सुनकोशी गड्तिर भँडारेघाटमा एक माझी बस्थे । उनी जालहारी कलाका प्रवीण थिए । उनको पुस्तौनी पेशा नाउबाट मानिसलाई कोशी तार्नु र माछा मार्नु थियो । उनले मारेका सुनकोशीका माछा काठमाण्डौ पुग्थे । ठूलाबडा रईसहरुको भान्सामा बेलाबेलामा सुनकोशीको माछाको बासना फैलिन्थ्यो । माझी गरिब थिए । तर इमान्दार र सोझा थिए । घरको नाममा फरिकाले बारेको बर्खे कटेरोतुल्य एक झोपडी थियो । सम्पत्तिको नाममा भने जस्तो केही चिज थिएन । थियो त उनीसित केही थान जाल, एक डुङ्गा र बहना, माछा हाल्ने खाँेगी पेरुङ्गो सिवाय केही थिएन ।
निकै वर्ष अगाडिको कुरा हो, ती सोझा माझीसित मीत लगाउन मानिस मरिहत्ते गर्थेँ अरे । सुनेको कुरा हो, कोशीवारी कोशीपारीका नामुद नाम कहलिएका ठूलाबडा, पञ्चभलाद्मी र नेताहरु, टाढाटाढाका धनीमानीहरु ऊसित मीत लगाउने प्रस्ताव पठाउँथे । कति त मीत लाएर कोशी गडतिरमै दुईचार रात रङरमाइलो गरी बिताउँथे । बिचरा आर्थिक रुपमा निम्सरो माझीसित किन ठूलाबडा मुखियाले मीत लगाउन अपहत्ते गरे । उसले कोही सोच्न सकेन । मीत लाएपछि आठदश महिनामा मीत लाउन यसरी मरी मेट्नुको रहस्य थाहा पाउँदै गयो । कुनै मुखियाले मीत लाएको महिना दिन भएको छैन, मीतलाई तारन्तार खबर आउन थाल्छ – लौ यतिकिलो कोशीको माछा जसरी हुन्छ मीतले ल्याइदिनु प¥यो । ठाउँठाउँका मीतहरुले उसलाई हैरानीमा पारे । पछि कोही मीत लाउने प्रस्ताव लिएर आउने बित्तिकै मुसुमुसु हाँसेर माझीले प्रतिक्रिया जनाउन थाल्यो, – “माछा खाने बुद्धि हो ! माछा खाने !”
आफनो माछा खाने निहित स्वार्थ पुरा गर्नको लागि मान्छे ऊसित मीत लाउन चुम्चुमिएका हुन्थे । ऊप्रतिको हार्दिक प्रेमभावले भन्दा पनि उसको माछा मार्ने कलालाई दोहोन गर्न ऊसित मीत घस्थे । मानिसको माछा खाने विचित्रको बुद्धि देखेर माझी घरीघरी व्यङ्ग्य हाँसो हाँस्थ्यो, घरी क्रोधले रन्थनिन्थ्यो ।
आफ्नो शुद्ध श्रममा बाँचेको माझीलाई माछा खाने बुद्धिका मीतहरुले लेथ्नो दलेका थिए । माछा मार्ने सिजन भए त ठिकै हुन्थ्यो, याम कुयाम जतिबेला पायो त्यतिबेला माछाको माग र अफर गर्ने भिखारी मीतहरु देखि ऊ आजित थियो ।
आज मेरा अाँखामा माछा खाने बुद्धिका अनेकन अनुहारहरु गोचर हँुदैछन् । बजारमा रङरङका पाठ्यपुस्तकका गाइडहरु निकालेका छन् । चाहे ती कक्षा नौदस एघारबाह्रका हुन् या स्नातक स्नातकोत्तर तहका हुन् । तिनमा लेखकको एउटा हुलै हुन्छ । सिरानमा ख्यातनामा प्रा.डा.