जीवनले पचासौँ वसन्तलाई स्पर्श गरिसक्यो । बितेका पचास वर्षका पलहरुलाई कताबाट समेटूँ, कताबाट बिटो कसूँ, आज आफैँ रनभुल्लमा परेको छु । फेरि जताबाट समेल्न खोज्दा पनि समेली नसक्नु गरी फुस्की जान्छन् समयका सूक्ष्म त्यान्द्रात्यान्द्री । एउटा मजबुत किटो कस्न खोज्छु त्यसमा बाँधिन मान्दैन समय ।
आजसम्मको जिन्दगी असरल्ल छरिएरै बितेछ । टुक्रा टुक्रामा भाग लागेर बितेछ । अंश अंशमा विभाजित भएर बितेछ । कठिन वाल्यकालीन पलहरुलाई सम्झिनु, छ–आठ वर्षसम्मको उमेर त रोएरै बित्यो, खेलेरै बित्यो । धुलोमा हिलोमा डुबेरै बित्यो । धुलोमा खेलिने सिन्की–धुली, हिलोमा खेलिने माउपाडा आर्इँ आईँ, चौरीमा खेलिने हरगुडू, गट्टा, कबड्डी, खल्र्याङखुट्टी अनेकन खेल साँच्चै मनमोहनकारी थिए । अहो ! त्यी बाल्यकालीन क्रिडाहरु सम्झिँदा पनि आनन्द–सागरमा पौडिरहेको हुन्छु । बेफिक्री थियो मन । निश्चिन्त थियो जीवन । भोक लागे रोइदिए पुग्थ्यो । कुनै दायित्वको बोझाले टाउको थिचिसकेको थिएन ।
छ वर्षको उमेरमा पिताजीले गाउँको धुले पाठशालामा नाम दर्ता गराइदिनुभयो । पढाइ त सात कक्षासम्म चल्थ्यो । तर, हामी बालवर्षका कलिला नानीहरुलाई अक्सर धुलोमा, कहिलेकाहीँ सल्लाका सादा फल्याकमा राखेर क, ख, ग घोकाइन्थ्यो । काठका फल्याक सीमित संख्यामा थिए, अलिक बलिया–बाङगा र माप्पाका केटाहरुले कब्जामा लिन्थे । लुते लाङग्रेहरु त सदादिन धुलोमा बस्नुपथ्र्याे । काठको पाटी र कमेराको मसीदानी त्यतिखेरका मुख्य पाठ्य तथा लेख्य सामग्रीहरु थिए ।
किशोर–वयका झण्डै आठ वर्षका स्वर्णिम पलहरु पाठशालाको प्राङ्गण, कक्षाकोठा र भस्मेका जंगलमा छरिएर बित्यो । दिनको एक हिस्सा स्कुलमा बिते पनि अर्काे हिस्सा घाँस काट्न, गाई–बाख्रा चराउनमा बित्थ्यो । जीवनका अनगिन्ती पलहरु सिस्नेरी र मार्से खोलाको चेपमा हरियो घाँस खोज्ने क्रममा बित्यो । छाङ्गे खोला र तुतुर्रे खोलामा मुसे–खरुकी खुर्किनुमा बित्यो । खिर्राबोटे, मौबोटे, नाखुरे, चिउरीबोट, साल्बोटे र हर्राबोटेका पाखामा बाख्रा चराएर बित्यो । मरडाँडा र कडुजे पाखामा गाईका पुच्छर निमोठेर बित्यो ।
गाउँमा हाईस्कुल नभएको कारणले चौध वर्षको उमेरमा घर छाडेँ । त्यसपछि सुरु भयो जीवनको साँचो संघर्ष । बिहान बेलुकाको दुई छाक भात पनि कमाउनु थियो, आफ्नो स्कुलको पढाइलाई पनि निरन्तरता दिनु थियो । सन्तुलन मिलाउन मलाई कम्ति हम्मेहम्मे परेन । कठिन श्रम गर्दै जेनतेन पढाइ अघि बढ्यो । एउटा तितो अनुभूतिले हृदयलाई सधैँ डङ्क मार्छ– पूर्णकालीन विद्यार्थी बनेर पढ्ने दिन मेरो जीवनमा कहिल्यै उपस्थित भएन ।
