आज कमरेड माधवको घरमा बिहेको भोज निकै तामझामका साथ चलिरहेको थियो । घर अगाडिको फराकिलो खाली जग्गामा भोजको कार्यक्रम राखिएको थियो । जापानमा रहेका शेरचन दम्पतिले आठ–दश वर्षअघि किनेर छाडेको उक्त जग्गा अहिले छिमेकीहरूले यस्तै कार्यक्रमहरूमा प्रयोग गर्दै आएका थिए । छेउछेउमा सिस्नोको झाडी र फोहोर फालिने गरिएको दुई रोपनी जतिको खाली जग्गा अहिले भने निकै सफा बनाइएको थियो । अगाडि भव्य गेट, गेटको माथि वर–बधुको सुन्दर तस्वीर फ्लेक्स प्रिन्ट गरी टाँसिएको थियो । गेटको दुवैतिर तामाका ठुलाठुला घडाहरू राखिएका थिए । गेटबाट छिर्ने वित्तिकै दायाँतिर भव्य सोफसेटमा कमरेड माधव आफ्ना दुई पत्नीलाई दायाँ र वायाँ राखेर माला र खादाले छोपिए जस्तै गरी बसेका थिए भने त्यसपछि हिजो मात्र बिहे भएको कान्छी श्रीमतीको जेठो छोरो विश्व र उसकी नवविवाहित पत्नी उसैगरी माला र खादाले ढाकिएर बसेका थिए । अगाडिका टेबुलमा टीका र फूलहरू राखिएको थियो । पाँच जनाको लहरपछि एक ठाउँमा आमन्त्रित व्यक्तिहरूले ल्याएका फूल, माला, खादा र विभिन्न खाले उपहारहरू राखिएको थियो । उपहार र खादालाई एकजना महिलाले तह लगाइरहेकी थिइन् । निकै उपेक्षा र अपहेलना गर्ने गरिएकी जेठी पत्नीलाई पनि माधवले आजचाहिँ सँगै राखेका थिए । दुवै पत्नीलाई समान व्यवहार गरेको देखाउनका लागि यसो गरिएको थियो । जेठी पत्नी देवकी त्यसरी सँगै बस्न मानिरहेकी थिइनन् । तर धेरै तिरबाट ‘लोग्नेको इज्जत’ जोगाइदिन आग्रह गरिएपछि उनी सँगै बसिदिन राजी भएकी थिइन् । कान्छो छोरो राजेश भने सँगै नबसेर घरि कता घरि कता डुलिरहेको थियो । पढाइलाई बीचैमा छाडेको ऊ आवारा केटाहरुसँग हिँड्ने गर्दथ्यो । गुण्डाजस्तै थियो । केटीको मामलामा मात्र होइन मारपिटमा पनि ऊ संलग्न हुन्थ्यो । कहिलेकाहीँ थुनिने पनि गथ्र्यो तर बाबु र दाजुको भनसुनपछि तुरुन्त छुटिहाल्थ्यो । ऊ आज पनि स्थिर भएर बसिरहेको थिएन । पाहुनको स्वागत गर्ने जिम्मा दिइए पनि बाइक लिएर ऊ घरि कता, घरि कता दौडिरहेको देखिन्थ्यो । दिउँसै अलिअलि पिएजस्तो देखिन्थ्यो ।
आमन्त्रितहरू गेटबाट छिर्नेवित्तिकै कमरेड माधवका बाबुछोरालाई बधाई दिँदै हात मिलाउँथे भने महिलाहरूलाई हात जोडेर बधाई र शुभकामना दिन्थे अनि पल्तिर गई भोजमा सामेल हुन्थे । दश बजेदेखि सुरु भएको भोजलाई दुई चरणमा विभक्त गरिएको थियो । दशदेखि दुई बजेसम्मका लागि मदिरा बेगरको र चार बजेपछिका लागि मदिरा सहितको ककटेल्स पार्टीको व्यवस्था थियो । गेटको बायाँपट्टिको खुला जग्गामा नाचगान चलिरहेको थियो । पहिलो सिफ्ट भएकाले यो समयमा आउनेहरू प्रायः महिला, सामान्य हैसियतका पुरुष, नजिकका इष्टमित्र र केही छिमेकीहरू थिए । गाउँ–वडाका कुनैपनि घर नछुटोस् अनि पार्टी–कमिटीका कुनैपनि कमरेड नछुटून् भनी कार्ड बाँड्ने बेलामा सचेत गराइएकोले पनि होला दोहोरो लाइन राख्दा पनि एकछिन कुर्नैपर्ने हुन्थ्यो । पार्टीका मानिसहरू, नेताहरू, कार्यालयका कर्मचारी र हाकिमहरू अनि विभिन्न पदीय हैसियत बोकेका व्यक्तिहरूलाई चार बजेपछिको ककटेल्स पार्टीमा बोलाइएको हुनाले यतिखेर तिनीहरूको उपस्थिति कमै देखिन्थ्यो ।
