घरमा हजुरबाले किनेर ल्याउनु भएको पानासोनीको लाइसेन्सवाला रेडियो थियो । गाउँमा बिजुली आएकै थिएन । ब्याट्रीबाट बजाउनु पर्ने रेडियो बच्चाहरूको पहुँचमा हुने कुरै भएन । रेडियो मझेरीको मुल थामको माथिल्लो भागमा तीन इन्चको किलो ठोकेर झुन्ड्याइएको थियो ।
दाउरा बाल्दाको धूवाँले रेडियो कालो हुने डरले रेडियोलाई पनि कमिज लगाइदिनुभएको थियो हजुरबाले । कहिले काहीँ घरमा कोही नभएको मौका छोपेर थुन्से घोप्ट्याएर रेडियो झिकेर चर्को आवाजमा घन्काउँदाको मज्जा नै अर्कै हुन्थ्यो । रेडियोको ब्याट्रीलाई ब्याट्री भन्न नजानेर बेटरी वा मसला पनि भन्ने गर्दथे गाउँका मान्छेहरू । नयाँ ब्याट्री सकिन लागेपछि घाममा सुकाएर केही समय बजाउने गरिन्थ्यो । आमाले सकिएको ब्याट्री जम्मा पारेर राख्नुहुन्थ्यो ।
हामी दसैँमा त्यही ब्याट्री फुटाएर भित्रको कालोलाई पिँधेर घरको भित्ता रङ्ग्याउँथ्यौँ । एउटा रेडियो तर घरमा चार किसिमका स्रोता । हजुरबालाई बिहानको धार्मिक कार्यकम नसुनिनहुने । काका र बालाई समाचार सुन्नु पर्ने । आमोइ, आमा र काकीलाई गीत मन पर्ने तर हजुरबा र बाको अगाडि बोल्न नसक्ने । हामीलाई बाल कार्यक्रम ।
साँझ पाँच बजेको समाचारपछि आउने बाल कार्यक्रम सुन्न हामी स्वस्थानी सुन्न बसेझैँ बस्थ्यौँ । एउटा मिठो धुन बजेपछि समूहले जय नेपाल भन्थ्यो रेडियोमा र बाल कार्यक्रम शुरु हुन्थ्यो । बज्न त धेरै बालगीत बजे होलान् तर एउटा गीत मेरो बाल–मानसपटलमा राम्रैसँग बसेको थियो– ‘कहाँ जाने कहाँ जाने पुतलीका हुल । जताजता फुलेका छन् मिठामिठा फूल ।
एकवर्ष केशब दाइको बुइ चढेर ढाँडेको स्कुल पढेपछि मेरो मामाघर मदानपुरमा खुलेको बोर्डिङमा छोरा पढाउने बाको चाहनाले केशब दाइको बुइ, ढाँडेको स्कूल, कमिज लगाएको पानासोनीको रेडियो र मेरो सम्बन्ध टुट्यो । घर छोडेर आउँदा मसँग हातमा कक्षा एकमा प्रथम भएको प्रमाणपत्र र सिउर बाटेको झन्डै कम्मरसम्म आइपुग्ने कपालमात्रै थियो ।
००००
छ कक्षा पढ्न पुनः घर फर्किएँ । अंशबण्डामा आउने सम्पति अलिकम लिएरै भएपनि पानासोनीको रेडियो बाले आफ्नै भागमा पार्नुभयो । गीतसङ्गीत र साहित्यमा गहिरो रुचि देखेर बाले हार्माेनियम किनेर लगिदिनु भो । बिनागुरुको बेसुरा हार्माेनियम थिचेर आलाप्थेँ म र मन्त्रमुग्ध भएर सुनिदिन्थे जम्मा भएकाहरू । घरमा साहित्यिक पुस्तकहरू छँदै थिएनन् । रामायण, महाभारत, देवी भागवत, सत्यवान्–सावित्रिको कथा र स्वस्थानी पढेर साहित्यमा लाग्न प्रेरित भएको हुँ ।
नेपालगन्जमा रहनु भएको ठूलोबा नन्दराम लम्साल र हजुरबाको बीचमा चिठीपत्र खूब आदानप्रदान हुन्थ्यो । रामायणको श्लोकको लयमा लेखेको चिठी म भाका हालेर गाउँथेँ । हजुरबाको अक्षर अरूले खासै बुझ्दैनथे । हजुरबा लेखेको पढेर सुनाउनु हुन्थ्यो म कापीमा सार्थेँ । रेडियोमा बजेको गीतहरू कापीमा सारेर म हार्माेनियममा गाउने कोसिस गर्थेँ । रेडियो नेपालको अनुरोध सङ्गीत कार्यक्रममा उद्घोषकले गायक, सङ्गीतकार तथा रचनाकारको नाम पनि भन्ने गर्दथे । पहिलो पल्ट मैले रचनाकारको रूपमा सुनेँ हरिभक्त कटुवाललाई ।
‘पोखिएर घामको झुल्का भरि सङ्घारैमा, तिम्रो जिन्दगीको ढोका खोलूँखोलूँ लाग्छ है !’
