिवर्तन नै हो ।
विधासिद्धान्त निरपेक्ष, तटस्थ र स्वतन्त्र रहन सक्दैन । सिर्जनाजस्तै विधासिद्धान्त पनि समयसापेक्ष र परिवर्तनशील हुन्छ । समयसँगै सौन्दर्यशास्त्रीय मूल्य, रुचि, चिन्तन र सोचमा परिवर्तन हुँदै जानु स्वभाविकै हो । अहिलेको युवाले किन छन्दमा लेखिने कविता रुचाउँदैनन् ? र, किन अहिले पनि केही कविहरू छन्द बचाऊ अभियानमा सक्रिय छन् ? यस्ता प्रश्नहरूको हल पनि सामाजिक सम्बन्धकै आधारमा खोज्नु पर्छ ।
अहिले पनि खण्डकाव्य र महाकाव्य लेख्न कहाँ छोडिएको छ र ! प्रगति र अग्रगमनसँगै पुराना रुढी, संरचना र संस्कारसंस्कृति पनि पछिपछि आउँछन् । यसको समग्र अध्ययन र जानकारी रचनासिर्जनाबाटै थाहा हुने हो । कम्तीमा तीन दशकका एउटै विधाका रचना सँगै राखेर पढियो भने संरचना र शैलीगत प्रयोगमा कसरी परिवर्तन हुँदै आएको रहेछ बुझ्न सकिन्छ । यसको जानकारी दिने काम विधा सिद्धान्तको हो । यसैका आधारमा नयाँ पुस्ताले नयाँ कुरा सिक्ने हो । यो इतिहासको सृङ्खला हो । सिर्जनाको समालोचना र नयाँ दिशाबोध हो ।
(३) सर्जकले सिद्धान्त पढेर सिर्जना गर्दैन
लेखनकलाको विकाससँगसँगै लेखक सैद्धान्तिक अवधारणा, विचार र दृष्टिकोणको खोजीमा लाग्छ । बाल्यकालमा साथीहरूसँग चौरीमा क्रिकेट खेल्ने सामान्य बालक स्तरीय क्रिकेटर बनुँला भनेर खेलेको हुन्न । खेल्दै जाँदा ऊ सोमपाल कामी पनि हुनसक्छ । प्रशीक्षणले सोमपाल कामीलाई क्रिकेटका नियमबारे जानकारी दिन्छ । तर बलिङ गर्ने कला त सोमपालको आफ्नै सिर्जना हो । विधा सिद्धान्तले हिँड्दा आउने अफस्ट्याकल र त्यसबाट बच्नेबारे प्रशिक्षित गर्ने हो । हिँड्ने त स्वयम् पात्रले हो ।
खास विधामा प्रतिभा नभएको मानिसले जति नै बल गरेपनि सफल हुन कठिन हुन्छ । मैले विद्यालयमा पढ्दा भलिवल सिक्न अति नै बल गरेँ । पढाइ र साहित्यमै घोत्लिने मलाई फुर्सद भयो कि साथीहरूले खेल्न प्रोत्साहित गर्थे । सिकाउँथे । तर पनि मैले सकिनँ ।
गाउँमा प्रत्येक वर्ष विद्यालयको स्थापना दिवसको सन्दर्भ पारेर सांस्कृतिक कार्यक्रम हुन्थ्यो । त्यहाँ गीतसंगीतसँगै नाटक पनि देखाइन्थ्यो । सयौँको संख्यामा उपस्थित गाउँले, विद्यार्थी र शिक्षकहरूका बिच नाटक खेलेर आफ्नो कला देखाउनु सामान्य कुरो पनि थिएन । सिँगारिएर पेट्रोमेक्सको उज्यालोमा एक्टिङ गर्नु, नाच्नु र गाउनु तिनताक ठूलै कुरो मानिन्थ्यो ।
साथीहरू रोएको, हाँसेको र मुख बिगारी बिगारी बोलेको देखेर म पनि नाटकप्रति आकर्षित भएँ । तर धेरै पटक प्रयत्न गर्दा पनि मैले एक्टिङ गर्न सकिनँ । नाटकमा चाहिने हाँस्यव्यङ्ग्य र क्यारिकेचर मजस्तो अन्तरमूखी स्वभावको मानिसले कसरी गर्नु र ! मैले कमिक खेल्ने रहरलाई मार्नु प¥यो ।
मेरो अनुभवले बताउँछ मान्छेले जुन विधामा आफ्नो प्रतिभा छ त्यही विधा छान्न सक्यो भने ऊ सफल हुन्छ । हिँड्न त सबै हिँड्छन् नि ! तर हिँडेजतिका सबै बैकुण्ठ मानन्धर कहाँ हुन्छन् र ! बैकुण्ठ मानन्धर दौडको विधासिद्धान्त पढेर धावक भएका हैनन् ।
