जनै तागाधारीको सबभन्दा बलियो प्रमाणपत्र हो । प्रमाणपत्र मात्र हैन, प्रमाणै हो । जनै छैन भने उसको जात पनि छैन । काँधमा जनै छैन भने बाहुनक्षत्री जस्तो ‘चोखो जात’ हुँ भन्दैमा कसले पो पत्याउँछ र ! हैन कसैलाई जातभातको मतलबै छैन भने त यी सब कुरा किन चाहियो र ? तर छोराछोरीको बिहे गर्ने बेला भएको छ र जातभातका न्याधीश वा पुरेतकहाँ जानैपर्छ भन्नुहुन्छ भने छोराका काँधमा छसरा डोरो त हुनैपर्ला ।
डोरो भए हुन्छ, त्यो अनेकवली तरिकाले घुमाएर जालजस्तो बनाएर पाँचगाँठा (पञ्चशिखा) पारेको हुनैपर्छ भन्ने केही छैन । लुगा टाल्न ल्याएको गोली धागाकै सही, डोरो भए हुन्छ, त्यो काँधमा हुनैपर्छ । फेरि भन्नुहोला किन हुनुपर्ने ? माथि भनिसकियो नि यही त हो जातको उजिन्डो । यसैमा तुर्लुङ्ग झुन्डिएको छ संसारका साडे सात अर्ब मानवमध्येमा उपरमाथिको चुपर कहलाउन सक्ने जातको प्रमाण । हैन भने तपाईँको जात र तपाईँले ‘अछूत’ बनाएको मनुवाको बीच के अन्तर ? जे भन्नुस्, सारा जात, भात, धर्मकर्म, शास्त्र, पापपुण्य, स्वर्गनर्क, रीतिथिति, सदाचार, शासन, अनुशासन सबै त झुण्डिएको छ यसैमा ।
आफ्नो कुरा गर्ने हो भने म जत्तिको चोखो जातको मान्छे को होला र यस दुनियामा । ज्यान भन्नुहुन्छ भने लौकामा दुईओटा छेस्काका खुट्टा लाएर उभ्याएको जस्तो फुकिढल् लुरे । तर के गर्नुहुन्छ, त्यही ज्यानलाई भिरादिए त काँधमा डोरो र आचीद्वारमा लङ्गौटी । कत्रो फुइँ बढ्यो त्यत्तिले पनि आफ्नो । हिजोसम्म सबै कुराखुल्ला, आजदेखिछोइ छोइ । खाने बेला दुई तीनओटी दिदीबहिनी तल, आपूm भने चौकामाथि । बासँगै बसेर खान पाइने, क्या भाउ बढेको एकै दिनको एक छिनको खेलाँचीले । क्य मज्जा ! क्या शान ! !
अहिले यो कुरा गर्दा मेरा नाति–नातिनीहरूले त के छोराछोरीले पनि पत्याउने छैनन् । किनकि छोराहरूलाई जनै लाइदिने टन्टै गरिएन र यसको स्वादबेस्वाद पनि थाहा छैन तिनलाई । खैर नपत्याए नपत्याउन्, तिनले नपत्याउँदैमा साँचो कुरा झुटो हुन्न क्यारे । कुरा के भने आपूmलाई अलि ठुलै हुन्जेल साबुन भन्ने जिनिस थाहा थिएन । थाहा नै नभएको विखय नुहाइधुवाइको लागि प्रयोग गर्ने कुरै भएन । धेरै पछि मात्र भेट भयो साबुनसँग । जात थाम्न दैनिक पँधेरोमा गएर जनै चिसो पार्नैै पथ्र्यो र लङ्गौटीको धरो फेर्नै पथ्र्यो । ज्यान अलि भिज्ने गरी नुहाउने भनेको कताना हो । पिना, रिठो वा कण्टकारीको गेडाले । अनि लुतै आयो भने पातीको लुँडाले भैँसीलाई जस्तै गरी मिचीमिची नुहाइदिने हो आमाले ।
मयल र पसिनाको पत्रो जम्दै गएपछि ज्यानमा जुम्राले जुलुस त लाउने नै भयो । जनै पनि सेतो, जुम्रा पनि सेतो, अनि चपक्क मिलेर बस्ने, छापामार शैलीका जुम्रा । छुट्याउने कसरी ? जस्तो कि कालो बजारिया पनि सेतै पोसाकमा र राता कम्युनिष्टदेखि हाकिममन्त्री पनि सेतै पोसाकमा देखिन थालेपछि छुुुट्याउन सक्ने कसले ? अनि कालाबजारियाको भुँडी र राताकम्युनिष्टको भुँडी पनि उत्रै र उस्ते भएपछि त झन् छुट्याउने कसरी ? छुट्याउनै नसकेपछि कसरी थाहा पाउने कसले चुसिरहेको छ देश भनेर ।
