मेरी आमाको विवाह हुँदा वहाँकी सासू अर्थात् मेरी हजुरआमाको निधन धेरै पहिले भइसकेको थियो रे। मेरी आमा, परिवारकी जेठी बुहारी, तर वहाँले सासूसँग व्यवहार गर्न पाउनु भएन। बरु कहिलेकाहीँ बूढी सासू अर्थात् मेरी हजुरआमाकी आमा जसलाई मैले पनि देखेँ र “मामाघरकी हजुरआमा” भनेर सम्बोधन गर्थें, उहाँले कहिलेकाहीँ “नातिनी बुहारी” भनेर मायाले घरव्यवहारका काम कुरा सिकाउनु हुन्थ्यो रे।
मेरो छरछिमेकमा कुनै घरमा सासू बुहारी थिए भने कुनैमा थिएनन्। सानै देखि हुर्कँदै, बढ्दै गर्दा मान्छेहरूले गरेका कुराकानी, तीज, रत्यौलीका गीतहरू, चलचित्र र उपन्यास, कथाहरू आदिबाट मेरो मनमा “सासू” भन्ने एक दुई उदाहरणबाहेक धेरैजसो बुहारीलाई माया नगर्ने खल पात्र हुन् भन्ने परेको थियो।
कलेज सकेर केही वर्ष सरकारी जागिर खाएपछि फेरि वन विज्ञान अध्ययन संस्थान पोखरामा स्नातक पढ्न गएँ। त्यस बेला हामीमध्ये एकजना साथीको मात्र भर्खर विवाह भएको थियो। ती साथीले उनको सासूको कुरा बारम्बार गरि रहन्थिन्। उनकी सासूले उनी स्नातक तह पढ्नको लागि दिइएको प्रवेश परीक्षामा पास भइन् भन्ने सुन्दा आँखाभरि हर्षाश्रु पार्दै “मेरी बुहारी पनि अब हाकिम हुने भइन्” भन्दै खुसी भएको र “मैले त भगवानलाई भाकल गरेकी थिएँ, भगवानले पुर्याउनु भयो” भन्दै ती साथीलाई स्याबासी दिनु भएको कुरा अत्यन्त गर्वित भएर सुनाइन्।
सधैँ सासू भनेको बुहारीलाई दुःख दिने, हेप्ने, अघि बढ्न नदिने
आदि सुनेकी र हिन्दी सिनेमामा ललिता पावर र शशिकलाजस्ता सासू पात्रहरू देखेकी मैले भगवानलाई “भाकल” गरेर बुहारीको सफलता र खुसीमा रमाउने यी सासूको कुरा आफ्नै साथीले रमाउँदै बताउँदा म पनि उनीसँगै खुसी हुँदै ती साथीकी सासूप्रति आदरभावले नतमस्तक भएकी थिएँ।
२०-२२ वर्षको उमेर, घरमा विवाहका कुराहरू आउथे । साथी सँगीहरुसँग पनि विवाहका कुराकानी अलि अली हुन थालेका थिए। म पनि अरूले झैँ बिस्तारै भावी जीवनको, आफ्नो श्रीमानको, सासू, नन्द, आमाजू, जेठानी, देवरानी आदिको कल्पना गर्थे। त्यति बेलासम्म मैले देखेका र सुनेका सासूहरूका कथाका आधारमामेरी सासू पनि धार्मिक, छोरा छोरीलाई माया गर्ने, आफूले धेरै दुःख गरेर छोरा छोरी हुर्काएकी, थोरैमा ३-४ वटा बच्चा जन्माएकी, औपचारिक शिक्षा नलिएकी भएपनि धार्मिक पुस्तकहरू अलि अलि वाचन गर्न सक्ने, लोग्नेले माया गरेपनि, हेपेपनि वा जति नै अपमान गरेपनि त्यै लोग्नेलाई भगवान हुन् भन्ने मान्यता राख्ने, आफ्ना सबै इच्छा चाहनाहरू पूर्ण रूपले दबाएर घर परिवारको लागि सधैँ जोतिइरहने खालकी एक अधबैँसे महिलाको आकृति मेरो मानस पटलमा आउँथ्यो। आफूले दु:ख पाएकी भएपनि बुहारीप्रति भने कठोर नै हुने सासूको चित्र आउथ्यो दिमागमा। पढे लेखेकी, जागिरे वा कुनै नेतृत्व तहमा पुगेकी महिलाको सासू छवि मेरो दिमागमा कहिल्यै आएन।
