कोटको गोजीमा पट्याएर दर्जनौ कविता
हिँडेँहुँला हप्तौँसम्म भोकैतिर्खै
तर, भट्टी पसल, राजनीतिक सभा र जुलुसमा
मैले कहिल्यै वाचन गरिन प्रिय कविता
कविता रुख बनोस् स्वावलम्वी
कविता नदी बनोस् गतिशील
यही ठानेर लेख्दै मेट्दै गरेँ निरन्तर
छाप्दै वाचन गर्दै हिँडेँ जीवनभर ।
आज केही साथीहरूले सुनाएर गए
रत्नपार्कमा बसेर मागिरहेकोछ तेरो कविता
म चकित भएँ
कुनै अखवारमा छाप्न पठाएको कविता
कसले पुर्याएछ माग्ने बनाएर ।
कस्तो ग्ल्यामर कविता !
मोडेल बनाउछु, देऊ तिम्रो कविता
कुनै विज्ञापन एजेन्सीले मागेथ्यो
तर मैले बेचिन कविता ।
अखवारको कार्यालयमा छाडेर आएको
आफै छापिएर मोडेल बनोस् भनेर
फेरि, कसरी माग्ने बन्यो
भोकैनाङ्गै रत्नपार्कमा मेरो कविता ।
सम्पादकलाई फोन गर्छु
छापेको छु भन्छ अखवारमा
फरि, साथीहरू भन्छन्
रत्नपार्कमा मागिरहेको छ तेरो कविता ।
म हिउँले छोपिएको पहाडझैँ
स्थिर, उच्च र शान्त भएर सम्झन्छु
साच्चै के माग्यो होला मेरो कविताले ?
निर्धा ओठहरूका लागि हदै मागे आवाज माग्यो होला
लगाउन एकसरो लुगा र खानलाई गाँस माग्यो होला
आकाश ओढेर धरतीमा पसिना बगाउनेहरूका लागि
विना सन्त्रास बाँच्न पाउने हक माग्यो होला
फगत, जुलुसमा गएर नारा चिच्याउन सकेन होला
आमसभामा गएर ताली ठोक्न सकेन होला
जङ्गलमा काँडा र बगंैचामा फूल बन्छु भन्थ्यो
जडाउरी विचारको भारी बोक्न सकेन होला
विचरा, मेरो कविताले हदै धेर मागे
सग्लो राष्टियता माग्यो होला देशवासीका लागि
मानवता, भातृत्व माग्यो होला संसारका सबैका लागि ।
साथीहरू भन्छन्
रत्नपार्कमा मागिरहेको छ तेरो कविता ।
(धनकुटा)