जुम्राले टोकेपछि अगाडि त हातले कन्याइहाल्छ, पछाडि कन्याउने साधन भने त्यही जनै वा जुम्राको घर हुँदोरहेछ । ‘कण्टकेनैव कण्टकम्’ टन्टै खलाँस । जस्तो कि उसले भ्रष्टाचार ग¥यो भनेर अर्को उसको नेतृत्वमा अनुसन्धान गर्दो, ऊ आफै त हुँदोरहेछ झन् भ्रष्टाचारीको बाजे । जेहोस्, सबैले त्यसरी नै कन्याएको देख्थेँ । त्यसैले मैले पनि त्यही तरिका सिकेँ ।
पहिले पहिले त मलाई के लाग्थ्यो भने यो जनै भन्ने डोराको मुख्य कामै जुम्रा पाल्ने, टोकाउने अनि कन्याएर आनन्द लिने रहेछ । तर अलि ठुलो भएपछि भने आफ्नो ठम्याइमा थोरै संशोधन गर्नुपर्ने भयो । किनकि जात झुन्ड्याउन भनी जनै लाउने कुरा त निहु मात्र रहेछ । मुख्य कुरा त जुम्रा कन्याउने र धुकुटीको साचो भिर्ने पो रहेछ । भन्नु होला धनीको पो धुकुटी, गरिबको के धुकुटी ? हैन केही नभए चामल वा आटोपिठो राख्ने मदुस वा कुन्तुर त हुने नै भयो । फेरि तपाईँ छक्क पर्नुहोला, आटोपिठो पनि कसैले साँचो लाएर राख्छन् ? लौखा, हजुरईँलाई थाहा छैन त यो कुरा ?
साँझबिहान नापीतौली मात्र गाँस हाल्नुपर्ने हालतको परिवारमा त्यति नगरे कसरी जहानबच्चाको ज्यान धानिन्छ त । उसको जनैको साँचोको सार्थकता पनि त्यसैमा हुनेभयो । जत्रो औकात त्यत्रै मालिक्याइँ, त्यत्रै हैकम । किनकि यो त एक प्रवृत्ति न हो । त्यसै भनेनन् नि त कुनै कविले ‘म मेरो घरको राजा भुपडी नै भए पनि’ भनेर । तपाईँ भन्नुहोला यो गणतन्त्रात्मक देशमा फेरि राजा शब्द खोजीखोजी किन ल्याएको ? के कुरा गर्ने, रक्तवीज नै रहेछ नारायणहिटीको राजतन्त्र त, आपूm सिद्धिए पनि हजारौँ छोटे राजाहरू जन्माएर छोडेन त त्यस सत्तुरले ?
कुरो तागाधारीबाट उठाइएको छ । त्यसैले उसको जनै त हुने नै भयो । अनि जनै भएपछि त्यसमा साँचो पनि झुन्डिने नै भयो । बुढाको मृत्यु नभई साँचोमा कसैको दैया चल्दैन । त्यसपछि मात्र जनै र साँचोको उत्तराधिकार जेठो छोरामा सर्दोरहेछ । किन छोरामा नै, छोरीमा सार्दा हुँदैन ? जस्तो कि पण्डित नेहरूले आफ्नो जनैको साँचो त छोरीमैसारेथे । उनी त पण्डित भनेर हुन्छ, जातधर्म माने पो । हामीलाई पो थाहा छ नि छोरी मान्छेले त जनै नै लाउँदैनन् भन्ने कुरा । जनै नभएपछि साँचो मात्र कतिन्जेल टिक्ने हो र ? पक्का भनेको जनैमै हो र जनैधारी सन्तानमै हो । जनै भनेको जातसहित गोत्र र वंशको बाहक पनि हो । छोरीको त बिहेपछि घर मात्र होइन, जातथर, वंश, गोत्र आदि सबै नै फेरिन्छ । त्यसैले त छोरा भएसम्म छोरीलाई जनैको साँचो सुम्पिने कुरा कसैले कल्पनै गर्दैन यहाँ । फेरि ‘कम्ता बाठा छन् र बाजे’ भन्नुहोला नि !