कविता र निबन्ध लेख्न, हाजिर जवाफ र अन्ताक्षरी गर्न भने कसैले सिकाउनु परेन मलाई । म अरूको क्षमता देखेर लोभिन्थेँ अरू मेरो क्षमता देखेर लोभिन्थेँ । कक्षा सातमा प्रेम भण्डारी सरले कवि र कवितामाथि व्याख्यान नदिएको भए, चारकक्षा पढ्दै कविता कृति पढ्न नपाएको भए र विद्यालयमा प्रत्येक हप्ता साहित्यिक कार्यक्रम नभएको भए सायद म यस विधामा आउने पनि थिइनँ ।
मेरो अनुभवले बताउँछ मान्छेले जुन विधामा आफ्नो प्रतिभा छ त्यही विधा छान्न सक्यो भने ऊ सफल हुन्छ । हिँड्न त सबै हिँड्छन् नि ! तर हिँडेजतिका सबै बैकुण्ठ मानन्धर कहाँ हुन्छन् र ! बैकुण्ठ मानन्धर दौडको विधासिद्धान्त पढेर धावक भएका हैनन् ।
कलात्मक श्रेष्ठताविना साहित्यमा सफल हुन गाह्रो हुन्छ । विधासिद्धान्त पढेजतिका सबै महान् सर्जक हुनेभए समालोचकहरू सबै सर्जकमा दरिने थिए । प्रायः समालोचकहरू सिर्जनकार्यमा असफल भएपछि समालोचनामा आएको देखिन्छ । सर्जक बन्ने मन कसलाई हुन्न र ! तर चाहेर मात्र पनि सर्जक हुन सकिन्न ।
समालोचना अलि जड र सुष्क कार्य हो भने सिर्जना भावनात्मक काम हो । समालोचनामा हृदयको खासै भूमिका हुन्न । सिर्जना हृदय र भावनासँग जोडिएर आउँछ । सिद्धान्तले सलल बगेको खोलोमा बाँध बाँध्ने काम गर्ने हो । सिर्जना त बग्ने हो बगिरहन्छ । जसरी आफ्नो ट्रयाक छोडेको नदीको बहावलाई बाँधले सही बाटोमा ल्याउँछ त्यस्तै हो सिद्धान्त ।
कतिपयलाई लाग्छ मेरो सिर्जना उत्कृष्ट छ । सूचना र प्रविधि उत्कर्षमा पुगेको वर्तमानामा मिडियाको बाढी उर्लिएको छ । यस्तो बेला रचना प्रकाशित गर्न कुनै शनिबार पर्खिनु पर्दैन । त्यसमा पनि सामाजिक सन्जाल छँदैछ । लेख्यो पोष्ट ग¥यो । केही सयको लाइक र कमेन्ट आइ नै हाल्छ । त्यति भएपछि कविलेखकलाई के नै चाहियो र ! उसलाई लाग्छ, उसको रचना कमेन्टमा ‘वाह !’ ‘क्या सुन्दर !’ भनेजस्तै सुन्दर छ । यो सबै केको न्यानो भनेजस्तै हो । रचनासिर्जना त्यति सहज काम हैन । त्यसमा पनि उत्कष्ट रचना सिर्जना गर्ने भनेको झनै कठिन काम हो ।
जुन रचनाले मानिसको मन मतिष्कलाई छुँदैन, जुन रचनाले हजारौँ मानिसको अन्तरहृदयलाई झकझोर गर्दैन त्यो रचना न आज सार्थक हुन्छ न भोलि । हिन्दी साहित्यका लेखक प्रेमचन्द सिर्जना उच्चकोटीको बनाउनका लागि साहित्यकारमा अनुभूतिको तीब्रता हुनुपर्छ भन्छन् । उनी सुन्दर रचनाका लागि विधासिद्धान्तलाई भन्दा अनुभूति, अनुभव र कविको आन्तरिक भावनामा जोड दिन्छन् । उनी लेख्छन्, ‘कवि या साहित्यकारमा अनुभूतिको जति धेरै तीब्रता हुन्छ उसको रचना उति आकर्षक र उच्च कोटीको हुन्छ । जुन साहित्यले हाम्रो रुचि जगाउँदैन आध्यात्मिक र मानसिक तृप्ति मिल्दैन, हामीभित्र गति र शक्ति पैदा हुँदैन, हाम्रो सौन्दर्य प्रेम जागृत हुँदैन, जसले हामीमा सच्चा संकल्प र कठिनाइमाथि विजय पाउन साँचो दृढता उत्पन्न गर्दैन ऊ आज हाम्रो लागि बेकार हुन्छ, उसलाई साहित्य भन्ने अधिकार हुन्न ।’ (प्रेमचन्द : २०१३ : ६)
