‘भोकभोकै मर्न लागे कवि कलाकार
तड्फाएर नमारिद्याै झुन्ड्याएर मार !’
जनकवि गोकुल जोशीका कविताका पङ्ति हुन् यी । आजभन्दा झन्डै साठी वर्ष पहिलेका उनका यी कविता पङ्तिले आज पनि उत्तिकै माने राख्छन् ।
स्वाभिमान र स्वत्वमा बाँच्ने कवि उहिले पनि तिरस्कृत थिए अहिले पनि तिरस्कृत छन् । सत्ताको विपक्षमा बसेर लेख्नु सामान्य कुरो पनि हैन । साहित्यकार नेत्रलाल अभागीको ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ भन्ने कथाजस्तो न हो स्वाभिमान र आस्थाको लडाइँ ।
सतिसाल बन्ने कि नर्कट ? कठपुतली बन्ने कि मानव ? यो त स्वयम् मान्छेको दृष्टिकोणमा भरपर्ने कुरो हो । उसको वैचारिकीले बनाउने हो सतिसाल । उसको आस्था र विश्वासले बनाउने मानव ।
गोकुल जोशी जस्तोसुकै आँधीहुरीमा पनि ठिङ्ग उभिनसक्ने सतिसाल थिए ।
उनले थोरै लेखे । कुनै पुरस्कार, सम्मान र विभूषणद्वारा विभूषित भएनन् । भोकमै जन्मिए, भोकमै हुर्किए र भोककै बिचमा मृत्युवरण गरे । उनले जति लेखे जनताकै लागि लेखे । देशकै लागि लेखे ।
कसले कति लेख्यो र कुन पुरस्कार पायो भन्दा पनि कसले के लेख्यो भन्ने कुराले महŒव पाउनुपर्ने हो । जीवनलाई समाज र शब्दलाई कर्मसँग जोडेर हेर्नुपर्ने हो । तर यहाँ त्यस्तो पाइँदैन । यहाँ त त्यसको ठिक उल्टो छ । कर्म जतिसुकै प्रतिक्रियावादी भएपनि ऊ महान् हुन्छ । कर्मशील हुनुपर्दैन बस् लेख्नुपर्छ, सत्ताको नजिक पुग्नुपर्छ र आफू लेखक हैन लेखन्दास भएकोमा सगौरव मुस्कुराउन सक्नुपर्छ ।
गोकुल जोशीले बाँचेको समय र अहिलेको समय फरक छ । उनी सामन्ती समाजका रैती थिए । हामी उत्तरआधुनिक समाजका नागरिक भएका छौँ । उतिखेर राजभक्ति र सत्ताशक्ति चरम थियो । अहिले उपभोक्तावाद नाङ्गो रूपमा हामीबिच फैलिदो छ । सत्ताको दबदबा उस्तै छ । मानिस हरेक काम र वस्तुलाई उपभोक्तावादी आँखाले हेर्छन् । विडम्बना ! साहित्यमा पनि यो प्रवृत्ति उत्तिकै छ ।
कसको बारे लेख्ने ? कसको बारे बोल्ने ? बोलेर फाइदा के छ ? समालोचक सोच्छ, मैले समय लगाएर फलानोको बारे लेखेर मलाई के फाइदा ? बेकारको दुःख किन बेसाउने ? अहो ! कस्तो समयमा बाँचिरहेका छौँ हामी !
गोकुल जोशी भए के गर्दा हुन् यतिखेर ! उनी पनि कलासाहित्यलाई सत्तामा उक्लिने भ¥याङ बनाउँदा हुन् कि ! नाफा र घाटाको तुलोमा तौलिएर सम्बन्ध बनाउँदा हुन् कि !
