पढेपछि आफूले कुनै सुन्दर वाल कथा हतार हतार रहर लाग्ने रहेछ पहिले आफ्नै छोराछोरीलाई सुनाऊँ र लाभान्वित बनाऊँ तिनीहरूलाई संसारकै सुन्दर सिर्जना पढाएर ! जब तिनीहरूले मुन्टो बटार्छन् मोवाइलबाट आँखै हटाउँदैनन् र भन्छन्- 'ह्या ड्याडी पनि कस्तो वोर गर्नु हुन्छ भन्या ! कथा पढेर को ठूलो मान्छे बनेको छ खै ?' त्यसपछि देशका छोराछोरी पनि छोराछोरी नै त हुन् भन्दै जीवनका सुन्दर सुन्दर कथाहरू देशका छोराछोरीलाई सुनाउँछु र, आनन्दको एक झोक्का सास फेर्छु म ! मलाई थाहा छैन मेरो पहिलो छनौट सही थियो या गलत मेरो पहिलो छनौट अवसरवादी थियो या क्रान्तिकारी ? लेखिसकेपछि, कहीँ भेटाएपछि या अनुवाद गरिसकेपछि एउटा जीवन्त कविता रहर उसैगरी लाग्नेरहेछ कविताको पहिलो पाठक आफ्नै श्रीमतीलाई बनाऊँ उनको सुझाव लिऊँ र अझ समृध्द बनाऊँ कविता तर जब सिरियलबाट मरे आँखा हटाउदिनन् उनले पनि या यसरी आँखा तर्छिन् कि कविता कुन त्यस्तो ओखती हो जसलाई सिरियल छोडेर हेरियोस् । उल्टै झर्किएर सोध्छिन् 'तपाईको कविताले पेट भरिन्छ ? कविताले लाज छोपिन्छ ? या ओत लाग्न हुन्छ घाम-पानीमा कविताको छाता ओढेर ?' उनी बुझ्दिनन् मूल्य नुन र सुनको मात्र हुँदैन बरू कविताको पनि हुन्छ र बजारमा उच्च मूल्य हुने चिज मात्रै संसारमा मूल्यवान हुँदैनन् जब मसँग कुनै भाषा हुदैन संझाउने जब उनीसँग दिल हुँदैन कविता बुझ्ने त्यसपछि बल्ल म अन्य पाठकहरूको खोजी गर्न थाल्छु । म अझै उल्झनमै छु मेरो पहिलो छनौट स्वास्नीवादी थियो कि समाजवादी ? बजारमा किनेको मिठो चकलेटजस्तै आँखा झिम्क्याउने रङ्गीन खेलौनाजस्तै करेसाबारीमा टिपिएको कलिलो काँक्रोजस्तै या बिबाहलगत्तै लाहुर गएको लाहुरेले मायालुलाई ल्याइदिएको शिरफूलजस्तै जब म सबैभन्दा सुन्दर कथा आफ्नै छोराछोरीलाई सुनाउन चाहन्छु सबैभन्दा सुन्दर कविता आफ्नै श्रीमतीलाई सुनाउन चाहन्छु जब सुन्न मान्दैनन् ती म निराश हुन्छु / रिसाउँछु बल्ल घर बाहिर मन घुमाउँछु ! म वारम्वार उल्झनमा हुन्छु मैले गरिरहेको यो कामले म को हुँ भन्ने प्रमाणित गर्छ बाल साहित्यवादी या व्यक्तिवादी ? स्वास्नीवादी या समाजवादी ? (सिन्धुली)