कला सिर्जना निरन्तरतामा क्रमभङ्गता हो । एउटै गोहोमा हिँडेको परिवार, छरछिमेक र गाउँसमाजप्रतिको विद्रोहा हो । यस्तो विद्राह जुन शालीन र भव्य हुन्छ । अरूभन्दा फरक, अरूभन्दा भिन्न र अनन्त सिर्जनात्मक सहितको विद्रोह । एउटा सामान्य बालकको दिलदिमागमा सिर्जना हुने भिन्न अभिरुचि, फरक धार र फरक सोचले ऊ कलाप्रति आकर्षित हुन्छ । उसले आफूलाई व्यक्त गर्न, अरूभन्दा फरक देखिन र प्रश्न गर्न कलाको सहारा लिन्छ । एउटा बालक÷किशोरलाई किन र कसरी कलासाहित्यले प्रभावित गर्छ यो त अध्ययनको छुट्टै पाटो हो । तर यतिसम्म भन्न सकिन्छ ऊ सिद्धान्त पढेर कलाप्रति आकर्षित भने भएको हुन्न । उसको आन्तरिक मनोदशा, अन्तर्मुखी स्वभाव, परिवार र समाजप्रतिको भिन्न सोच र असन्तुष्टिले ऊ फरक बाटोको खोजीमा हुन्छ ।
कलाप्रतिको अभिरुचि भावुक मनोदशा र संवेदनशील स्वभावको प्रतिफल हो । किशोर वयमा अनन्त रहर, चाहना र सपनाहरू जन्मिने र हराउने भइनै रहन्छन् । अरूभन्दा फरक हुने र अरूले भन्दा राम्रो गर्ने भावना प्रायः प्रतिभाशाली बालकमा सिर्जना हुन्छ । साथै परिवार, गुरु र समाजबाट स्यावासी पाउने लालसाले पनि उसले नयाँ गर्न खोज्छ । यो विशुद्ध रहर हो । बालमनोविज्ञानले देखेको रहर । यही रहले ऊ कला सिर्जनामा लाग्छ ।
रहर जब सपनामा परिणत हुन्छ ऊ अझ सुन्दर कृतिको रचना कसरी गर्न सकिन्छ भनेर अघि बढ्छ । यही क्रममा उसले राम्राराम्रा कृति र विधा सिद्धान्त पढ्न थाल्छ । एउटा लेखक जतिसुकै समालोचना पढेपनि उसमा कला सिर्जना गर्न आवश्यक पर्ने अनुभूति, कल्पनाशीलता, व्यग्रता र पागलपन छैन भने सुन्दर रचना सिर्जना गर्न सक्दैन ।
भावुक र कल्पनाशील मानिसमा अनेक कुराले प्रभावित गर्छ । यस्तो मानिसले अरूले दुर्वाच्य बोल्यो भने पनि सहन सक्दैन । सायद लेखनाथ पौडेललाई उनको काकाले नहक्लाएका भए उनमा कवि बन्ने इगो सिर्जना हुने थिएन । प्रेममा असफलता, जीवन र समाजप्रतिको असन्तुष्टि र समाज र जीवनलाई हेर्ने फरक धारणाका कारण पनि भावुक हृदयको मानिस कलासाधनामा लाग्छ । आफ्ना असन्तुष्टि, असफलता र सपनाहरू कलामार्फत व्यक्त गर्न पनि मानिसले अलग बाटो रोज्छ ।
विधासिद्धान्त विधाको संरचना बुझ्न आवश्यक हुन्छ । सुन्दर रचना बन्नका लागि चाहिने तङ्खव र तिनको प्रयोगका सम्बन्धमा सिद्धान्त आवश्यक हुन्छ । विचार, राजनीति र सामाजिक मुद्धालाई कलामा कसरी व्यक्त गर्ने ? कस्तो लेखन सिर्जना नभएर नारा हुन्छ ? कस्तो सिर्जना उत्कृष्ट हुन्छ ? यी सबै कुराको अध्ययन विधासिद्धान्तले गर्छ । तर विधासिद्धान्तको सुष्क र जर्जर नियममा बाँधिएर रचना गर्न थालियो भने रचना पनि सिद्धान्त बन्न थाल्छ । जड हुन जान्छ । रचनालाई कसरी सुन्दर बनाउने भन्ने काम लेखकको प्रयोग र रचनाशिल्पमा भर पर्ने कुरा हो । लेखकको भावना र संवेदनाको कुरो हो ।
बर्तोल्ट ब्रेख्तले यथार्थवादी लेखकले सिर्जनामा केकस्ता विषय, यथार्थ र मुद्धालाई उठाउनु पर्छ भन्दै ‘लोकप्रिय र यथार्थवादी’ लेखमा लामो फेहरिस्ता दिएका छन् । साथै यस्तो सिर्जनकार्य कसरी गर्ने भन्नेबारे पनि उनले प्रष्ट पारेका छन् । उनले सामाजिक यथार्थलाई कसरी व्यक्त गर्ने भन्ने लेखकको मौलिकता र कल्पनशीलताको कुरो हो, त्यहाँ बाह्य दबाव र नियमसिद्धान्तको कुनै आवश्यकता हुँदैन भन्छन् । उनी लेख्छन्, ‘हामीले यसलाई क्रियान्वयन गर्नका लागि कलाकारलाई आफ्नो कल्पना, आफ्ना सबै मौलिकताहरू, उसका हास्यभावनालाई उपयोग गर्न र अन्वेषण गर्न छुट दिन्छौँ । हामी विस्तृत सहित्यिक मोडेलहरूमा बाँधिदैनौँ वा कथा हाल्नका लागि सङ्कीर्ण नियमहरूको पालना गर्न कलाकारलाई बाध्य गर्दैनौँ । (ब्रेख्त : २०६७ : २२२)