भात पकाउनु, भाँडा माझ्नु, थाकल काट्नु, बाख्रा चराउनु, गाई–भैँसी चराउनु, केटाकेटीलाई टिउसन पढाउनु जस्ता विभिन्न श्रममूलक काम गरेर बित्यो चौधदेखि बिस वर्ष बिचको समय । त्यो समय मेरो लागि कठिन साधनाको समय थियो । अनन्त दुःख र अभावका वीच पनि पढ्नु थियो । पढाइलाई टुंगोमा पु¥याउनु थियो ।
कतिपय समय यस्ता पलहरुसित पनि संघर्ष गर्नुप¥यो । झण्डै झण्डै पढाइबाट विमुख पार्ने विचलनका घडीपनि आए । तर, ती विचलनका घडीले मलाई गलाउन सकेनन् । पढाइबाट विमुख पार्न सकेनन् । भित्र दर्विलो इच्छाशक्ति र अटुट संकल्पले ती दुःखद् पलहरुलाई पराजित गरेँ ।
जब बिस वर्षको उमेरमा शिक्षण पेशामा छिरँे, त्यसपछि जीवनले एउटा सुललित लय समात्यो । आर्थिक संकटबाट सिर्जित अभाव र अनिश्चिताहरु दूर भाग्न थाले । त्यसपछिको जीवन पूर्णरुपेण पढ्ने, पढाउने र लेख्ने काममै समर्पित हुन थाल्यो । अपितु जीवनको गोरेटोमा हिँड्दाहिँड्दै जिन्दावाद मूर्दावादका जुलुशहरुमा मुठ्ठी उचाल्दै राजनीतिका राजमार्गमा पछुवा भएर पनि धेरै पलहरु बितेछन् ।
एउटा सचेत नागरिकको हैसियतले अल्लारे उमेरका धेरै पलहरु परिवर्तनकारी राजनीतिक दर्शनका पोथा पढ्नुमा, सिद्धान्तका सूत्रहरुमा घोरिनुमा र त्यसको अनुयायी बनी सडक किनाराबाट ताली पिट्नुमा पनि समयको ठूलो हिस्सा बितेछ । धेरै त कालोपाटीमा अक्षर बनेर छरियो जीवन । शब्द र संकथनहरुमा उनियो जीवन । नानीहरुलाई अनगिन्ती कथा भनेँ । जीव जनावरका कथा हालँे, चराचुरुङ्गी र किटपतङ्गका कथा हालेँ, मान्छेका कथा हालेँ । देवता र दानवका कथा हालेँ । कक्षाकोठामा पनि एक कथावाचकको रुपमा जीवनलाई छरिरहेँ ।
कथा हाल्ने क्रममा हरोद हिटलर मात्र सुनाइनँ, बुद्ध र वोधीधर्म पनि सुनाएँ । चङ्गेज खाँ, तैमुर र मुसोलिनीमात्र सुनाइनँ, माक्र्स र गान्धीपनि सुनाए । बावर वकासुर मात्र सुनाइनँ, विदुर विनोवा भावेपनि सुनाएँ । मानव सभ्यताका नायकी भूमिकामा आएका पात्रहरुपनि कथामा सुनाएँ, खलनायकी भूमिकामा आएका पात्रका पनि कथा हालेँ ।
कविताको सुर, ताल र लयमा पनि पोखियो अलिकति जीवन । विम्बमा अर्थका सुसेलीहरु हालियो । प्रतीकमा अर्थका संकथनहरु फुकाइयो । चक बनेर चकसितै कालोपाटीमा घोटियो जीवन । अक्षरको उज्यालो बनेर ममवत्ती जस्तै बस्ती बस्तीमा पग्लियो जीवन । विगत तीस वर्षदेखि त दैनिक जीवनका अधिकाँश हिस्सा अध्ययन–अध्यापनको अतल गरिहराइमा डुबुल्की लाउनुमा बित्यो । शास्त्र र सिद्धान्तका रौँचिरा रेसा केलाउनुमा छरिएर बित्यो । रोजीरोटीको भाते–धन्दामा अल्झिएर पोखिएका पलहरु पनि छन् मसित । हाडतोडा श्रमपछि विश्रामको गहिरो भाते–निद्रामा निस्लोठ सुतेर पनि बिते धेरै पलहरु ।
