सत्य र तथ्य बुझेर यहाँ बहिरो हुनु पर्छ
दुई शब्द बोलौँ भन्दा मुटु छामेर लुक्नु पर्छ ।
रोग, भोक र शोकले पिरोल्छ तालुकदार हेप्छ
अर्जी एउटा चढाउँ भने कोठामा लुक्नु पर्छ ।
धूलो उडाउँदै गाडीमा सयर गरेर आउँछ कोही
ताकत छैन सवाल गर्न कुनामा लुक्नु पर्छ ।
पर्चाका दुई शब्द पढौँ भने यी आँखा छोप्नु पर्छ
आस्थाका दुई शब्द बोल्दा जङ्गलमा लुक्नु पर्छ ।
स्वाभिमानी भएर के गर्नु शक्ति अगाडि झुक्नु पर्छ
नत्र आँधी आउँछ बास हुन्न ओढारमा लुक्नु पर्छ ।
झुन्डका कति साथी मुन्ड भए हामीले अन्धो हुनु पर्छ
इन्कलाबका दुई शब्द बोलो भने बगरमा लुक्नु पर्छ ।
(चाबहिल, काठमाडौं)