‘पहिला आमा छोराछोरीले खाएनन् भनेर रुन्थिन्, अहिले आमा छोराछोरीले खान दिएनन् भनेर रुन्छिन् ।’
सहरको कुनै पुस्तक पसलमा मैले यी हरफहरू पढेँ ।
यो कसको भनाइ हो मलाई थाहा भएन । तर यो महान् भनाइ पढेपछि मलाई अचानक मेरी आमाको याद आयो ।
मेरी आमा अर्थात् मेरी मदरटेरेसा ।
झण्डैझण्डै मैले आमालाई बिर्सिइसकेछु । यतिबेला मेरो मानसपटल उथलपुथल छ । देशको अस्थिर राजनीतिजस्तै मन अस्थिर छ । टाउको रन्केको छ ।
मलाई स्वयम् मप्रति शंका उब्जेको छ । मेरो शैक्षिक डिग्रीप्रति शंका छ । म बाँचेको समाज अनि मैले आत्मसात गरेको सभ्यताप्रति शंका छ ।
सिंगो जिन्दगी भोग्दै अघि बढिरहेको छु म । जिन्दगी भोगाइमा आधा वसन्त मैले भोगेँ । स्कुल धाएँ, कलेज धाएँ । पाठ्यपुस्तकका थुप्रै ठेली छिचोलेँ । गेसपेपर र गाइड पढेँ । डिग्रीको सर्टिफिकेट प्राप्त गरेँ । थुप्रै ठाउँमा धाएँ । नेताकोमा, प्रशासककोमा, डनकोमा ।
प्रोफेसर बनेँ, विद्यार्थीलाई लेक्चर दिन थालेँ ।
अहिले आफ्नै आत्मवृत्तान्त पढ्दैछु । आमालाई बिर्सेर कुनै पुस्तक पढ्न सकिन्छ र ? आमालाई तिरस्कार गरेर कुनै ज्ञान आर्जन सकिन्छ र ?
जीवनको यो कालखण्डमा उभिएर म समीक्षा गर्दैछु । मैले कस्तो शिक्षा आत्मसात गरेँ ? अनि मैले कस्तो खालको शिक्षा भविष्यका सन्ततिको निम्ति प्रतिस्थापन गरेँ ।
भनिन्छ, प्रत्येक बालकको पहिलो पाठशाला उसको आमा हो ।
आमा तपाईंले मलाई कस्तो पुस्तक पढाउनु भयो ? कसरी म यति आत्मकेन्द्रित र स्वार्थी भएँ ।
संसारको कुनै वस्तुभन्दा मूल्यवान् छिन् आमा । अतुलनीय छिन् आमा, वरपीपलको छहारीजस्तै शीतलता प्रदान गर्ने गर्छिन् आमाले ।
‘छोड्दे यार ! यो शब्दको माया । बकबास…।’
सत्य त यही हो कि आज मेरो साथमा मेरी आमा छैनन् ।
मसँग यतिबेला आफ्नै भत्र्सना गर्ने शब्दहरू छैनन् । अनि मलाई घृणाा लागेर आयो ती छोरा–बुहारीहरुप्रति ।
–जो आमाको आँसुलाई बलेसीको पानी सम्झिन्छन् ।
–जो आमाको गम्छा फ्याँकेर पत्नीको पेटिकोट ओढ्छन् ।
–जो आमालाई छलेर मीठोमसिनो ज्युनार गर्छन् ।
–जो आमालाई शब्दको वाणले प्रहार गर्छन् ।
परिवारको कान्छो छोरो म । ममाथि आमाको अतिरिक्त माया । आमाको ममाथि अतिरिक्त भरोसा ।
पुस्तौँदेखि चलेको एउटा परम्परा–कान्छो छोराले बाआमा पाल्ने । कसले शुरुआत ग¥यो यो परम्परा, यो चलन । के कान्छो छोराले मात्रै बाआमालाई न्याय गर्न सक्छ ? के कान्छो छोराले मात्र बाआमालाई स्नेह र ममता दिन सक्छ ?