राग र वियोगका रोदनमा डुबेर बितेका पलहरु पनि छन् । अइया आत्थोका तड्पनमा, वह–वेदनाको चित्कारमा अनेकौँ चोटि दुखेका पलहरु पनि छन मसित । आफ्ना लागि कम अरुकै लागि बढी कुदाकुद गरेको, कुदाकुद मात्र होइन, त्यसमा घोटिएर, नाथिएर, खिइएर, विलिएर सकिएका पलहरु पनि छन् । यसरी नै आधा शताब्दीको मोटो आयु–किताब पन्ना–पन्ना उक्किएर, च्यातिएर सकिएको यथार्थ पनि छ मसित । मेरो हातमा पान्न सक्किएर बाँकी रहेका स्टीचका खिलकाँटी मात्र बाँकी छन् ।
यसै बिचमा एकबाट दुई भइयो । दुईबाट चार भइयो । निर्मोही एकल जीवनको परिसीमा तोडेर संसारी जीवनमा हाम्फालियो । अर्थात् गृहस्थ जीवनको वेडा उठाइयो । परिवार बालबच्चाहरुको लालनपालन, शिक्षा, स्वास्थ्यको खातिर गच्छेअनुसारको कमाइ गर्नै प¥यो । उनीहरुको पेट भोको रहन दिनु भएन, आङ्ग नाङ्गो राख्नु भएन । अक्षर र औषधिको पनि जोहोजतन गर्नै प¥यो । त्यसकै लागि कर्मक्षेत्रमा नारेको गोरु जस्तो मेलोमा डटिरहियो, डटिरहियो । घामपानी भोक–तिर्खा केही नभनी काम भन्दा ठूलो के छ ? यही मूलमन्त्र मनमा बोकेर पाठशाला धाइरहियो धाइरहियो ।
सुदूर गन्तव्य ताकेर हिँडेको यात्री आज पनि यात्राको प्रारम्भिक खुट्किलोमै अल्झिरहेको छु । मञ्जिल टेक्नुको सुखले भन्दा हिँड्नुको मजाले जितिरहेको छ मलाई । र, त यसै आनन्दले हिँडिरहेको छु लगातार । यात्राका क्रममा आएका कष्टलाई पानी ठानेर पिइरहेछु । जीवनका कठिन दर्दहरुलाई काँक्रो ठानेर चपाइरहेछु । यसरी वेगिन्ति पाइला हिँड्दाहिँड्दै बाटामै छरिएर बिते ।
जीवन एक यात्रा हो । पटक पटक बिसौनीहरुमा टेकान लाउनुपर्छ । थकाइ मार्नुपर्छ । दोबाटो–चौबाटोमा चौतारी र विश्रामालयहरुमा सुस्ताएर पनि बित्यो जीवन । सुस्केरामा सुसेलिएर पनि सकियो जीवन । कसैलाई कुर्दा–पर्खिँदामा पनि जीवनका अनमोल पलहरु खर्च भएका छन् ।
पचास वर्षका पलहरु चिन्ता र अवशादमा फँसेर मात्र बितेनन्, आनन्द र मगनमस्तीमा लवलीन भएर पनि बितेका छन् । कतिपय वेला निरर्थक बहस र बेकार माथापच्चिसीमा पनि फाँसिएको छ । अनावश्यक तर्कवितर्क र पोचा गफमा छरिएर पनि समय फाटेको छ । अनुत्पादक र सृजनविहिन भएर सकिएका पलहरुले अहिले पनि मलाई पश्चातापको पञ्चाग्नि तपाउँछन् । तर, त्यसप्रति कुनै खेद छैन । खिन्तता छैन । त्यसले पनि मलाई केही न केही सिकाएर गएको छ । अजम्मरी अक्षरहरु पढाएर गएको छ । अक्षय अनुभूतिहरु हृदयमा लिपिवद्ध गरेर गएको छ । निस्सार पलहरुले पनि सारलाई समात्न सघाएका छन् । निरर्थक बितेका दिनहरुले पनि आगतलाई सार्थक पार्न सहयोग गरेका छन् ।
