इतिहासको कुनै क्रूर शासकझैँ
वा भनौँ थुप्रै अव्यवस्थाहरूबीच भर्खरै नियुक्त
कुनै आदिम गाँउको नयाँ जमिन्दारझैँ
पसेको छ सुटुक्क भयावह लिएर घरका झ्यालहरूमा
गाँउका पूराना चोकहरूमा
सहरका साँघुरा गल्लीहरूमा
मान्छेको निन्द्रा र दैनिकीहरूमा ।
राम्रोसँग सास फेर्न पाएको छैन समयले
डराएको छ समय आफ्नै अनुहारको रौद्रतादेखि ।
दुध चुस्दा निस्केको आवाजले झस्किएर
निर्बन्ध निदाउन पाएको छैन
दुधे बालक आमाको न्यानो काखमा ।
पाठशालाबाट उज्यालै उज्यालो लिएर
घर फर्किरहेका स्कुले नानीहरू
बाटोछेउ खसेको आफ्नो वाचाल टिप्न नपाउँदै
हतारहतार किन फर्कन्छन् सधैं ?
बिहानको शीतको कलिलो घामसँगै
जीवनको महिमा अलाप्ने भजनहरू
किन सुतिरहन्छन् अबेरसम्म मन्दिरका चोटाहरूमा ?
फूल पारेको कुखुराझैँ हरसमय
किन ओथारो बसिरहन्छ “समय“ त्रासदीको रछ्यानमा ?
आजपनि उसैगरी
गाउँको हुलाकीझैँ
संकटग्रस्त बाटाहरूमा
एकोहोरो ओहोरदोहोर गरिरहन्छन् हावाका झोँकाहरू ।
बर्षौंसम्म वियोग खपिरहेको
मुगल सम्राज्यको कुनै पागलप्रेमीझैँ
एकतमासले जीवनको विक्षिप्तता सुसाइरहन्छ अमौरी खोला ।
भर्खैरै भर्ती भएका सिपाहीलेझैँ
परेड खेलिरहन्छ मौनता
जिवनको अस्तव्यस्तताहरूमा ।
धेरै भयो
घरको आँगनसँगै जोडिएको बाटो नटेकेको ।
धेरै भयो
यी साँघुरा गल्लीहरूमा
यी सुनसान चोकहरूमा
एकतमासले दौडिरहेछ एउटा शासक समय ।
(टीकापुर, कैलाली)