खाँदबारी कारागार बन्दीहरूले खचाखच छ । पुरुष बन्दी एकापट्टि छन् । महिला चाहिँ अर्कापट्टि । वरिपरि ठूलो पर्खाल छ, बीचमा उनीहरू । लाग्छ यो एउटा गहिरो इनार हो जहाँ केवल डुब्ने र तैरने क्रममा भ्यागुताहरू प्रयत्नरत छन् ।
भित्रको वातावरण ज्यादै फोहोरी र दुर्गन्धित छ । प्राय मानिसहरू धुस्रे र फुस्रे नै देखिन्छन् । एउटी महिला चाहिँ निकै सुकिली मुकिली देखिन्छिन् । कसरी आफूलाई अरुभन्दा छुट्टै बनाएर राख्न सकेकी हुन् ।
मानवअधिकारवादी सँस्था काहुरास्टका तर्फबाट केही दिनअगाडि हामी त्यहाँ गएका थियौँ । त्यहाँ पुगेर उनीहरूलाई भेला गराई उनीहरूको गुनासो सुन्दा कसैले के कसैले के कुराको अभाव भएको सुनाए ।
हामीभन्दा अगाडि पनि महिलावादी साथीहरू त्यहाँ पुगिसक्नुभएको रहेछ र वहाँहरूले तिनीहरूको मागबमोजिम एउटा टेलिभिजन उपलब्ध गराइदिनु भएको रहेछ । तर त्यो केवल महिला बन्दीहरूका लागि मात्र रहेछ । महिलाहरू त त्यसबाट ज्यादै प्रफुल्लित र आनन्दित भएकै रहेछन् । उनीहरू कोही आएमा यो र त्यो चाहिएको छ भन्न सिपालु पनि भइसकेका रहेछन् तर यता पुरुषहरू भने महिलावादीहरूको त्यो पक्षपाती व्यवहार देखी निकै रुष्ट देखिन्थे । त्यसै क्रममा एउटा बढोबूढो मानिसले त भन्दै थियो– यो आइमाइको जात त ज्यादै पक्षपाती हुँदोरहेछ ।
पुरुषहरूले पनि त एउटा टिभी ल्याइदिएका भए हुन्थ्यो नि त ! आवाज भुइँमा नखस्दै ती सुकिली महिला कुर्लिन् ।
केही दिन अगाडि त्यहाँ हामी पुग्दा उनीहरूले हामीलाई मानवअधिकारवादी भएको थाहा पाएपछि विभिन्न माग राखेथे । हामी धेरैजसो क्याम्पसका प्राध्यापक भएकाले उनीहरूले पठनपाठन सम्बन्धी चासो देखाए । विशेष गरी केटाकेटीले ।
एउटा भाइले यस जेललाई विद्यालय बनाइयोस् भनेको हामीलाई धेरै मन प¥यो र त्यस भनाइबाट प्रभावित पनि भयौँ । आमासँगै जेल आएर हुर्कदै गरेका बालबालिका थिए ती ।
ती पाँचदेखि नौ कक्षासम्म पढ्ने विद्यार्थीका लागि हामीले पाठ्यपुस्तक तथा अन्य पढ्ने लेख्ने सामग्री लगिदियौँ । मेरो भागमा अभ्यास पुस्तिका परेको थियो । मैले चार दर्जन कापी लगेको थिएँ । मेरो सानो सहयोग उनीहरूका लागि खुसीको वस्तु र गतिलो उपहार भएको थियो । अर्का मेरा साथीले दुई दुई ओटा कलम दिनुभयो । अनि हामी सबैको एक न एक थोक वितरण गरिसकेपछि पुरुषहरूका कोठामा पनि एउटा टेलिभिजन राखिदिने वचन दिई फर्कियौँ ।