त्यतिबेलासम्म विद्यालयस्तरीय कविता प्रतियोगिताहरूमा म धेरै पटक पुरस्कृत भइसकेको थिएँ । जिल्लास्तरीय प्रतियोगिताहरूमा पुरस्कृत भएर केही साहित्यिक पुस्तकहरू पुरस्कार स्वरूप पाएको थिएँ । बाल कार्यक्रममा कविता लेखेर पठाउँथेँ र बजेपछि युद्ध जितेको सिपाइझैँ छाती फुलाएर हिँडेको सम्झँदा अहिले लाज लाग्छ ।
रेडियो नेपालमा मधुवन कार्यक्रम बज्न थालेपछि त हामीजस्तो नवप्रतिभालाई ढुङ्गा खोज्दा देउता मिलेको अनुभूति भयो । लेखेर पठाएका रचनाहरू प्रायः बज्थ्यो मधुवनमा । उमा सिलवाल, पुरुषोतम सिलवाल, पदम आचार्य म सँगसँगै लेख्थ्यौँ । मैले गीतकारका रूपमा मात्रै चिनेको हरिभक्त कटुवाललाई कविका रूपमा पहिलो पल्ट चिनाउने व्यक्ति उमा सिलवाल हुनुहुन्छ । खै कुन पत्रिकामा उहाँले हरिभक्त कटुवालको ‘रहर’शीर्षकको कविता मलाई सुनाउनु भयो । त्यति बेलैदेखि मलाई हरिभक्तको शब्दले मोहनी लगायो । अहिले सम्झन्छु— सरल शब्दको प्रभाव रहेछ !
००००
काठमाडौँ छिरेपछि गीतसङ्गीतमा भन्दा साहित्यमा अलि बढी भुकाव भयो । सायद सङ्गतले पनि हुन सक्छ । मेरा साहित्यिक गुरुमध्येका एक डा. नवराज लम्साल, राजधानी छिर्दा रचनाहरू थुप्रै पटक पढेर पनि भेटघाट नभएका कवि प्रोल्लास सिन्धुलीय(जसको हायूनी बूढी कविता मलाई कविसँग नभेट्दै कण्ठ थियो), गजलमाली ज्ञानुवाकर पौडेल, बाबु त्रिपाठी, राबत लगायत थुप्रै लेखक साहित्यकारहरूसँगको सङ््गतले मलाई सधैँ उत्प्रेरणा मात्रै जगाएन वर्षौंदेखिको हरिभक्त कटुवाललाई खोज्ने र भेट्ने अभिलाषा अझै बढाइरहेको थियो ।
जहाँ जसलाई भेटे पनि म हरिभक्त कटुवालका बारेमा सोधीखोजी गर्दथेँ । युवापुस्तामा कमैले मात्र हरिभक्त कटुवाललाई पढेको मैले महसुस गरेँ । उनका बारेमा लेखिएका प्रायः सबै लेखहरूमा हरिभक्तको नितान्त व्यक्तिगत कुराबाहेक उनका रचना र नेपाली साहित्यमा उनको योगदानको बारेमा कसैले दुई शब्द खर्चिएको मैले भेटिनँ ।
हरिभक्त कटुवालका केही थान कविता र गीत कण्ठस्थ पारेर काठमाडौँ खाल्डोमा स्थापित हुन सङ््घर्ष गरिरहेको बेला मैले भेटेँ साहित्यकार भवानी घिमिरेले सम्पादन गर्नु भएको भानु पत्रिकाको हरिभक्त कटुवाल विशेषाङ्क जहाँ हरिभक्त कटुवालका बारेमा लेख्ने अधिकांश नेपाली लेखकहरूले हरिभक्तका रक्सीका र आफुसँगको व्यक्तिगत सम्वन्धका किस्साभन्दा माथि उठेर लेख्नसक्नु भएको पाइनँ । अझ आसामबाटै नेपाल आएर स्थापित भएका एक स्रस्टाले त हरिभक्त कटुवालको मृत्युपछि रक्सीकै प्रसङ्ग जोडेर तल्लो स्तरको लेख लेख्नुभएको भेटेँ ।
