नेपाल विभिन्न भाषा, जात–जाति, धर्म र संस्कृति भएको मुलुक हो । यसैले यहाँ विभिन्न चाडपर्वहरु प्रचलनमा रहेका छन् । सबै चाडपर्वहरु एउटै प्रकृतिका नभएर विभन्न प्रकृतिका पाइन्छन् । कुनै पर्वहरु पौराणिक आख्यानसित गाँसिएका छन् भने कुनै वर्ण र लिङ्गमा आधारित रहेका छन् कुनै पौराणिक व्यक्तित्वसित गाँसिएका देखिन्छन् भने कुनै मौसम परिवर्तनसँग सम्बन्ध राख्दछन् । अधिकांश चाडपर्वहरु प्रारम्भ हुँदाको उद्देश्य खोज्दै जाँदा कृषि कर्मलाई उत्प्रेरित गर्ने, विश्राम र मनोरञ्जनको आवश्यकता परिपूर्ति गर्ने र सामाजिक तथा पारिवारिक सम्बन्धलाई दरिलो बनाउने रहेको पाइन्छ ।
कालान्तरमा आउँदा सामाजिक सम्बन्धका रुपहरु परिवर्तन हुँदै जाँदा र समाज वर्ग विभक्त हुँदै सामन्ती व्यवस्थामा आइपुग्दा चाडपर्वहरुलाई सङ्लो, चोखो र सामाजिक आवश्यकता परिपूर्ति गर्ने संस्कृतिका रुपमा रहन दिइएन । त्यस्ता चाडपर्व र संस्कृतिलाई सामाजिक सन्दर्भबाट विच्छेद गरी पौराणिक मिथकहरुसँग जोड्दै विकृत र भद्दा पारियो अनि इहलोकको आवश्यकताबाट परलोकको आवश्यकता बनाइयो । सामाजिक सन्दर्भलाई मेट्दै धर्मको जालोले जेल्दै लगियो अनि आम जनताको हित र स्वार्थबाट शासक र निश्चित वर्गको स्वार्थ अनुकूल बनाउँदै लगियो ।
हिन्दू नारीहरुले मनाउने गरेको तीजको सुरुवात कहिलेदेखि भयो त्यो एकिन भन्न नसकिए पनि त्यसको स्वरुपलाई हेर्दा मातृसत्ताको अवसान भई पितृसत्ता आइसकेर त्यसको प्रभाव विस्तारका क्रममा भएको अनुमान गर्न सकिन्छ । वैदिक र उपनिषदिक ग्रन्थहरुमा यस्ता पर्वहरुबारे कुनै चर्चा पाइँदैन । ‘स्वस्थानी ब्रतकथा’ र ‘तीजको ब्रतकथा’ लाई तुलनात्मक रुपमा हेर्दा दुवैको स्वरुप र मान्यता करिव उस्तै लाग्दछ । दुवैले महिलाहरुलाई निरीह, कमजोर र पुरुष–आश्रित प्राणीका रुपमा प्रस्तुत गरेका छन् ।
महिलाहरु असल लोग्नेको प्राप्ति वा लोग्नेको दीर्घायुका लागि भोकै ब्रत बस्नुपर्ने, लोग्नेको खुट्टाको जल खाएर पाप पखाल्नु पर्ने, लोग्नेलाई ईश्वर सम्झँदै बिहान उठ्नेवित्तिकै ढोग्नुपर्ने जस्ता प्रचलन पुरुषसत्ताले नारीमाथि सधैंभरि शासन गर्न र हरेक क्षेत्रमा आफ्नो वर्चस्व कायम गरिराख्न अख्तियार गरेको धार्मिक प्रपञ्च थियो ।
अठार पुराणहरुको रचनाकाल ईशाको दोस्रो शताब्दीदेखि सत्रौं शताब्दीका बीचको विभिन्न समयमा भएको मानिन्छ जसमध्ये स्कन्धपुराणको रचना ईशाको आठौं–नवौं शताव्दीतिर भएको थियो । यो समयावधि भनेको जनसङ्ख्या बृद्धि हुँदै गरेकाले कृषि उत्पादन बृद्धि गर्नुपरेको, कृषियोग्य जमिन सीमित व्यक्तिमा रहेको र काम गर्ने जनशक्तिको अभाव रहेको अवस्था थियो । यसैले दासलाई बँधुवाको रुपमा कृषि र पशुपालन कार्यमा समेत प्रयोग गरिन्थ्यो । दासप्रथा मौलाएर दासको किनबेच समेत हुन थालेको यो अवस्थामा महिलाहरुलाई पनि काबूमा राख्न आवश्यक ठानी विभिन्न धार्मिक संंहिता लागू गरिएको थियो ।
के रजस्वला हुनु पाप हो ?
