धेरै वर्ष अघिको कुरो हो, सान्टियागोको चिली मजदूर युनियनद्वारा आमन्त्रित भएँ । आमन्त्रण स्वीकार गरेँ । आमन्त्रण केका उपलक्ष्यमा थियो सोचिनँ मैले । आमन्त्रणका विषयमा कम्पारो तताउने फुर्सत थिएन !
सागमण्डीका माझबाट हिँड्दै थिएँ । एकातिर माछाको दुर्गन्ध थियो त अर्कातिर सडेका साग-पातको दुर्बास ! निर्दिष्ट ठाउँमा पुगेँ । धेरैपछि थाहा पाएँ – मेरा आमन्त्रण कर्ता सागपात र माछा बेच्नेहरू थिए ।
श्रोता असभ्यजस्ता थिए । संख्यामा चालीसभन्दा धेरै थिएनन् । सबैका खुट्टा नाङ्गा थिए, लुगा ठाउँ-ठाउँमा टालिएका थिए । उनी सब मेरै पर्खाइमा थिए । उनीहरूलाई देखेर म भयातुरझैं भएँ।
घरबाट हिँड्दा हातमा ’एस्पान्याएन एलकोरोजो’ बोकेर आएको रहेछु । चिन्तन र कविताको क्लिष्ट पुस्तक । अब के गरूँ ? अरू कुनै पनि कविता मेरो स्मृतिमा थिएन । मनमा संयम राख्दै किताब खोलेँ र भावुक स्वरमा आवृति गर्न थालेँ । मलाई विश्वास थियो – मेरा कविता उनी मजदूरहरूका लागि कुहेका आलुझैँ गन्हाउने छन् !
कविता आवृतिमा लीन थिएँ ! मलाई थाहा थियो, कसैले पनि थप्पडी बजाएको थिएन । म किताबको गहिरो पनामा क्षण-क्षण डुब्दै जाँदै थिएँ । उनीहरूसम्म आफूलाई पुर्याउनका लागि जो निकै टाढा देखिन्थे ….!
अन्त्यमा आवृति सिद्धियो । किताब ढप्प बन्द गरेँ र श्रोताहरू तर्फ आँखा फ्याँके । ढुंगाका मुहार उस्ताको उस्तै थिए – शान्त र निश्चल !
….अनि श्रोता वर्गबाट एक जना मानिस उभियो र मसिनो स्वरमा भन्यो- ’’कवि मित्र, म हजुरलाई यै भन्न खोजेको छु ….’’; अलिक रोक्किएर ऊ फेरि बोल्न थाल्यो- ’’…कि आजसम्म हाम्लाई यस्ता कुरा कसैले सुनाएन, हामीले यी कुरा जानेका थिएनौँ…. भावनाहरूका बारेमा हामीलाई अल्पज्ञान पनि थिएन ….!’’ यति भनेर ऊ चुप्प भयो, बोल्न सकेन । ऊ सुँक्कसुँक्क गर्न थाल्यो ।
मैले श्रोता वर्गमा गहिरो आँखा फालेँ । मेरा अनपढ श्रोता टुक्रुक्क बसेका थिए, तर सबैका आँखाबाट अश्रुका धारा बगिरहेका थिए …!
अनुवादक: होमबहादुर क्षेत्री