एउटै आमाको कोखबाट जन्मेका सन्तानहरू एउटी आमाका लागि समान हुन्छन् । आमाको आँखामा सबै सन्तान बराबर ।
तर किन प्रायः कान्छो छोरासँग बाआमा बस्नुपर्छ भन्ने मान्यता चल्यो ।
मेरो साइँलो दाइ र उसकी मुखाले स्वास्नी आमालाई शब्दबाण प्रहार गरिरहन्थे । तिनको एउटै कचकच थियो– आमाले कान्छो छोरालाई काखी च्याप्नु भो । हामीलाई सौताको छोरा ठान्नु भो ।
आमा शब्दबाणले घायल हुन्थिन् । कुना पसेर आँसु झार्थिन् । साइँलो दाजुले बीएलसम्मको शिक्षा आर्जन ग¥यो । विवाह ग¥यो । भाउजू हेर्दा सुशिक्षित जस्ती थिइन्, तर सामूहिक परिवारमा उनी रमाउन सकिनन् ।
उनी बुहारीको रुपमा हाम्रो घरको एउटा हिस्सा बनिन् । अब घरधन्दाको झिझ्याटलाग्दो जीवनबाट अलिकति राहत मिल्ला । मैले यस्तो सोचाइ बनाएँ ।
तर आमाको यो आशा निरर्थक भयो ।
‘म यो घरमा दास बन्न आएकी हो र ! मेरो कुनै व्यक्तिगत स्वतन्त्रता छैन । मेरो नारी अधिकार छैन ? मेरो आफ्नो अस्तित्व छैन ?’ भाउजू पड्किनु भयो ।
एकदिन आमाले ‘बुहारी आज भान्सा तयार गर् है !’ भन्दा बुहारीको नारी अधिकारको कर्कश आवाजले आमाको सातो उड्यो ।
अचेल बुहारीहरुले सासूलाई कज्याउने नारी अधिकार पाएका छन् ।
साइँलो दाइ मौन थियो ।
सायद ऊ आफ्नो स्वास्नीको नारी अधिकारको भाषण सुनेर मन्त्रमुग्ध थियो । म लठुवा लाटाले केरा हेरेजस्तो ट्वाँ… परिरहन्थेँ ।
आमा फेरि कुना पसेर रुनुहुन्थ्यो । मलाई आमाको आँसुको मूल्य बुझ्ने फुर्सद थिएन । मलाई सिर्फ मेरो चिन्ता थियो । पढाइ…जागिर र पैसा । त्योभन्दा बाहेक सब कुरा मेरा निम्ति मूल्यहीन थिए ।
साइँलो दाइले जागिर पायो । तत्काल स्वास्नी च्यापेर ऊ राजधानी हानियो । अब परिवारमा म, जेठो दाजु र आमा रह्यौँ । महिलो दाजु एकवर्षअघि नै छुट्टिएर सहर पसिकेको थियो । ऊ केही वर्ष वैदेशिक रोजगारीमा रह्यो । केही सम्पत्ति आर्जन ग¥यो । त्यसपछि आफ्नो घर चटक्क छोडेर सहर पस्यो । स्वास्नी टिपेर सहर छिरेको उसले त्यसपछि घर सम्झेन । आमा सम्झेन । अब पालो थियो साइँलो दाजुको ।
मेरी आमा विधवा थिन् । बाबा परलोक भए । त्यसपछिका झण्डै पन्ध्र वर्ष आमाले दुःख र कष्टको एउटा भयानक जिन्दगी बिताइन् ।
कति रात भोकै सुतिन् । कति रात आँसुले उनको सिरानी भिज्यो । छातिभित्र कति धेरै वेदनाका घाउ छन् । त्यसको हिसाब किताब छैन ।
जब मान्छेहरूनाफा र घाटाको हिसाब–किताब राख्न वाँच्ने गर्छन् । त्यतिबेला मानवीय संवेदनाको हिसाब–किताब ओझेलमा पर्छ ।
हामी चार दाजुभाइ हुर्काउन, बढाउन र पढाउन उनले आफ्ना सारा इच्छाहरू त्यागिन् । हरेक आमाको पहिलो र अन्तिम इच्छा सन्तानको खुसी हुन्छ । जुन मेरी आमाको पनि थियो ।
जीवनको पच्चिस वर्षहरू मैले आमासँग बिताएँ । मैले धेरै कोर्षका किताबहरू पढें, तर पच्चिस वर्षसम्म मैले आमा पढ्न सकिनँ । आज जीवनको समीक्षा गर्दा त्यस्तो लाग्छ ।
आज आएर म आफ्नै जीवनको आत्मवृत्तान्त पढिरहेको छु । म कसरी स्वार्थी बन्न पुगेँ ? मेरो स्वार्थी संसार कसरी खडा भयो ?