म यतिखेर उनलाई नै सम्झिरहेको छु ।
गोकुल जोशीको जन्म १९८७ साल जेठ ८ गते तनहुँको राइपुर गाउँमा भएको थियो ।
पिता हरिलाल र माता मनरूपा पोखरेलको कोखमा जन्मिएका जोशीले छ वर्षमै बुवा गुमाएका थिए । उनी कति गरिब थिए भने गाउँको रात्री क्लासमा पढ्दा मट्टितेल जुटाउन नसक्ने भएपछि उजेलोमा बसेर पढ्न समेत पाएनन् । उनी अँध्यारोमै बसेर गुरुले पढाएको सुन्थे ।
गरिब परिवारमा जन्मिएका उनी १३ वर्षमै विदेशिएका थिए । कहिले भारतका गल्लीहरूमा कहिले स्वदेशका गाउँबस्तीमा घुम्दाघुम्दै यी स्वाभिमानी साधकको २०१८ साल असार ४ गते झापाको घैलाडुब्बामा निधन भयो ।
गोकुल जोशी भारतका धेरै सहरमा पुगेर काम गरेको देखिन्छ । सुरुमा असाम, सिलाङ र गुहावटी पुगेर होटेलमा काम गरे । त्यसको केही समयमै कलकत्ता पुगे । कलकत्ता पुगेर एक वर्षजति दवाई पसलमा काम गरे । उनी त्यहाँ पनि टिक्न सकेनन् । सैनिक क्याम्पको पिउन भएर मद्रास हान्निए । त्यहाँ रहँदा उनले केही अध्ययन गरे । त्यहाँ करिब डेडवर्ष बसेपछि उनी बम्बईतिर लागे ।
बम्बईमा केही समय होटलमा काम गरेपछि उनले जहाजमा काम गर्न थाले । त्यहाँ बस्दा उनले रातीको समय मिसिनरी रात्री स्कूलमा पढ्न थाले । यसबाट थाहा हुन्छ उनमा अध्ययनको भोक कति थियो । त्यहाँ पनि उनी लामो समय बस्न पाएनन् । कम्पनीमा हड्ताल भयो । उनी हड्ताल गरेको आरोपमा नोकरीबाट निकालिए । करिब आठ वर्षको भारतको बसाइपछि आठ सालमा गोकुल नेपाल फर्किए ।
विदेशमा रहँदा पानीजहाजमा कुल्ली, होटलमा कान्छा, कहिले पिउन, कहिले कारिन्दा भएर काम गरे । आसाम, सिलाङ, कलकत्ता, मद्रास हुँदै बम्बई पुग्दा पनि नेपालीको दुर्गती उस्तै पाए । सानैदेखि विद्रोही चेतका उनमा त्यहाँका नेपालीको अवस्था देख्दा पीडा महसुस नहुने कुरै भएन ।
उनी सानैदेखि विद्रोही र अस्थिर चरित्रका थिए । एकै ठाउँमा बस्न नसक्ने स्वभाव थियो उनको । उनी प्रायः घुमिरहन्थे । भारतका विभिन्न ठाउँको करिब आठ वर्षको घुमाइपछि उनी नेपाल आए । नेपाल फर्किएर गौचर हवाइ अड्डामा काम गर्न थाले ।
देशमा प्रजातन्त्र आएको खबर पाएपछि उत्साहित हुँदै नेपाल आएका थिए । तर यहाँको अवस्था उनले सोचेजस्तो थिएन । नेपाल आएपछि उनी प्रजापरिषदमा आवद्ध भए । प्रजापरिषदमा आवद्ध भएकैले हवाइअड्डामा काम पाएका थिए । त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन् । त्यो समय भनेको नेपाली राजनीतिको अस्थिर काल थियो । प्रायः सबैतिर हड्ताल र विरोध पदर्शन भइरहन्थ्यो । हवाइ अड्डाका मजदूर पनि आन्दोलित भएका थिए । जोशी कामदारलाई आन्दोलन गर्न उक्साएको आरोपमा निकालिए ।
त्यसपछि यिनले बाँच्नका लागि काठमाडौंका गल्ली र पार्कमा कविता भट्याउँदे हिँड्न थाले । गोविन्द भट्टका अनुसार उनले त्यो समयमा पाँचपाँच पैसामा गीत बेचेर सडक, गल्ली, पार्क र चौतारामा कविता गाएर पेट पाल्नुप¥यो । यस्तो समय केही समय रह्यो । यही समय उनी धर्मराज थापाको संगतमा परे ।