कमरेड माधवका परिवारको ठाँट र रवाफ अनि भोजको तामझाम हेर्दा उनलाई नजिकबाट चिन्ने र बुझ्नेहरू अनौठो मानिरहेका थिए । कसरी यति छिटै माथि उक्लियो माधव ? उसको पैतृक सम्पत्ति भनेकै एउटा सानो घर, चारहलको खेत र थोरै पाखो बारी थियो । घर–जग्गा धितो राखेर लिएको ऋण तिर्न नसक्दा केही बर्ष अघि बैंकले लिलामीको सूचना समेत निकालेको थियो तर खै कसरी–कसरी मिलाएछन् । तर पछि त त्यही खेत पनि बेच्न पुगेका थिए । जिनतिन घरबारीसम्म जोगिएको थियो त्यो बेला । उनको देखिने पेसा–व्यवसाय केही थिएन तर ठेक्कापट्टाको काम गर्छु भन्थे र राजनीति गर्थे । केन्द्रका पार्टी–नेताहरुसँग मात्र होइन जिल्लाका ठुला भनिएका अधिकांश व्यक्ति र नेताहरूसँग उनको राम्रो सम्बन्ध थियो । कान्छीतिरको जेठो छोरो विश्वचाहिँ विद्यार्थी नेता थियो । ऊ पार्टी अध्यक्षको अत्यन्त प्यारो र दाहिने हात जस्तै थियो । जेठीतिरको परिवारलाई दुई कोठे सानो छाप्रो बनाएर छुट्टै राखिदिएका थिए । जेठीतिर एउटी छोरी मात्र थिई र उसको विवाह भइसकेको थियो । पहिला–पहिला निकै दुःख र पीडा दिएर राखिएको भएपनि पछि माधवको आर्थिक र राजनीतिक हैसियत उकासिएपछि भने उनले जेठीको परिवारलाई पनि केही व्यवस्था गरिदिएका थिए ।
खै कसरी हो पाँच–सात वर्ष यता आएर माधवको आर्थिक हैसियत ह्वात्तै बढेको थियो । आधुनिक डिजाइनको तीन तले बङ्गाला र कम्पाउन्डभित्र पार्किङ गरिएकोे सेतो गाडीले उनको आर्थिक समृद्धि दर्शाइरहेको थियो । उनका नजिकका आफन्तहरु भन्ने गर्थे—माधवले त बजारको सङ्गम चोकमा पनि घडेरी किनिसकेको छ । पार्टीका मानिसहरु भन्ने गर्थे — ‘कमरेडलाई त राजनीति असाध्यै फापेको छ । यै चालाले छोरालाई पनि कि मेयर कि त सांसद बनाइछाड्छन् ।’
गेटको बायाँतिरको भाग फराकिलो भएकाले त्यहाँ नाचगानको कार्यक्रम चलिरहेको थियो । आमन्त्रित व्यक्तिहरू गेटभित्र छिरेपछि दायाँतिरको लहरमा बसेका कमरेड माधव लगायतका परिवारलाई बधाई दिँदै हात जोड्ने र मिलाउने अनि खादा र उपहार दिने गर्थे । त्यसपछि कोही सीधै भोजका लागि अघि बढ्थे भने कोही बायाँतिरको नाचगान हेर्ने र त्यसमा सहभागी समेत हुने गर्थे । यस्तैमा डम्बर वि.क. नयाँ सुटमा ठाँटिएर भित्र छि¥यो र कमरेड माधवलाई बधाई दिँदै हात मिलायो अनि लहरै बसेका सबै परिवारलाई बधाई दिँदै खादा लगाइदियो । खादा लगाइसकेर नाचगानतिर जान लागेको डम्बरलाई कमरेड माधवले भने —“हैन कमरेड, कार्डमा नाम लेख्नेले फरक पारेछन् कि क्या हो ? तपार्इँको नाउँ त बेलुकाको लिस्टमा थियो । ठिकै छ, अहिले पनि केही भएन, तर बेलुका पनि आउनुपर्छ नि ! धेरै कमरेडहरूलाई बेलुकाको निम्तो छ ।” उसले औपचारिकता निभायो—“ठिकै छ नि कमरेड, केही छैन, कार्डमा मिस्टेक भयो होला, पछि पनि आउँला नि ।” अनि कमरेड माधवले हातले इशारा गर्दै भने—“खानातिर जाऊँ कमरेड ।” ऊ खाना भएतिर गयो । लाइन त्यति लामो थिएन । खानाका विभिन्न परिकार झिकेर टेवुलको एउटा खाली कुर्सीमा बस्यो ।