भानु पत्रिकामा छपिएका केही लेखहरू पढेको रात म निदाउन सकिनँ । मैले आर्दश मानेको एउटा कवि जो म जन्मनुभन्दा दुईवर्ष पहिल्यै बितिसकेका थिए र जसको एउटै कविताबाट प्रभावित भएको थिएँ, उनैका बारेमा उनका समकालीन र समकालीन हुँ भनेर देखाउन खोज्नेहरूले गरेको विषबमन देख्दा नेपाली साहित्यमा भविष्य खोज्ने मेरो सपनामा नराम्ररी तुषारापात भयो । धेरै रात म राम्ररी निदाउन सकिनँ र मनमनै अठोट गरेँ— म हरिभक्तको खोजी गर्छु । किनकि मैले पढेका हरिभक्तका कविताहरूमा कहीँ–कतै रक्सीको गन्ध भेटेको थिइनँ, कहीँकतै उनको व्यक्तिगत आचरणको खराब पाटाहरू देखेको थिइनँ । सोचेँ— भानुभक्तका रचना खोजेर भानुभक्त भनेर मोतीरामले चिनाए र आजसम्म भानुभक्त तिनै रचनाले बाँचेका छन् । मैले न महाकवि लक्ष्मीप्रसाद देवकोटा भेटेको हुँ न नाट्यसम्राट बालकृष्ण समलाई देखेको हुँ । पहलमान सिँह स्वाँर, गोपालप्रसाद रिमाल, भीमनिधि तिवारी, पारिजात, शङ्कर कोइराला, भुपि शेरचन, सिद्धिचरण श्रेष्ठ सबैलाई मैले पढेको हुँ र मेरो अगाडि सबै आफ्ना रचनाले बाँचेका हुन भने हरिभक्त किन बाँच्न सक्दैनन् ?
००००
हरिभक्तको बारेमा केही गर्ने अठोट बोकेर लगभग चार वर्ष म भौँतारिएँ । सम्पर्क भएका प्रायःसबैलाई आफ्नो योजना सुनाएँ । कतिले सहयोगको आश्वासन दिए, केहीले ‘किन हरिभक्तको गर्नु ? ऊ त विदेशी हो । कुनै नेपाली कविको बारेमा गर्नूस्’ भन्ने सल्लाह पनि दिए । तर मेरो मनलाई कसैको केही कुराले बिथोल्न सकेन र सुरु गरेँ हरिभक्त कटुवालको जिवनीमा आधारित डकुमेन्ट्री अनि हरिभक्त फर्किएनन् को निर्माण ।
असम नजिकै पक्कै थिएन । डकुमेन्ट्रीमा समेट्नु पर्ने व्यक्तिहरूको मोटामोटी लिस्ट तयार पारेँ । भारत गएर डकुमेन्ट्री खिच्न एउटा नेपालीको लागि त्यति सहज थिएन । पहिले नेपालमा खिच्नुपर्ने दृश्यहरू खिच्ने र हरिभक्तसँग सङ्गत गरेका नजिकका केही व्यक्तिहरूसँग कुराकानी गर्ने अनि भारत जाने योजना बनाएँ । शब्दघर छापाखाना, बागबजारलाई अस्थाई अखडा बनाएर हामी तयारीमा जुट्यौँ ।
क्यामरा पर्सन जयराम थापासँग टेक्निकल्ली कुराहरू मिलाएपछि गजलकार तथा मणिपुर असममा भारतीय सेनामा कार्यरत सुरज गुरुङ, त्रि.वि कीर्तिपुरमा एम.ए अध्ययनरत् जयगाउँ डुर्वसकै भाइ दुर्गा चाम्लिङ राई, कवि प्रोल्लास सिन्धुलीयलगायत बसेर लगभग एक महिनामा पुर्व तयारीका कामहरू सक्यौँ । हरिभक्त कटुवालकी छोरी कविता कटुवाल, गुवाहिटिका पत्रकार सञ्जिव दाहाललगायत असमका व्यक्तिहरूसँग निरन्तर सम्पर्कमा रहेर काम अगाडि बढायौँ ।
