कोही हाहाकार गरिरहेका छन्
कोही जयजयकार गरिरहेका छन्
हाहाकार र जयजयकारको घेराभित्र
एउटा खुकुरी सम्मेलन
भुत्ते र धारिला खुकुरीहरूको सम्मेलन
उद्घाटित छ,
रहस्यमय, अन्त्योन्मुख ।
भुत्ते खुकुरीहरू घाँस रेट्न थाल्छन्
जाँगर छ तर शक्ति छैन
धारिला खुकुरीहरू,
भुत्ते खुकुरीको परिश्रमको खिलाफमा खित्का छोड्न थाल्छन्
भुत्ते खुकुरीहरू रिसले आगो भएका छन्
रिसको झोंकमा झन छिटो छिटो रेट्छन्
झन् भुत्ते झन् भुत्ते
यस्तै छ यिनीहरूको आलिङ्गन
रहस्यमय अन्त्योन्मुख कम्मेलन ।
धारिला खुकुरीहरूको खित्का बढ्दो छ
आदर्शहीन खित्का
खिस्याउनु नै उसको आदर्श हो
बढ्दो छ उसको अट्टहास,
वर्गीय अट्टहास
ऊ वर्गभित्र वर्ग खोज्छ
लाग्ने हुनुको गर्वको रापले
ऊ झन् तातिएको छ
ऊ झन् मात्तिएको छ
यस्तै छ उनीहरूको विश्वमान
रहस्यमय अन्त्योन्मुख सम्मेलन ।
रविकिरण बिदा माग्दो छ
उषाकालीन सन्नाटा बिरक्ती र होहल्ला हुँदै
सन्ध्या आह्वान गरिरहेकी छन्
दर्शकदीर्घा ब्यस्त छ
कोही धार हाल्दा छन्
(रेट्तारेट्ता बोधिएका धारहरू)
कोही बिँड बटुल्दा छन्
(वर्गीय टकरावले फुटेर छरिएका बिँडहरू)
दिन ढल्किँदै जॉदा
निष्कर्षहीन बन्ने खतरा बढ्दै गरेको
यी खुकुरीहरूको सम्मेलन
रहस्यमय अन्त्योन्मुख सम्मेलन ।
(उदयपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।