विश्वविद्यालयका ‘मास्टरसावहरू’ सिर्जनामा नियमको कुरा गर्छन् । किनभने उनले नियम पढाउँछन् । तर म नियम र सिद्धान्तले कविता जन्माउछ भन्ने मान्यता अस्वीकार गर्छु । जसको अन्तरहृदयमा भावनाको अतुल गहिराई र संवेदनाको विपुल सागर हुँदैन उसले कविता लेख्न सक्दैन । मायोकोव्स्की कवि हुँदाहुँदै पनि, त्यो पनि समाजवादी कवि भएर पनि नियम र सिद्धान्तले कविता जन्माउँदैन भन्छन् । हाम्रा समालोचकहरू, त्यसमा पनि प्रगतिवादीहरू नियम र सिद्धान्तलाई भत्काउनु पर्छ भन्नेहरू उत्तरआधुनिक र अराजक हुन भन्ने आरोप लगाउँछन् । नियम र सिद्धान्तलाई सिर्जनाको सहयोगी बनाउनुको सट्टा यही नै सिर्जनाको प्रमुख आधार हो भन्छन् ।
मायोकोव्स्की ‘म छन्दशास्त्रीको रूपमा हैन कि एक व्यावहारिक कर्मीको हैसियतद्वारा आफ्नो कामको बारेमा लेख्न चाहन्छु’ भन्छन् । उनी पुराना नियम, छन्द र तुकवन्दीको विरोध गर्छन् । उनी लेख्छन्, ‘म एक पटक फेरि जोड दिएर भन्न चाहन्छु कि म त्यस्तो नियम बताउन गइरहेको छैन जसले मान्छे कवि बन्न सक्छ र कविता लेख्न सक्छ । सामान्यतः यस्तो नियम छँदै छैन । त्यही मान्छे कवि कहलिन्छ जो काव्यात्मक नियमको निर्माण गर्छ ।’ (मायाकोव्स्की : २००६ : ११३)
समालोचक हुँदाहुँदै पनि यदुनाथ खनाल सिर्जनलाई बढी महङ्खव दिन्छन् । उनले स्पष्ट रूपमा नियम सिद्धान्तले सिर्जनकर्ममा बाधा पु¥याउँछ भन्छन् । उनले मौलिक कविहरू कहिल्यै पनि समालोचनाको पछि लाग्दैनन् बरु समालोचक नै राम्रा कविको पछि लाग्छन् भन्छन् । सिद्धान्तले सिर्जना नबनाएर सिर्जनाले सिद्धान्त बनाउने हो भन्छन् । नियममा बाँधिएर कुनै कविले उत्तम कविता लेख्न नसक्ने भन्दै शेक्सपियर र वर्ड्स्वर्थ नियम तोडेरै आएका हुन् भन्छन् । उनी लेख्छन्, ‘कविता अत्यन्त वैयक्तिक कुरा हो । यसकारण हामी न त एरिस्टोटलका नियमले बाँधिन सक्छौँ, न त साहित्य दर्पणका नियमले ।’ (खनाल : २०६८ : ५३)
सामाजिक विसंगति र राजनीतिक बेथितिलाई एउटा लेखक टुलुटुलु हेरेर बस्न सक्दैन । नातावाद, कृपावाद र भ्रष्टाचार तथा सामाजिक मूल्यहीनताले साहित्यकारको हृदयमा यस्तो संवेदना जागृत हुन्छ कि ऊ विह्वल हुन्छ । उसको भावुक हृदय शोषण, दमन र अन्याय अत्याचार देखेर आन्दोलित हुन्छ । जब ऊ आन्दोलित हुन्छ, विद्रोह, असहमति र विमतिलाई आधार बनाएर रचना सिर्जना गर्छ । ऊ एकलै चिच्याउँछ, रुन्छ र एकलै यात्रामा निस्किन्छ । सायद भावनाको यही अतिशय दबावले गर्दा नै होला रिमाल नाङ्गो खुकुरी बोकेर सडकमा निस्किएका । यस्तो बेला खास कविले नियम र सिद्धान्तलाई हैन मानवीय संवेदनालाई मात्र देख्छ । सपनाको मृत्यु हुँदै गएको मात्र देख्छ । मनभित्रको आगोले नियम, संगति र सिद्धान्तको माखेसाङ्लोलाई चुँडाउँछ । सिद्धान्तको जब्बर ढोकालाई भत्काउँछ र बनाउँछ सपनाको सुन्दर संसार ।
(४) त्यसो भए सिद्धान्त चाहिदैन त ?