यहाँ काठमाडौंमा भने यस्ता कैयन् परिवार देखेको छु, जसका बाउ मरेको दसौँ वर्ष भइसक्दा पनि उनले छोडेर गएको सन्दुस खोलिएको छैन रे । कुरा के रहेछ भने त्यसमा त सात पुस्तादेखिको खजाना हुँदो रहेछ । ती पछिल्लोपटक मरिजाने बुढाले पनि नखोली र नदेखी मरेका हुँदा रहेछन् । हरबुढाको मृत्युपछि पुस्तादर सर्दै जाने अबण्डाको सम्पत्ति र जनैको साँचो पनि जेठोजेठो सन्तानमा सर्दै जाँदोरहेछ । वंशावली, पुराना तमसुक, पुख्र्यौली, दानदातव्य, बिर्ता, पौरखको बिरासत र गौरवगाथा आदि जो छ, त्यसैमा हुँदोरहेछ । एक्लै खोले, काटमार नै हुन बेर लाग्दैनरहेछ । खोल्नैपर्दा हकदारजति सँगै बसेर मात्र खोल्दारहेछन् । हकदार को कहाँ छ, कसरी जुट्ने । कल्ले बेसाउने यो टन्टा । नखोल्दासम्म भित्र के छ, कसलाई के थाहा ?
तपाईँलाई के लाग्छ, कुन्नि । मलाई भने यस्तो लाग्छ ः यो जनैको साँचो भनेको एक प्रकारको सत्ता रहेछ । वा यसो भन्नुस्, धेरै प्रकारका तन्त्रमध्येको एक तन्त्र । जस्तो अकबरे खुर्सानी जस्ता एक जना नाम चलेका लेखक छन् नि, अँ…..क्यानाम, ल छोडिदिनोस्नामसाम । हो उनी भन्छन् नि ‘यो फलानो कण’ । यो जनैको साँचो भनेको पनि त्यो चिहानमा पुरिएकोभनिएको राजतन्त्रको एउटा सूक्ष्म कण रहेछ । जसको आँङमा साँचोसहितको जनै छ, ढुकुटी उसैको नियन्त्रणमा हुँदो रहेछ । धनदौलत, विद्याबुद्धि, शास्त्र, शस्त्र, नीतिनियम, राजनीति, कूटनीति, भूmटनीति, लूटनीति आदि सबै उसकै नियन्त्रणमा । त्यस घरको शासन हुकुमत पनि उही चलाउँदो रहेछ । तर नियमकानुनको हैकम चल्ने त भोक नलागुन्जेल रहेछ, भोकले सताउन थालेपछि दुईटा मात्र विकल्प हुँदारहेछन्, कि जनैको साँचो खोस्न सक्नुप¥यो, कित उसको शरण पर्नुप¥यो ।
साँचोवालासँग साँचोहीनहरूको रणनीतिक कार्यदिशा यी दुईटै मात्र हुन्छन् । सके खोस्ने, नसके आत्मसमर्पण गर्ने । सम्झौता त्यहाँ हुन्न रैछ । मागेर सत्ता दुनियाको कुन तानाशाहले दिन्छ र ? दिएएको छ त कसैले ? ल भनुस् त । इदि अमिन, पिनोचे, जारहरू, लुईहरू, ज्ञानेन्द्रहरू्र वा अरु कसैलेदियो खुरुक्क ? सिद्धियो आफै बरु । लौ खोस्नुहोस् त जनैको साँचो, मर्छ बरु दिन्न उसले । दिन्न मै पनि, बुझ्नुभो हजुरले ?