विजय ढुङ्गेल, कथाकार माया ठकुरी, साहित्यकार नगेन्द्रराज शर्मा सङ्गीतकार बुलु मुकारुङलगायतका व्यक्तिहरूको सहयोग र सद्भाव हामीलाई थियो । २०७१ साल फाल्गुन २४ गतेबाट सुटिङ सुरु गरियो । लगभग दुई हप्तामा काठमाडौँमा खिच्नु पर्ने दृश्यहरूको छायाङ्कन गरेर२०७१ चैत्र ११ गते असमको यात्रामा निस्कियौँ जयराम थापा, सुरज गुरुङ, दुर्गा चाम्लिङ राई र म । बाटामा धेरै अवरोधहरूको सामना गर्दै र केही रमाइला स्मरण सँगाल्दै चैत्र १४ गते बिहान डिगबोई उत्रियौँ हामी ।
हरिभक्त पुत्री कविता कटुवालको नाम लिएकै भरमा हामीलाई रिक्सावालाले उनको घरसम्म पु¥याइदिए । डिगबोई पुगेर हामीले छायाङ््कन ग¥यौँ हरिभक्तलेले पढाएको एओसी स्कूल, पेङ्रीको हरिभक्तको घर, जहाँ ब्रम्हपुत्र नदीले विस्थापित गराएकाहरूलाई तत्कालीन सरकारले पुर्नस्थापित गराएको थियो । मुलियाबारीमा भाइ उपेन क्षेत्रीसँग मिलेर हरिभक्तले खोलेको तरकारी पसल भएको स्थान पनि छायाङ््कन गर्न भ्यायौँ हामीले । हामीसँगै
जीवनमै पहिलो पटक कवि–पुत्री पनि पुग्नुभयो हरिभक्त जन्मिएको स्थान बर्डविलको ख्वाङगेर्गेरी गाउँ । बुढिडिङको उत्ताउलोपनको शिकार भएको नेपाली बस्ती देखेर आँखा भरिए । सायद आफ्नो पनले छुँदो रहेछ नेपाली–नेपाली जहाँ बसेपनि ।
हरिभक्त जन्मिएको स्थान हामीलाई देखाइदिए स्थानीय भिम क्षेत्री र मनबहादुर क्षेत्रीले । फर्किएर हामी पुग्यौँ नौ महिनाका हरिभक्त च्यापेर वीरबहादुर कटुवाल बसाइँ सरेर आएको बोगिविल । ब्रम्हपुत्रको किनारमा बसेर हामीले क्षितिजसम्म नियाल्यौँ र खोज्यौँ मिनी नेपाल भनिने असमका नेपालीहरूको बगाएको बस्ती । जहाँ हरिभक्तले आफ्नो बाल्यकाल र किशोर अवस्था बिताएका थिए ।
ब्रम्हपुत्रको किनारमा कतैकतै रहेको घर खोज्दै हामी पुग्यौँ हरिभक्तका बालसखा भक्त क्षेत्रीको घरमा । “हुर्किएका छोराछारी सबै लाखापाखा लागे म बूढो यो घर कुरेर बसेको छु ।” पुग्नेबित्तिकै उनले आफ्नो दुःखको पन्तुरो फुकाए । कान अलि कम सुन्ने उनले हरिभक्तका कविता कण्ठ सुनाउँदा हामी तीनछक प¥यौँ । बाल्यकालका घटना मात्रै होइनन् पुरै कविता कण्ठ थियो, त्यो पनि करिब पैँसठ्ठी बर्षपहिलेको ।
कुराकानीको क्रममा उनको गुनासो थियो, “घरपरिवार सबैसबै छोडेर नेपाल गएर के पायो त आखिर हरिभक्तले !”छुट्टिने बेलामा मेरो हात समाएर आँसु चुहाउँदै भने,“तपाईं पहिलो व्यक्ति हुनुन्छ, जो हरिभक्त खोज्दै आज यहाँसम्म आइपुग्नु भयो, तपाईंले थालेको काम सफल होस् !” आशीर्वाद लिएर फर्कियौँ हामी ।
त्यहाँबाट हामी पुग्यौँ हरिभक्त भर्ना भएर पनि कमजोर आर्थिक अवस्थाका कारण पढाइ छोडेका डिब्रुगढ कलेज । हरिभक्तले पढेको डिब्र्रुगढको जर्ज हाइस्कुलर हरिभक्त भर्ना भएको डिब्रुगढ मेडिकल कलेजको छायाङ्कन सकेर हामी पुग्यौँ कुञ्जन शाहीको घरमा । कुञ्जन शाही र हरिभक्त कटुवाल सात वर्ष एउटै खाटमा सँगै सुतेको र एउटै थालमा खाएर हिँडेको कुरा स्मरण गर्दा धेरै पटक भक्कनो फुट्यो उनको । त्यतिबेला असमबाट निस्कने दीपक पत्रिका नेपालीहरूको घरघरमा पु¥याएर ‘हाम्रो पनि भाषा छ संस्कृति छ’ भनेर नेपाली भाषा साहित्य र संस्कृतिको उत्थानको अभियान चलाएको कुरा सुनाए उनले ।