सिर्जनाका आधारमा विधासिद्धान्त बनेको हो भन्ने त हामी सबैलाई थाहै छ । समाजको आवश्यकताले कला जन्मिएको हो न कि विधासिद्धान्त । विधासिद्धान्त त धेरैपछि, खै कतिखेर जन्मियो जन्मियो । कला भने सभ्यताको उषाकालमै जन्मिएको हो । कलालाई नियमन गर्ने र अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने हेतु विधासिद्धान्तमा हुन्छ । विधाहरूबिचको अन्तरसम्बन्ध र अन्तरविरोधलाई विधासिद्धान्तले अध्ययन गर्छ । लेखकले लेखेको रचना खास विधाभित्र प¥यो कि परेन, त्यसले खास विधाका संरचनात्मक अवधारणा र मान्यतालाई स्वीकार ग¥यो कि गरेन भनेर निक्र्योल गर्ने काम त्यसको हो ।
हाम्रा समालोचकहरू, त्यसमा पनि प्रगतिवादीहरू नियम र सिद्धान्तलाई भत्काउनु पर्छ भन्नेहरू उत्तरआधुनिक र अराजक हुन भन्ने आरोप लगाउँछन् । नियम र सिद्धान्तलाई सिर्जनाको सहयोगी बनाउनुको सट्टा यही नै सिर्जनाको प्रमुख आधार हो भन्छन् ।
समाज विकासको क्रममा मानिसका चिन्तन, दृष्टिकोण, कला, साहित्य र संस्कृतिमा पनि विकास हुन्छ । यसै क्रममा भाषाको पनि विकास हुने हो । मानव सभ्यताको उषाकालमा कविता मात्र अस्तित्वमा थियो । समय क्रममा नाटक, कथा, उपन्यास, निवन्ध लगायत धेरै विधाको जन्म र विकास भयो । त्यसपछि हो विधासिद्धान्त जन्मिएको ।
विधासिद्धान्तका लागि कृतिहरू होइन, कृतिहरूका लागि विधासिद्धान्तहरू हुन् भन्छन् समालोचक ऋषिराज बराल । विधासिद्धान्तको पालनाको नाममा गरिने रुढिग्रस्त आग्रह र निषेधका नाममा गरिने अराजकता दुबै गलत हुन् भन्छन् उनी । उनी लेख्छन्, ‘प्रस्ट छ विधासिद्धान्तप्रतिको दृष्टिकोण वैचारिक दृष्टिकोणबाट निर्देशित छ । विधासिद्धान्तको अनुशासनको पालनाको अर्थ शास्त्रीयतावाद र अभिजात्यवादको निर्वाहप्रतिको जोड होइन र कृतिलाई यान्त्रिक जडबद्धतामा सीमित राख्नु पनि होइन । विधासिद्धान्तको पालनाको नाममा कृतिलाई कृत्रिम र यान्त्रिक बनाउनु तथा विधासिद्धान्तको निषेधको नाममा कृतिलाई अराजकता र जडप्रयोगवादितामा पु¥याउनुु पनि ठीक देखिदैन ।’ (बराल : २०६३ : १०५)
ब्रर्तोल्ट ब्रेख्तले सिद्धान्तमा भन्दा सङ्घर्ष र श्रममा बढी जोड दिन्छन् । विधासिद्धान्त सिर्जनाको लागि भए पनि त्यस्ता नियममा झुन्डिनुको औचित्य देख्दैनन् ब्रेख्त । उनी लेख्छन्, ‘वास्तविक संसारलाई परिवर्तन गरिरहेको सङ्घर्षशील जनता हाम्रासामु रहुन्जेल कथा भन्नका लागि हामी ‘राम्ररी परीक्षण गरिएका’ नियमहरू, साहित्यिक इतिहासले प्रस्तुत गरेका मूल्यवान् मानिएका नमुनाहरू र शाश्वत सौन्दर्य सिद्धान्तहरूमा झुन्डिनुपर्ने अवाश्यकता छैन । (ब्रेख्त : २०६७ : २२१)
(५) सिर्जनाले सिद्धान्त बनाउने हो