हरुको नाम रहन्छ, त्यसमुनि कनिष्ठ युवा लेखकको नाम हुन्छ, जसको विषयमा दुनियाँ बेखबर छ । मैले एक प्रकाशकको मुखबाट सुनँे, यसले तीनैपक्षलाई लाभ हुन्छ अरे । लेख्न त नवसिकारु तन्नेरीहरुले लेखेका हुन्छन्, तर अग्रज गुरुको नाम मर्यादाक्रमले किताबको माथि राखिदिएपछि अकिञ्चन बजारलाई राम्रो गर्छ । जसबाट नयाँ लेखकलाई पनि दाम मिल्ने, ठूला लेखकले पनि किताबको एक अक्षर नलेखीकनै आफ्नो नाम बेचेर दाम पाउने, योपनि प्रकाशन जगत्मा एकप्रकारको माछा खाने बुद्धि नै हो भन्ने ठहर गरँे । अग्रज ख्यातनामा लेखकले पनि मौन सम्मति दिएर माछा खाने बुद्धि अपनाएका छन् । कनिष्ठ शिष्य लेखकले पनि गुरुलाई आफ्नो वशमा पारेर माछा खाने बुद्धिको प्रयोग राम्ररी नै गरेको छ । तेस्रो पक्ष प्रकाशक त पँुजी लगानी गरेर एक किसिमको जुवाको खालमा कौडी हानेकै हुन्छ, उसमा त यी दुई लेखकमा भन्दा बढि माछा खाने बुद्धि विकसित गर्नु परेको छ ।
आफैँले जाल तुनेर, आफैँले जाल हानेर, दुवाली छेकेर, बल्छी हानेर, ढडिया थापेर माछा खाने बुद्धि झिक्नु अवश्य नै नराम्रो कुरा हुँदैहोइन । पौरखी मान्छेले पसिना खर्च गरीगरी माछा झिकेर खायो भने राम्रै कुरा हुन्छ । तर सिर्फ जालसाँचीमा मीत घसेर सोही नाताले माझीको मिहिनेत दोहन गरी माछा खान खोज्नु अवश्य नै राम्रो कुरा होइन ।
स्वास्थ्य क्षेत्रमा पनि माछा खाने बुद्धिको चमत्कार देख्न पाइन्छ । खास गरी मोफसलका सहरमा खुलेका निजी क्लिनिक, नर्सिङ होमहरुमा र प्राइभेट अस्पतालहरुमा यस्तो देख्न पाइन्छ, जहाँ ख्यातनामा लब्ध प्रतिष्ठित डाक्टरहरुको नाम साइनबोर्डमा राखिएका हुन्छ । फलानो मुटुरोग विशेषज्ञ, चिलानो मृगौला रोग विशेषज्ञ र स्नायु रोग विशेषज्ञको सेवा उपलब्ध छ भने कुरा विज्ञापन गरिएको हुन्छ तर यथार्थमा ती कहलिएका विशेषज्ञको आगमन नै प्राय हँुदोरहेनछ । विरामीहरु साँच्चैका ती डाक्टरसित जचाउँनलाई टिकट काटेर भित्र पस्छन् । तर त्यहाँजाचँजुँच गर्ने ठाउँमा अर्कै अनाडी अनचिनारु डाक्टर रहेको हुन्छ । त्यो पनि भर्खरको सिकारु हुन्छ कि कतै नबिकेको र रोजीरोटी कमाउन त्यहाँ लेपासिन आएको व्यक्ति हुन्छ । नाम चलेका प्रख्यात डाक्टरको साइनबोर्ड झुण्ड्याएर आफ्नो मेडिकल व्यवसायलाई उँभो उठाउने कनिष्ठ सिकारु चिकित्साकर्मीको यो तरिका पनि माछा खाने बुद्धि अन्तर्गतको व्यवसायमा सुचिकृत गरेको छु ।
राजधानीमा बस्ने नाम चलेका प्रख्यात डाक्टरहरुको पाइलो मोफसलमा आक्कलझुक्कल त परेको होला तर नियमित रुपमा विरामीलाई सेवा दिने किसिमले विरलै पर्ने गर्छ । तर उनीहरुको नाम र ख्याति बेचेर चिकित्सा पेशाको सुती खेती काहीँकाहीँ चम्किरहेको देखिन्छ । यस्ता कर्मलाई माछा खाने बुद्धिबाट प्रेरित भएर थापेका पसल ठान्छु म । पसले हुन्छ अनाडि गुणस्तरहीन स्वास्थ्यकर्मी । उनीहरुका कार्य निन्दनीय त छन् नै, यी कार्य थप खतरनाक पनि छन् । किनभने गाउँदेहातका मधौरु विरामी चर्चित डाक्टरको नाम सुवासले तानिएर त्यस थलोमा जँचाउन पुगेका हुन्छन् । तर चर्चित विशेषज्ञ डाक्टरको पाइलो त्यस ठाउँमा टेकिएकै हुन्न । मानिसलाई ढाँटेर, झुक्याएर अनि अल्मल्याएर रोगीका पैसाको शिकार गर्ने यस्ता क्लिनिककर्मीको कामलाई जति भत्सर्ना गरेपनि कम हुन्छ । माछा खाने बुद्धिका जस्ता अनेकन् तरकीवहरुको सिकन्जामा देशैभरिका रोगीमधौरु थिलोथिलो बन्दै आएकाछन् । एम.वि.वि.एस, एम.डी डाक्टरको साइनबोर्ड टाँसेर हे.व.÷अ.हे.व.ले विरामीको दोहन गरिराखेका छन् ।