“परिवारले नमान्दानमान्दै पनि आफ्नी बहिनी जयकुमारी शाहीको कन्यादान हरिभक्तसँग गरिदिएर त्यो भावनात्मक सम्बन्ध पारिवारिक नातामा परिणत गराएँ मैले ।” अस्पतालको दर्दनाक अवस्थाको बारेमा सोध्ने बितिक्कै बोल्दाबोल्दै उनको वाक्य बन्द भयो । आँखाबाट झरेका बलिन्द्रधारा आँसुसँगै भक्कानिँदै दबिएको अवाजमा भने, “सारा संसारले कवि र गीतकार भनेर चिनेको व्यक्तिको मलामी जम्मा तेह्र जना !” एकछिन त हामी पनि निःशब्द भयौँ ।
आखिर हामीलाई पनि फर्कनु थियो । मामघरको आतिथ्य सकेर हामी हुँइकियौँ हरिभक्तको अन्तिम संस्कार गरेको चौकिढिङको मसानघाट । हामीलाई डो¥याउँदै हुनुन्थ्यो कविता दिदी । साथमा थिए किशोर भएर पनि साहित्यमा गहिरो रुचि बोकेका कटुवालका नाति नवोदित क्षेत्री ।
चाहेर पनि टाढा भएको कारण कविकी माइलीछोरी काव्या क्षेत्रीसँग भेट हुन सकेन । कविता दिदीको आत्मियपन र सहयोगप्रति नतमस्तक रहयौँ हामी । आत्मियता र आफ्नोपनभित्र कुनै स्वार्थ थिए, थियो त नेपाली गीत र साहित्यका लागि आफ्नो जीवन उत्सर्ग गर्ने स्रस्टालाई सम्झेर वर्षौंपछि कोही आएकोमा ममता थियो जस्तो कि हराएको सन्तान घर फर्कंदा एउटी आमामा हुने खुसी ।
“धेरै आए तर आश्वासन मात्रै दिएर गए । आशा छ तपाईंहरू सपनाको ललीपप बाँडेर मात्रै पक्कै फर्कनु हुन्न ।” फर्कने बेलामा एउटै अपेक्षा थियो कविता दिदीको— “तपाईंहरूले पक्कै बुझ्नु हुनेछ हरिभक्तलाई” । सिन्दुरे साँझमा हामीले डिब्रुगढ छोड्यौँ, कविता दिदी डिगवोइ फर्कनु भयो ।
००००
रातभरको रेलको यात्रापछि हामी उत्रियौँ गुवाहिटी । गाइड थिए दुर्गा भाइ, हामी सरासर गोर्खा भवन गयौँ जहाँ हाम्रो पर्खाइमा थिए युवा पत्रकार सञ्जिव दाहाल । गोर्खा भवनमै सबैसँग भेट्ने चाँजोपाँचो मिलाएका थिए सञ्जिवले नै ।
गुवाहिटीमा हामीले भेट्यौँ— साहित्यकार, उपन्यासकार लीलबहादुर क्षेत्री । उनको एउटै गुनासो र सोधाइ थियो– “सृजना बाँचिरहेको देशमा एउटा सर्जक किन सँधै मरिरहन्छ ?” उनले अतीत पल्टाए– “जतिबेला असममा नेपाली पाठ्यपुस्तक थिएन, त्यो बेला हरिभक्त कटुवाल र म मिलेर असमको नेपाली भाषाको विद्यालयका बाल पाठ्यक्रम तयार पारेका थियौँ ।”
हरिभक्तका कान्छा भाइ उपेन कटुवाल क्षेत्रीसँग पनि दाजुसँग जोडिएका उही सम्झना मात्र थिए । “दाजुले मायाले किनिदिएको गिटारमा दाजुकै गीत गुनगुनाउँथेँ म, हामी मिलेर तरकारी पसल खोल्यौँ, म पसलमा बस्थेँ दाजु पेङ्रीबाट रायोको साग बोकेर मुलियाबारीसम्म पैदल आउँथ्यो । दाजुले केही समय भात होटेल पनि चलायो तर उसको कवि मन कहीँकतै अडिएन ।”
