आफ्नै खर्चमा पुस्तक छाप्ने मूर्ख लेखक म भएको छु । साथीभाइले किनी पढिदिउन् भनेर किताब बोकेर भेटिरहेको छु ।
कति त तिरस्कार भाव झल्काउँदै भाग्छन् । कति पुस्तक हातमा लिएर ओल्टाइ पल्टाइ गर्छन् तर फ्याट्ट पुस्तक फालेर पुस्तकप्रति गहिरो वितृष्णा देखाउँछन् ।
थुप्रै पुस्तक उपहार बाँडेर साहित्यकार बन्ने धुनमा मैले बटुलेको अनुभव हो सित्तै बाँड्दा पुस्तकको निकृष्ट अवमूल्यन हुँदोरहेछ । कसैले पढ्दैनन् । पुस्तक पढ्नका लागि हो । नपढिने पुस्तकहरू खोलामा फालेसरह हुँदोरहेछ । ज्ञानको नाश !
म सित्तैमा बाँडेर पुस्तकको बेइज्जत गर्न चाहन्नँ । तर लागेको छपाइ खर्च उठाउन सकिन्छ कि !
पुस्तक मेरा शिक्षित साथीभाइले किनिदिन्छन् कि ! आशामुखी बन्छु म । उनीहरू किन्दैनन् । मलाई आर्थिक सहयोग हुँदैन । त्यो त बेहोरिरहेकै छु ।
तर ती शिक्षित साथीहरू पुस्तकले दिने ज्ञानबाट विमुख भइरहेका हुन्छन् । साहित्यले दिने रसमय भाव, संवेग र अतुलनीय आनन्दको अनुभवबाट बञ्चित हुँदैछन् ।
पुस्तकप्रति वितृष्णा ! सुरुचिपूर्ण जीवन मार्गबाटै पलायन, सुखीजीवनको आशाको अन्तको थालनी । पुस्तक किन्न र पढ्न भनेपछि परपर भाग्ने शिक्षित मानिस शिक्षित नरपशु होइन र ?
मैले लेखेको पुस्तक नपढे पनि अरु पढ्छन् होला नि ! पुस्तकै पढ्दैनन् भने ती महामूर्ख शिक्षित नरपशु नै हुन् ।
हा..हा..हा.. म आफ्नै खर्चमा पुस्तक छाप्ने मूर्ख, तिनीहरू महामूर्ख । मनमनै हाँस्छु ।
(धरान, सुनसरी)