डम्बर वि.क.लाई एकथरि राजनीतिक पार्टीका व्यक्तिहरूले कमरेड भन्थे । ऊ बृद्धदेखि युवासम्मका सबैसँग हात मिलाउँथ्यो । आफ्नो जग्गा बाटोमा परेकाले अलिकति बेचेर त्यहीँ तीन–चारवटा सटरसहितको होटल बनाएपछि स्थानीय पार्टीका नेताको दृष्टि ऊ भएतिर परेको थियो । उसलाई पार्टी–सदस्यता दिन दुई भिन्न पार्टीको प्रतिस्पर्धा नै चलेको थियो । “ए डम्बरे ! तँ यत्रो होटल भएको मान्छे, यतिको कमाइ पनि भएको, अनि कहाँको सर्वहाराको पार्टीमा जान लागेको हँ ? तँ त अव हाम्रो पार्टीमा आएर इज्जत–प्रतिष्ठा बढाउनु पर्छ ।” —एउटा पार्टीको स्थानीय नेताले यस्तो कुरा भनेपछि ऊ हच्कियो । सोच्यो—‘तिनले ठिकै भने । मलाई अरु भाइहरूलाईजस्तो हलो जोत्न, आरनमा बस्न केही पर्दैन । त्यत्रो घर छ, राम्रो कमाइ छ, कामी भएपनि अरु विष्ट—बराजुहरूभन्दा कम छैन । अनि किन जाने त्यस्तो सर्वहाराको पार्टीमा !’ तर केही दिनपछि त्यही सर्वहारा भनिने पार्टीमा लागेको उसको दाजु पर्नेले भन्यो —“तँ–हामी जस्ता दलित–उत्पीडित वर्ग त कहाँ त्यस्तो पार्टीमा जान हुन्छ ? त्यो भनेको शोषक–सामन्त र फटाहाहरूको पार्टी हो । जात–भात, छुवाछुत जस्ता चलनलाई उनीहरू पुर्खादेखि चलिआएको चलन हो, संस्कार छोेड्न हुँदैन भन्छन् । के तँ–हामीहरू सधैंभरि दलित–अछुत भएरै बसिरहने ? हाम्रो पार्टी भनेको जात–भात, छुवाछुत, ठुलो–सानो केही नभन्ने सबैलाई बराबर ठान्ने पार्टी हो । हामी दलितहरू अव तल्लो जाति भएर, हेपिएर बस्नु हुँदैन । त्यसबाट मुक्त हुने हो भने हाम्रो पार्टी……मा आउनु पर्छ । तँ जत्तिको टाठो र क्षमता भएको मानिसको हाम्रो पार्टीमा खाँचो छ । म तँलाई तुरुन्तै वडा कमिटीमा राख्न लगाउँछु । पछि पछि जिल्लामै गएर नेतृत्व गर्नुपर्छ …।” धेरै कुराहरू भनेर सम्झाएपछि उसको मन फेरियो, दाजुको कुरा ठिकै जस्तो लाग्यो । बाटोमा चारवटा सटरसहितको होटल बनाएपछि उसमा एकखालको अहम् बढिरहेको थियो । तर नामको पछाडि सधैं जोडिएर आउने ‘वि.क.’ले उसको अहम्लाई निहुरमुन्टी लगाइदिन्थ्यो । यसैले ऊ जात–भात केही नमान्ने वा बाहुन–बिष्टहरू र कामी–दलितहरूवीच फरक नहुने पार्टीमा गई सामाजिक प्रतिष्ठा बढाउन चाहन्थ्यो । उसले पार्टीको टिकट लियो र डम्बरे कामीबाट कमरेड डम्बर बन्न पुग्यो । यसपछि उसले आफूलाई निकै उचाइमा पुगेको महसूस गर्न थाल्यो ।
पार्टीले डम्बरलाई वडा कमिटीमा त राख्यो तर त्यस वापत उसबाट कैयन् गुना बढी असूल ग¥यो । उसको राम्रै कमाइ देखेपछि पार्टी र त्यसका भातृसङ्गठनका कार्यकर्ताहरू विभिन्न कार्यक्रमका लागि सहयोग माग्न आउँथे र उसले पनि प्रायः मागे बमोजिमकै रकम दिने गथ्र्यो । बाहिरबाट आउने पार्टीका मझौला तहका नेताहरूलाई पनि प्रायः उसैकहाँ राख्ने गरिन्थ्यो । यसरी दशौं वर्षदेखि उसले पार्टीमा धेरै सहयोग पु¥यायो । उसको प्रवेशपछि पार्टीलाई आर्थिक रूपमा मात्र होइन साङ्गठनिक रूपमा पनि निकै फाइदा भयो । उसले लीले, तिले, छवि, डिल्ले जस्ता थुप्रै आफ्ना सजातीय बन्धुहरूलाई पनि पार्टी–समर्थक बनायो । नगर कमिटिभन्दा माथि उक्लिन नसके पनि पार्टीको माथिल्लो तहका नेताले समेत कमरेड डम्बर भन्दै हात मिलाउँदा ऊ दङ्ग पर्दथ्यो र आफू कामीबाट कमरेडमा उक्लिएकोमा गर्वको महसूस गर्दथ्यो ।
मानिसहरू गेटभित्र पस्ने क्रममा पुरानो कमिज, खुम्चिएको पेन्ट र इस्टकोट अनि सामान्य चप्पल लगाएका दुईजना व्यक्ति अप्ठेरो मानेझैं गरी भित्र छिरे । कमरेड माधवको परिवारलाई आमन्त्रित व्यक्तिहरूको फूल र खादासहितको बधाई थाप्न भ्याइ–नभ्याइ थियो । उनीहरु कमरेड माधवको अगाडि पुगे र अलि परैबाट हात जोडेर आफ्नो उपस्थिति जनाए । कमरेड माधवले तिनलाई पन्छाउन खोज्दै भने—“तिमीहरू पनि आयौ ? ल–ल जाओ उता गएर मागेर खाओ ।” कमरेड माधवको बोली अपमानको गोली बनेर तिनका मुटुमा पसेपनि कुनै प्रतिक्रिया जनाएनन् । कता जाने, के गर्ने भन्ने अन्यमनस्क भावले यताउति गर्दै नाचगान भएतिर गई उभिन पुगे । उनीहरू घरी कमरेड माधव भएतिर त घरि गफिँदै भोज खाइरहेका मानिस भएतिर अनि घरी बाजाको तालमा नाचेका व्यक्तिलाई हेर्दै गरिरहेका थिए । उनीहरूको दृष्टि धेरैजसो डम्बर वि.