उनी धर्मराजसँगै देशभ्रमणमा निस्किए । यो बिचमा उनी घर पनि पुगे । घरबाटै वीरगञ्ज हुँदै कलकत्ता पुगे । कलकत्ताको केही दिनको बसाइपछि उनीहरू हरिद्वार हुँदै देहरादुन र भाक्सु पुगे । त्यहाँ उनीहरूको राहुल साँस्कृतायन र मास्टर मित्र सेनसँग भेट भयो । उनीहरू त्यहाँबाट फेरि कलकत्ता फर्किए ।
उनी स्वाभिमानी चरित्रका थिए । अरूले दबाएको र तिरस्कार गरेको सहन गर्दैनथे । उनलाई धर्मराज थापा अर्दलीजस्तो व्यवहार गर्थे । मानौँ उनी धर्मराज थापाका भरिया हुन् । यथार्थ यस्तो थिएन । विदेशका धेरै ठाउँ घुमेका र लोकलयमा तुरुन्तातुरुन्तै कविता लेख्नसक्ने क्षमता भएका गोकुललाई साथ लिँदा आफूलाई फाइदा हुने भएकैले उनलाई सँगै लिएर हिँडेका थिए धर्मराज । तर उनको स्वतन्त्र सोचाइ र स्वाभिमानी चरित्रले धर्मराज थापासँग पनि लामो समय सँगै रहन दिएन । उनी कलकत्ताबाट छुट्टिएर काठमाडौं फर्किए ।
त्यसपछि उनी एकलै लेख्ने र भ्रमणमा निस्किने सोच बनाए । यतिखेरसम्म उनी श्यामप्रसाद शर्माको सम्पर्कमा आइसकेका थिए । उनी काठमाडौंबाट फेरि श्यामप्रसादलाई खोज्दै वीरगञ्ज पुगे । त्यहा उनी सेवा सदनका पुस्तकहरू वीरगञ्ज स्टेशनमा बेचेर बस्न थाले । यही बिचमा उनको भेट बालकृष्ण पोखरेलसँग भयो । उनी बालकृष्ण पोखरेलको साथ लागेर विराटनगर पुगे र करिब एक वर्ष उनकै घरमा बसे । त्यसपछि उनी दार्जिलिङतिर लागे । त्यहीँबाटै पूर्वी पहाड हुँदै उनी काठमाडौं आए ।
काठमाडौं आएर उनी डा.केआई सिंहको पार्टीमा आवद्ध भएर पश्चिम नेपालका धेरै ठाउँ पुगे । उनी केआई सिंहसँग पनि लामो समय सँगै रहन सकेनन् । सिंहलाई छोडेर फेरि एकलो र यायावरीय जिन्दगी जिउन थाले । कहिले काठमाडौं कहिले देहरादून, भाक्सु र कहिले विराटनगर, झापा गर्दै रहे । यतिखेर उनी पूर्वतिर जाँदा झापा, घैलाडुब्बाका देवीप्रसाद उप्रेतीको घरमा बस्न थालेका थिए ।
जीवनमा उनी धेरै ठाउँ पुगे । धेरैको संगत गरे । जहाँ पुगेपनि झापा र विराटनगरलाई भने कहिल्यै भुल्न सकेनन् । जीवनको अन्तिमा दिनमा पनि उनी झापा पुगे । विरामी अवस्थामा कहिले देवीप्रसाद उप्रेतीको घरमा त कहिले प्रचण्डलाल मास्केको घरमा बसे । भोक, रोग र शोकले विक्षिप्त अवस्थामा पुगेको उनको मृत्यु घैलाडुब्बा हाइस्कूलमा भयो ।
०००
यो उनको जीवनको संक्षिप्त परिचय थियो । यसबाट थाहा हुन्छ उनी स्वाभिमानी कवि थिए । स्वतन्त्रता र स्वाधीनताको अपार लालषा पालेर हिँड्ने अस्थिर स्वभावका यात्री थिए ।
कतिपयले उनलाई यही अस्थिर चरित्रमा टेकेर विभिन्न आरोप पनि लगाउँछन् । तर गोकुल जोशी किन यतिविघ्न अस्थिर थिए भन्ने कुरा खोज्नतिर लाग्दैनन् । के कारणले उनी यसरी भौँतारिँदै हिँड्थे ? कुन कारण थियो जसले उनलाई एक ठाउँमा अड्न दिदैनथ्यो ?