तराईका महिलाहरु र पहाडका जनजातिका महिलाहरुले तीज नमनाउने हुँदा यसलाई पनि सबै हिन्दू महिलाहरुको पर्व नभएर खस जाति विशेषको पर्व भन्न सकिन्छ । पार्वतीले शिवलाई पतिका रुपमा प्राप्त गर्न कठोर तपस्या गरेको स्वस्थानी ब्रत कथा, हरितालिका तीजको कथा र त्यस्तै प्रकृतिका पौराणिक कथासँग यसलाई जोड्ने गरिन्छ । भोकै ब्रत बसेर र पूजा गरेर मनले चाहेको कुरा पुग्छ भन्नु अन्धविश्वास मात्र हो । आफ्नो श्रम, कर्म र पुरुषार्थमा विश्वास नभएकाहरुको धार्मिक पाखण्ड मात्र हो । पुरुषहरुले महिलालाई सधैं आफ्नो अधीनमा राखून् र आफू जस्तोसुकै व्यभिचारी, अपराधी र नीच स्वभावको भएपनि ईश्वरलाई झैं पूजा गरिरहून् भनेर नै महिलाहरुलाई यस्तो ब्रत बसी पूजा गर्ने प्रचलन चलाइदिएको देखिन्छ । तीजको सन्दर्भमा मनाइने ऋषि पञ्चमी पनि महिलाहरुसँगै जोडिएको चाड हो । रजस्वला भएदेखि बन्द नभएसम्म हिन्दू महिलाहरुले यसलाई मनाउने गर्दछन् । महिलाहरुमा रजस्वला हुने हुँदा तिनीहरु अपवित्र हुन्छन् र अझ तीनदिनसम्म त महापापी नै हुन्छन् भन्दै हिन्दू धर्मशास्त्रले महिलालाई अत्यन्त निम्नस्तरमा राखेर हेर्ने गरेको पाइन्छ ।
ऋषि पञ्चमी ब्रत–कथामा उल्लेख गरे अनुसार रजस्वलाको पहिलो दिन उनीहरु चाण्डाली, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिनमा धोबिनी र चौथो दिनमा मात्र शुद्ध हुन्छन् । त्यस कथाको अर्को प्रसङ्गमा एउटी ब्राह्मणीले रजस्वला भएको बेलामा थाहै नपाई भाँडाकुँडा छोएका कारणले मरेपछि आफ्नै घरमा कुकुर्नी भई जन्मिएको र लोग्नेले पनि रजस्वला भएकी श्रीमतीसँग लसपस गरेका कारणले गोरु भएर जन्मिएको कुरा उल्लेख गरेको पाइन्छ ।
निश्चित उमेर पुगेपछि निश्चित उमेरसम्म रजस्वला हुनु एउटा प्राकृतिक प्रक्रिया हो । रजस्वलाले महिला प्रजजनको लागि योग्य भएको सङ्केत गर्छ । यो सृष्टिको लागि अत्यावश्यक जैविक प्रकृया हो । यसैले यो सृष्टिचक्रको लागि अत्यन्त आवश्यक र सकारात्मक कुरा हो । यसलाई सकारात्मक रुपमा लिनुपर्नेमा कुनै पाप वा अपराधको कारण ठान्दै अछुत सम्झनु महिलाप्रतिको मात्र होइन सृष्टिचक्रकै घोर अपमान हो, विज्ञान र वैज्ञानिक चेतनाको उपहास हो । रजस्वला हुँदा बार्नुपर्ने कुनै पनि वैज्ञानिक कारण र आधार देखिँदैन । महिलाहरु रजस्वला हुन्छन् त्यसैले उनीहरु पुरुषभन्दा हेय, कमजोर र तल्लोृ श्रेणीका हुन् भन्ने पार्नकै लागि यस्तो अछुत व्यवहार गरिएको हुन सक्छ । सरसफाइ र पौष्टिक आहारमा ध्यान दिनुपर्ने यस्तो बेलामा ‘अछुत’ र ‘पापी’ ठहर गर्दै हावारहित चिसो भुइँ र अँध्यारो गोठमा अलग्गै राख्ने प्रचलन रुढिग्रस्त र नारीपीडक प्रथा हो । दुर्गम गाउँका अशिक्षित महिला मात्र होइन शहर–बजारका शिक्षित महिला समेत ‘पाप लाग्छ’ भन्दै रजस्वलाको समय ‘अछुत’ भएर बस्नुलाई विडम्वना नै मान्नुपर्छ ।
