अरू के नै हुन्छ होला र तिमी जान्छौ भने ?
यत्ति त हो-
कहिलेकाहीँ आँखाबाट खसिजाने आँसुले
सम्झाइरहने छन् हाम्रा कसमहरू
यत्ति त हो,
तिम्रा यादका गन्तव्य पछ्याइरहनेछन्
मेरा प्रेमिल भावनाका बटुवाहरूले
तिमीलाई सधै माया गर्ने मुटुमा
फेरि अलिकति माया बढ्नेछ बरु !
के नै हुन्छ र तिमी जान्छौ भने ?
मात्र छुट्ला तिम्रा अलिकति स्पर्शहरु
बदलिएलान् तिम्रा अलिकति बाटोहरु
तर छुट्ने छैन तिम्रो स्पर्शले दिएको पहिलो महसुस
बदलिने छैनन् ती बाटोहरुमा हाम्रा पाइतलाका डोबहरुले बनाएको बिश्वासको गन्तव्य
के नै हुन्छ र तिमी जान्छौ भने ?
बस यत्ति त हो -
एकान्तले अलिकति सताउला पर्खाइको
बिश्वासले अलिकति बिझाउला सम्बन्धहरुको
मुटुले अलिकति धड्काउला यादहरुको
के नै हुन्छ र तिमी जान्छौ भने ?
यी आँखाले सधै तिम्रो आगमनको झंकार खोजी नै रहने छ
सायद हामीले सँगै पुज्ने मन्दिरको भगवानले पनि
म जस्तै, तिमी आउने बाटो हेरिरहेको हुनेछ
सुन न प्रिय !
के नै हुन्छ र तिमी जान्छौ भने ?
बस यत्ति त हो-
मेरो मृत्युले अलिकति ज्यादा प्रेम गरिदेला मलाई
बाँकी त भन्नु केही छैन तिमीलाई !
(इटहरी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।