हाम्रो समाज सयौं वर्षदेखि तागाधारीबाट शासित छ । त्यसैले जनै र जनैको साँचो एक परम्परा, एक प्रवृत्ति तथा एक संस्कृति र संस्कार बनेको छ । सारा अहम्, स्वाभिमान, स्वगौरव, स्वत्व वा यस्तै मर मेरोजन्य भाव छ जो छ, यसैमा छ । देशको हावा, पानी र माटोमै भिजिसकेको छ यो । हैन भने राणा गयो, राजा आयो । पञ्चायत आयो, गयो । बहुदल आयो, गयो । आज यो संघीयता, गणतन्त्र, लोकतन्त्र, नयाँ जनवाद+समाजवाद यी सबैको स्वाद भएको व्यवस्था पनि आएको छ, तर जनैको साँचो तन्त्र फेरियो त ?
आज पनि झुपडीदेखि महलसम्म र नेतादरबारदेखि सिंहदरबारसम्म जनैमा साँचो त उसै गरी झुण्डिएको छ नि । मुखले सामूकितावादी होऊन् कि व्यक्तिवादी, बपौतीमा पाएको होस् कि खोसेर लिएको होस्,गौरव गर्छन् त्यसमै । देलान् मागेर कसैले जनैको साँचो ? खोसाखोस गर्दा चुँडाएरै लिएको एक बित्ताको टुक्रा किन नहोओस्, सासरहेसम्म त्यही टुक्रामा पनि झुन्डिइरहन्छ साचो । मयलले कटकटिएको होस् कि जुम्राको माला बनेको होस्, माग्दैमा दिन्छ कसैले कसैलाईँ ?टोकाटोक र खोसाखोसमा फेला परेको त्यही टुक्रामा पनि झुण्ड््याइन्छ साँचो ।अन्तमा धागाको टुक्रा मात्र रहन्छ हातमा, साँचो त कुनै पराईको हातमा पो पुगिसकेको हुँदोरहेछ । साँचोको लुछाचुँडीमा अर्काले टुप्पी समाएर फनफनी घुमाएको पनि थाहा हुुन्न रैछ !
तपाईँ भन्नुहोला तेरो कुरा सोह्रै आना गलत । कति त जनै लाउने जातमा पनि पर्दैनन्, साँचो त तिनले पनि भिर्छन्, अनि केमा भिर्छन् त तिनले साँचो ? हो, तपाईँ पनि लाटै हुनुभो । यसको जवाफ त माथि नै दिइसकेको छ नि ः संस्कारको जनै प्रवृत्तिको धागो । यो तागाधारी शास्त्रमा के लेखेको छ भने जनै गयो कि सर्वस्व गयो ।
वर्तमान राजनीतिक परिप्रेक्षमा जनैको साँचोसम्बन्धी कानुनलाई अझ वैज्ञानिक बनाउने गरी संशोधन गरिएको छ । किनकि गणतन्त्र आएपछि पुराना कानुनकाइदामा परिवर्तन त गर्नैपयो ।परिवर्तित नियमानुसार जनैमा साँचो मात्र भिरेर हुन्न, जनैको फन्काले आपूmसहित कुर्सी वा कुन्तुर जे छ, त्यसलाई पनि बेरिने गरी बाँध्नुपर्ने व्यवस्था लागू भएको छ । अनि साँचो चाहिँ चरप्पै मुठीमै कसेर राख्नुपर्छ रे ।
यो जनै र जनैको साँचोसम्बन्धी नयाँ कानुन हो । नयाँ व्यवस्था पुरानोभन्दा अझ बढी सुरक्षित छ । सिद्धान्त, विचार, राजनीति, इमान, जमान, निष्ठा, नैतिकता सबै कुरा सिद्धिएर संगठन नामको पत्रु बनिसकेको कुन्तुरको साँचो भिर्न पाए सास जानेबेला पनि छोड्दैनन तिनले ? जुम्राले गुँड लाएको जनै र खियाले खाएको साँचो मात्र नै किन नहोस्, त्यसैमा झुण्डिएको हुन्छ तिनको राजनीति, नेतागिरी, पहिचान, इज्जतप्रतिष्ठा र अग्डमबग्डम सबै । प्राणान्तकोबेला पनि त्यसलाई छातीमै राखिदिनुपर्छ, नत्र सास जान गाह्रो हुन्छ तिनलाई । कहाँ, कहिले कसले, किन आदि किन सोध्नुहुनछ मलाई ? जस्तो आजै र अहिल्यै पनि त देखिरहनुभएको छ नि हजुर !