मेरो जेठो दाजु विदूर थियो । भाउजू सुत्केरी व्यथा लाग्दालाग्दै बितिन् । दाजुले फेरि दोस्रो विवाह गरेन । भनौँ भाउजू बितेपछि घर, संसार, परिवार, पत्नी । यो संसारप्रति उसलाई गहिरो उदासिनता थियो ।
परिवारमा ऊ मात्र एउटा त्यस्तो व्यक्ति थियो, जो अशिक्षित थियो । भाइहरू क्रमशः उच्चशिक्षाको उकालो चढे । आजको समाजमा जे कुरालाई प्रगति ठानिन्छ, उनीहरुले त्यही गरे । पैसा कमाए…भोगविलाश गरे ।
मेरो जेठादाइ एक गौप्राणी थियो । भैँसीगोठालो गथ्र्यो । भैँसीलाई घाँस काट्थ्यो । हलो–कोदालो गथ्र्यो । कठोर परिश्रम गथ्र्यो । कम बोल्थ्यो । करिब–करिब बोल्दैबोल्दैनथ्यो । यस्तो लाग्थ्यो, कठोर श्रम गर्दा नै ऊ आफ्नो पीडा भुल्ने गर्छ ।
उसको कसैप्रति कुनै गुनासो थिएन । भाइहरुलाई कहिल्यै नराम्रो गरेन ।
आमालाई असाध्य माया गथ्र्यो । टाउको दुखेको बेला ऊ आमाको सिरानमा बसेर टाउको मिचिदिन्थ्यो । टाङ्ची पड्काइदिने गथ्र्यो । राति अबेलासम्म आमाको गोडा मिचिदिने गथ्र्यो ।
आमा आफ्नो अधवैंशे छोराको अनुहार सुम्सुम्याउँथिन् र बरबरी आँसु झार्थिन् । उनको मातृस्नेह त्यतिबेला छताछुल्ल हुनेगथ्र्यो ।
ममा डिग्री, पैसा र जागिरको भूत सवार भएको थियो । ती कुराहरूप्राप्त गर्न मलाई तीव्र आतुरी थियो । पार्ट टाइम पढाउनु र पढ्नु । पढ्नु जीवनको लागि थिएन, पैसा र स्तरीय जागिरको निम्ति थियो ।
मेरो आँखामा स्वार्थको पर्दा लागेको थियो । अनि त म आमा, दाजु र समाज देख्दिन थिएँ । मेरो अर्जुनदृष्टि थियो, शान, मान र भोगविलास । यी कुराहरू डिग्री, पैसा र जागिरबाट प्राप्त हुन्थे ।
ब्याचलरको पढाइसँगै मैले एक प्राइभेट बैंकमा जागिर पाएँ । ब्याचलर लेभल सकेपछि डिग्री ज्वाइन गरें । मेरो महत्वाकांक्षाको कुनै सीमा थिएन ।
सायद सफलताको एउटा पक्ष व्यक्तिको महत्वाकांक्षामा पनि होला । केही वर्षको जागिरसँगसँगै मैले केही साथीसँग मिलेर सहकारी संस्था खोलेँ । संस्थाको अध्यक्ष आफैं बनें । बैंकमा काम गरेको अनुभवले सहकारी संस्थामा काम दियो ।
संस्था केही वर्षमै नाफामा गयो । त्यसपछि मैले घरजग्गामा लगानी गरेँ । यो व्यवसायमा मैले नसोचेको सफलता हात पारेँ ।