रजस्वलालाई पाप ठानिनुमा त्यही रुढिग्रस्त सामन्ती संस्कार अनि तिनका पृष्ठपोषक ‘हरितालिका कथा’ र ‘स्वस्थानी कथा’को प्रभाव हो भन्न सकिन्छ । ३६४ दिनसम्म दाँत नमाझ्ने तर वर्षदिनको साटो एकैदिन ३६५ वटा दतिबन टोक्दै रजस्वलाको प्रायश्चित्त गर्न खोज्नु अन्धविश्वाशको पराकाष्टा हो । यसरी रजस्वलालाई पापको कारण देख्ने, लोग्नेको आयु बढाउन भन्दै महिलालाई दिनभर पानीसम्म पिउन नदिएर भोकै बस्न लगाउने, जनैलाई उच्च जातका पुरुषहरुमा सीमित गर्ने, महिला र दलितलाई वेद पढ्न र सुन्नमा समेत बञ्चित गराउने हिन्दू धर्मका कतिपय ग्रन्थहरु नारी उत्पीडन, जातीय अहङ्कार र पुरुष हैकमकै पक्षपाती भएको पुष्टि हुन्छ ।
औचित्य र सान्दर्भिकता
केही दशक अघिसम्म पनि यहाँ भौगोलिक विकटता, यातायात र सञ्चार सुविधाको अभाव, बाल विवाहको प्रचलन, सासूमण्डलीको हैकम, लोग्नेको अत्याचार अनि बुहारीहरुले सधैंको बुहार्तन भोग्दै र उत्पीडन सहदै गरेको समय र अवस्था थियो । सानैमा बिहे गरेर विकट र बिरानो ठाउँमा पुगेका महिलाहरुलाई एकातिर घरको कामधन्दाले बिहान झिस्मिसेदेखि रातीसम्म सास्ती दिन्थ्यो भने अर्कातिर घरका परिवार विशेष गरी सासू र लोग्नेबाट पनि आवश्यक माया र सहानुभूतिको साटो अपहेलना र पीडा थप्ने काम हुन्थ्यो । खोला, जङ्गल अनि भीर पहराको एकान्त र लामो बाटो एक्लै हिँडेर टाढाको माइती घर पुग्ने अवस्था सहज र सरल थिएन । कामधन्दाको चपेटो अनि घर–परिवारको असहिष्णु व्यवहारले गर्दा पनि घरबाट फुत्केर सजिलै माइत जाने स्थिति हुँदैनथ्यो । माइतीको सञ्चो–विसञ्चोको खवर समेत पाउन मुस्किल पथ्र्यो । यो अवस्थामा वर्षको एक पटक दुई–चार दिन माइत जाने परिस्थिति बनाउनको लागि पनि तीज जस्ता चाडको आवश्यकता पर्दथ्यो । यसको लागि पुरुषहरुले सम्झौता त गरिदिए तर माइत गए पनि लोग्नेकै निम्ति ब्रत बसिदिनु पर्ने सर्तमा ।
यसरी आफ्नो मन र शरीरलाई हलुका पार्ने गरी वर्षको एकपटक भए पनि माइतमा गएर उन्मुक्त भई नाचगान गर्ने, आफ्ना व्यथा र वेदनालाई गीतका रुपमा व्यक्त गर्ने र पुराना साथी सङ्गीहरुसँग भेटघाट गरी मनलाई हलुका पार्ने कार्य तत्कालको आवश्यकता थियो । वर्षभरि सासूमण्डली र लोग्नेको सकसमा परेका अधिकांश बुहारीहरुलाई यस्ता पर्वले दुईचार दिन भएपनि अवश्य केही राहत दिन्थ्यो । तर त्यस छोटो उन्मुक्तिलाई समेत पुरुषहरुले आफ्नो प्रभाव र हैकमभित्र राख्न पुरुषकै निम्ति ब्रत बस्न लगाउँदै धार्मिक र पौराणिक मिथहरुसँग जोड्न थालेपछि यो पर्व नारी उत्पीडनकारी बन्न पुग्यो ।
