आऊ यस्तो संसार बनाऔँ
जहाँ
बगेता पनि आँसु
खसोस् फूलमा
अनि बनोस् मोती ।
आऊ यस्तो संसार बनाऔँ
जहाँ
एक पृथ्वीलाई काटेर
अनेकमा बिभाजित गर्ने
न कुनै रेखाहरू रहुन्
न सिमानाहरू
न विचारहरू
न वादहरू ।
आऊ यस्तो संसार बनाऔँ
जहाँ
समाज बाँड्ने
न जात होस्,
न धर्म होस्,
न राजनीति होस्,
न रंग होस् ।
आऊ यस्तो संसार बनाऔँ
जहाँ
हरेक झुसिलकीरी जिन्दगीलाई
पुतली बन्ने पूर्ण हक होस्,
जहाँ
जन्मेका हरेक नानीहरूलाई
मान्छे बन्ने पूर्ण वातावरण होस् ।
आऊ यस्तो संसार बनाऔँ
जहाँ
हिजोलाई प्रतिशोधमा राखेर
आज कोही मित्र, बैरी नबनोस्
जहाँ
इतिहासका चिहान खनेर
कोही हिटलर नबनोस् ।
आऊ यस्तो संसार बनाऔँ
जहाँ न धर्मको हानथाप होस्,
न जातको बन्धक,
न घन र खुकुरीबिच भिन्नता
न टोपी र धोतीबिच असमान्यता ।
आऊ यस्तो संसार बनाऔँ
जहाँ
हरेकको पसिनाको मोल एक होस्,
हरेकका ठेलाको मान्यता एक होस्,
हरेकका फुटेका कुर्कुच्चाले मलहम पाऊन्,
हरेकका घाउले दवाई पाऊन् ।
आऊ यस्तो संसार बनाऔँ
जहाँ
मान्छे भै जन्मेपछि
मान्छे भै बाँच्न पाओस् हरेक
अनि मान्छेजस्तै मर्न पाओस्
जहाँ
म मान्छे हुँ भन्दा हिनताबोध नहोस्,
आऊ यस्तो संसार बनाऔँ ।
(इस्मा, गुल्मी)