बाटोतर्फ नजर लगाउँदै छोरीले भनिन्, “यो मानिस हाम्रै घर ताकेर आइरहेको छ । नयाँ पाहुना होला ।”
मानिस नजिक नजिक आएपछि पुनः भनिन्, “कस्तो चोरजस्तो अनुहार भएको ?”
घरतर्फ आउँदै गरेको उक्त मानिसले उभिएर सोध्यो, “दाइ ! धर्मराजको घर कुन हो ?”
मैले पछाडि फर्किएर हेर्न भनेँ । उक्त मानिस फनकक फर्किएर हे¥यो । हो, त्यही ठूलो तीन तले घर । उक्त मानिस त्यतैतिर फर्कियो । अनुहार हेरेर मानिसको व्यवहार बुझिँदैन । पहिरनले व्यवहार जाँच्नु हुँदैन । निधार हेरेर भाग्य निर्धारण हुँदैन । मैले भनेँ त्यसो भन्नु हुँदैन छोरी । मसँग जोडिएको कहानी छ छोरी ! सुन ।
विर्तामोड नयाँबसपार्कको अगाडि मेनरोडमा पुगेपछि म ट्याक्सीबाट खुत्रुक्क ओर्लिएँ । ड्राइभर बसेको साइडतिर गएँ । एक हजारको नोट निकालेर दिएँ । ड्राइभरले मलाई सय रुपैयाँ फिर्ता दिए । पैसा फिर्ता लिन नपाउँदै एक जना खाइलाग्दो मानिस पान चपाउँदै अटो लिएर छेउमा आयो अनि भन्यो, “कहाँ जाने हो ?” मैले केही भन्न नपाई उसले फेरि भन्यो, “आउनुहोस् बस्नुहोस् ।”
यत्तिकैमा अर्को ख्याउटे शरीर भएको अटोवाला आएर त्यसै गर्यो । मैले पहिलोलाई प्राथमिकता दिँदै उसैतर्फ हेरेर सोधेँ, “भद्रपुर रोड ।”
“पचास रुपैया लाग्छ”, उसले भन्यो, “चढ्ने वित्तिकै रेट भनेन भने भरे पैसामा साह्रै किचकिच हुन्छ ।”
म अटोमा चढेँ । अटो चालकले सवारी हुइँक्यायो । मैले सोधेँ भाइ घर कहाँ हो ?
“सैनिक मोड, बाबुले दिएको एक कठ्ठा माटो छ । त्यसैमा सानो घर बनाएको छु, खेतीको जग्गा जलथल तिर छ, अंशमा लागेको दश कठ्ठा । दाजुभाइ सबै जागिरमा छन् म बेरोजगार भएँ त्यसैले त गरिखानु भनेर बाबुले यो अटो किनिदिनु भयो, यही अटोले गरी खाँदैछु । मेरा बाबु साह्रै जाती, अटो किनिदिएको तीन महिना पछि प्रेसरले ठाउँका ठाउँ बित्नु भयो । उपचार गराउन पनि पाइएन । लामो सास तानेर भन्यो दुई वर्ष भयो अटो चलाएको । यसैको आम्दानीले परिवार चलाउँदैछु । अहिलेसम्म त घर परिवार राम्रै चलेको छ । छोराछोरी बोर्डिङमा पढाउँदैछु, खानु पर्यो, लाउनु पर्यो, औषधि उपचार, अग्डमबग्डम धेरै छ खर्च तर पनि तीन लाखजति बैंक ब्यालेन्स पनि गरेको छु ।
बाबुआमा हुँदासम्म त पेन्सन झिकेको बेला अलिअलि खर्च दिएर जानुहुन्थ्यो बा । बा बितेपछि त अब कसको आश गर्नु ? अलि बढी मोजमस्तिमा पनि खर्च गर्छु । साथीभाइ छन् पाटी, भोजमा अलिअलि सकिन्छ । अब मर्मतमा अलि बढी खर्च आउन थालेको छ, पहिला जति त जोगिन्न होला । बुढेसकाललाई अलिअलि त जोहो जतन गर्नुपर्ने । जिन्दगीका लागि सानातिना सपना त देखेको छु, तर म जस्तो अटोवालाले कत्रा सपना सजाउनु र ? ”
रेडियो अन गरेझैँ गरेर आफ्ना कुरा सरासर राख्यो । गफ सकिँदा नसकिँदै मुक्ति चोकको दक्षिणमा रहेको भद्रपुर स्ट्याण्ड पुर्यायो । म उत्रिएँ । पचास रुपैया दिएँ । म आफ्नो कामका लागि बाटो लागेँ ।
केही दिनपछि काम विशेषले उही ठाउँबाट भद्रपुर रोड निस्कनु पर्ने भयो । म राजमार्गमा निस्कनासाथ अटोहरु लाइनमा बसेको देखियो । त्यहाँ पहिलेको खाइलाग्दो अटोवाला थिएन । साधारण ल्वाइख्वाइ भएको, ख्याउटे शरीर भएको अटोवाला आउनुहोस् आउनुहोस् भन्दै छेउमा आयो । म उसको अटोमा चढेँ । अटो अलि अघि बढेपछि मलाई उक्त अटो चालकलाई केही सोध्न मन लाग्यो । मैले सोधेँ, “भाइ घर कहाँ हो ?”