क.तिर गइरहेको थियो जो सबैभन्दा बढी राजनीतिक कुरा गरिरहेको थियो । सबै आ–आफ्नै धुनमा भएकाले उनीहरूको उपस्थितिप्रति कसैको ध्यान गएन ।
अलि बेरपछि एकजना स्थानीय युवाले उनीहरूलाई सोध्यो—“तिमीहरूले खायौ ?” तिनीहरूले नखाएको भावमा मुन्टोे हल्लाएपछि त्यो युवकले त्यहाँको अलि पाको उमेरको मानिसलाई भन्यो—“अङ्कल, ल त यिनीहरूलाई खुवाउनु प¥यो ।” रविले तिनीहरूतिर हेरेर भन्यो—“ए, यिनीहरू पो रहेछन् । ल ल उता गएर भन ।” तिनीहरू भोजको लाइनमा बसेर खान सकिरहेका थिएनन् भने रविले भनेजसरी ‘हामीलाई खाना दिनोस्’ भनेर माग्नेलेझैं भन्न पनि सकिरहेका थिएनन् । रविको भनाइले उनीहरू झनै अपमानित भएको महसूस गरे । डम्बरेले झिकेर खान भन्छ कि भन्दै बारम्बार त्यतातिर हेर्दा पनि उसले कुनै वास्ता नगरेपछि डिल्लेलाई ‘जे त होला लाइनमै बसी झिकेर खाइदिऊँ’ जस्तो पनि नभएको होइन तर अर्को मनले सोच्यो—‘नयाँ ठाउँ भएको भए एउटा कुरा, यहाँ त सबैले चिनेका छन् । आफूले जोत्दै आएका घरका विष्ट–बराजुका भान्छामा कसरी आफैंले झिकेर खाने ! अहिलेसम्म यसरी आफैं झिकेर खाइएको पनि छैन । माधवको घरमा पनि सधैं बाहिर बसिन्थ्यो, थालमा पस्केर बाहिर राखिदिएपछि खाएर भाँडा माझिन्थ्यो अनि माझेका भाँडा सुकेपछि मात्रै भित्रै लैजाने गर्थे । हामीलाई दिने छुट्टै भाँडा हुन्थे । अहिले कसरी आफैं गएर झिक्ने ? कि कसैले आएर झिकेर खाऊ भनिदिए हुन्थ्यो । कसैले केही नभनी आफैं झिक्न जानेहो भने ‘कामी–दमै आएर भोजमा सम्मै गरे’ भन्दै सबै खनिएर बबाल मच्चाउने छन् ।’
ती दुईजना अर्थात् तिले र डिल्ले त्यहीँका बासिन्दा थिए र वर्षौदेखि विभिन्न बराजुका खेतबारी जोत्दै आइरहेका थिए । तिनले धेरै वर्ष कमरेड माधवको पनि खेतबारी जोतिसकेका थिए । तिलेले मात्र होइन उसका बाबु दधिरामले समेत माधवको घरमा धेरै बर्ष जोतेका थिए । त्यतिखेर माधवको घरबाट पटक–पटक गरी लगेको दशपाथी कोदो र पाँचपाथी मकैको पैसा तिर्न नसकेपछि कोदो खाने गरेको एउटा गरोसमेत उनले आफ्नो नाममा पास गरेर लिएका थिए । यो कुरा थाहा हुँदाहुँदै पनि धेरै वर्ष तिलेले माधवको घरमा हली बनेर काम गरेको थियो । पछि माधवले आफ्नो जग्गा कुनै बेच्ने र कुनै अरुलाई नै कमाउन दिने गरेपछि मात्र उनको घरमा जोत्न टुटेको थियो ।
यसो हेर्दा आज पनि उनीहरू कतै कसैको मकै लगाएर आएझैं थकित देखिन्थे । स्वाभिमानले पेटमा माड लाग्दैन भन्ने अनुभव सँगाल्दै आएका र त्यही संस्कारमा हुर्केकाले होला जति नै मन कुँडिए पनि उनीहरू न त त्यत्तिकै फर्केर हिँड्न सक्थे न त मागेर नै खान सक्थे । लाइनमा बसी आफैंले झिकेर खाने आँट त झन् कसरी आओस् । आफ्नै दाजु पर्ने डम्बरे ठाँटसँग सबैको बीचमा बसी खाइरहेछ तर उनीहरूलाई भने देखेर पनि नदेखेझैं गरिरहेछ । डिल्लेले पुरानो घटना सम्झ्यो— ‘जात–भात, ठुलो–सानो केही नभनी समान व्यवहार गर्ने पार्टी भन्दै डम्बरेले चुनावको नजिक टिकट लिन लगाएको थियो । खै त त्यो व्यवहार ?’