जब मानिसभित्र चैन र सन्तोष हुँदैन ऊ छटपटाउँछ । यही छटपटीले उसलाई अस्थिर बनाउँछ । उनीभित्र पनि असन्तोष थियो ।
परिवर्तनको हुटहुटी र यथास्थितिप्रतिको विमतीले सिर्जना गरेको छटपटी थियो । उनी नेपाललाई सुन्दर देख्न चाहन्थे । नेपालीलाई सुखी र खुसी देख्न चाहन्थे । उनीभित्र मानवता, स्वतन्त्रता र परिवर्तनको असीम प्यास थियो । उनी यही प्यासले भौँतारिँदै हिँड्थे । तर जहाँ पुगेपनि जसको संगत गरेपनि उनीभित्रको आगो शान्त भएन ।
कवि र कविता यही अशान्त र अस्थिर चरित्रको प्रतिफल हो । शान्त तलाउमा सङ्गीतको अनन्त धुन कहाँ सुन्न सकिन्छ र ! यसका लागि त गडवडाउँदै बग्ने झरना र खोलाको किनारमा नै पुग्नुपर्छ । यथास्थितिप्रतिको तीब्र असन्तुष्टी र सुन्दर समाजको सपना देख्ने गोकुल जोशीले शब्दमा मात्र हैन कर्ममा पनि आफूलाई सफल तुल्याए ।
जनताको घरआँगनमा र गाउँबस्तीमा कविता गाउँदागाउँदै उनको सास रोकियो । यहाँसम्म कि बृद्ध आमाले सुद्ध उनको मृत्युको खवर एक वर्षपछि थाहा पाइन् । यस्ता थिए मानवता र स्वधीनताका कविता लेख्दै र सुनाउँदै गाउँबस्ती डुल्ने जनकवि गोकुल जोशी ।
०००
उनले जस्तै लोकलयमा कविता लेखेर ख्याति कमाएका उनका समकालीन कविहरू थिए, महाकवि लक्ष्मीप्रसाद देवकोटा, महानन्द सापकोटा, देवीप्रसाद किसान, भीमनिधि तिवारी, धरणीधर कोइराला, युद्धप्रसाद मिश्र र धर्मराज थापा । यी सबै कविहरू जागरण कालका कविहरू थिए । सबैको आवाज धेरथोर परिवर्तन र जागृतिको थियो । तर गोकुल जोशीले लोकलयलाई नै आफ्नो काव्यिक यात्राको प्रमुख शैली बनाए । जागरण, स्वाधीनता र आत्मसम्मानलाई सधै शिरोपर राखेर कविता लेखे । अरूहरू कोही शास्त्रीय छन्दतिर लागे कोही भारदारी सभातिर । तर, घुम्दैफिर्दै काठमाडौं आइसकेका गोकुल जोशी भने फर्किएर फेरि जनताको घरआँगनमा पुगे ।
विचित्रको सयोग थियो, सत्ताका जनकवि धर्मराज थापा र जनताका जनकवि गोकुल जोशी कुनै समय सँगसँगै हिँडेका थिए । तर त्यो हिँडाइ दीगो भने हुन सकेन । धर्मराजले मेरो झोला बोक्ने मान्छे भनेपछि गोकुल जोशीले उनको साथ छोडेका थिए ।
उनले लोकलयलाई आफ्नो कविताको मुख्य आधार बनाएर कविता लेख्थे । धर्मराज पनि लोकलय र लोकगीतलाई नै आधार बनाउँथे । धर्मराजले लोकगीतको खोज र अनुसन्धानमा काम गरे । सत्ताको भक्ति गाएवापत ‘जनकवि केशरी’ भए ।
गोकुल जोशीले पनि गाउबस्तीमा गाइने झ्याउरे र लोकभाकालाई टपक्क टिपेर कविता लेखे । गाउँबस्तीमा कविता गाउँदै जनजागृति फैलाउँदै हिँडे । तर सत्ताको वागी हुनुको कारण गोकुल जोशी भोकभोकै मरे । उनको लागि न सत्ताले कुनै सम्मान दियो न आजीवन भत्ता ।
कुरो के सत्य हो भने गोकुल जोशीलाई २०१२ सालमै नेपाली साहित्यका हस्तीहरूदेखि शुभेच्छुक र सर्वसाधारणले जनकविको सम्मान दिइसकेका थिए । उनी देशभित्र मात्रा हैन भारतमा समेत नेपाली भाषाका जनकविको रूपमा प्रख्यात भैसकेका थिए ।
‘एशियाको फूलबारी नेपाल’को प्रकाशन हुँदा शुभकामना दिँदै कवि सिद्धिचरण श्रेष्ठले सन १९५५मा उनलाई जनकवि भनेर सम्बोधन गरका छन् । बालकृष्ण समले २०१२ मा उनलाई ‘जनकवि मात्र हैन योग्य साहित्यिक तपस्वीको रूपमा लिएको छु’ भन्छन् । २०१२ मै भीमनिधि तिवारीले उनलाई ‘जनकवि गोकुल जोशीको जीवन देखेर ज्यादै प्रभावित भएको’ कुरा लेख्छन् । त्यही साल डा. के. आई. सिंहले पनि उनलाई जनकवि भनेर सम्बोधन गर्छन् ।