आज प्रायः गाउँ–गाउँमा मोटरबाटो पुगेको र अधिकांशको हात–हातमा मोबाइल फोन रहेको अवस्था छ । यसैले माइतीको हालखवर थाहा पाउन अव हप्तौं वा महिनौं लाग्ने स्थिति छैन । मोबाइलबाटै धित मर्ने गरी कुराकानी गर्न सकिने अवस्था छ । अर्कातिर कतै–कतैको अपवाद छाडेर बालविवाहको प्रचलन पनि हटिसकेको छ र शिक्षा र चेतनाको जागरणसँगै नारी हक–अधिकारका कुराहरु पनि उठिरहेको अवस्था छ ।
बुहारी भएकै कारण शोषित र पीडित हुनुपरेको अवस्था कम हुँदै गई शहर–बजारतिर त बुहारीभन्दा सासूहरु नै बढी प्रताडित हुन थालेको अवस्था पनि छ । यो परिवर्तित अवस्थामा अव महिलालाई माइत आउन तीजै कुर्नुपर्ने, लिन गए मात्र पठाउने भन्ने अवस्थाको अन्त हुन थालेको र धेरै जसो महिलाहरु आफूले चाहेको खण्डमा सजिलै माइत आउन सक्ने स्थिति बन्दै गरेको छ । यो अवस्थालाई हेर्दा अव तीजको सन्दर्भ र औचित्य देखिन छाडेको छ ।
भोकै ब्रत बस्दैमा पुरुषको आयु बढ्ने होइन, उचित खानपान, स्वास्थ्य र जीवनशैली नै यसको कारक तत्व हो भन्ने अव धेरैले बुझिसकेको अवस्थामा ब्रत बस्ने र त्यसको तयारीका लागि अघिल्लो राती दर (दह्रो खाना वा पोषिलो खाना) खानु पर्ने आवश्यकता पनि अव रहेन । रजस्वलालाई नै पाप कर्म मानी त्यसको प्रायश्चित्तमा गरिने ऋषि पञ्चमी पूजा त अव महिला उत्पीडनकारी हुन पुगेको छ । यो स्थितिमा अव तीजको सन्दर्भ र औचित्य पुष्टि गर्ने आधार कहिँ कतै देखिँदैन ।
व्यापार–उत्सव र उपभोक्तावाद
आज तीजको स्वरुप फेरिँदै गएको छ । समय र समाजको विकासक्रमसँगै संस्कार–संस्कृतिहरु परिमार्जित हुँदै जानु स्वाभाविक र आवश्यक पनि हो । तर जव त्यो नकारात्मक दिशातिर उन्मुख हुन्छ तव त्यो संस्कृतिका रुपमा नभएर विकृतिका रुपमा रहन्छ र त्यसको औचित्य र सान्दर्भिकता समाप्त भएर जान्छ । आज हिन्दू महिलाहरुले मनाउने गरेका तीज जस्ता पर्वहरु पनि त्यसरी नै विकृत बन्दै सामाजिक दृष्टिले समेत औचित्यहीन बन्न थालेका छन् ।
भोलिपल्ट भोकै बस्नु पर्ने हुनाले महिलाहरुले हरितालिकाको अघिल्लो दिन राति उठेर दह्रो वा पोषिलो खाना खाने प्रचलन गरेका थिए । दूध, घिउ र त्यसबाट बनेका प्रोटिन र चिल्लोयुक्त खानाले शक्ति सञ्चय गर्दथ्यो र भोलिपल्टको लागि समेत काम गर्दथ्यो । त्यही प्रचलनलाई विकृत तुल्याउँदै आज शहरका महिलाहरु दर खाने नाउँमा एक–डेढ महिना अघिबाटै होटल–रेस्टुरेन्ट र पार्टी प्यालेसहरुमा भोज–भतेरमा रम्न थालेका छन् । व्यक्तिगत तवरबाट मात्रै होइन संघ–संस्था, समूह र क्लवहरुबाट समेत यसलाई फेसनका रुपमा अघि बढाउँदै एक–डेढ महिना अघिबाटै होटल–रेस्टुरेन्टहरु बुक हुन थालेका छन् । कतिपय व्यक्तिहरुले फेसनका रुपमा, कतिपयले आफ्नो नव–आर्जित सम्पत्तिको प्रदर्शन गर्न अनि कतिपयले व्यापार–व्यवसाय प्रवद्र्धन गर्नसमेत दर खुवाउने प्रचलनको उपयोग गर्न थालेको पाइन्छ ।