माछा खाने बुद्धिका मानिसको चियोचर्चो गर्दै जाँदा एकजना ठेकदार र कर्मचारीको चित्र मेरो स्मृतिमा तैरिन्छ । ती ठेकदार, माथि सरकार फेरिएपिच्छे तल पार्टी फेर्छन् । र पार्टी फेरेपछि त्यस पार्टीको प्रभावशाली नेतालाई फेरो मार्न पुग्छन् । उनीसित के त्यस्तो कला छ ? जसले जस्तै मै हुँ भन्ने नेतालाई पनि केही दिन मै आफ्नो प्रभावमा लिइहाल्छन् ।
मैले थाहा पाउँदा सुरुमा माथि बामपन्थीको सरकार थियो । त्यससमय उनी बामपन्थका कट्टर समर्थक थिए । बाममार्गी नेतागणलाई घरमै मिठो मसिनो खुवाउने, आवास र अन्य सुविधाको व्यवस्था मिलाउने काम गरे । त्यस कालखण्डमा उनले कुरुस्त लाभ लिने काम पनि गरे ।
केही समयको अन्तरालमा बामपन्थी सरकार धराशायी भो । प्रजातन्त्रवादी खेमाको सरकार निर्माण भयो । उनी रातारात बामपन्थबाट दक्षिणपन्थमा हामफाले । प्रजातन्त्रवादी खेमाका कट्टर समर्थकको रुपमा उनी उदाए । अब त्यस कित्ताका नेतालाई आश्रय दिने र पालनपोषण गर्ने कामको थालनी गरे । नेतालाई खुवाएर, पियाएर, सुताएर आफ्नो बनाउने निष्णात कला थियो उनीसित । जता मल्खु उतै ढल्कु भने झैँ सत्ताको ढोल जुनकित्तामा बज्छ, त्यही कित्तामा छमछमी नाँच्न सिपालु छन् उनी । सिपालुमात्र होइन, त्यस कृत्यमा नम्बर एक माहिर छन् । सत्ता परिवर्तनसितै कति छिटो कित्ता फेरि सक्छन्? नेता रिझाइ सक्छन्? कसैले सजिलोसित भेउ पाउन सक्तैन । लोकलाई नै चकित पार्ने बिछट्टको क्षमता छ उनीसित ।
असली कुराको अन्तर्यमा जाँदा न उनी बामपन्थका अनुयायी हुन्, न हुन् प्रजातान्त्रिक पन्थका अनुयायी । उनी त खसोखास रुपमा भन्ने हो भने हसुरपन्थका अनुयायी हुन् । उनलाई राजनीतिक रुपको चिन्तन दर्शनसित कुनै लिनुदिनु छैन । उनी एउटै कुरो जान्दछन् – जसमा उनको दुनो भने जतातिरबाट भएपनि सोझिनु पर्दछ । उनले व्यक्तिगत लाभ हासिल गरेको हुनु पर्दछ । देश भाँडमा जाओस्, समाज भाँडमा जाओस् तर उनको भाँडोमा चामल भरिएको हुनुपर्दछ । उनको एकसूत्रिय दर्शन यही हो । बाँकी उनका कृत्यहरु नाटक हुन्, अझ कलात्मक अभिनय मात्र हुन् ।
खसोखासमा उनी माछा खाने बुद्धिका अनुयायी हुन् । चाकरी, चाप्लुसी, चुक्ली, चेपारे र जी हजुरीको अनुपम कलाले आफ्नो दुनो सोझ्याउन सिपालु मनुवा हुन् ।
माछा खाने बुद्धिको कुरा गर्दा छुटाउन नहुने अर्का एक कर्मचारी मित्रको चित्र झलझली याद आउँछ । उनको शैली अझै चमत्कारपूर्ण छ । उनी सरकारी पदमा आसिन छन् । अर्थात् उनी एक सरकारी जागिरे हुन् । उनको विशेषता जहिले पनि मालदार कमाउ अड्डामा आसिन रहन्छन् । फेरि घरपायक बाहेक अन्य ठाउँमा हत्तपत्त सरुवा हँुदैनन् । अरु कर्मचारीको सरुवा हुन्छ । उनी कहिल्यै सरुवातरुवाको झमेलामा परेका हँुदैनन् । उनको यो क्षमता देखेर लोक विस्मित बन्छ ।