“पहाड तिर ।”
“कुन पहाड ?”
“ताप्लेजुङ ।”
“यहाँ ?”
“डेरा लिएको छु ”
“परिवार ?”
“श्रीमती, एक छोरा र दुई छोरी छौँ । डेरामा नै बस्छौँ ।”
“कमाइ कस्तो छ नि?”
“सामान्य छ, ठग्न जानिँदैन । तोकिएको भाडा लिन्छु । कोही कोही बृद्ध, अपाङ्गहरु देख्दा दया लाग्छ, उनीहरुले जति दिन्छन् त्यतिमात्र लिन्छु । पहाडतिरबाट झरेकाहरुलाई पाकेटमारले चाँडै चिन्छ, पाकेट पनि मार्छ, विचल्ली भएर रहेका मान्छेहरुलाई वरपर पु¥याउँछु पनि । छोराछोरी सरकारी स्कुल पढाउँछु । जीवन सामान्य ढंगले चल्दैछ, हजुर ।”
“यो अटो कसरी किनेको नि ?”
“पहिला घरबारी बन्धकी राखेर विदेश गएको थिएँ । घरबारी त उकासेँ । छोरो विदेशबाट पैसा कमाएर आउला, बुढेसकालमा राम्ररी पाल्ला भन्ने बाबुआमाको सपना पुरा हुन पाएन । सुखको अनुहार कस्तो होला देख्न नै नपाई पहिलोपटक विदेशबाट फर्केर आउँदासम्म बाबु बितिसकेका थिए । फेरि केही गरौँ भनेर दोस्रो पटक विदेश गएँ । बाबुले सुख भोग्न पाएनन् आमालाई त सुख दिउँ भनेँ त्यो पनि पुरा भएन । दोस्रो पटक आमा बितिसकेको खबर पाएर फर्किएर आएँ । रोग, भोक र शोकले बाबुआमा पालैपालो संसारबाट विदा भए । त्यसपछि त्यो पहाडमा बस्न मलाई मन लागेन, बाबुआमा नभएको घर कतिखेर छोडौँजस्तो भयो ? घरसल्लाह गर्दा श्रीमतीले त मानिरहेकी थिइनन् । मैले नै फकाइ फुल्याइ गरेपछि विदेशमा कमाएको पैसाले यही अटो किनेर जीवन गुजारा गरिँदैछ ।”
“के फेरि विदेश जाउँजस्तो लागेन ?”