स्नातक तहको पढाई सके पछि मेरो विवाह भयो । घर रुकुम जिल्लाको चौरजहारीमा। कुनै कारणवश मेरा सासू र ससुरा हाम्रो काठमाण्डुमा भएको विवाहको अवसरमा आउन पाउनु भएन। विवाहपछि श्रीमानसँगको कुराकानी र वहाँको फोटो हेरेर मेरी सासूको छवि “६५ उमेर कटिसकेको, दुब्लो, पातलो शरीर, धार्मिक, छोराछोरीहरूलाई अति माया गर्ने” खालको मेरो कल्पनामा थियो।
विवाहको केही दिनपछि हामी चौरजहारी गयौं। काठमाण्डुबाट करिब डेढ घण्टाको हवाई यात्रापछि चौरजहारीको एयरपोर्टमा झरियो। ससुरा बुवा तथा अन्य आफन्तहरू लिन आउनु भएको थियो एयरपोर्टमा तर त्यो भीडमा मैले मेरी सासूलाई देखिनँ। करिब एक घण्टाको हिँडाइपछि हामी घर पुग्यौं। त्यहाँको चलनअनुसार बुहारी भित्र्याउने, मुख हेर्ने काम भयो। २-४ दिनमै नयाँ परिवेशमा म अभ्यस्त हुन थालि सकेकी थिएँ। दिउँसो छरछिमेक, आफन्तहरू भेट्न आउँथे। म सबैसँग कुराकानी गर्दै चाँडै नै घुलमिल भएको देखी मेरी सासू निकै नै खुसी देखिनुहुन्थ्यो ।
मेरी सासूले जम्मा १० जना बच्चाहरू जन्माउनु भएछ तर जम्मा ४ जना बच्चा- दुई छोरा र दुई छोरीहरू मात्र बाँचेछन् । उहाँले विवाह गर्दा उहाँको पनि दुबै सासू ससुरा बितिसक्नु भएको थियो रे । तर जेठानी दिदी भने हुनुहुन्थ्यो र दुबै जना अति मिल्नु हुन्थ्यो रे ।
चौरजहारी गएको केही दिनपछि मेरो महिनावारी भयो। विवाहपछि काठमाण्डुमा डेरामा बस्दा मैले महिनावारी बारेकी थिइनँ तर म पूर्ण रूपमा तयार थिएँ कि त्यहाँ महिनावारी बार्नुपर्छ भनेर। यस विषयमा मेरो श्रीमान्सँग कुराकानी पनि भएको थिएन । तसर्थ “म नछुने भएकी छु” भन्दै कोठामा एक छेउ लागेर बस्न लाग्दा आमाले सहजतापूर्वक “त्यो त प्राकृतिक कुरा हो, हाम्रो घरमा नछुने बार्ने चलन छैन ! तिमीलाई शारीरिक रूपले, दुःख, गाह्रो हुन्छ भने आराम गर, तर छुन नहुने, केही काम गर्न नहुने भन्ने छैन। पहिले मैले पनि बार्ने गर्थें तर तीम्रो जेठानी तिर्थाले महिनावारी सम्बन्धी कुरा बुझाएपछि कुरा सत्य हो भन्ने लागेर हामीले घरमा नछुने बार्ने चलन छोड्यौं।” उहाँको कुरा सुनेर म एकछिन त अचम्ममा परे।
सुदूर-पश्चिम तिर छाउपडी प्रथाबारे पढेकी, सुनेकी थिएँ। काठमाण्डुको धेरै जसो शिक्षित, सम्भ्रान्त भनिएका परिवारहरूमा छि:छि दूरदूर गरि नछुने बार्ने गरेको देखेकी मलाई यिनी पैँसट्ठी काटेकी वृद्धाबाट त्यति सजिलोसँग “नछुने बार्नु पर्दैन” भनेर भन्दा मेरो कल्पनाकी परम्परागत सासूको फोटो फुटेर चकनाचूर भयो। पछि थाहा भयो मेरी जेठानी दिदीले यो कदम चाल्दा सुरुसुरुमा घरमा र समाजमा त्यो पचाउन निकै गाह्रो भएको थियो रे। जुन कुरा म सहजै अनुमान गर्न सक्छु त्यस बेलाको समाज, चेतनास्तर इत्यादि बाट! त्यो साहसिक कदमको लागी मेरी जेठानी दिदी प्रति नतमस्तक छु।