अहिलेसम्मको जीवनका केही पलहरु अक्षर–यात्रामा टुकुटुकु हिँडेर पनि बितेका छन् । अक्षरमा छरिएर बितेका पलहरुले सर्वाधिक सुखद अनुभूति दिने गर्छन् । अनूभूतिहरु अक्षरमा छरिँदा, शब्दहरुमा उनिँदा अनिर्वचनीय आनन्दले छोप्ने गर्दछ । वाक्य र संकथनमा संश्लेषित भएर बगेका पलहरुले अप्रतिम सुख दिने गर्छन् । तर, दुःखको कुरा अक्षर साधनाको निम्ति अवकाश कम छ । अनेकन सुसे धन्दाले लुछ्तालुछ्दै बाँकी रहेको थोरै समयमात्र यसमा लगानी गर्न पाएको छु ।
अनेकन याचकका दुनाटपरीमा भाग लाउँदा लाउँदै बाँकी रहेको एक सानो बोहोता भरिको समय अक्षर–आरधनाको लागि चढाएको छु । सबभन्दा सुन्दर समय त त्यो लाग्छ– वृद्ध पिताजीका नङ काटिदिएका पलहरु, उहाँलाई बच्चालाई जस्तो नुहाइदिएमा पलहरु, तेल मालिस गरिदिएका पलहरुले अहिले पनि मलाई आनन्द दिन्छन् । पिताको सेवा र स्याहारमा बितेका पलहरु जीवनको सार्थक पल ठानेको छु ।
समय लामो छ । तर, मान्छेको स्मृति असाध्यै छोटो छ । अल्पकालीन छ । जीवन अरु कहाँ कहाँ छरियो त ? मेरो अहिलेसम्मको चेतनाले ठीक ठीक हिसाब गर्न पनि पाएको छैन । सबै पलहरुको एकएक हिसाब निकाल्न पनि गाह्रो छ । अतितका सारा पलहरु, अनुभूतिका अनेकन पुञ्जहहरु अचेतन मनको भण्डारमा त सुरक्षित बास बसे होलान् । तर, मेरो चेतन मगजमा थोरै चिज मात्र बाँकी छन् । सघन अनि गाढा मसीले कोरिएका कथामात्र बाँकी छन् ।
जीवनका सबै स्मृतिहरु युगयुग नेमटिने ढुंगामा कोरिएका अक्षर जस्ता हँुदैनन् । कुनै स्मृति हावामा कोरिएको अक्षर जस्तो छ । कुनै स्मृति पानीमा कोरिएको अक्षर जस्तो छ । कुनै स्मृति बालुवामा कोरिएको अक्षर जस्तो छ । हावामा कोरिएको अक्षर भन्दा थोरै मूर्त देखिन्छ पानीमा कोरेको अक्षर । पानीमा कोरेको अक्षरभन्दा निकै मूर्त र चीरकालीन हुन्छ बालुवामा कोरेको अक्षर । त्यस भन्दा पनि अझ मूर्त र अजम्मरी हुन्छ ढुंगामा कुँदिएको अक्षर । पत्थरभै कुँदिने खालका अनुभूतिका चाङहरु त अझसम्म पनि सिलो खोज्दा भेटेको छैन मैले । मेरो मगजमा उत्रिएको बालुवामा कोरिएका अक्षर जस्ता छरिएका जीवन–पलका सानो फेहरिस्त हजुरसामु अर्पण गर्ने धृष्टता गरेँ । आज यति मै विराम लिन चाहन्छु ।
(उदयपुर)