हे युवती !
तीब्र गती छ तिमीसँग
गुड्न सिक
दिब्य पंख खोल, उड्न सिक
साहस झिक ।
नडराऊ !
हातका रेखाहरूका पछि नलाग
हात नहुनेहरूको पनि भाग्य त हुन्छ त
जात जे भएपनि मान्छे मान्छे नै हुन्छ त
सोच !
तिम्रो सोचले एक दिन आकाश छुन्छ ।
देख सपना
तिम्रो सपनाले गगन चुम्छ ।
त्यसैले,
साहस झिक,
तीब्र गति छ तिम्रो गुड्न सिक
दिब्य पखेटा खोल उड्न सिक ।
यस धर्तीमा तिमीतिर तेर्सिने अर्ती नै कति हो कति
तर अब सोध्नु छोरीले राती हिँड्नु हुन्न भन्नेहरूलाइ,
के दिनको उज्यालोमा पनि हाम्रा यी बन्द कोठाहरूले
हामीलाइ सुरक्षित राख्न सकेका छन् ?
सोध्नु ठूलो स्वरले नबोल्नु भन्नेहरूलाई
के तिम्रो सानो स्वर सुन्छ यो समाज ?
सोध्नु बड्ता बाठी नहुनु छोरीमान्छे भन्नेहरूलाई
के लाटी हुँदाचैँ बाँच्न सजिलो छ यहाँ ?
सोध्नु सहनशील हुनु भन्नेहरूलाइ
के सहनशीलताको कुनै सिमाना छ यहाँ ?
अनि
उनीहरूका मथिङ्गल पनि तिम्रा प्रस्नहरूले भरिने छन्
अनि ती प्रस्नहरू जताजतै छरिने छन्
अनि फैलिने छन् सर्बत्र
हे युवती !
तिमी परम्परा तोड्न सिक ।
मनहरू जोड्न सिक
तीब्र गति छ साथमा, गुड्न सिक
दिब्य पंख छ उडानको तिमी उड्न सिक ।
सोध यो घटिया समाजलाइ
कि संस्कार र संस्कृतिको नाममा
किन थिचिन्छ यहाँ
हाम्रा सुन्दर उर्बर सपनाहरूलाई ?
किन निमोठिन्छ यहाँ खुसीहरूलाइ ?
अनि किन मारिन्छ यहाँ प्रतिभाहरूलाइ ?
सोध यी रक्षक भनाउँदा भक्षकहरूलाइ ।
किन हाम्रो आत्मरक्षाको अधिकार खोसेर
यति धेरै रक्षक, पिता, पति, पुत्र दाजुभाइ,
परिवार, समाज भत्दै थोपरिन्छ ?
अनि किन फेरि यी सबै रक्षक भनाउँदाहरूको
इज्जतको निम्ति बाँच्नुपर्ने तिमीले ?
अनि तिम्रो आफ्नो आत्मसम्मान चैँ
खै त कस्ले जोगाइ दिने ?
भो अब अर्काको निम्ति नबाँच
खोज आफ्नो पहिचान ।
स्वयं जोगाऊ आफ्नो आत्म सम्मान
आफ्नो अस्तित्वमा जिउन सिक
द्रुत गतिमा गुड्न सिक
तीब्र बेगमा उड्न सिक ।
भो ! नरोऊ अब
नलुक कुनै कुनामा
आऊ
यो घटिया सोच भएको समाजसँग डटेर भिड
चेतनाको मसाल बोकेर हिँड
रुढिवादको ऐँझेरु चुँड्न सिक
पखेटा छ है तिमीसँग उड्न सिक ।
कदापि नबन त्यस्तो सम्पति
जो कुन्तीको एक वचनमा पाण्डवमा बाँडिन्छे,
अनि धर्मराजको सनकमा जुवामा हारिन्छे
त्यति औधी पवित्र पनि नबन किमार्थ
जो रामको सानो शङ्का निबारण गर्न अग्निपरीक्षा दिन्छे ।
अति भो !
भो अब जंजीर तोडेर निस्क
भिडको प्रस्न छोडेर निस्क
नडराऊ दुर्याेधन र दुस्साशनका अट्टहाससँग
अनि,
अनि कुनै धृतराष्ट्रका पछि नलाग आँखामा पट्टी बाँधेर ।
आऊ खोल त्यो आँखाको पट्टी
तिम्रो आँखामा चेतनाको ज्योती धपक्क बल्नेछ
अनि यो सारा संसार तिम्रो चाहना अनुसार चल्ने छ
आऊ आफ्नै पिरती गाँस्न सिक
आफ्नै खुसी हाँस्न सिक
हे युवती !
ए छोरी !
कुद, दौड
तीब्र गती गुड्न सिक
पखेटा छ तिमीसँग
माथि नीलगगनमा तीब्र बेगमा उड्न सिक ।
(मोरङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।