ऊ मलाई औधी मन पर्छ , अति नै राम्रो लाग्छ । राम्रो होइन सुन्दर र सुशील पनि लाग्छ । यो संसारको सबैभन्दा असल सुन्दर सुशील, व्यवहारिक मान्छे उही हो । हो, केवल ऊ मात्र हो । यो संसारमा ऊ जस्तो गुणकारी मान्छे अरू हुनै सक्दैनन् । उसको हँसाइ, बोलाइ, हेराइ अति नै राम्रो छ । उसको सबै बानीव्यहोरा राम्रा छन् । खोट लगाउने ठाउँ कतै छैन ।
यो संसारमा ऊ जति इमान्दार कोही छ ? अहँ मलाई विश्वास छैन । जब म उसको सामुन्ने हुन्छु उसका आँखाभित्रै हराइदिउँजस्तो, उसका ओठहरूमा गएर बसी दिउँजस्तो, उसैलाई मात्र हेरिरहुँजस्तो हुन्छ मलाई । ऊ मेरा सामु हुँदा त्यसै–त्यसै टोलाउँछु, कताकता हराउँछु । यस्तो लाग्छ ऊ म हुँ र म ऊ हो ।
जब उसले ‘तिमीबिना बाँच्न सक्दिन’ भनेथ्यो पाउनु पर्ने सारा कुरा प्राप्त गरेझैँ लागेथ्यो मलाई । संसारै जितेको अनुभूति भएथ्यो त्यो क्षण । आज पनि म आफूलाई भाग्यशाली ठान्दछु ।
एकान्तमा उसको हेराइ, बोलाइ, सम्झी–सम्झी रोमाञ्चित हुन्छु । एकान्तमा होस् कि भीडमा, दुःखमा होस् कि सुखमा जतिसुकै बेला म उसैलाई सम्झन्छु । हरदम हरपल ऊ मभित्र हुन्छ, हाँसिरहेको, बोलिरहेको । ऊ मबाट टाढा हुँदा कोसँग उसैका कुरा गरिरहुँझँै लाग्छ मलाई । ऊ बाट टाढा हुन पर जान पटक्कै मन लाग्दैन । टाढा गएँ भने पनि कहिले उसलाई भेटौँ भन्ने हतारो र छटपटी भइराख्या छ ।
ऊ सधैँ मभित्र हुन्छ त्यसैले जता हेरे पनि उसलाई मात्र देख्छु । जता पुगे पनि उसलाई मात्र भेट्छु । सायद यो गलत हो, मलाई कुनै पर्वाह छैन । ऊ भए पुग्छ अरू कोही चाहिँदैन अरू केही चाहिँदैन मलाई ।
हो, ऊ मेरो प्रेम हो । हो म उसकी प्रेमिका हुँ । उसको नाम कात्त हो । कार्त्तिक र मेरो भेट भएको एक वर्ष मात्र भयो तर यस्तो लाग्छ हामी जन्मनु अगाडिदेखि नै एक अर्कालाई चाहन्छौँ । प्रेम गर्छौं, बोल्दा बोल्दै म झस्किएँ र सुकृतितिर हेरेँ । म पगलीजस्तो बोलिरहेकी थिएँ । ऊ मुसुमुसु हाँस्दै मेरो अनुहार हेरिरहेकी थिई । ऊ किन सधैँ यसरी हाँस्छे ? ऊ किन यसरी हाँसेकी हो ? सायद उसलाई हाम्रो प्रेममा विश्वास छैन । नगरोस् विश्वास मलाई खाँचो पनि छैन । प्रतिक्रिया बिना नै मेरा कुरा सुनिदिन्छे ऊ यति भए पुग्छ मलाई ।
‘सुकृति सुन त !’ आफ्नो चञ्चलतालाई नलुकाई उसलाई सम्बोधन गरेँ मैले, ‘भन त अझै कति भरिएकी छेस् ?’ आफ्नो सस्मित हँसाई अझै बन्द गरिन उसले ।
‘सुकृति आज म कति खुसी छु, मलाई….’
‘तँ खुसी हुन थालेकी झण्डै एक वर्ष भयो ।’
‘आज कार्त्तिकले पहिलो पल्ट तिमी भन्यो मलाई ।’
‘भोलि तँ भन्नेछ त्यो बेला पनि तँ यसरी नै खुसी हुनेछेस् ।’
‘जानिनस् तैँले ।’
‘त्यो भन्दा अगाडि पनि जान्दछ भनिदिउँ ?’