अध्ययनले बताउँछ २०१२ सालसम्ममा उनी जनकविको रूपमा परिचित भैसकेका थिए । प्रसिद्धि कमाइसकेका थिए । अझ यसो भनौँ जनस्तरबाट समेत उनलाई जनकविको रूपमा स्वीकार गरिसकिएको थियो । पण्डित राहुल सांस्कृतायनले सुद्ध नेपाली जातिका अच्छे कवि भनेर प्रशंसा गरिसकेका थिए । नेपालभित्र र नेपालबाहिर दार्जिलिङ, आसाम, देहरादुन देखि भाक्सुसम्म जनकविकै रूपमा चिनिएका थिए । तर सत्ता भने उनीबारे अनभिज्ञ थियो । हुन त सत्तालाई गोकुल जोशीजस्तो विद्रोही हैन धर्मराजजस्तो कठपुतली चाहिएको थियो । सायद यही भएर होला राजा महेन्द्रबाट २०१३ सालमा हतारहतार धर्मराज थापालाई ‘जनकवि केशरी’को उपाधिद्वारा विभूषित गरिएको ।
कहाँको त्यो राइपुरको उराठ र बन्जर भीरपाखो कहाँको पोखराको बाटुलेचौर ? धर्मराज थापा बाटुले चौरमा हुर्किएका थिए । गोकुल जोशी राइपुरको खोलाखेतमा । दुबैको आर्थिक र सामाजिक हैसियत फरक थियो । तर पनि यी दुई कवि कुनै समय सँगसँगै देश भ्रमणमा निस्किएका थिए भन्दा कमैले पत्याउलान् ।
०००
कतिपयले गोकुल जोशीलाई झ्याउरे कवि भन्छन् । कतिपयले नारावादी । ठिक छ उनी झ्याउरे लयलाई आत्मसात् गर्ने कवि हुन् । र, उनी परिवर्तन, समृद्धि र स्वधीनताको कविता लेख्ने कवि हुन् । स्वभावैले यस्ता कविको स्वर उचो हुन्छ । विद्रोही हुन्छ । तर के उनले मात्र लोकलयमा कविता लेखे ? अरूले लेखेनन् ?
खेम परिश्रमी गोकुल जोशीको संक्षिप्त जीवनीमा लेख्छन्, ‘उहाँको समयकालमा झ्याउरेलाई हेय दृष्टिले हेरिन्थ्यो त्यसैले काठमाडौंका तत्कालीन उपल्लो तहका भनिने लेखक तथा साहित्यकारहरू उहाँको कवितालाई राजनैतिक प्रचार मात्र ठान्दथे । उहाँलाई गाइने कवि र फिरन्ता, मगन्तेको रूपमा लिन्थे । तर पनि उहाँ जनताको समस्या जनताकै भाषामा लेख्दै गाउँदै हिँड्नुभयो र जनताको हृदयमा स्थान ओगट्नु भयो ।’
गोकुल जोशीका धेरै कविता कलाका हिसावले पनि समर्थशाली छन् । उनले परिवर्तन, समृद्धि र स्वतन्त्रताका कविता मात्र लेखेका छैनन् । प्रेम, भावना र मानवीय सम्बन्धका जटिलताबारे पनि असाध्यै सुन्दर कविता लेखेका छन् ।
उनको ‘बाँच र बाँच्न देऊ’ कविता सङ्ग्रहभित्रका ‘प्रेमाञ्जली’ शीर्षकको कविताको केही पङ्ति हेरौँ,
‘अखिल तारा अक्षता राखी पुष्कर थालीमा,
सुन्दर शश्यशालिनी नाच्लिन् स्वर्णको राशीमा
स्वागत गर्छु शशीका शीतल ज्योत्सना झुल्काइ
मिर्मिरतामा रजनीमाथि अमृत बषाई ।’
त्यस्तै ‘बाँच र बाँच्न देऊ’ कविता सङ्ग्रहभित्रकै ‘आनन्दको खोज’ शीर्षक कविताका पङ्ति हेरौँ,
‘सपना देखेँ इसारा गरी रहेकी झ्यालमा
परीले कोमल हातमा सुधा लिएर प्यालामा
सुतेको थिएँ भयङ्कर कालो बादल ओढेर
गमन ग¥यो मनको इन्दु आनन्द खोजेर ।’
महाकवि यही लयमा कविता लेखेर प्रख्यात भए । लोकलयमा लेखिएको देवकोटाको मुनामदन सर्वप्रिय भएपनि परिवर्तनका लागि त्यसले खासै फाइदा पु¥याउँदैन । त्यसो त देवकोटा स्वच्छन्दतावादी कवि हुन्, कवि गोकुल जोशी निरन्तरतामा क्रमभङ्ग चाहने व्यक्ति हुन् । विद्रूप यथार्थलाई ध्वंस गर्न जनतालाई उत्पे्ररित गर्ने कवि हन् । देवकोटा प्रायः यथास्थितिमै रमाउन चाहन्छन् । ‘सुनका थैला हातका मैला के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्दै क्रान्ति, परिवर्तन र उन्नतिको विपक्षमा बोल्छन् । सायद यही भएर उनी महाकवि भए गोकुल नारावादी ! देवकोटाले लेखेको मुनामदन मानक कृति भयो जोशीले लेखेको लोकलय पाखे, झ्याउरे र नारा भयो ।