नाचगान स्थलतिर भएपनि तिनको दृष्टि घरी भोजनस्थलतिर त घरी कमरेड माधवतिर पुगिरहेका थिए । दुइटी श्रीमतीका बीचमा गजक्क परेर बसी माला र खादाले छोपिएका सर्वहाराका स्थानीय नेताको व्यवहारलाई तिनले कसरी लिए कुन्नि अनुहारमा भने पीडाग्रस्त भाव स्पष्ट देखिन्थ्यो । भोक अलि बढी नै लागेकाले होला तिनीहरू भोजको लाइन नजिक– नजिक पुगे । त्यसबेलासम्म पनि गोलो टेबुलमा खाना राखी कुर्सीमा बस्दै कुखुराको रोस्ट चपाइरहेको डम्बरे राजनीतिक कुरामा गफिँदै थियो । कमरेड डम्बरको दृष्टि एकपटक झुलुक्क तिनीहरूतिर प¥यो तर त्यहाँ अडिन नपाउँदै उसले तुरुन्तै मुन्टो घुमाउँदै देखेको नदेख्यै ग¥यो । नयाँ र सुकिला कपडा पहिरिएका मानिसहरू र उल्लासमय वातावरणमा ती दुईको पुरानो र अलि मैलो जस्तो कपडा अनि मलिन र उदास चेहरा त्यहाँको शोभा बिगार्न आएजस्तो देखिन्थ्यो । त्यही सोचेर होला सायद रविले त्यहाँ सारेबारे गरिरहेको एकजना व्यक्तिलाई बोलाएर सुस्तरी भन्यो—“ती कामीहरू अघि नै बाट यताउता गरिरहेका छन् । दुईटा प्लेटमा हालेर लगिदेऊ त खाएर जान्छन् ।” रविले सुस्तरी नै भनेको भए तापनि तिलेले त्यो कुरा सुनिरहेको थियो । राम्ररी नामसम्म नभनेर त्यसरी जातीय अपमान हुनेगरी संबोधन गरिएकोमा उसलाई तीब्र पीडा भइरहेको थियो । त्यहीँको एकजनाले रविको आज्ञा मान्दै दुईवटा प्लेटमा भरी–भरी गरेर खाना ल्याइदियो । धेरै खान्छन् भनेर होला अरु परिकार राख्नै नमिल्ने गरी प्लेटभरी पुलाउ र तरकारी अनि अलिकति मासु हालेर ल्याइदियो । त्यहाँका अन्य थुप्रै परिकार तिनीहरूका लागि आवश्यक ठानिएन । उनीहरू बारीको अलि पर खाली ठाउँमा बसी खान थाले । त्यसैबेला माधवको कान्छो छोरो राजेश घुम्दै त्यहाँ आइपुग्यो । खै के सोचेर हो उसले ती दुईजनालाई निकै बेर हे¥यो अनि नजिकै गएर माया गरेझैं भन्यो—ओहो, तिमीहरु पनि आएछौ ल खुसी लाग्यो । थपीथपी खाओ । एकछिनपछि रक्सीको पार्टी सुरु हुन्छ । आज आफ्ना बराजुको भोजमा तिमीहरुले पनि टन्न रक्सी र मासु खाएर जानुपर्छ है । म व्यवस्था गरिदिन्छु, झट्टै घर नजाओ ।
सबैले यतिविधि अपहेलना गरिरहेको बेलामा राजेशको व्यवहारले तिनलाई केही राहत दिएझैं ग¥यो । तर राजेश आफैंमा राम्रो मानिस थिएन र अघिपछिका उसका क्रियाकलाप पनि राम्रा थिएनन् । फेरि कहिल्यै तिनीहरुसँग यति मिठो बोली र राम्रो व्यवहारा गरेको पनि थिएन । यसैले उसको भनाइलाई तिनले त्यति महत्व दिएनन् । उसले भन्दैमा तिनीहरु बेलुकीको भी.आइ.पी. भोजमा सामेल हुने कुरै थिएन । तैपनि उसको बचन राख्न भनिदिए—“ओहो ! सानुबाबुले यति धेरै माया गरेर भनेपछि बसिहाल्छौं नि !”