प्रत्येक पटकको चुनावमा जुन पार्टीको जुन उम्मेदवारले विजयश्रि माला परिरहन्छ । ती नेताको घरमा सबभन्दा पहिले पुगेर खादा र बुके टक्रयाउनु, अङ्कमाल गर्नु र बधाई दिनु, उनको विशिष्ट संस्कार हो । पहिलोचोटि नै जितुवा उम्मेदवारलाई गहिरो सम्मोहनमा बेर्छन् । नेताको हृदयमा एकचोटिआशन जमाएपछि सधैँको लागि आफ्नो बनाउने कला छ ।
जुन नेताले चुनाव जितेपनि, जो मन्त्री, मेयर, मुख्यमन्त्री भएपनि उसको ढोकामा महङ्गा बुके र माला पहि¥याउन पुग्छन् । पदासिन नेताको निधारमा अविरमात्र घस्तैनन् । तीनमाना तेलको चिप्लो घसेर बधाई ज्ञापन गर्छन् । नेताको नजरमा परिहाल्छ – यी भन्दा परम् हितैषी कल्याणमित्र मेरो अर्को कोही रहेनछ । यस्ता कुराको दुरुस्त छाप हृदयमा ठप्पा लाइदिन्छन् ।
उनलाई कुनै पार्टीको भेद छैन । उनलाई कुनै सिद्धान्तको भेद छैन । उनलाई कुनै चिन्तन दर्शनको विवेचना र वर्गीकरण आवश्यक छैन । सोचाइको त्यो लेठोमा लाग्दापनि लाग्दैनन् । सिर्फ जित्नेलाई बुके, माला र खादा ओडाएर सम्बन्धको सेतु कस्दछन् । त्यस सेतुमा टेकेर उनी दुर क्षितिजका स्वार्थका टाकुराहरु आरोहण गर्छन् । नेताको हातमा बुके टकारेर आफ्नो मक्सद पुरा गर्ने यो शैली माछा खाने बुद्धिकै एकरुप ठानेको छु मैले ।
मेरा पिताजीको मुखबाट उहिल्यैका एउटा बाजेको कथा सुन्न पाएको छु । त्यतिखेर किराँती गाउँका केही युवाहरु मलायाको लाहुरमा थिए अरे । उनीहरु तीनमहिने छुट्टीमा आउँदा भरियालाई कुरुस्त भारी बोकाएर गाउँ फर्किन्थे । सुनचाँदी, लत्ताकपडा, घडीरेडी, भाँडावर्तन र नगदरुपियाँका साथ उनीहरुको गाउँमा पदार्पण हुन्थ्यो । ती बाजेपनि मस्त जवान थिए । राणाकालीन समयमा मुखिया तालुकदारको जिम्मेवारी थियो । जिल्लामा उनको नाम सुकीर्ति राम्रैसित फैलिएको थियो ।
भर्तीबाट फर्किने लाहुरसित कुनै न कुनै सम्पर्कबाट मित लाउने र चिनोस्वरुप बन्दुक, रेडियो, घडी, बुटजुत्ता, औँठी र केही न केही जुगादी मालमत्ता हाता पार्ने ध्याउन्नमा उनी रहन्थे । र यसक ाममा उनी सफलपनि बन्थे अरे । कुनै न कुनै हिसाबले लाहुरेहरुलाई आफ्नो प्रभावमा लिने कला उनीमा थियो । त्यसैले सात गाउँका राईमगर लाहुरेहरु उनका मित बनेका थिए अरे । बुवाको मुखबाट सुनेको कुरा हो यो । प्रत्यक्ष देख्न पाएको त होइन । परन्तु अहिले आएर विचार गर्दा र ती बाजेको अक्कल हेर्दा उनीपनि माछा खाने बुद्धिअन्तर्गतकै मनुवा रहेछन् भन्ने मेरो ठहर छ ।
जति नै समय सन्दर्भ फेरिएपनि नयाँनयाँ ढाँचाका माछा खाने बुद्धिका मान्छेहरु समाजमा असरल्ल देखा परिरहेका छन् । माछा खाने बुद्धिका मानिसहरु नघटेसम्म समाज सदाचार र नैतिक मूल्यको बाटोमा हिँड्न मुस्किल छ ।
(उदयपुर)