कविता कस्तो लेखियो र त्यस्तो किन लेखियो भन्ने कुराको समाजशास्त्रीय अध्ययन नगरी त्यत्तिकै भरमा कसैको आलोचना गर्नु सही होजस्तो लाग्दैन मलाई । गोकुल जोशीका कविताको समग्र अध्ययन भएको छैन । शैलीको निर्माण तत्कालीन सामाजिक र राजनीतिक सम्बन्धले निरूपण गर्ने हो । खास गरी उनको समय भनेको नेपाली प्रगतिशील साहित्यले नेतृत्व गरेको समय थियो । जनताको भाकामा जनताले बुझ्ने कविता लेख्ने ट्रेनकै उत्पादन हुन् उनका कविता । त्यतिखेरका एकाध कवि बाहेक कुन कविले आधुनिक शैलीमा कविता लेखेका छन् ? त्यसो त देवकोटा पनि कुनै आधुनिक कवि हैनन् । त्यो समय भनेकै नेपाली साहित्यको जागरण काल थियो । जागरण कालको आवाज स्वभावैले उचो हुन्छ । गतिशील हुन्छ । यसलाई थिग्रिन र विकसित हुन समय लाग्छ । जनकविले त्यो चरण पार नगर्दै मृत्युवरण गर्न पुगे ।
त्यतिखेरको आवश्यकता के थियो ? कविताको दिशा कतातिर थियो ? यसको अध्ययन र अनुसन्धान भएको पाइँदैन । केबलपुरे किसान, गोकुल जोशी, युद्धप्रसाद मिश्र लगायत धेरै कविहरूले जनताले बुझ्ने शैलीमा कविता लेख्ने गर्थे । उनीहरू प्रगतिशील धाराका कवि थिए र उनीहरूको कवितामा जागरणको स्वर तीब्र थियो । एकातिर यस्तो थियो भने अर्कोतिर नेपाली कवितामा आधुनिकता अझै आइसकेको थिएन । यो लेखन भनेको परम्परागत शैलीको निरन्तरता थियो । एउटा शस्त्रीयतावादी र अर्को लोकलय । यस्तो अवस्थामा कविता लेख्ने कविमा आधुनिक कविमा जस्तो शैली र कलात्मकता खोज्नु नेपाली साहित्यको विकास क्रमलाई बुझ्नु नसक्नु हो ।
उनका कविता लोकलयमा लेखिएको भएतापनि विचार र कलाका हिसाबले सबल छन् । अहिले पनि उत्तिकै सार्थक छन् । अहिले पनि उनले चाहेजस्तो र सोचेजस्तो समाज निर्माण भएको छैन । उनले सोचेजस्तो पहाडका टाकुराहरूमा गाडी गुड्नै बाँकी छ ।
‘नेपालको भविष्य’ शीर्षकको कविता पङ्ति हेरौँ,
‘अग्लाअग्ला चुचुरामा बिजुलीको तार
डाँडैडाँडा दगुर्ने छन् नयाँ नयाँ कार
शहरमा हिलो धुलो कतै हुने छैन
शोषकको अधीनमा कोही रहने छैन ।’
सबै रचना त कस्तै ठूलो र महान् कविका पनि सफल हुँदैनन् । उनलाई जे आरोप लगाए पनि जीवनको अन्तिम समयससम्म पनि उनले परिवर्तन र क्रान्तिको पक्षमा डटेर लेखिरहे । झ्याउरे र लोकभाकामा मात्र कविता लेखेपनि के कुरो सत्य हो भने उनी त्यो समयका प्रखर युगद्रष्टा र क्रान्तिकारी कवि भने पक्कै हुन् ।
‘सिमानाको दीप’ शीर्षकको कविता पङ्ति हेरौँ,
‘शिशिरपछि वसन्तका पलाउँछन् पात
रातपछि दिन आउँछ, दिन गए रात ।
नेपालका टाकुरामा दिन उदाएन
अझै हाम्रा पर्वतमा भाले कराएन ।’
समालोचक गोविन्द भट्टले सिमानाको दीपको भूमिकामा लेखेका छन्, ‘युग चेतनाका दृष्टिबाट हेर्ने हो भने, तिनैताका गोकुलप्रसादका रचनाहरू देवकोटा वा रिमालका रचनाहरूभन्दा कम्ता स्तरका थिएनन् ।’
‘सिमानाको दीप’ शीर्षक कविताका यी पङ्तिले उनलाई गोपालप्रसाद रिमालभन्दा पनि दूरदर्शी र क्रान्तिकारी देखाउँछ । कवि जनकप्रसाद हुमागाईले गोकुल जोशीबारे लेखेको ‘मानवता र मुक्तिका कवि गोकुल जोशी’ नामक कृतिमा ‘यी पङ्तिले कवि रिमालको ‘आमाको सपना’लाई पनि उछिनेको पाएँ’ भन्छन् ।
‘अर्को नयाँ निर्माणको, विश्व पनि आउला
फेरि पनि नेपालीले क्रान्ति गीत गाउला
विश्व सबै सुते पनि भावना यो जाग्ला
नेपाली नै सर्वप्रथम निर्माणमा लाग्ला ।’
‘सम्झनाको बाटो’ शीर्षक कविताका यी पङ्तिले समतामूलक समाजको परिकल्पना कति सुक्ष्म र गहन ढङ्गले गरिएको छ भन्ने कुरा प्रष्ट पार्छन्,
‘वनवनै सुसेलीमा रुन कति पर्ला ?