पहिलो चरणको भोजको कार्यक्रम सकिनै लागेको थियो । आमन्त्रितहरू पातलिँदै जान थालेका थिए । यही मौका पारेर कमरेड माधवको परिवार आरामका लागि भन्दै उठ्न थाले । “चार बज्न लाग्यो, पाँच बजेबाट अर्को पार्टी सुरु गर्नुपर्छ । ड्रिङ्सका विभिन्न भेराइटी राख्नुपर्छ । महिला कमरेडहरू पनि आउनुहुन्छ, वाइन नपुग्ला है ! बढी भए केही छैन नपुग्ने हुनु भएन” आफ्नो भतिजो र एकजना पार्टीको कमरेडलाई निर्देशन दिँदै कमरेड माधवको परिवार ‘एकछिन आराम गर्ने’ भनेर उठेर बाहिर निस्कियो ।
तिले र डिल्ले पुलाउ खाएर उठे । मुख मिठो गराउनलाई होला खाना लगत्तै केक, जेरी र आइसक्रिमको व्यवस्था गरिएको थियो । ती दुईले आइसक्रिम–जेरी भएतिर पुलुक्क हेरे तर खान मन भएर पनि किन किन त्यतातिर जान खोजेनन् । त्यो खान पनि आफूहरूका लागि सहज नभएको बुझेपछि उनीहरू सरासर बाहिर निस्किए । खान त उनीहरूले पेटभरिजस्तै खाए तर पनि त्यसमा भोजको सन्तुष्टि पटक्कै थिएन । पीडा र अपमानबोधले होला अलि बेरसम्म आपसमा बोलचाल पनि गरेनन् । मनमा मडारिएको बादल अलिअलि फाट्न थालेपछि बल्ल कुराहरू सल्बलाउन थाले । अलि पर पुगेपछि तिलेले डिल्लेलाई केही दबिएको पीडामय स्वरमा भन्यो—“माइल्दाइ ! तपाईँलाई कस्तो लाग्यो कुन्नि, मलाई त भोज खाँदा पनि साह्रै नमज्जा लाग्यो । धेरै वर्ष जोतेको घर, बोलाएपछि कसरी नजानु । भित्र पसिहालियो, भोक पनि लागेको…त्यसै निस्किहाल्न पनि सकिएन । हेर्नोस् त कस्तो व्यवहार !”
डिल्लेलाई पनि त्यहाँको व्यवहारले कम चोट पु¥याएको थिएन र सो कुरा सुनाउने उपयुक्त व्यक्ति पनि तिले बाहेक यतिखेर अर्को थिएन । उसले अलि आक्रोशको भावमा भन्यो—“आखिर हामी पनि त्यसै गएका त होइनौं नि, डाकेरै गएका हौं । निम्तो गरिसकेपछि त्यतिविधि अपमान त गर्नुहुँदैन नि ! अघिपछि घरमा जे जस्तो व्यवहार गरेपनि त्यतिका मान्छेको माझमा त कमसेकम मान्छेको जस्तो व्यवहार गर्नुपथ्र्यो । कुकुरलाई जत्तिको पनि गरेनन् । मलाई त अझ त्यो डम्बरेसित उधुमै रिस उठेको छ । उतिखेर चुनावमा ‘हामी दलित–पीडितहरूको भलाइ गर्ने पार्टी यै हो, यसमा भोट हालेर मात्रै हुँदैन, टिकटै लिनुपर्छ’ भनेर कति गरेर टिकट लिन लगाए । अहिले आफू कुर्सीमा बसी नेता पल्टेर गफ हाँकिरहेको छ, हामीलाई भने मान्छे नै होइनन् झैं गर्छ । आफ्नो भनेको मान्छे नै उस्तै भएपछि कसरी सुधारिन्छ ।”
एकैछिन दुवैजना चुप रहेपछि तिलेले निराश भावमा भन्यो— “देशमा के के नै परिवर्तन भयो भन्छन् । राजा गयो, अव जनताको पालो आयो भन्छन् । अव मान्छेका बीचमा केही भेदभाव हँुदैन, दुःख–पीडा केही हुँदैन भनेर ठूला ठूला भाषण गर्छन् तर खै त माइल्दाइ, हाम्रा लागि कहाँ आयो परिवर्तन ? परिवर्तन त तिनै माधवहरूका लागि, तिनै डम्बरेहरूका लागि अनि त्यस्तै–त्यस्तैका लागि र तिनै–तिनैका लागि मात्रै रहेछ !” डिल्लेले लामो सास लिँदै भन्यो—“के भनम् कान्छा, मलाई त यो ठाउँमा एकछिन पनि बस्न मन छैन, तर के गर्ने ! दुई पटकसम्म साउदीतिर जान खोजेको, पार लाएन । आगौंदेखि त धरोधर्म यो हलो समाएछु भने ! यो हलो समातेर न परिवार पाल्न पुग्छ, न