तिमीप्रति दया पलाउँदैन
क्रोध जन्मन्छ एकलव्य ।
तिमीले चिन्नै सकेनौ
जसलाई तिमीले गुरु मानेर पूजिरह्यौ
ऊ गुरु होइन, शिष्यहन्ता हो भनेर ।
विद्या त उसले तिमीलाई दिएन
जति विद्या सिक्यौ तिमीले, आफैं सिक्यौ
र सिकेको पनि, उसले खोसिदियो
अनि गुरुदक्षिणा केको लागि ?
यो प्रश्न तिम्रो मनमा पनि उठ्यो होला
अनि मुखचैँ किन नखोलेको ?
तिम्रो यो मौनता
मेरो छातीमा शूलजस्तै चस्कन्छ एकलव्य ।
तिमीमाथि करुणा जन्मदैन
रिस उठ्छ ।
जहाँ तिमीले प्रतिरोध गर्नु थियो
त्यहाँ तिमीले घुँडा टेकिदियौ
जहाँ तिमीले आवाज उठाउनु थियो
त्यहाँ मुख सिलाएर बस्यौ ।
सत्ताको नूनको भारीले थिचिएको मान्छे
भाडाको टट्टूचैँ हुन सक्छ,
गुरु हुदैन भनेर
तिमीले बुझ्नै सकेनौ ।
भाडाको टट्टुलाई
गुरु बुझ्ने गल्ति गरेर बस्यौ एकलव्य
यो गल्ति तिम्रो श्रद्धामा बाधक बन्यो ।
तिमीमाथि सहानुभूति पलाउँदैन
तिम्रो भावुकतामाथि आक्रोश मात्रै जन्मन्छ ।
तिम्रो काटिएको औंलो
मेरा आँखाको अगाडि
उफ्रिपाफ्री गरेर मलाई जिस्क्याउँछ
र म आत्मग्लानिले हैरान हुन्छु
यस कारण कि
जहाँ तिमीले विद्रोहको बिगुल फुक्नु पर्थ्यो
जहाँ तिमीले तीर-धनुष उठाउनु पर्थ्यो
जहाँ तिमीले अधर्मलाई लल्कार्नु पर्थ्यो
त्यहाँ आफ्नो बलि चढाएर बस्यौ
र आफ्नो सर्वस्व नाश पारेर बस्यौ ।
खासमा तिमी युध्द लडेको भए
त्यो शिष्यहन्तासँग
बढी भए तिमी मारिने न थियौ
औंला काटेर जुन तरीकाले मर्यौ तिमी
त्यो भन्दा त
अनाचारका विरुद्ध लडेर मर्दा
त्यो मृत्यु यो मृत्युभन्दा श्रेयस्कर हुन्थ्यो ।
म तिमीलाई कसरी क्षमा गरौं एकलव्य ?
तिमीलाई क्षमा गर्नु भनेको
अनर्थ र अत्याचार विरुद्धका
हरेक लडाइलाई
फेदैबाट खारेज गर्नु हुन जान्छ
तिमीलाई क्षमा गर्नु
छल र बेइमानीको पक्षमा उभिनु हुन जान्छ
तिमीलाई क्षमा गर्नु
हरेक आततायीको समर्थनमा
आफ्नो सही धस्काइदिनु हुन्छ ।
(अनु. बलराम तिमल्सिना)