कतिपय कृति र सिर्जना पढ्दा यसरी पनि लेख्न सकिने रहेछ भन्ने लाग्छ । हुन त हामीले पनि लेखिरहेकै हुन्छौँ । तर उस्तै संवेदना वा विषयमा एउटा सिर्जनशील र प्रयोगशील कविले लेखेको कविता र हाम्रो कविता किन फरक हुन्छ ? निश्चय पनि त्यहाँ एकरूपता र एकसरसतामा विचलन छ । निरन्तरतामा क्रमभङ्गता छ । मानिस न त पुरानो चीजमै रमाउन सक्छ न त फोटोकपीलाई कला हो भनेर चित्त बुझाउन सक्छ । मानिस मानिस भएको नयाँ खोजको परिणतीले हो ।
रसियन चिन्तक मिखाइल खापचेँले विधासिद्धान्तभन्दा सिर्जना प्रमुख हुन्छ भन्छन् । उनले सिद्धान्तले सिर्जना नबनाएर सिर्जनाले सिद्धान्त बनाउने हो भन्छन् । जतिसुकै प्रभावकारी भएपनि सिद्धान्त नयाँ सिर्जनासँगै परिवर्तन हुन्छ । जसरी सिर्जना परिवर्तनशील छ त्यसैगरी सिद्धान्त पनि परिवर्तनशील छ । खापचेँ भन्छन्, ‘प्रतिभाशाली लेखकहरूले कतिपय सन्दर्भमा विधासिद्धान्तको सोचाइमा परिवर्तन मात्र ल्याउँदैनन् अपितु नयाँ विधा सिद्धान्तको निर्माण पनि गराउँछन् ।’ (खापचेँ : १९८६ : ३१७)
सिर्जनाले सिद्धान्त बनाउने हो नकि सिद्धान्तले सिर्जना । लेखकले जान्नुपर्ने मुख्य कुरो ‘के भन्ने ?’ र ‘कसरी भन्ने ?’ भन्ने हो । सिद्धहस्त लेखकका सुन्दर कृति पढ्दा हामीलाई यो कुरा बोध हुन्छ । जुन बोध सिर्जना पढ्दा हुन्छ त्यही कुरा हामीले सिद्धान्तमा पाउँदैनौँ । व्यवहारिक ज्ञान प्राप्त हुन्छ सिर्जनामा । तर विधा सिद्धान्तमा प्राविधिक ज्ञान हुन्छ । कस्तो सिर्जनाले मानिसको अन्तरहृदयमा संवेदना जागृत गर्छ वा कस्तो सौन्दर्य चेतना जागृत गर्छ भन्ने कुरा विधासिद्धान्तले व्यक्त गर्न सक्दैन । कृतिको मूल्य र यसले समाजमा पारेको प्रभावको परख त गर्न सक्ला तर सुन्दरताको परख गर्न सक्दैन ।
(६) नयाँका लागि पुरानो भत्काऊ
कलासाहित्यका सबै विधा चेतनाप्रवाहका हतियार हुन् । समाज रूपान्तरणसँगै आर्थिक आधारमा हुने परिवर्तनले साहित्यिक विधामा परिवर्तन ल्याउँछ । आर्थिक परिवर्तनले कलासाहित्यमा मात्र नभएर अधिरचनाका सबै तहमा धेरथोर परिवर्तन ल्याउँछ । विस्तारै कलासाहित्य, राजनीति, नियमकानुन, शिक्षास्वास्थ्य र संस्कार संस्कृतिमा परिवर्तन देखिन थाल्छ ।
आर्थिक अवस्थाले मानिसको जीवनपद्दतिलाई निरूपण गर्छ भन्ने कुरो सिद्धान्तत सत्य हो । आर्थिक अवस्थामा हुने बढोत्तरीले मान्छेका जीवन बाँच्ने तौरतरीकाहरू बदलिन्छन् । लगाउने, खानेपिउने, घुम्ने र रमाइलो गर्ने पुराना रुचि र पुरातन ढर्राहरू भत्किन्छन् । आर्थिक र सामाजिक परिवर्तनसँगै सुन्दरतालाई परख गर्ने, बोध र अनुशीलन गर्ने क्षमता र दृष्टिकोणमा पनि परिवर्तन देखापर्छ ।