कसैले मान्छे भन्छन् । भेनालाई ‘पैसा हाल्देऊ, गएपछि महिनाको सयकडा दुईका दरले व्याज सहित तिर्छु भनेको छु, अझै एकपटक हेरम्, केही नलाए बरु घर–सर, बाटो–साटो बनाउने ज्यामी काम गर्न जानुपर्ला !” तिलेले पनि आफ्नो पीडा ओकल्यो—“माइल्दाइ, मलाई पनि यो गाउँ– समाजमा बस्न पटक्क मन छैन । हाम्रा काका र दाइहरू सबै बर्दियातिर गइसके, अव त तपाईँ–हामी दुई–चार घर मात्र हौं । हामी पनि जाऊँ उतैतिर । कमसे कम नयाँ ठाउँमा यति धेरै अपमान त नहोला । जोेतेरै खानुपर्छ भन्ने छैन । अरव जान पाएनि नपाएनि, अरु गएनि नगएनि म त बर्खा सकिएपछि छोराछोरी लिएर उतै हिँड्छु । तपाईँले भनेझैं केही नभए ज्यामी काम गरेरै भएनि बस्नुपर्ला ।”
मिरमिर अँध्यारो भइसकेको थियो । उनीहरू देवदत्तको घर नजिक आइपुगे । दिउँसो मकै लगाइसकेर गोरु फुकाएपछि तिलेले त्यसै घरको करेसोमा हलो र जुवा ठड्याएर राखेको थियो । तिलेले हलो बोक्यो । ‘ल्याऊ, त्यहीँसम्म भएपनि यो म बोक्छु’ भन्दै डिल्लेले जुवा बोकिदिएर उसलाई सघायो । पोहोर मात्र डोजर लगाएर बनाएको कच्ची मोटरबाटोमा दुवै चुपचाप हिँडे । तिलेलाई भोलि रमानाथको खेतमा बीउ राख्ने ब्याड जोत्नु थियो यसैले उतैबाट नजिक पर्छ भनेर उसले हलो–जुवा घरतिरै बोकेर ल्याएको थियो । जाँदा जाँदै डिल्लेले भन्यो—“हेर् कान्छा, पहिलाकी स्वास्नी पोइल गएर अर्की ल्याएको छस् । अहिलेकी साह्रै हिसी परेकी छ । बैंशकी छ, छुट्टिएर एक्लै बसेका छौ । फेरि कसैले उछिट्याइदेलान्, होस् गर्नुपर्छ । अहिलेका स्वास्नीलाई अलि बढी माया गर्नुपर्छ, बेलाँ घर पुग्ने गर्नुपर्छ ।” “आफ्नो थिति अनुसार माया गरेकै छु । भनेजस्तो लाउन–खान पु¥याउन नसकेपनि भोकै–नाङ्गै राखेको छैन । अब मात्तिएर हिँड्छे भने के गर्ने दाइ, बाँधेर राख्ने कुरा भएन” —तिलेले श्रीमतीको बारेमा सोच्दै जवाफ फर्कायो ।
“हैन ए तिले, हाम्रोमा मकै लगाइदिने कैले हो ?”— बाटोमा भेटिएका दामोदर पण्डितले सोधे । उसले दामोदरमा पनि माधवकै अनुहार देख्न पुग्यो । झनक्क रिस पनि उठ्यो । उसलाई पटक्क बोल्न मन लागेको थिएन तैपनि मन नलागी नलागी भन्यो—“लगाउँला नि पण्डित बा, अव दुईचार दिनमा ।” के भयो कुन्नि सधैं हात जोडेर कुरा गर्ने उनीहरूले आज हात जोडेनन् र मुखले नमस्कारसम्म पनि भनेनन् । यी नेता, पण्डित र गाउँका ठुला भनिनेहरूको चर्तिकला यिनीहरूले पहिल्यैबाट नदेखेका र नबुझेका होइनन् तर किन–किन आज तिनीहरूप्रति असाध्यै घृणा र आक्रोश उम्लिरहेको थियो । आफू विष्फोटक बस्तु बनेर हरेक पटक तिनीहरूमाथि पड्किँदै हिड्न पाए भन्ने लागिरहेको थियो । बाटो फाट्ने ठाउँमा एउटा सानो पसल थियो । चियादेखि रक्सी खानेसम्मका सामान्य मानिसहरु फाटफुट त्यहाँ पस्ने गर्दथे । पसल अगाडि आएपछि डिल्लेले भन्यो—“कान्छा, आज किन–किन मन साहै्र भारी भएर आएको छ । भोज खाएर आएको भएपनि त्यसले सन्तुष्टि दिनुको साटो कता–कता पेट पोलेजस्तो पो भएको छ । हिँड्, एक–एक गिलास खाएर जाऊँ ।” उसलाई दाइले आफ्नै मनको कुरा भनिदिएझैं लाग्यो । डिल्लेले पसलभित्र चियायो— दुईजना ग्राहक चुरोटको सर्कोसँगै रक्सी तानिरहेका थिए । पसलको बाहिर हलोजुवा बिसाएर डिल्ले र तिले सुटुक्क भित्र पसे । एक–एक गिलास भनेपनि विनासितान दुई–दुई गिलास ठर्रा तानेपछि एउटा–एउटा चुरोट सल्काएर बाटो लागे ।