‘ओ हो ! कुरा कता–कता नघुमान तँ ।’
‘उसले आज तिमी भन्दा ऊ झन् मेरो नजिक भएको महसुस गरेँ मैले । उसले मेरा हात समाएर कैले टाढा नहुने वचन दिएको छ ।’
कहिले दुःख नदिने कसम खाएन ? सुकृतिको प्रश्नमा आगोको राप थियो । म नाजवाफ भएँ किनकि कात्र्र्तिकले त्यो कसम खाएको थियो । म केही बोल्न नसकेर उठेर हिँडेँ ।
केही दिन सुकृतिसँग मेरो भेट भएन । यो बीचमा कार्त्तिकको सम्बोधन तिमीबाट तँ मा झरिसकेको थियो । यसपछि त उसले ढुक्कै तँ भन्न थालेको थियो । उसले यसरी तँ भन्दा मलाई पनि नराम्रो लागेन आफैलाई माया गरेको मान्छेले त तँ भन्छ नि । ऊ जति मेरो नजिक हुँदै गएको यति नै उसले तिमी र तँ भनेको थियो । उसले यसरी तँ भन्दा अझ बढी आत्मीय भएको समीप भएको ठान्छु म । ऊ मेरो अभिभावक हो, संरक्षक हो भन्ने लाग्छ मलाई ।
मनमा खेल्दै गरेको यी नानाभाँती कुराहरू कहिले सुकृतिलाई सुनाउनु जस्तो भएर आयो । अस्ति छुटिदा धाएर सुकृतिलाई अब कहिल्यै भेटिँदैन भन्ने लागेको थियो तर अहिले उसलाई कहिले भेट्नु र यो भरिएको मनलार्ई पोख्नु भइरहेको छ । वास्तवमा झनभरि प्रेम भएपछि संसार हेर्ने आँखा नै फेरिँदो रहेछ । सबै कुरा राम्रो मात्र सुन्दर मात्र लाग्दोरहेछ । दुश्मनहरू पनि मित्रजस्तो, उनीहरूसँग हाँसेर बोलौँजस्तो लाग्दोरहेछ । सबैलाई माया मात्रै गरौँजस्तो, जस्तै गल्ती गर्नेलाई पनि माफ गरिदिउँजस्तो हुँदोरहेछ । सुकृतिले मेरो प्रेमको कुरालाई पुरै उपेक्षा गर्छे तर पनि उसैलाई भेटौँ लागिरहेछ । मनमा प्रेम भरिएर त यस्तो भएको होला नि ! ऊ सँग जति कुरा अरूसँग गर्न पनि सक्तिनँ । त्यसैले आज पनि खोज्दै ऊ कहाँ पुगेँ र भरिएको मन पोखिदिएँ । सबै कुरा सुनाइसकेपछि भनेँ तँलाई थाहा छ सुकृति हाम्री आमा भन्नुहुन्थ्यो, ‘माया सधैं उँधो मात्र बग्छ रे ! त्यसैले ठूलालाई भन्दा सानालाई धेरै माया गरिन्छ रे ।’
‘कार्त्तिकले मलाई तँ भन्दा त्यो तँमा त्यही माया देख्छु म ।’
‘कार्त्तिकले तँलाई साँच्चै माया गर्छ ?’ सुकृतिका गम्भीर ओठहरू खुलेर जिब्रो हल्लियो ।
‘गर्छ, अत्यधिक माया गर्छ मलाई ।’
‘तँ पनि उसलाई उति नै माया गर्छेस् ।’
‘म आपूmलाई भन्दा कार्त्तिकलाई बढी माया गर्छु, कुनै शङ्का ?’
‘तेरो माया कसरी उँभो चढ्यो ?’
‘ऊ मेरो भविष्यको लोग्ने हो, हामी जीवनभरिका साथी हौँ ।’
‘यसको मतलव बराबरी भूमिका रहन्छ तिमीहरूको हैन ?’
‘अवश्य हो ।’
‘त्यसो भा कार्तिकलाई पनि तँ भनेर म पनि धेरै माया गर्छु भन्ने कुरा देखाउन मन लग्दैन तँलाई ?’
‘अँ कसरी तँ भन्न सक्छु र म ? ऊ त मेरो लोग्ने….’
‘लोग्ने र स्वास्नी भनेको मालिक र नोकर हो ?’
‘आमा भन्नुहुँछ…..’