महिनावारी बार्ने मात्र नभै जातभातको आधारमा विभेद नगर्ने, बुहारीलाई पढाउने, जागिर खान प्रेरित गर्ने आदि कुरामा उहाँको कुराले म प्रभावित भएकी थिएँ।
अर्को वर्ष म गर्भवती भएँ। सुत्केरी हुने केही दिन अघि मेरी सासू आमा काठमाण्डु आउनु भयो। आउँदा कर्कलोको गाभालाई बफाई, सुकाएर बनाएको साग, उतैबाट कोदोको पीठो, सिमी, प्रशस्त घिउ र मह लिएर आउनु भयो। कर्कलो र कोदोमा प्रचुर मात्रामा आइरन तत्व, सिमीमा प्रोटिन हुने वास्तवमा ती सबै सुत्केरी महिलाको लागी निकै नै पोसिलो खाना थियो। औपचारिक शिक्षा नपाए पनि वहाँको अनुभवको खानेकुरो सम्बन्धी ज्ञान र मेरै लागि भनेर ल्याएका खानेकुरो म कहिल्यै भुल्न सक्दिनँ।
सुत्केरीको समयमा केही दिनको लागि तेल लगाउने, घर सफा गर्ने र लुगा कपडा धुन एकजना महिलालाई भनेकी थिएँ तर डाक्टरले दिएको समयभन्दा हप्ता दिन अघि नै म सुत्केरी भएँ । अस्पतालबाट फर्केपछि म कोठामा आराम गर्दै थिएँ, आमा त मकलमा आगो बालेर मलाइ तेल मालिस गर्न भनी आउनु भयो। काठमाण्डुमा सुत्केरीलाई बच्चाको न्वारान नगरी नछुने सासूहरू देखेकी मैले, दुब्लो पातलो शरीरकी, बृद्धा सासूले तेल लगाउन भनी मेरो खुट्टातिर लाग्दा मेरो मनले मान्न सकेन। मैले “भयो आमा!” भन्न नपाउँदै “तिमी मेरी बुहारी हैनौ, छोरी हौ तिमीले नसकेको बेला मैले, मैले नसकेको बेला तिमीले सहयोग गर्ने हो, यस्तो अवस्थामा नाइँ नभन !” भन्दै मलाई तेल लगाउन थाल्नु भयो।
सुत्केरी अवस्थामा प्रायः महिलाहरू मन र तन दुबैले कमजोर भएका हुन्छन्। वहाँको यो व्यवहारले मेरा आँसु अनायास नै झर्न थाले। आफ्नी जन्म दिने आमालाई सम्झिन पुगेँ। “मेरी आफ्नी आमा त्यो ठाउँमा हुनुभएको भए के गर्नु हुन्थ्यो होला? वा के मेरी आमाले वहाँकी बुहारीलाई पनि यस्तै सहज रूपले व्यवहार गर्नुहोला?” – म मन मनै सोच्न थालेँ ।
मेरी सासू आमा साँच्चै ममताकी प्रतिमूर्ति हुनुहुन्थ्यो। गाउँमा कोहीलाई अप्ठ्यारो परे, विमारी परे, दुःख पाए, सुन्नेबित्तिकै त्यहाँ तुरुन्त सहयोग गर्न पुग्नु हुन्थ्यो। जातभात, महिला तथा गरिबहरूप्रति गरिने बिभेदकारी व्यवहार वहाँलाई पटक्क मन पर्दैनथ्यो। आफ्ना बाँचेका चार सन्तानमध्ये पनि जेठो छोरा यदु गौतमको माओवादीहरूबाट आफ्नै घर आउँदै गर्दा हत्या भएको थियो। छोराको मृत्युको खबरले आफै मर्माहत भएको अवस्थामा पनि छोराको किरिया बसिरहेकी बुहारी (तीर्था दिदी) लाई स्वास्थ्यमा असर नपरोस् भनी रोटी, दूध आफैले कर गरी गरी खुवाउनु भएको मैले मेरो आँखाले देखेकी थिएँ। विधवाले रातो लगाउन हुन्न भन्ने कुराको सख्त विरोधी हुनुहुन्थ्यो, जुन छोरा बितेको बरखी सकेपछिको दसैँमा उहाँ आफैले जेठी बुहारी तिर्थालाई पहिले आफैले रातो टीका लगाइदिएर आशीर्वाद दिनुभयो। हाम्रो समाजमा यति आँट गर्न सक्ने सासू अझै पाउन मुस्किल हुन्छ। वहाँको लागि सबभन्दा ठूलो धर्म मानवता थियो।
