म अरुको सही र लगत देख्छु
सहमतिभित्र प्रसस्त विमति देख्छु
अनि गलतभित्र पनि मत देख्छु
म कहाँ छु ?
आफैँ सही छु वा गलत छु ?
हमेसा असन्तुष्ट छु ।
मैले पूर्णिमाको खुला रातमा आकाशतर्फ हेर्दा
चन्द्रमाले दिएको आनन्दको टहक हेरेर
खुशी मनाइरहँदा
म उसैभित्र शितलता खोज्छु
समुद्रको पानी उठाएर तिर्खा मेटिरहँदा
त्यही प्राण जल पिएर
म उसैभित्र अनमोल मोती खोज्छु
आफैँ सही छु वा गलत छु ?
हमेसा असन्तुष्ट छु ।
खानी कोट्याएर कार्वन निकाल्छु
कार्वन उर्जा हो
यसैमा मात्र म खुशी छैन
यही कार्वनभित्र म हिरा खोज्छु
थाकेर भुईँमा थ्याच्च बसेको आनन्द भूलेर
भुईँमा निद्रा खोज्छु
आफैँ सही छु वा गलत छु ?
हमेसा असन्तुष्ट छु ।
आहा ! त्यो चरिरहेको प्राणी
सुन्दर कस्तुरी हो
प्रकृति सिँगार्ने कस्तुरी हेरेर मात्र
म खुशी हुन्न
अझ त्यही कस्तुरीभित्र सुगन्ध खोज्छु
म सुनमा सुगन्ध खोज्छु
आफैँ सही छु वा गलत छु ?
हमेसा असन्तुष्ट छु ।
म पुरुष हुँ
म नारी खोज्छु, सुन्दर नारी !
मुहारमा चन्द्रमाको ज्योति खोज्छु
अलि पछि सुन्दर नारीले हुन्न मलाई
अनि सुन्दर नारीभित्र बत्तिस लक्षण खोज्छु
कञ्चन मन खोज्छु
त्यसैमा साँचो माया खोज्छु
आफैँ सही छु वा गलत छु ?
हमेसा असन्तुष्ट छु ।
प्रचण्ड गर्मीमा मलाई बतास चाहेको बेला
बतासभित्र प्राण वायु खोज्छु
कसैलाई भ्रम नहोस्
मैले सँधै बतास खोजेको होइन
गर्मीमा बतास खोज्यो भनेर
मैले शीतमा बतासिनु छैन
चिसिएको बेला घाम खोजेँ भनेर
प्रचण्ड गर्मीमा मैले घाम ताप्नु छैन
म बदलिन्छु छेपाराको रङ जस्तै
प्रायः बादलको द्वन्द्वभित्र पानी खोज्छु
बेलाबेला बादलको द्वन्द्वभित्र ज्योति खोज्छु
शीतका थोपाभित्र मोति खोज्छु
आफैँ सही छु वा गलत छु ?
हमेसा असन्तुष्ट छु ।
म असन्तुष्ट मान्छे हुँ
गहिराइ नापेर डुब्न खोज्ने
गन्तब्य हेरेर पुग्न खोज्ने
आकाश हेरेर छुन खोज्ने
अन्तरीक्ष हेरेर भौँतारिन खोज्ने
शुन्यभित्र हराउन खोज्ने
म असन्तुष्ट मान्छे हुँ ।
मैले आँखाले देखेको भूगोल पढ्दा
नदेखेको भूगोलमा मन गएथ्यो
देखेको आकाश पढ्दा
नदेखेको अन्तरीक्षमा ध्यान गएथ्यो
देखेको तारा पढ्दा
आकाशगंगामा ध्यान गएथ्यो
ध्यान जता गयो ज्ञान त्यतै अपूर्ण भयो
आफैँ सही छु वा गलत छु ?
हमेसा असन्तुष्ट छु ।
यी सारा असन्तुष्ट मान्छेहरु
सबै अपूर्ण छन्
जो पूर्ण छन्
ती यहीँ कतै गायव छन्
दुनियाँमा वेमतलब छन्
निदाएर हीरा खोज्छन्
नपाए मदिरा खोज्छन्
बिष घोलेका छन्, खाएका छन्
संसारबाट अघाएका छन् ।
यहाँ संसारबाट नअघाउनेहरु
धर्तीको स्वादमा रमाएर बस्नेहरु
शरीर बोकेर बस्छन्
उनीहरु शरीर जोगाएर राख्छन्
मर्मत संभार गर्छन्
यौटा यन्त्रजस्तै काम गरिरहेको शरीर
त्यहाँ प्रणाली खोज्छन्
त्यही शरीरभित्र ब्रह्माण्ड खोज्छन्
आत्मा खोज्छन्
शुन्यतामा हराउने बाटो खोज्छन्
खरानी नभएसम्म खोजिरहन्छन्
अन्त्यमा शुन्यतामा हराउँछन्
म जस्ता असन्तुष्ट मान्छेहरु ।
(ताप्लेजुङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।