नेपालीलाई कहिलेसम्म दास हुनु पर्ला ?
कस्तो होला सामूहिक, खेतालाले गाउँदा
गण्डकीको थाप्लामाथि नौलो युग आउँदा ।’
उनी प्रकृतिलाई मानवीकरण गर्ने र राजनीतिभित्रको कटु यथार्थलाई उदाङ्गो पार्ने कवि थिए । जसले गर्दा उनी न कहिल्यै सत्ताको नजिक भए न समालोचकको । उनको दृष्टिकोण माझिदै र विकसित हुँदै गएको देखिन्छ । एक कक्षा पनि नपढेका र सधै भौँतारिँदै हिँड्ने कविमा दरवारी र भारदारी कविमा भन्दा कुनै मानेमा पनि कलाचेत कमजोर छैन ।
‘प्रेमाञ्जली’ शीर्षक कविताका यी पङ्तिले उनले प्राकृतिक सुन्दरतालाई कसरी कलात्मक ढङ्गले मानवीकरण गरेका छन् बुझ्न सकिन्छ,
‘पवित्र तिम्रो हृदय लोक प्रवेश गर्नेछु
पुगेर त्यहाँ आश्चर्यचकित भएर हेर्नेछु
छ कति रम्य छ कति आशै आशाले रन्जित ?
लाजले शीर झुक्नेछ सौगात नहुँदा मसित ।
सौन्दर्यताको हृदयभित्र लुकेको वैभव,
विश्वको मुटु हल्लाउने शक्तिशाली यो शैशव
पवित्रताको मृदुल उर पग्लिन्छ शोकले
निष्ठुरतामा रहन्न प्रेम कुहुन्छ रोगले ।’
उनी कुरालाई घुमाउन नजान्ने र सन्ध्या भाषा बोल्न नजान्ने कवि थिए । उनी सामाजिक र वैज्ञानिक चेतनाले ओतप्रोत जनताका कवि थिए । जनताको भाका टिपेर मात्र हैन जनतालाई जगाउने, उनीहरूको दुःखमा दखित हुने र उनीहरूकै घरआँगनमा रमाउने भएकैले उनी जनकवि भएका हुन् । यो कुनै सत्ताले दिएको पगरी हैन । जनताले दिएको सम्मान हो ।
उनका प्रत्येक रचनामा अशिक्षा र गरिबीको चिन्ता देखिन्छ । दासता र अन्धविश्वास कसरी हटाउने, देशलाई कसरी स्वाधीन र सम्पन्न गराउने भन्ने हुटहुटी भेटिन्छ । यी कविले देशलाई आमालाई जस्तै माया गर्थे । देशको दुःख देखेर भक्कानिन्थे । नेपालीलाई आफ्नै दाजुभाइ सरह व्यवहार गर्थे ।
गोविन्द भट्टले ‘सिमानाको दीप’को भूमिका थप लेख्छन्, ‘पाखे’, ‘अशिक्षित’, ‘झुत्रे’ र ‘गाउँले’ गोकुलप्रसाद आफ्ना समकालीन अनेकन् पंडित, प्रोफेसर, दिग्गज बुद्धिजीवी र मूर्धन्य साहित्यकारहरूभन्दा निकै माथि र धेरै अगाडि हुनुहुन्थ्यो । आजको युगवाणीलाई स्वर दिने आधुनिक युग कवि हुनुहुन्थ्यो ।’
तर तिनै जनताका प्रिय कविलाई झुत्रे, झ्याउरे र नारावादी कविको उपमाद्वारा तिरस्कार गरिन्छ । कि बोल्दै बोलिदैन कि भित्तामै पु¥याएर बोलिन्छ । किन यसरी भ्रमित र दृष्टिहीन हुँदै गएका हामी नेपाली साहित्यकारहरू ? कलासाहत्यिको विकास र प्रवद्र्धनका लागि कसैले पनि सही काम गरेको छ भने त्यसलाई सही भन्न हामीले किन नसकेको ? किन हामीहरू यतिविघ्न राजनीतिक पूर्वाग्रहले कुण्ठित भएको ?