हाम्रो परिवार क्यानडा आएपछि २००६को डिसेम्बरमा सासू आमा र ससुरा बुवा दुबै जना पनि हामीसँगै बस्ने गरी क्यानडा आउनु भयो। नयाँ ठाउँ, भाषा, भेष केही नमिले पनि“जहाँ छोरो छ, त्यहीँ राम्रो” भन्दै खुसी सँग बस्न थाल्नुभयो। पार्कतिर घुम्न गएको बेला भेटिएका यतातिरका महिलाहरूसँग इशारामै कुराकानी गर्नु हुन्थ्यो। मैले सँगिनी लगाएर आएँ भन्दै कहिलेकाहीँ चिया खान बोलाई ल्याउनु हुन्थ्यो। त्यहाँ भाषा, धर्म, रङ्गले केही फरक पारेन वहाँलाई। आत्मीयता र प्रेमको अघि मुखले बोलिने भाषाको कुनै महत्व थिएन त्यहाँ।
तर जीवनको यो खुसी लामो समय रहेन। क्यानडा आएको दोस्रो वर्ष एक्कासि खोकी लाग्न थाल्यो र जँचाउँदा फोक्सोको क्यान्सर अन्तिम अवस्थामा पुगेको कुरा थाहा भयो। म त्यस बेला टोरन्टोमा स्नातकोत्तर गर्दै थिएँ र गर्भवती पनि थिएँ। श्रीमानले पनि भर्खर नयाँ व्यवसाय सुरु गर्नुभएको थियो। मलाई दुई साना छोरीहरू, आफू गर्भवती, विश्वविद्यालयको पढाई, घरायसी काम अनि असी कटेका सासूससुराको हेरचाह सबै गर्न गाह्रो नै थियो । तर पनि थाकेर लखतरान पर्दा पनि मायाले बोलाउने आमा पाएकी थिएँ, जसले सधै हौसला र आँट दिन्थ्यो। उहाँलाई नियमित केमोथेरापीको लागि लगिरहनु पर्थ्यो। तर कमजोर शरीरको कारण सबै साइकल पूरा गर्न गाह्रो हुँदै थियो।
२००८ को फेब्रुवरीमा मेरी कान्छी छोरीको जन्म भयो। नातिनीलाई खेलाउन पाउँदा आमा आफ्ना दुःख सबै बिर्सनु हुन्थ्यो। केमोथेरापीले अशक्त पारेको शरीर भएपनि, कहिलेकाहीँ म सानी छोरी या पढाइको कारण राती अबेरसम्म सुत्न नपाई बिहान चाँडो उठ्न नसके, वहाँ आफू बिस्तारै मेरो कोठामा आएर मेरो कपाल मुसार्नु हुन्थ्यो। त्यो मायालु हातको स्पर्श म अझै अनुभव गर्छु।
आफ्नो जीवनकालमा वहाँले आफ्नै श्रीमान, छोरा तथा पछि बुहारीको राजनैतिक यात्रामा पनि सँधै सहयोग गर्नु भयो। बहुदल आएपछि आफ्नो गाँउमा निर्विरोध वडा सदस्यमा चुनिएर सामाजिक कार्यमा सँलग्न हुनु भएको थियो। थुप्रै पटक माओवादी नेताहरू, कार्यकर्ताहरुलाई रातविरात खाना बनाइ खुवाउनु, अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नु भएको थियो। तर तिनै मध्येबाटै कसैले राजनैतिक बिचारधारा फरक हुँदैमा आफ्नो छोराको हत्या गरेकोमा वहाँ निकै बिक्षिप्त हुनुभएको थियो। जीवनको अन्तिम अवस्थामा आएर यो कुराले वहाँलाई झन् पीडा दिन थाल्यो। अब तिनीहरूले क्यानडामा आएर कान्छो छोरो र आफूलाई पनि मार्छन् भन्ने डर बसेको थियो आमामा। पछि पछि त अस्पतालका डाक्टर, नर्सका अघि पर्न पनि डराउन थाल्नु भयो। यस्तो स्थितिमा केही समय केमोथेरापी रोक्नु पर्यो र मनोचिकित्सकसँग उपचार गराउनु पर्यो।
