प्रयोगशालाजस्तो प्रयोगशालामा अर्कै प्रयोगको कसरत छ।
जस्तो कि खाली पानाको मुन्तिर मुखियाकै दस्तखत छ।
गरी दे डिएनए परीक्षण र बोली दे ए विज्ञान !
हाम्रो नसामा रङ्गनाथ या भीमसेनको रगत छ।
कैयौं कुमारहरूको जिन्दगी सिसिफस भएर सकियो
यहाँ बस्तीबस्तीमा शिव गणेश छन् र सुमेरू पर्वत छ।
न सपारेर सपारिन सक्यो न त टालेर टालिन सक्यो
देश पनि राजमार्ग हो मर्मतको नाममा मर्मत छ।
तिमीले सुदामा देख्दैमा मलाई कुनै खेद छैन
यो छाती राष्ट्र बैङ्क हो जहाँ आमाको माया बचत छ।
(दाङ)