अँध्यारो भइसकेको थियो । बाटो फाटेपछि डिल्ले तेर्सो बाटोतिर लाग्यो भने तिले हलो र जुवासमेत बोकेर माथितिर उक्लियो । गाउँतिर जाने सानो कच्ची बाटो छोडेर चार–पाँच मिनेट खोल्सासँगैको कान्लाकान्लै हिँडेपछि उसको घर आउँथ्यो । तीन वर्षअघि अलि सस्तोमा पर्ती जग्गा किनेर सानो कच्ची घर बनाएको थियो उसले । बिहे गरेको दुई बर्षपनि नहुँदै श्रीमतीले उसलाई छोडेर अन्तै हिँडेकी थिई । अहिलेकी श्रीमती ल्याएको त एकवर्ष पनि भएको थिएन । अलि कालो वर्णकी भएपनि असाध्यै हिसी परेकी थिई । श्रीमतीको सम्झनाले उसको शरीरमा तागत भरिएझैं भयो र अलि लम्किन थाल्यो ।
कच्ची बाटो छोडेर उसको घरतिर जाने ठाउँमा एउटा मोटरसाइकल रोकिराखिएको थियो । तेर्सो बाटो हुँदै जाँदा त केही घरहरु थिए तर माथितिर त उसको, उसका काकाको र दाइहरुको गरी चार–पाँच घर बाहेक अरुका घर थिएनन् । यस्तो साँझको बेला काका र दाइकहाँ मोटरसाइकल लिएर कोही आउनेवाला थिएन । पल्लो गाउँको हुन्थ्यो भने त मोटरसाइकल उतैसम्म जान्थ्यो, यहाँ राख्नु पर्दैनथ्यो । कसले राख्यो होला यहाँ मोटरसाइकल ! उसले केही आश्चर्य र थोरै आशङ्का मान्दै वरपर हेर्न थाल्यो । कतै मानव–दृश्य र आवाजसमेत सुनिदैनथ्यो । खल्तीमा एउटा चुरोट बाँकी रहेछ, सल्कायो । घरतिर दृष्टि लगायो । घुमेको पाखो र नजिकैका रुखले घरलाई छेकेकाले नजिकै नपुगी घर देखिँदैनथ्यो । अलि नजिक पुगेपछि घरको बाहिर आगनमा मधुरो बल्व बलेको देखेपछि ऊ केही ढुक्क भयो । हलो र जुवालाई घर नजिकैको कान्लामा ठड्याएर राख्यो । श्रीमतीलाई बोलाउँदै आगनमा टेकेको मात्र थियो, घरको ढोका खोलेर एकजना मानिस ह्वात्त बाहिर निस्कियो । बत्तिको प्रकाशमा त्यो मानिसले तिलेलाई देख्नासाथ हेल्मेट हातमा लिएर हत्पत दौडिन थाल्यो । तिलेले त्यो मानिसलाई राम्ररी ठम्याउन सकेन । उसले आगनको डिलमा कपडा सुकाउन गाडिएको घोचो लिएर पछ्याउँदै दौडियो । त्यो मानिसले हेल्मेट लगाएर मोटरसाइकल स्टार्ट गर्न नपाउँदै तिलेले घोचाले ठोकिहाल्यो । त्यो मोटरसाइकलकै आडमा ढल्यो । हेल्मेटको फिता बाँध्न भ्याएको रहेनछ, हेल्मेट टाउकोबाट फुत्किएर खस्यो । ऊ दुई हात जोडेर ज्यान बचाइदिन तिलेसँग बिन्ती गर्दै थियो । तिलेले बल्ल चिन्यो— माधवको जेठीतिरको छोरो राजेश रहेछ ! उसले दिउँसो देखाएको माया र अहिलेको कर्तुतलाई सम्झ्यो । माधव, डम्बरे र अरु विष्ट–बराजुहरुले उसप्रति गर्दै आएको अपहेलना र उत्पीडनलाई सम्झ्यो । तिलेले उसको टाउकोमा जोडले हिर्कायो । फेरि हिर्कायो, फेरि हिर्कायो । ऊ चल्मलाउन छाड्यो । ढल्दै गरेको साँझको वातावरण स्तब्ध थियो । चार–पाँच पटकसम्म लगातार हानेपछि तिलेलाई हलुका महसूस भयो । घोचोलाई अलि परको झाडीमा फ्याँकेर ऊ घरतिर लाग्यो ।
यता, कमरेड माधवको घरमा भने नेता–कार्यकर्ता र जिल्लाका उच्चपदस्थ व्यक्तिहरुको उपस्थितिमा धुमधामसँग ककटेल्स पार्टी चलिरहेको थियो ।
(पाेखरा)