“लागेन, बाबुलाई सुख दिने, आमालाई सुखदिने सपना पुरा भएन । फेरि परिवारलाई सुख दिने सपना बोकेर के जानु ? मेरा सपना चकनाचुर भए म अहिले विदेशको सपना देख्न छोडेको छु । पैसा त अलिअलि विदेश जाँदा जम्ने हो तर पारिवारिक माया ममता बाँकी रहँदैन । म विदेशबाट आउँदा ठूली छोरी बाहेक सबै छोराछोरीलाई तिम्रो बाबु म नै हुँ भनेर चिनाउनु प¥यो । त्यतिबेला मलाई अति दुःख लागेको थियो । अहिले भाडामा भएपनि परिवारसँग बसेको छु । पत्नीलाई ममता दिन पाएको छु, पत्नीको प्यार पाएको छु । दुःख सुख सँगै बाँडेर बिताएका छौँ । छोराछोरीलाई माया दिएको छु । छोराछोरीको हेरचाह गर्न भ्याइएको छ । उनीहरुलाई सल्लाह दिन, सही मार्गमा ल्याउन पाएको छु ।”
उसले कुरा राम्रो सकेको पनि थिएन । म ओर्लने ठाउँ आइपुग्यो । मैले पचास रुपैया पर्सबाट निकालेर दिएँ । म उसलाई धन्यवाद भनेर बाटो लाग्न लागेको थिएँ । दाई पैसा ? भनेर अलि ठूलो बोल्यो । म फर्किएँ । उसले बीस रुपैयाँ फिर्ता दियो । मैले सोधेँ, “भाडा पचास होइन ?”
“होइन दाइ, ठगमाराहरु पचास लिन्छन् नि ।”
अर्को यस्तै घटनामा पचपन्न–साठी वर्ष जतिको मानिस होला, अनुहारको रुप रङ्गले साठी पैसठ्ठी जति देखिन्थ्यो । उसले चलाएको अटोमा सवार गरेँ । उसको उमेर, रुप र रङ्ग देखेर मनमा ऊ प्रति केही दया त जागेकै थियो । उसले मसँग भाडा चाहिँ पचास उठाउन खोज्यो । तीस रुपैयाँ कि पचास भनेर थोरै कुरा राखेँ । मैले खासै केही भनिनँ, उसले मागेजति नै पैसा पर्सबाट निकालेर दिएँ । आफूसँग सवारी साधन नभएर होला त्यसपछिका दिनहरुमा मलाई पटक पटक अटोले ठगिरहेको अनुभूति हुन थाल्यो ।
त्यस घटनापछि मेरो मष्तिष्कले बनाएको सिद्धान्त बदलियो । म केही पाका मानिसहरुलाई अनुभवको खानी, सत्यको निशानी सम्झन्थेँ, उनीहरुलाई निकै नै विश्वास गर्थे त्यो विश्वास पनि गुम्दै गयो । त्यसैगरी भद्रमलाद्मी, सुकिलो देखिएको अनुहार भएका मानिसलाई पनि बाहिरी रुपजस्तै राम्रा, व्यवहारिक रुपमा असल, अनुकरणयोग्य होलान् भनेर भरोसा गर्थेँ त्यो पनि हराएर गयो । टाउको र निधार ठूलो भएको मानिसलाई भाग्यमानी मान्ने कुरालाई पनि वाइयात भन्ने ठानेँ ।
आजकल झट्ट अनुहार हेर्दा विश्वास गरौँ भन्ने लागे पनि मेरो मनले पत्याउँदैन । जसलाई विश्वास नै नगरौँ जस्तो लाग्छ त्यसैलाई विश्वास गर्न थालेको छु । फोहोरी, ख्याउटे मान्छेप्रति जुन अपमान मेरो मनभित्र भरिएको थियो । त्यो अपमान गर्ने मन बदलिएको छ । उनीहरुप्रतिको अविश्वास हटेर गएको छ । बरु, उनीहरुप्रति अथाह प्रेम जागेर आउन थालेको छ । अचेल सोझा देखिएका मानिसहरु मलाई प्यारा लाग्छन् । म आजकल झट्ट हेर्दा राम्रा देखिने खोक्रा मानिसको सङ्गतमा छुइनँ । सरल सपनाहरु सोझोबाटै पूरा हुन्छ तर कठिन लाग्ने सपनाहरु सहजै पूरा हुँदैन । त्यस्ता सपनाहरु पूरा गर्न मानिस बाङ्गो टिङ्गो हिँड्ने गर्दछ । जिन्दगीका सपनाहरु जुन तह र श्रेणीका हुन्छन् मानिस त्यही श्रेणीको मेहनत गर्छ, राम्रो वा नराम्रो कार्य गर्दछ ।
(ताप्लेजुङ)