त्यो शुक्रबारको दिन थियो । अर्को शुक्रबार दुईजना अन्य साथीका साथ हामी पनि फेरि बन्दीगृहमा पुग्यौँ । हामीसित चौध इन्चको गोहा कम्पनीको रङ्गिन टेलिभिजन साथैमा थियो । जेलका जेलर तथा अन्य कर्मचारीसमेत साथैमा राखी हामीले पुरुषहरूका कोठामा सबैले देख्न सक्ने ठाउँमा टेलिभिजन राखिदियौँ । अब पुरुषहरू पनि निकै खुसी देखिन्थे ।
हस्तान्तरण कार्यक्रम लगभग सकिएको थियो । हाम्रो हिँड्ने बेला पनि लगभग भइसकेको थियो । सबैजसो टेलिभिजनतिर मग्न थिए । त्यस्तैमा ती अघिकी सुकिली मुकिली ३५,३६ वर्षकी केटी मेरो छेवैमा आएर गहभरि आँसु पारेर हाँस्न खोजेजस्तो मुद्रामा सरहरूलाई धन्यवाद भनिन् । लगभग सबैलाई बिदा दिइसकेपछि अन्त्यमा उनले अलि वरसम्म आएर र मेरै छेवैमा आएर भनेकाले अनि उनको मुखमुद्रा तथा आँखामा डबडबाइरहेको आँसु देखेर मैले उनको परिचय मागेँ ।
“बिना” उनले छोटो उत्तर दिएकी थिइन् ।
मलाई कताकता उनको यो नाम परिचित जस्तो लाग्यो ।
“बिना तिम्रो घर कहाँ हो त ?” मैले सोधेको थिएँ ।
“राजन दाइ चुलेसीको धार कतापट्टि हुन्छ ?” मेरो प्रश्नको उत्तरमा उनले यस्तो अनौठो प्रश्न नै सोधेकी थिइन् र मेरा आँखामा एकोहोरोसित हेरेकी थिइन् ।
जब उनले मेरो प्रश्नको उत्तरमा अर्को अनौठो प्रश्न गरिन् तब मलाई नाट्यशालामा टाँगिएको पर्दा खुलेझैँ भएर बाल्यकालको एक घटना छर्लङ्ग देखिएको भान भयो । आजभन्दा सत्र वर्ष अगाडि मेरो मूलघर अर्थात् हजुरबाको घरमुनि पिङडाँडामा बसेर मेरी मिल्ने साथी बिना र म चुलेँसीले काँक्रो काटी रमाईरमाई खाइरहेका थियौँ । काँक्रो सिधासिधा चिरो पारेर काट्न नसकेको देखेर मैले उनलाई सिधा काट न भन्दा उनले जिस्कँदै यसरी यसरी …………यसरी काट्नु त भन्दै मेरो पाखुरामा चुलेँसी धसेकी थिइन् । म रगतपच्छे भएको थिएँ । त्यो देखेर उनी आत्तिदै रुँदै माफ माग्दै भन्दै थिइन् राजन दाइ मैले झुक्किएर काटेछु उल्टोपट्टिबाट जिस्कँदै काटेको जस्तो मात्र गरेकी थिएँ ……….दाइ सुल्टोपट्टि परेर साँच्चै पो काटेछ ……………सरी दाइ सरी ।
मैले केही बोल्न नपाउँदै कपालमा बाँधेको रिबन झिकी घाउमा पट्टी लगाएर मलाई समाउँदै फेरि भन्दै गएकी थिइन्– “राजन दाइ बड्यामालाई नसुनाउनु ल मलाई मार्नुहुन्छ ।ु
हाम्री आमालाई उनी बड्यामा भन्थिन् । त्यसबेला अन्जानमा भएको घटना उनले अझै पनि सम्झिरहेकी रहिछन् ।
“बिना तिमी ?”
