ए गाउँ आज गाउँका सबै गाउँलेलाई सोधी दे
मैले गाउँ विकाशको निम्ति पोनी रोडलाई
मोटर गुड्ने बाटो बनाउन आपति छैन पत्रमा
हस्ताक्षर गरी माग्दै हात जोड्दा खित्का छोडी
खिसिका उन्मुक्त हाँसो हास्नेहरुलाई
अहिले घर–घर सम्म मोटर पुग्दा खुशी छ छैन भनेर ।
ए गाउँ आज गाउँका सबै गाउँलेलाई सोधी दे
सानो हण्ड्रेड सी सीको बाइक गाउँमा गुडाउँदा
बाइक कुदाएर घर सबै हल्लायो भन्ने शुभचिन्तकहरुलाई
आजकल बडे बडे बुलेट, के टी एम बाइकहरु गुड्दा
उनीहरुको सुन्दर घरहरु हल्लाएर भत्काएको छ छैन भनेर ।
ए गाउँ आज गाउँका सबै गाउँलेलाई सोधी दे
मोटरको बाटो खन्दा मेरो जमिन गयो भनेर सराप्नेहरु
गाउँ बीचबाट आधुनिक गाडीहरु कुद्ने बाटो बनेपछि
आवश्यक पर्ने सर समानहरु मोटरले घरमै पुर्याउँदा
गाउँका बासिन्दाहरुलाई सुख भयो कि दुःख भयो भनेर ।
ए गाउँ आज सबै गाउँका गाउँलेलाई सोधी दे
गाउँ बीचमा मोटर गुड्ने बाटोको सट्टा चोर बाटो हुँदा
बिरामीलाई स्टेचरमा बोकेर अस्पताल पुर्याउनको साटो
गाउँमा दुःख बिमार हुँदा बिरामी घरबाट एम्बुलेन्सले बोक्दा
गाउँलेहरुलाई सुविधा भयो कि असुविधा भयो भनेर ।
ए गाउँ आज गाउँका सबै गाउँलेलाई सोधी दे
गाउँ भर्खर प्रगतिको बाटोमा अग्रसर हुँदै गर्दा
प्रगतिको खुट्टाहरु तानेर लङ्गडो बनाउन खोज्ने
रुडीवादी सोँच बोकेर आधुनिक युगमा जिउन खोज्नेहरुलाई
गाउँले प्रगति गरेर गाउँ हाँसेको मन पर्छ कि पर्दैन भनेर ।
ए गाउँ आज गाउँका सबै गाउँलेहरुलाई सोधी दे
गाउँमा स्कुल, पुस्तकालय निर्माणको कार्य हुँदै गर्दा
निरक्षर गाउँलाई साक्षर भएको देख्न नचाहनेहरु
अब पढ्न्तेहरुले गाउँमा काम तछार्ने भो भन्नेहरुलाई
अहिले गाउँ सबै साक्षर भएको राम्रो भो कि नराम्रो भो भनेर ।
(मिरिक, दार्जिलिङ)