अब मोटरसाइकलबाट मेरो हैसियत स्यान्ड्रो कार भयो । भाडाको निजी फ्ल्याटबाट आफ्नै तीनतले घरमा सरेँ । घर भव्य थियो । सहरमा अब मेरो पछाडि युवतीहरुको लर्को थियो । निःसन्देह ती मलाई प्रेम गर्थे । तर साँचो कुरा मलाईभन्दा ती सम्पन्नतालाई प्रेम गर्दथे ।
अब मसँग बंगला, गाडी र एउटा दाम्पत्य जीवन थियो ।
मेरो तारिफ गरेर भद्रभलादमी थाक्दैनथे । गाउँको गरिव परिवारबाट आएर मैले गरेको प्रगतिको शानदार प्रशंसा हुन्थ्यो ।
सम्पत्ति र सेक्सको भोगबाट मान्छे कहिल्यै सन्तुष्टी हुँदैन भन्छन् ।
अन्धवेगमा मेरो यात्रा जारी थियो ।
जिन्दगीको सफर यसरी नै चलेको थियो ।
सधैं सुखद खबर सुन्ने मेरो बानी परिसकेको थियो । मेरो कानमा अनायास अप्रिय खबर आयो ।
म हतार–हतार गाडी स्टार्ट गरेर अगाडि बढेँ ।
एकदिन जब आफ्नो निजी कार चढेर म पशुपति पुगेँ । पशुपति आर्यघाट ।
चितामा केही लास जलिरहेका थिए । केही लास चितामा जल्न तयार थिए । लासहरुबाट निस्केको एक मुस्लो धुवाँ आकाश हुँदै शून्यतिर विलीन भइरहेको थियो ।
आफन्त गुमाएका मान्छेहरू वियोगको गीत गाइरहेका थिए । वियोगमा मान्छेले बगाउने त्यहीँ आँसु त हो । आँसु बगाइरहेका थिए ।
उदास र हतास मन लिएर मेरा आँखा प्रत्येक चितामा डुलिरहेका थिए । एक्कासि मेरो आँखा एउटा चितामा पुग्यो । जहाँ एउटा लास चितामा राखिएको थियो । मैले छेउमा हेरेँ, दुई भाइको कपाल खौरने क्रम जारी छ । एउटा भाइ उदास मुद्रामा उदास भएर बगिरहेको बागमतीलाई हेरिरहेको छ । उसलाई मैले चिनेँ, ऊ मेरो जेठो दाजु हो ।
अब भने मेरो हातखुट्टा लल्याकलुलुक भए । मैले बागमती, पशुपति र चिता सबैसबै घुमिरहेको देखेँ । सारा ब्रह्माण्ड फनफनी घुमिरहेको छ ।
म चेतनाशून्य भएँ । थचक्क बसेँ ।
अब चितामा रहेकी मेरी आमा बोल्ने छैनन् । मैले छोपेको सेतो कपडा पन्छाएर आमाको अनुहार अन्तिमपटक हेरेँ ।
मेरी आमाले ‘…मेरो बाबु …छोरा भनेर एकचोटी भने हुने नि ! अहँ अब आमाले अब त्यसरी कहिल्यै भन्ने छैनन् ।
थुइक्क जिन्दगी …
मैले जेठोदाजुतिर हेरेँ, ऊ नै त हो मेरो दोस्रो आमा । अरु दाजु त मजस्तै हृदय नभएका मान्छे हुन् । आखिर कति धेरै फरक पर्छ, एकै कोखका सन्तानमा पनि ।
मैले ‘दाजु’ भनेर सम्बोधन गरेँ । उसले मतिर हेरो । मप्रति गहिरो वितृष्णा उसमा झल्कन्थ्यो ।