हो गोकुल जोशी सनकी र अस्थिर चरित्रका कवि थिए । तर के उनको अस्थिरताले राष्ट्रलाई कुनै घाटा पुग्यो । कवि लहडी हुन्छन्, सनकी र अस्थिर हुन्छन् । यो उनको पहिचान पनि हो स्वाभिमान पनि । महाकवि लहडी थिएनन् र ! उनी अस्थिर थिएनन् र !
अरूहरू विचारमा अस्थिर थिए । राजनीतिक र चारित्रिक रूपमा विशृङ्खलित थिए । कहिले क्रान्तिका कविता लेख्थे कहिले सत्ताको भक्तिगान गाउँथे । तर गोकुल जोशीले कहिले पनि सत्ताको भक्तिरागमा आफ्नो भविष्य देखेनन् । मृत्युपर्यन्त आस्था, विश्वास र विचारमा अडिग रहे ।
०००
उनी जन्मिएको राइपुर गाउँ अहिले सुनसान छ । त्यो विकट पहाडमा को बस्नु ? सबै सुगम ठाउँ खोज्दै तलतिर झरे । उनले स्थापना गरेको स्कूल जहाँ केही समय बच्चाहरूलाई पढाएका थिए त्यो अहिले छैन । राइपुरेहरूले सिमाना प्राथमिक विद्यालयको नामाकरण गरेपनि अहिले त्यो विद्यालय अर्कै विद्यालयमा मर्च भएको छ । जनताको सहयोग र सक्रियतामा राइगाउँमा गोकुल जोशी स्मृति उद्यान बनेको छ । सानै भएपनि उद्यानमा उनको अर्धकदको प्रतिमा छ ।
त्यसो त उनको कर्मथलो झापाको घैलाडुब्बामा पनि उनको सालिक स्थापना गरिएको छ । गोकुल जोशी स्मृति प्रतिष्ठानको भवन पनि बन्दै छ । प्रतिष्ठान र सालिक अगाडिको बाटोलाई गोकुल जोशी मार्ग नामाकरण गरिएको छ । यो कविप्रतिको सम्मान हो । जनकवि हुनुको पहिचान हो ।
एकतिस वर्षकै अल्पायुमा मृत्युवरण गर्न पुगेका जनकविको कतिसँग स्मृति होलान्, कतिसँग विस्मृति । उनी अब हामीसँग छैनन् । उनका कृतिमात्र छन् । उनको बारेमा जान्नेबुझ्नेका स्मृति, संस्मरण र उनको जीवनवृतबारे खोजमूलक ग्रन्थ पनि प्रकाशित भएका छन् । उनका अप्रकाशित कृति पनि प्रकाशित होलान् र हराएका रचनाको खोज होला । यो मेरो आशा हो । आशा पूरा हुन पनि सक्छ नहुन पनि ।
अहिले भने हामीले उनका प्रकाशित कृतिहरू पढेरै उनलाई बुझ्नुपर्ने छ । उनका प्रकाशित कृति हुन्, ‘नेपालको भविष्य (२०११)’, ‘एशियाको फूलबारी २०१२’, ‘डा. केआई सिंहलाई नेपाल आउन देऊ २०१२’, ‘नव प्रभात २०१२’, ‘बाँच र बाँच्न देऊ (२०१४)’ ‘सिमानाको दीप (२०१५)’
विराटनगरमा बालकृष्ण पोखरेलको घरमा बस्दा उनको एउटा कथा पनि प्रकाशित भएको देखिन्छ । उनको एउटा मात्र कथा ‘दुर्घटना’ पढ्दा उनको विलुप्त उपन्यास कस्तो थियो होला सहजै अनुमान लगाउन सकिन्छ ।
यो त नेपाली कवि लेखकको नियति नै हो, जिन्दगीभर लेख्नु र अन्तिममा निराश र कुण्ठित भएर जीवन बाँच्नु । सबैबाट तिरस्कृत हुनु र गुमसुम मृत्युवरण गर्नु । उनी पनि जीवनको उत्तरार्धमा एकलो र निराश जीवन बाँच्न विवश भए । भोक र रोगले थला परेर झापाको घैलाडुब्बामा आफूलाई विसर्जन गरे ।
‘रोक्ने को हो दूरदर्शी, विचारका धारा
को हो नयाँ नेपालको, बोक्ने अभिभारा ।’
(२०७७)