काठमाडौं ।
बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा प्रमोद प्रधान पुन: चयन भएका छन् । शनिवार(साउन ९,२०७८) साँझ भर्चुअल माध्यम जुमबाट भएको विशेष साधारण सभाबाट प्रधान अध्यक्षमा पुन: चयन भएको निर्वाचन समितिका संयोजक प्रा रामकुमार पाँडेले जानकारी दिए।
केन्द्रको उपाध्यक्षमा विजयराज आचार्य पुन: दोहोरिएका छन्। महासचिवमा अनन्त वाग्ले चयन भएका छन् । यसअघि महासचिवमा कलाकार एकराम सिं थिए । कोरोना संक्रमणका कारण निजको निधन भएपछि रिक्त रहेको ठाउँमा यसअघिका कार्यसमिति सदस्य वाग्ले चयन भएका हुन् । यसैगरी सचिवमा मञ्जु ज्ञवाली र कोषाध्यक्षमा शान्ति सापकोटा दोहोरिएका छन्।
बालबालिकाका क्षेत्रमा साहित्य सिर्जना र अनुसन्धानमा लागेको केन्द्रको सदस्यहरुमा तारानिधि भट्टराई, रवीन्द्र मानन्धर, केदार श्रेष्ठ र नेत्र तामाङ चयन भएका छन्। निर्वाचन समितिका सदस्यहरुमा संयोजक केन्द्रका सल्लाहकार पाँडेसहित सल्लाहकारहरु प्रा.डा. चुडामणि बन्धु, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य थिए। २०६९ मा स्थापना भएको संस्थाको संस्थापक अध्यक्ष दिवंगत विनय कसजु थिए। संस्थाले बालबालिकाका लागि कथा लेखनलगायतका कार्याशाला गर्दै आएको महासचिव वाग्लेले जानकारी दिए।
अध्यक्षमा दोहोरिएसँगै कोरोनाका कारण रोकिएका कामलाई निरन्तरता दिने र बाँकी योजनाहरु तय गरिने अध्यक्ष प्रधानले बताए। प्रधान नेपाल बालसाहित्य समाजमा हालै निर्वाचित उपाध्यक्षसमेत रहेका छन्।