तीजका लागि भनी हरियो चुरा, सारी, पोते, मेहन्दी जस्ता वस्तुहरु ठुलो परिपाणमा भारतबाट आयात गरिन्छ । नेपाली महिलाहरु जानेर वा नजानेरै ती वस्तुहरुको उपयोगमा रमाउँदै व्यापारीहरुको प्रयोगस्थल बन्दछन् । यस्ता सामानहरुको प्रयोगले हाम्रो संस्कृतिको प्रवद्र्धन होइन व्यापार प्रवद्र्धन मात्र गरेको छ । यसरी खाने–खुवाइने दर (भोज)मा प्रस्तुत हुन जाँदा लगाउने गहना र कपडालाई हेर्दा कुनै प्रदर्शनस्थलमा गएझैं प्रतीत हुन्छ । मानौं त्यो कुनै फेशन, गहना वा रुपको प्रदर्शनस्थल हो । यसरी आफ्ना छोरी–चेलीहरुलाई बोलाएर भोज खुवाउनकै लागि तीज मनाउने हो भने तीजको औचित्य देखिँदैन । दशैं वा अन्य कुनै पनि अवसरमा यस्तो भोजको आयोजना गर्न सकिन्छ । यसरी तिजले एकातिर परम्पराका नाउँमा अन्धविश्वास र रुढिलाई अघि बढाइरहेको छ भने अर्कातिर आधुनिकताका नाउँमा पश्चिमा उपभोक्तावादी विकृत संस्कृतिको विस्तार गरिरहेछ ।
व्यापार प्रबर्द्धन कि सांस्कृतिक स्खलन ?
तीजको एउटा सकारात्मक पक्ष नेपाली लोकगीतका विशेष भाकाहरुको संरक्षण र प्रवद्र्धन गर्नु पनि थियो । नेपाली महिलाहरु माइत आउँदा साथीहरुसँग जमघट भई आ–आफ्ना घर–गाउँका दुःख–सुख, आस्था–विश्वास, घटना–अवस्थाका विषयहरुलाई आ–आफ्नै गाउँ–ठाउँका भाकामा उनेर मार्मिक रुपमा प्रस्तुत गर्ने गर्दथे । यसले एकातिर सम्बन्धित ठाउँको प्रकृति, परिवेश, परम्परा, घटना, आर्थिक–सामाजिक, साँस्कृतिक र पारिवारिक स्थितिको जानकारी हुन्थ्यो भने अर्कातिर विभिन्न ठाउँका लोक–भाकाहरुको प्रयोगका साथै प्रतिभा प्रस्फुटनको अवसर पनि हुन्थ्यो । महिलाहरुद्वारा प्रस्तुत स्वतःस्फूर्त शब्द र भाकाहरुमा नेपाली लोक संस्कृतिको एउटा सङ्लो रुप देख्न सकिन्थ्यो ।
अहिले यो सबै लोप हुन थालेको छ । महिलाहरुले मात्र गाउने यी गीतहरु अहिले महिला पुरुष दुवैले गाउने गरिएको छ भने त्यसभित्र रत्यौली र दोहोरीका भाका मात्र होइन फिल्मी गीत, रिमिक्स गरिएका गीत र अझ हिन्दीगीत पनि गाइने गरिएको छ । हलुका प्रेम र यौनका शब्द ओकल्ने अनि सुन्दै अश्लिल लाग्ने गीतहरुले नेपाली मौलिक संस्कृतिको उपहास गरिरहेका हुन्छन् । दर खाने नाउँमा होटल–रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरुमा थुप्रिँदै आयातित लुगा र गहना प्रदर्शन गरी अश्लिल र भड्किला गीतमा नाच्नुलाई नै तीज मान्ने हो र यसैलाई संस्कृति मान्दै यसको संरक्षणमा लाग्ने हो भने कसैको व्यापारिक प्रवद्र्धन त होला तर हाम्रो समाज चाहिँ कता जाला ? परम्पराको नाउँमा समाजलाई अन्धविश्वास र रुढिको जाँतोमा पिसिरहने वा आधुनिकताको नाउँमा उपभोक्तावादी विकृत संस्कृतिको दिशातिर लैजाने संस्कृतिलाई अवलम्वन गर्नुभन्दा बरु हटाउँदै जानु नै श्रेयष्कर हुनेछ ।
(पोखरा)