कटुवालकी कान्छी छोरी कल्पना क्षेत्रीले केही समय काठमाडौँमा बाबुसँगै बिताएका पलहरू सम्झँदा उनका आँखा त ओभानो हुनै सकेनन् । हाम्रा पनि आँखाहरू कतिबेला चिसा भइसकेछन् पत्तै भएन ।
‘म कविता लेख्दै छु तिमीहरू डिस्टर्ब नगर है !’भनेर पुतलीसडकको डेराभित्र बुबा लेख्न थाल्नुहुन्थ्यो । म बाहिर सिँँढीमै निदाउँथेँ । बुबा कहिले लेखिसकेर मलाई भित्र लगेर सुताउनु हुन्थ्यो, कहिले म रातभरि सिँढीमै निदाउँथैँ । अहिले बुबाको बारेमा नराम्रो कुरा मात्रै सुन्दा हामीलाई राम्रो लाग्दैन । एउटा बितेर गएको मान्छेको बारेमा किन नकारात्मक सोच मात्रै पालेका होलान् नेपालका कवि साहित्यकारहरूले ?” कल्पना दिदीको प्रश्न थियो । तर उत्तर हामीसँग थिएन ।
गुवाहिटीमै भेटिनुभएकी कटुवालकी विद्यार्थी बिजुली बोरुवा क्षेत्रीले “हरिभक्तका रचनाहरू असमीया भाषामा अनुवाद गर्दैछु” भन्दा नेपाली साहित्यको बजार अलिकति भएपनि फराकिलो हुने आशा हामीमा पलायो । साहित्यकार नव सापकोटाबाट हामीले थाहा पायौँ हरिभक्तको रचना– ‘यो देशको माटोले भन्छ, यो देशको ढुङ्गाले भन्छ, हाम्रो पनि रातो रगत यहीँ बगेको छ, हाम्रो पनि तातो पसिना यहीँ खसेको छ ।’ असमका नेपालीहरूको राष्ट्रिय गीतका रूपमा अहिले पनि बज्छ यो गीत ।
गुवाहिटीमै हामीले भेट्यौँ बाल साहित्यकार मुन्नी सापकोटा । गुवाहिटीको छायाङ््कन सकेर हामी फर्कनु थियो सिलगुडी र भेट्नु थियो सङ्गीतकार जीवन अधिकारीलाई, जसले हरिभक्तका धेरै गीतमा सङ्गीत भर्नु भएको थियो ।
बेलुकी रेलमा साथीहरू निदाउनु भयो म भने निदाउन सकिनँ । धेरै झुटा इतिहास पढाइएको रहेछ हरिभक्तको बारेमा हामीलाई । १९९२ साल असार १८ गते मङ्गलबार असमको बोगिविलमा हरिभक्त जन्मिएका हुन् भनेर पढ्यौँ तर हरिभक्त बर्डविलको ख्वाङगेर्गेरीमा जन्मिएका हुन । हरिभक्तको अन्तिम संस्कार ब्रम्हपुत्रको किनारमा नभै चौकिढिङको मसानघाटमा २०३७ भाद्र २५ गते गरिएको हो ।
धेरै डर र त्रासहरूको घेरामा बन्दी भएर सोचिरहेँ । राज्यले एउटा सर्जकका लागि के–कति गर्न सक्छ मलाई थाहा छैन । गर्नुपर्छ कि पर्दैन त्यो पनि थाहा छैन । तर, मैले जे गर्न खोजेँ, जे गरेँ त्यो पूर्ण पक्कै छैन । आज म हरिभक्तलाई खोजेर फर्कंदा जति खुसी छु, त्यो भन्दा कैयौँ गुणा बढी चिन्तित छु– भोलिको पुस्ताले लक्ष्मीप्रसाद बिर्सिन्छ कि ! बालकृष्ण समलाई चिन्दैन कि ! भुपि शेरचन हराउँछन् कि ! गोपालप्रसाद रिमाल, पारिजात, भानुभक्त, भीमनिधीहरू बाँच्दैनन् कि !
(नुवाकोट)