समाज परिवर्तनसँगै लेखकको सिर्जनकर्ममा पनि नयाँ चुनौतीहरू थपिन्छन् भन्छन् समालोचक ऋषिराज बाराल । उनको भनाइबाट पनि सिर्जनालाई नयाँ गर्ने कारकतङ्खव सिद्धान्त नभएर जीवन र समाज हो भन्ने पुष्टि हुन्छ । उनी लेख्छन्, ‘आर्थिक–राजनैतिक परिवर्तनले मान्छेका सौन्दर्य चाहना, सौन्दर्य रुचि, सौन्दर्य अवश्यकतामा परिवर्तन ल्याउँछन् । यसको फलस्वरूप पाठकको सौन्दर्य बोधात्मकता पनि प्रभावित हुन्छ । यस्तो अवस्थामा स्रष्टाका सामू नयाँ आवश्यकता र चुनौतीहरू देखा पर्दछन् भने पाठकले पनि नयाँ अन्तर्वस्तु र रूपको खोजी गर्नु नितान्त आवश्यक हुनजान्छ ।’ (बराल : २०६३ : ११६)
परिवर्तन र विकासको यो गति यति धीमा हुन्छ कि मानौँ राजनीतिक र आर्थिक परिवर्तन भएकै छैन । समाज पुरानै शैलीमा चलेको देखिन्छ । सोच्ने, खाने र बाँच्ने तरीकामा आमूल परिवर्तन नआएझैँ लाग्छ । बाहिरबाट हेर्दा समाज नदीको पानीजस्तो अचल देखिएपनि यो प्रक्रिया निरन्तर गतिमा प्रवाहित भएको हुन्छ ।
आर्थिक आधार र अधिरचनाबिचको सम्बन्ध जटिल र अन्योन्यास्रित हुन्छ । कहिलेकाहीँ आर्थिक प्रणाली र भौतिक विकासले फड्को मारेपनि मानिसका सोच्ने, खाने, जिउने लगायत अधिरचनाका अन्य रूपमा खासै परिवर्तन देखिदैन । यस्तो हुनुको पछाडि धेरै कारण हुनसक्छन् । संस्कारसंस्कृति, धार्मिक कट्टरता र शैक्षिक प्रणालीले पनि यस्तो परिवर्तनमा असयोग गरेको हुन्छ । त्यही भएर यो प्रक्रिया शब्दमा भनेजस्तो त्यति सहज प्रक्रिया हैन ।
सर्जकको काम यस्ता पुरातन गजवारलाई भाँच्ने हो । भत्काउने हो । जबसम्म पूरानोलाई भत्काउन सकिदैन नयाँ बन्दैन । भत्काउनुको अर्थ विनिर्माण हैन । नयाँ निर्माणका लागि पुरानोको ध्वंस सिर्जना हो । लेखकले भत्काउने भनेको पुराना भैसकेका नियम–सिद्धान्त, शैली र बिम्बविधान हो ।
अहिले पनि विश्वविद्यालयका गुरुहरू एक्स्पायर भैसकेका पुरानै नियम पढाइरहेका छन् । नेपालका वामपन्थी लेखकहरू झन्डै एक शताब्दी पुरानो रसियन धङधङी बोकेर हिँडेका छन् । कतिपय आधुनिक भनिएका कविलेखकहरूले अझै पनि मौलिकताका नाममा पुरानै संरचना र शैलीलाई काखी च्यापेको पाइन्छ । यहाँ पुरातन शैली भत्काउन खोज्नेलाई अराजक, बुद्धू र नारावादीको ट्याग लगाउने प्रचलन छ । कुन बुद्धू लेखक होला जसले आधुनिक साहित्यको उचो मिनार पुरानै जगमा सम्भव हुन्छ भन्ला । कम्तीमा पनि वामपन्थी लेखकले त यसो नभन्नु पर्ने । तर ध्वंसलाई स्वीकार गर्ने हाम्रा लेखक महोदयहरू जब भत्काउने बेला आउँछ सिद्धान्तको बहाना बनाएर भाग्ने गर्छन् ।
साहित्यमा भत्काउने भनेको के हो ? कसरी साहित्यमा नयाँ बन्छ । के पुरानै छन्द, अलङ्कार र बिम्ब विधानलाई लिपपोत गरेर नयाँ बन्छ ? कि संरचनामै नयाँ गर्ने हो । मौलिकताको नाममा के हामी अझै पनि लोकगीतलाई नै हाम्रो मूल शैली बनाउन सक्छौँ ? लोकगीतलाई कसरी नयाँ बनाउन सकिन्छ ? न त हामी मौलिकताको नाममा सती जानसक्छौँ न त नयाँको नाममा पश्चिमा विसंगति र विकृतिलाई भित्र्याउन सक्छाँैँ । यतातिर बहस गर्ने कि विश्वबाटै बहिस्कृत भैसकेका शैली र संरचनालाई हाम्रो मौलिक पहिचान भन्दै समातिराख्ने ?