‘के लोग्ने भनेको बा हो ? व्यङ्ग्य गर्दै सुकृतिले भनी ।’
‘अँ त्यसो…..।’
‘लोग्ने यदि बा हो भने स्वास्नी भनेको पनि त आमा हैन र ?’
सुकृति भन्दै गई, माया उँदै बग्ने हो भने लोेग्नेहरूले त माया नपाउने भए नि ! सबै लोग्ने स्वास्नीभन्दा जेठा हुन्छन् । फेरि लोग्ने मालिक स्वास्नी दास वा लोग्ने हात्ती स्वास्नी भुसुुना हुने भए जीवन सही ढङ्गले चलेन नि ! जीवनसाथी, सहयात्री एक रथका दुई पाङ्ग्रा जस्ता कुराहरू त सार्थक भएनन् नि ?
लोग्ने मान्छेले स्वास्नी मान्छेलाई जति बढ्ता माया गर्न थाल्यो उति होच्याउनै पर्ने ? स्वास्नीको माया त जति बढ्यो उति लोग्नेप्रति आदर र सम्मान बढ्छ नि हैन ? हिजो तपाई भन्नेले आज तिमी भोलि तँ भन्न थाल्छ । स्वास्नीले झैँ आदर र सम्मान किन गर्न नहुने ? किन उसले चाहिँ होच्याउनै पर्ने । स्वास्नीको माया बढ्ता तिमीबाट तपाई, हजुर आइस्यो, गइस्यो हुँदै उँभो चढ्छ भने लोग्नेको माया भने तपाइँबाट तँतिर झर्छ । किन उसको प्रेम अपमान गर्दा देखिने र तेरो प्रेम सम्मानमा मात्र देखिने हँ ? खास कुरो त तँ जस्तालाई नबिझाउनु हो हामीले आफ्नो मान र सम्मान बचाउन नसक्नु र अपमानभित्र मात्र माया देख्नु हो । मायाको निम्ति पानी जस्तो तल तल बग्ने हाम्रो बानी नै नराम्रो । खोला जस्तो उँधाे बग्छौँ हामी, लहरा जस्तो अरूमा बेरिन्छौँ हामी । यही हाम्रो कमजोरी हो बुझिस् ?
ओ हो, सुकृति ! कति ठिक कुरा भन्यौ तिमीले । अचानक पछाडिबाट कार्त्तिकको आवाज आयो । तर्सिएर सुकृति र आकृति जुुरुक्क उठे ।
हो, सुकृति तिमीले ठिक कुरा भन्यौ । अकृतिलाई पछ्याउँदै आएको थिएँ । त्यसैले तिम्रो कुरा सुन्ने अवसर पाएँ । तिम्रा सबै कुरा सुनेपछि मेरा आँखा उघ्रिएका छन् । सम्मान पाउनका लागि अरूलाई पनि सम्मान गर्न जान्नुपर्छ । लोग्ने मालिक र स्वास्नी दास बन्ने कुरा मलाई पनि मन पर्दैन तर मलाई यो कुराको ज्ञान थिएन । तिमीले मेरो अन्तर्दृष्टि खोलिदिएकी छौ । अब उपरान्त म ध्यान दिनेछु । आकृतिको अपमान र मान हुने शब्द र व्यवहारतर्फ ।
‘कार्त्तिक मलाई खुसी लाग्यो । तिम्रो यो युग सुहाउँदो विचार सुनेर । समय परिवर्तन गर्न तिमीहरूको सहयोगबिना सम्भव छैन ।’
‘हो सुकृति सचेत मान्छेले नै चेतना बाँढ्नु पर्ने हुन्छ र समाजमा हामी पुरुषहरू नै सचेत भनेर चिन्छौँ । तर चोट लाग्नेले पनि ऐया त भन्नुपर्थ्यो नि ! आज तिम्रो कुरा नसुनेको भए सम्बोधनभित्र पनि नारीको मान र सम्मान लुकेको हुन्छ भन्ने कुरा मैले कहिल्यै बुझ्ने थिइनँ । आजैबाट समानताको खोजी गर्ने तिम्रो कार्यलाई म साथ दिनेछु ।
आकृति अलमल्ल परेर केही पर उभिएकी थिई । कार्त्तिक र सुकृति नयाँ युगलाई नयाँ ढङ्गले हाँक्ने प्रतिबद्धता जाहेर गर्दै कसिला हातहरू मिलाउँदै थिए ।