बेहुली घरमाहुली सकेपछि
मन नलागी नलागी परदेशिएको बर
बेखबर भएको पनि वर्षाैं भयो
एक पेट भात खान प्रभातमै निस्किएका जवानहरु
अहिलेसम्म फर्किएका छैनन् यो समाजमाझ
र अझै पनि मलामको लामजस्तै निशव्द उभिइरहेछन्
मनमा जीवनभरिको सपना
अनि हातमा पासपोर्ट बोकेर एयरपोर्टमा
देश छोड्नै लागेका युवाहरु ।
कदम कदममा दम बढेपछि
आँगनको डिलमा बसेर गनगन गर्दैछन्
बोलाउँदा हजुर भन्न नसक्ने हजुरबुबा र हजुरआमा
अनि मेलापात र घाँस दाउरा गर्दागर्दै
वनमै बित्न लागेको जीवनसँगै
हारिसकेका छन् छहारीमुनि
विदेशिएका सन्तानका आमाबाबुहरु ।
निधारमाथिको धारमा
सिन्दुर लगाएर दूर भएका श्रीमानको याद
त्रिशुलभन्दा तिखो शूल भएर गडेको छ मुटुमा
हर रहरहरु पैतालामुनि ताला लगाएर
वियोगको धुनमा रंगिदै छिन्
खण्डहर बन्दै गएको घरमा श्रीमती ।
तीजको दिन सम्झिदै छिन्
क्षितिजपारिको माइतीघर
कुवामा पानी लिन जाँदा हराएकी बहिनी
बाटाभरि आँखा बिछ्याएर सिकुवामा बसेकी बूढीआमा
सीमानापारि गएका प्यारा स्वामी
अनिपूर्ण नभएका सम्पूर्ण चाहनाहरु ।
आँखा आँखासँग रेला गर्ने परेलाहरु
निथ्रुक्क भिजेका छन् आँशुका तलाउमा
मन मनमा नाउ बनाउँदै पौडिने रहर पनि
कल्पनाको परिकल्पनाभन्दा टाडा पुगेका छन् यतिबेला
स्वदेशमै मन छोडेका तनहरु ।
सानहरुको अवसान भएर होला
मानहरुको अपमान भएर होला
हरेक घटनाहरु दुरघटनामा बद्लिन थालेपछि
जति तिर्दा पनि तिरी नसकिने
‘साब’हरुको एकएक हिसाब तिर्न
सायद सुहागरातकै भोलिपल्ट हिँडेका छन्
वर्षौंदेखि चुहिएको मन
र हरेक वर्षायाममा चुहिने घरपाली टाल्न थुप्रै नेपालीहरु ।
श्रीपेचको पेच खुस्काएर
गण–गणको तन्त्रल्याए पनि
घटेको छैन मानवता माथिको बर्बरता
जिउँदै छन् मान्छेजस्तै देखिने बुख्याँचाहरु
अनि उज्यालो भविष्य खोजिरहेछन्
भूतको कारागारमा वर्तमानहरु ।
अहँ फर्किएनन् कहिल्यै
परिवर्तनका लागि गुमाएका थुप्रै खुसीहरु
भरिएका छैनन् खाली सिउँदोहरु
पुरिएका छैनन् युद्धका डोवहरु
थुप्रै पात्र फेरिए यो देशमा धेरै पटक
प्रवृति फेरिएको छैन अझै पनि
लाग्छ, दरबार उतै छाडेर आएको छ सिंहदरबार पनि ।
कुनै स्वर नसुन्ने परमेश्वरका अगाडि चढाइँदैछ
पखेटा काटिएका ती विचरा चराहरु
बाजको आवाज सुनेर त्रसित छन् परेवाहरु
हर सहरमा उता मसानहरुको सान देखेर
गुनासो गर्दैछन् नासो छोडेर गएका सहिदहरु
वीरहरुको तस्वीर हेरेर
चित्त बुझाइरहेछन् यता परिवारजनहरु ।
धुमिल याद आइरहेछ मलाई आज बेस्सरी
कक्षा आठको भूगोलको पाठ
जहाँ, मैले पढेका दुई सय बढी देशहरु थिए
तर बल्ल बुझें कि देश त एउटा मात्रै रहेछ
वर्तमानमा म बाँचिरहेको देश
बाँकी अरु सबै विदेश ।
(फेदाप, तेह्रथुम ।