कतिपय साहित्यकारलाई लाग्छ नयाँ भनेको अमूर्तता र दुरुहता हो । यो फोस्रो आडम्बर हो । न त कला फोस्रो वौद्धिकता हो न सस्तो लोकप्रियता । आस्थामाथि प्रहार नगरेसम्म नयाँ बन्दैन । तर हाम्रो समाजमा आस्थामाथि प्रहार गर्नसक्ने क्षमता छैन । यो भनेको विद्रोही चेत हो । नेपाली समाज विद्रोही हैन दम्भी समाज हो । बूढो गोरुजस्तो जति पिटेपनि सहने, जे दिए पनि खाने ।
कहिलेकाहीँ देखापर्ने विद्रोही चेत पनि समर्पण र अतिशय राजनीतिक आश्रयका कारण कमजोर हुने गरेको छ । भेलजस्तो आउने र खहरेजस्तैगरी सुक्ने क्रान्तिचेत काम लाग्दैन । न त विहारी शैली नै काम लाग्छ । निरन्तर प्रश्न गर्ने र निरन्तर सजकतापूर्वक प्रश्न गर्ने संस्कार संस्कृतिको जगेर्ना गर्न बाँकी छ । आफ्नामाथि मात्र हैन आफैमाथि प्रहार नगरेसम्म, आफ्नै प्रतिगमनकारी सोचका विरुद्ध विद्रोह नगरेसम्म कसरी नयाँ बन्ला !
अहिलेको पुस्ता बढी सचेत र सजक छ । यो पनि आवश्यकताले सिर्जना गरेको चेतना हो । हामी कसरी मलेसिया र अरबमा पराधीन जीवन काटिरहेका छौँ ? कसरी अमेरिका र अष्ट्रेलियमा विवश जीवन बाँचिरहेका छौँ ? यही मनोद्वेगले, यही पीडाले हामीभित्र क्रान्ति चेत जाग्दो छ । हामी लेखक साहित्यकार पनि यही मनोवेगद्वारा परिलक्षित हुनुको विकल्प छैन ।
आक्रोश र असहमति व्यक्त नगरेसम्म राज्यले सुन्दैन । कला साहित्यमा यो काम नयाँ पुस्ताले गर्छ । विधासिद्धान्तले हामीलाई विद्रोही बनाउँदैन । बनिबनाउ बाटो हिँडेर पुग्ने पुरानै ठाउँमा हो । नयाँ ठाउँमा पुग्नु छ भने वर्तमानसँग जोरी खोज्नैपर्छ । निरन्तरताको अस्वीकृति, निषेध र मोहभङ्गता नै नवीन सोचको प्रथम सोपान हो । साहित्यमा नयाँ भनेको सबै कुरामा नयाँ हो । अन्तर्वस्तुमा नयाँ, भाषामा नयाँ, लय र बिम्बमा नयाँ अनि शैलीमा नयाँ ।
(२०७२)
सन्दर्भ सामग्री
बराल, ऋषिराज । उपन्यासको सौन्दर्यशास्त्रः काठमाडौं, साझा प्रकाशन, २०६३
प्रेमचन्द । प्रतिनिधि संकलन : नयाँ दिल्ली, नेशनल बुक ट्रष्ट, २०१३
ब्रेख्त, बर्तोल्ट । माक्र्सवादी साहित्यचिन्तनः लोकप्रिय र यथार्थवादी, अनु. निनु चापागाई, काठमाडौं, साझा प्रकाशन, २०६७
मायाकोव्स्की । लेखन कला और रचना कौशलः लखनऊ, परिकल्पना प्रकाशन, २००६
खनाल, यदुनाथ । यदुनाथ खनालका समालोचनाः नेपाल प्रज्ञाप्रतिष्ठान, २०६८
बराल, ऋषिराज । उपन्यासको सौन्दर्यशास्त्रः काठमाडौं, साझा प्रकाशन, २०६३
ब्रेख्त, बर्तोल्ट । माक्र्सवादी साहित्यचिन्तनः लोकप्रिय र यथार्थवादी, अनु. निनु चापागाई, काठमाडौं, साझा प्रकाशन, २०६७
खापचेँ, मिखाइल । आर्टिस्ट क्रियटिभिटी रियालिटी एण्ड म्यानः अनु. बेनएकोभ, रादुका प्रकाशन, मास्को, १९८६
बराल, ऋषिराज । उपन्यासको सौन्दर्यशास्त्रः काठमाडौं, साझा प्रकाशन, २०६३