‘हो राजन दाइ ।’ उनले भनिन् ।
अघि असई सापलाई सोधेर उनले मलाई चिनिसकेकी रहिछन् । अघिसम्म सर भनी सम्बोधन गर्ने उनले अहिले राजन दाइ भन्न थालिन् । सानामा सबैले मलाई राजन भनी बोलाउँथे । हाम्रा बाल्यकालीन क्रीडाहरूको सम्झना सायद उनलाई पनि आयो होला । त्यसैले मैले नसोधी उनले प्यारो र मीठो गरी भन्न थालिन्– ‘राजन दाइ तपाईँ त क्याम्पस पढाउने हुनुभएछ, आफू त हेर्नु न यस्तो हालतमा छु ।’
म के गरौँ र कसो गरौँ भएँ र भनेँ– ए साँच्चि विना के कारणले तिमी यहाँ छौ । डरलाग्दो उत्तर आउला भन्ने ठान्दा ठान्दै पनि मैले प्रश्न गरेँ ।
भावुक तर आक्रोशित मुद्रामा उनी भन्दै गइन्– ‘राजन दाइ तपार्इंले अहिले पढाउँदै गर्नुभएको क्याम्पसबाट आइ.एड. उत्तीर्ण गरेर म घरमा गएँ । तपाईँ चिन्नुहुन्छ नि दिवसलाई हो त्यसपछि उसैसँग बुबा आमाले विवाह गरिदिनुभयो । विवापछि म स्थानीय तहबाट तलब खाने शिक्षिका भएर गाउँकै स्कुलमा काम थालेँ । सोही स्कुलमा कार्यरत रहेकै बखत एक राहत दरबन्दी आयो । उक्त दरबन्दीमा मलाई स्वत काम गर्न दिन मैले प्रधानाध्यापक र वि.व्य.स. का अध्यक्षसँग प्रस्ताव राखेँ । तर उहाँहरूले विज्ञापन खुलाएर निस्पक्ष र प्रतिस्पर्धात्मक रुपमा शिक्षक ल्याउने बताउनु भयो । मैले उहाँहरूको जवाफमा सहमति जनाएँ । विज्ञापन खोलियो, जम्मा पाँच जनाको आवेदन परेछ । लिखित परीक्षामा सामेल भई प्रथम भएँ । पछि अन्तरवार्ता भयो । त्यसमा पनि मैले प्रथम भई सबलाई उछिनेँ ।
त्यहाँ एक डरलाग्दो षड्यन्त्रपूर्ण राजनैतिक खेल खेलियो । प्राक्टिकल गराउने भनी पाँच कक्षामा पढाउन लगाइयो तर नियतवस मलाई त्यसमा हराइयो । अनि उहाँहरूसँग राजनैतिक विचार मिल्ने त्यसै वर्ष एस.एल.सी.उत्तीर्ण गरेको भाइलाई उक्त कोटामा पारियो । मलाई भने आफ्नो दक्षता र अनुभवको कारणबाट म नै पर्छु भन्ने पूर्ण विश्वास थियो । म छाँगाबाट खसेझैँ भएँ । मलाई सहिनसक्नु भयो र म अफिसमा गएर प्रधानाध्यापकसँग किन यस्तो अन्याय गर्नुभयो भनी साह्रो साह्रो चिच्याउन थालेँ । उहाँले मलाई के भन्नुभयो त्यो पनि थाहा छैन । त्यतिकैमा आवेशमा आएर मैले उहाँलाई कुममा धकेल्न पुगेँछु । उहाँ बार्दलीबाट अचानक तल खस्नुभयो । घाम ताप्न बाहिर बेन्च ल्याएका रहेछन् सोही बेन्चमा सरको डडेल्नो बजारिएर मेरुदण्ड नै भाँचिएछ । उहाँ बेहोस हुनुभयो । अस्पताल लैजान खोज्दा खोज्दै…………….।’
बिनाको अनुहार मलिन भयो । चिसोचिसो मौसम त्यसमाथि कारागारको चिसो छिँडी थियो तर उनको अनुहारमा चिटचिट पसिना आएको देखिन्थ्यो । बीचबीचमा मैले ए हो र अँ ! जस्ता छोटा उत्तर मात्र दिँदै गएँ । उनी एकोहोरो भन्दै गइन्– ‘राजन दाइ त्यही दरबन्दी मेरा लागि अभिशाप भयो । कस्तो दरबन्दी रहेछ त्यो……………दाइ ! त्यो दरबन्दी …………। उनी डाको छोडेर रुन थालिन् ! अरुहरू पनि त्यहाँ भेला भए । उता टेलिभिजनमा भने फेरि पनि अर्को दरबन्दी खुलेको सूचना बजिरहेको थियो ।
(सङ्खुवासभा)