"म अब विचारधारादेखि
अघाएको र थाकिसकेको छु !
एउटा कविलाई
खासमा विचारधारा नै किन चाहियो र
मानवताका लागि
अलिकति चिन्ता,अलिकति करुणा,
अलिलति सौन्दर्य-पिपासा,
केही चराचुरुङ्गी, केही रङ्ग, केही नारीहरू,
केही स्मृतिहरू, केही सपना
केही अमरत्वको चाहना ...
र खासमा कविलाई
बाँच्न र कविता लेखिरहनको लागि
अरु के नै पो चाहिन्छ र !"
धेरैका विचारमा आवाज थप्दै
महाकवित्वको
सङ्घारमै पुगिसकेको
त्यो बुढो कवि चिच्यायो ।
एउटा रङ्गभङ्गी रसद्रोही दुष्टले भन्यो-
"तर कविवर,
विचारधारा त
तपाईको इच्छाभन्दा स्वतन्त्र
तपाईको वरिपरिको संसारमा
तपाई के कुरा देख्नुहुन्छ
तपाईँको त्यो दृष्टिमै छिरेको हुन्छ नि ।
जब तपाई कुनै विषयमा सोच्नुहुन्छ
सचेतन नभए अवचेतन नै सही
प्रेम या घृणा गर्नुहुन्छ नि,
त्यहाँ पनि विचारधारा हुन्छ ।
र जब तपाई विचारधाराको
निषेधको कुरा गर्दै हुनुहुन्छ
त्यो पनि एउटा विचारधारा नै हुन्छ !"
दिक्दारीको पल्लो छेउ पुगेको
त्यो कवि
विचारधाराको
पिछा छुटाउन भनेर
जीवनको हल्लाखल्लाभन्दा टाढा
कुनै गुफातिर भाग्यो
जहाँ ध्यानस्थ थियो त्यो ब्रह्मराक्षस
जसले पहिले नै
"आधुनिकको विसर्जन'को घोषणा गरेर
उत्तर-आधुनिकतिर प्रस्थान गरेको थियो
अनि प्राक्-आधुनिकलाई शरण बनाएर
मानवयोनि छोडिसकेको थियो।
त्यही ऋषि ब्रम्हराक्षसले भन्यो-
"विचारधाराबाट मुक्ति संभव छैन
वत्स, यो सत्यलाई
एकान्तमा बुझ
त्यसपछि संसारमा जेसुकै तर्क गर ।
तिमी विचारधाराबाट मुक्तिका लागि भनेर
यो गुफासम्म भागेर आएका छौ नि
यसको पछाडि पनि विचारधारा छ
अनि म जो वर्षौंदेखि
"मिथ्या चेतना वशीभूत बनेर
साधनारत छु नि
यो पनि एउटा विचारधारा हो !
शिशु ! तिमीसँग अरु उपाय छैन,
अब तिमी बौलाएर या मरेर मात्र
विचारधाराबाट मुक्त हुन सक्छौ !"
(अनु : बलराम तिमल्सिना)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।