सम्भव भएसम्मको उपचार प्रयास गर्दा गर्दै पनि २००८ को जुलाई २७ मा टोरन्टो स्थित नर्थ योर्क जनरल हस्पिटलमा उहाँले चाहेझैँ कान्छो छोरा र श्रीमानको काखमा अन्तिम स्वास फेर्नु भयो। मेरी कल्पनाकी सासूआमा भन्दा धेरै बढी माया, दया, ममताकी खानी, प्रेरणाकी स्रोत, साहसी, सँघर्षसिल मेरी सासू आमालाई अझै धेरै सम्झिन्छु। अझै पनि केही कारणले मन अत्तालिएको बेला, उहाँलाई सम्झिँदा सबै दुःख बिर्सिन्छु।
हामी हाम्रो समाजको विकास नभएको प्रमुख कारण अशिक्षा, गरिबी आदिलाई भन्छौँ तर वास्तवमा ती मात्र नभै परम्परागत रूढिवादी चलन, छोरी र बुहारी, सासू र आमा वा समग्रमा एक महिलाले अर्की महिलाप्रति गरिने बिभेदपूर्ण व्यवहार आदि पनि प्रमुख हुन्। सुगम स्थान तथा सहरमा रहेका धेरै नै शिक्षित महिलाहरूले पनि अझै परम्परागत रूढिवादी चलनलाई सजिलै छोड्न सकेको देखिँदैन। दाइजो नल्याएको निहुँमा, छोरा वा सन्तान नजन्माएको भनी बुहारीलाई दुःख दिने सासूहरू हुनेखाने, शिक्षित वा सहरी क्षेत्रकै महिलाहरूमा बढी देखिन्छन्। त्यस्तै सासूहरू भनेको बुहारीलाई दुःख मात्र दिन्छन्, उनीहरू प्रगतिका बाधक हुन् भन्ने सोच भएका धेरै बुहारीहरू झन् धेरै बढ्दै छन् हाम्रो समाजमा। जबसम्म यस्ता नाताले बनाएका सम्बन्धहरू भन्दा माथि उठेर एक महिलाले अर्को महिलाप्रति गर्ने व्यवहार, हेर्ने दृष्टिकोण बदलिँदैन तवसम्म हामीले सोचेको जस्तो समाजमा सकारात्मक परिवर्तन आउन अझै धेरै समय लाग्नेछ।
समाज परिवर्तनको लागि धेरै पढे लेखेका, जानेका नै हुनुपर्छ भन्ने छैन। एक सामान्य परिवारकी, गरिब, वा अशिक्षित महिलाले पनि असल सोच राख्ने हो भने समाज परिवर्तनको संवाहक बन्न सक्छन्। हाम्रो समाजमा बुहारीलाई छोरीझैँ माया गर्ने वा सासूलाई आमा सरह व्यवहार गर्ने त्यस्ता धेरै महिलाहरू थिए र अझै छन् पनि। आमाको बारेमा हामीले धेरै कुरा पढ्न, सुन्न पाउछौँ तर समाजमा झण्डै उस्तै महत्व भएका सासूहरूको बारेमा सकारात्मक रूपले लेखिएका वा चर्चा भएको बिरलै पाउँछौं ।
मेरो लागि मेरी सासू सेँधै प्रेरणाको स्रोत रहनु भयो। वहाँले गाउनु भएको “माइती पर्यो जाजरकोट, घर चौरजहारी, तिर्था अनि कमला हुन् मेरा दुई बुहारी” भन्ने गीत मेरो लागि सधैँ प्रेरणाको धुन भइरह्यो। वहाँको वार्षिक पुण्य तिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली !
(टिमिन्स, क्यानडा)