महल होइन यहाँसम्म पुर्याउने त्यही छानो हो
पीडा लुकाएर मुस्कुराउने आदत पुरानो हो ।
चोट त बन्चरोले पनि सहेकै हुन्छ आरनमा
बढी चोटहरु सहिराख्ने सिर्फ अचानो हो ।
यो झङ्कार यति गुञ्जयमान हुनुको कारण
म रुँदा फुटेको आमाको भक्कानो हो ।
मन रोएको नदेख्नेले खै कसरी भन्यो
आँसु बग्ने परेलाको बाटो ओभानो हो ।
अन्धकारमा थाहा हुन्छ जुनकीरीको महङ्खव
समयले बताउँछ को ठुलो हो को सानो हो ।
(टिकापुर, कैलाली)