आत्माग्लानी र पश्चातापको आगोमा म जलेँ । मैले जेठोदाजुलाई गर्लम्म अँगालो हालेँ ।
परिवेश शोकमय भयो ।
‘सास जानुभन्दा अघिसम्म तेरो …नाम लिन आमाले । मर्ने बेलामा पनि एकचोटी मुख देखाउन आइनस् कान्छा तँ ।’
दाजुका यी शब्दले मेरो मुटु छियाछिया भयो । प्रतिक्रियाविहीन र शून्य भएँ म । एउटा छटपटी छातीभित्र बुर्कुस्सी मारिरहेको थियो ।
मैले आफूलाई कसरी माफ गर्न सक्छु ।
जेठो दाजुले आमाको चितामा आगो लगायो । आमा जेठो दाजुको काखमा चिरनिद्रामा निदाउनु भयो । आमाका चार भाइ छोरामध्ये वास्तविक छोरा एउटा मेरो दाजु रहेछ । हामीले स्कुले शिक्षा पढ्यौँ । तर जेठो दाजु जसले जिन्दगी पढ्यो ।
आमा जसलाई अंगालो हालेर म रुन चाहन्थेँ । तर अब ढिला भइसकेको थियो । आमा त चितामा जलिरहनुभएको थियो ।
त्यसपछि मैले आफैंलाई धिक्कार्न थालेँ क्रमशः मेरो खोक्रो मान प्रतिष्ठालाई । मेरो डिग्रीलाई । मेरो सभ्यतालाई र मजस्तो छोरालाई ।
अब आफैंलाई धिक्कार्ने शब्द मसँग थिएन । आमाको अस्तित्व पनि बाँकी थिएन । खरानीको थुप्रो पखाल्दै थियो मेरो जेठो दाजु । मलामीहरू हिँड्ने मेलोमेसोमा थिए । अरु दाजुहद्य–भाउजूहरू पनि हिँड्ने मेलोमेसोमा थिए ।
म सर्वथा रित्तो थिएँ ।
मेरो जेठो दाजु म नजिकै आयो । उसले मैलो कपडामा बोकेको एउटा पोको म तिर बढाउँदै भन्यो– ‘कान्छा… ला, आमाले तेरो लागि छोडेर गएको यो नासो ।’ मेरी प्रिय आमाले मलाई के छोड्नु भयो ? मेरो मनमा अधैर्य जिज्ञासा र कौतुहल थियो ।
मेरा आँखा आमाको त्यो अन्तिम नासो के थियो हेर्न आतुर थियो । मैले हत्तपत्त त्यो पोको खोलेर हेरें । त्यहाँभित्र के थिए । के थिए ? जो आमाले सास जानुभन्दा अगाडि मलाई छोडेर गएकी थिइन् ।
एक रुपियाँ, दुई रुपियाँ, पाँच रुपियाँका मैला नोटहरू । एक मोहर र एक रुपियाँका ढकीहरू थिए ।
म अचम्मित भएँ ।
‘दाजु यो के हो …?’
‘आमाले पशुपतीमा भिक्षा मागेर जम्मा गरेको पैसा हो । यो आमाले मर्नुभन्दा अगाडि तँलाई दिनू भनेर मलाई भन्नुभएको थियो । आमाको नासो…!’
दाजुको यो जबाफ सुनेर म झण्डै–झण्डै मूर्छित बनेँ ।
आमालाई अँगालो हालेर रुनको लागि अब आमा छैनन् । आमा जलेको खरानीको थुप्रो पनि अब बागमतीको पानीमा विलीन भइसकेको थियो ।
(सुनसरी)