निकोलाई चेनिसेब्स्की रुसका क्रान्तिकारी धारामा कलम चलाउने लेखक थिए । उनी लेखक मात्र थिएनन्, राजनीतिक अभियन्ता, पत्रकार र आलोचक पनि थिए ।
निकोलाई चेनिसेब्स्कीको जन्म आजभन्दा झन्डै दुई सय वर्ष पहिले अर्थात् १२ जुलाई १८२८ मा भएको थियो । उनले पिटर्सवर्ग विश्वविद्यालयबाट इतिहास र भाषाविज्ञानमा ग्य्राजुएट गरेका थिए ।
पढाइ सकिएपछि केही समय उनले आफू जन्मिएको सरातोव गाउँको विद्यालयमा अध्यापन गरे । त्यसपछि पिटर्सवर्गको केडेट कलेजमा पढाउन थाले । अध्यापनमा उनको मन बसेन । त्यसको केही समयमै उनी अध्यापन छोडेर पत्रकारितामा लागे । उनले ‘ओतेचेस्तवेन्निएँ’ र ‘सोव्रेमेन्निक’ पत्रिकामा काम गरे ।
चेर्निसेब्स्की अलेक्जेन्डर हर्जेन, बेलिन्स्की, लुडविग फायरबाखबाट धेरै नै प्रभावित थिए । उनैको प्रभावले उनी श्रमिक वर्गको मुक्ति र स्वतन्त्रताको पक्षमा लेख्ने र बोल्ने गर्थे । हुनत चेनिसेब्स्की निहलिज्मवादी थिए । नरोदनवादी विचार र संगठनका संस्थापक थिए । यस संगठनले गरिब किसानको मुक्ति नै क्रान्तिको मुख्य सर्त हो भन्ने मान्यता राख्थ्यो ।
चेर्निसेब्स्की अमेरिकी प्रजातान्त्रिक पद्दतिमाथि विश्वास गर्थे । सायद त्यसैले होला उनले १८६० को अमेरिकी निर्वाचनमा अव्राहम लिङ्कनको पक्षमा मत व्यक्त गरेका थिए ।
चेर्निसेब्स्कीले साहित्य जीवनको पाठ्यपुस्तक वन्नुपर्छ भन्ने सिद्धान्तको प्रतिपादन गरेका थिए । यसै सिद्धान्तमा आधारित भएर उनले ‘यथार्थ र कलाको सौन्दर्य बोधात्मक सहसम्बन्ध’ नामको सोध पनि तयार गरेका थिए । उनैले रुसी साहित्यमा जनवादी प्रवृत्तिको सूत्रपात गरेका हुन् ।
‘सोव्रेमेन्निक’ पत्रिकामा प्रकाशित उनका लेखहरू सत्य र मानवताका उच्च आदर्शबाट अभिप्रेरित हुन्थे । जारको सेन्सर बोर्डका अनुसार उनका लेखरचनाहरू राजतन्त्र र राजसंस्थाविरुद्ध परिलक्षित भएको निक्र्योल निकालेको थियो । समाजमा क्रान्तिकारी विचार प्रवाह गरेकै कारण उनका पछि गुप्तचर लगाइएको थियो । सेन्सर बोर्डले सन् १९६२ मा उनका लेखरचनामाथि प्रतिबन्ध लगायो । साथै उनी सम्पादक रहेको ‘सोव्रेमेन्निक’ मासिकको प्रकाशनमा समेत प्रतिबन्ध लगायो । यतिले मात्र नपुगेर प्रतिबन्ध लगाएको केही समयमै चेर्निसेब्स्कीलाई गिरफ्तार ग¥यो ।
जेलको कालकोठरीमा हुँदा पनि उनीभित्रको क्रान्तिचेत र स्वतन्त्रताको आगो निभेन । जेलमै रहेर पनि उनी साहित्य सिर्जनामा क्रियाशील रहे । उनले जेलमै रहेको बेला सन् १८६३ मा ‘के गर्ने ?’ जस्तो उत्कृष्ट उपन्यास लेख्न सफल रहे । चेर्निसेब्स्की पेत्रोपावलोव्स्की किल्लाको कुख्यात अलेक्सेयेव्स्की पर्खालभित्रको कालकोठरीमा भएपनि उनको दृष्टि सुन्दर समाजको निर्माणमा क्रियमाशील थियो ।
सुरुमा सामान्य प्रेमकथा भएको ठानी ‘के गर्ने ?’ उपन्यासले प्रकाशनका लागि स्वीकृति पाएको थियो । तर प्रकाशन भएको केही समयमै यसमाथि प्रतिबन्ध लागाइयो । कृतिमाथि प्रतिबन्ध मात्र लगाइएन लेखकलाई साइबेरिया निर्वासनमा पठाइयो । ‘के गर्ने ?’ उपन्यास लेखेकै कारण उनलाई निर्वासनमा जानु प¥यो ।
उपन्यासले राजतन्त्रको विरुद्ध रुसी जनतालाई भड्काएको आरोप लगाइको थियो । हुनपनि ‘के गर्ने ?’ उपन्यास सामुहिक श्रममा आधारित समाजवादी प्रणालीको कथा भन्ने उपन्यास हो । उपन्यासको कथा मात्र नयाँ छैन पात्र र चरित्र निर्माणका दृष्टिले यो उपन्यास विलक्षण र असाधारण छ । एकातिर प्रेममा स्वतन्त्रता हुनुपर्छ भन्ने प्रेमको नयाँ मान्यतालाई उजागर गरिएको छ भने अर्कोतिर कम्युनमा आधारित समाज व्यवस्थाको वकालत गरेको छ । त्यसो त उपन्यासले परिकल्पना गरेको व्यवस्था काल्पनिक समाजवादी व्यवस्था हो तर पनि सामन्ती आर्थिक प्रणालीमै रमाएको जारशाहीलाई त्यो उपन्यास र लेखक चेर्निसेब्स्की घाँटीमा अड्किएको हड्डीजस्तै भए ।
२० मई १९६४ मा निर्वासनमा धपाइएका चेर्निसेब्स्कीले सन १८८३ सम्म श्रमशिविरमा बिताउनु प¥यो । लगातार १९ वर्षको कडा श्रमका कारण उनी कमजोर र अस्वस्थ बनेका थिए । निर्वासनबाट फर्किदा चेर्निसेब्स्कीको स्वास्थ्य असाध्यै कमजोर बनेको थियो । अस्वस्थ हुँदाहुँदै पनि उनले निर्वासनबाट फर्किएपछिको बाँकी जीवन लेखन र चिन्तनमा बिताए ।
यसरी सन १८२८ मा जन्मिएर जीवनभरि स्वतन्त्रता र मानवताको गीत गाउने क्रान्तिकारी लेखक निकोलाई चेर्निसेब्स्कीको मृत्यु सन् १८८९ मा भयो ।