कुनै पनि राष्ट्र निर्माणका लागि धर्म, संस्कृति, जाति एवं भाषाको ठुलो भूमिका हुने गर्दछ। यी तत्वहरूको समानता हुने समूह वा संगठनले भिन्न राष्ट्र, राज्य एवं क्षेत्रको माग गर्ने गर्छन्। परिणाम स्वरूप आन्दोलन हुन्छ, संघर्ष हुन्छ, युद्ध हुन्छ, विनाश हुन्छ अनि अझ धेर हुन्छ राजनीति। यही प्रकरण समस्त विश्वको प्रवृति भएर आएको छ। इतिहास यसको साक्षी छ। दुनियाँमा लडाइँ हुने प्रमुख कारण नै सत्ता हो। जसको पछि जातिवाद, क्षेत्रवाद, साम्राज्यवाद, विस्तारवाद हुन्छ। यो कुरा पनि सत्य हो जाति एवं समान संस्कृति अनुयायीहरूको हित एवं उत्थानका लागि भिन्नै क्षेत्र एवं राष्ट्रको अत्यधिक आवश्यकता हुन्छ नत्र उसको अस्तित्व इतिहासमा मात्र भएर रहन्छ।
आफ्नो जाति र संस्कृतिको सुरक्षार्थका लागि मानव सधैं संघर्षशील रहन्छ। यो क्रममा कैयौं निर्दोष जनताको हत्या हुन्छ जसको कुनै पनि हिसाब नै छैन। यस्ता संघर्षका आन्दोलन टोल, राज्यदेखि लिएर विश्व स्तरमा हुन्छन् चाहे त्यो प्रथम एवं द्वितीय विश्वयुद्ध किन नहोस्। यो वर्चस्वको खेल अनादिकालदेखि वर्तमानसम्म चलिरहेको छ। कति इतिहास, उपन्यास, निबन्ध, कथा लेखिए त कत्ति लोक संगीत , नाटक, डाकुमेन्टी्र, एवं फिल्म बनिए त्यसको हिसाब राख्न भिन्नै अनुसंधान गर्नुपर्छ।
प्रत्येक देश, राज्य एवं क्षेत्रमा जाति एवं भाषाको पृष्ठभूमि राखेर भिन्नै राज्य नमागेको विरलै देश होलान्? दार्जिलिङ कै सन्दर्भ राखौं। यो गोर्खालीको बहुल क्षेत्र हो। अहिले यो पश्चिम बङ्गालको अभिन्न जिल्ला भए तापनि यस क्षेत्रका वासीले भिन्नै राज्यको माग गरेको १०० वर्ष भइसक्यो। सन् १९८६ एवं २०१०-११ प्रमुख रूपमा छुट्टै गोर्खाल्याण्ड राज्यको मागमा भएका आन्दोलन अझै आलै छन्। भारत देशमा गोर्खाको जनसंख्या अहिले दुई करोड जति छ। दार्जिलिङ एवं आसामका केही जिल्लामा गोर्खाहरू एकत्रित भएर बसेको स्थान छोडेर हेर्दा अन्य भारतका क्षेत्रमा गोर्खाहरू छरिएर बसेका छन्।
गोर्खालीहरूले सुरूदेखि नै विदेशी, प्रवासी जस्ता सम्बोधनले सधैं अपहेलित हुँदै आएका हुन्। इनीहरूले भिन्नै राज्यको माग गर्नु अधिकार पनि हो भन्ने अन्य राज्यका बुद्धीजीवि पनि देखिए। भिन्नै राज्यको मागमा अझ पनि गोर्खाली संघर्षशील रहेका छन्। दार्जिलिङ स्थानमा केन्द्रविन्दु भएर चलेका आन्दोलन सायदै भारतमा बस्ने कुनै गोर्खाली नागरिकले नसुनेका होलान्? आन्दोलनलाई मुख्य रूपमा दार्जिलिङका नागरिकले प्रत्यक्ष रूपमा देखे, भोगे, कैयौंले गोर्खाल्याण्डका लागि आफ्नो ज्यान पनि गुमाए। अन्य भागमा वास गर्ने गोर्खालीले सामाचर सुने, पढे या आन्दोलन भोगेका आफन्तबाट वृतांत सुने।
उपरोक्त पृष्ठभूमिको सन्दर्भ राखिएका कुरा गर्न लाग्दैछु मेरो हातमा परेको कालेबुङकी साहित्यकार मुन्नु गौतमको हालैमा प्रकाशित भएको उपन्यास ‘पर्वत सोमरा र गोम्बेहरू’ जसमा दार्जिलिङमा भएको गोर्खल्याण्ड मागको आन्दोलनको सन्दर्भ मुख्य रूपमा छ। पुस्तकको भूमिकामा गुप्त प्रधान स्वयं भन्नुहुन्छ दार्जिलिङ आन्दोलनको विस्तृत रूपमा ऐतिहासिक दस्तावेज, पुस्तकहरू कम लेखिएका छन्। सत्य पनि हो अनलाइनमा यसबारे सामग्रीको अनुसंधान गर्दा कम नै भेटिन्छ। अनुसंधान गरेर लेखेको भन्दा बढी भागेका नागरिकबाट लेखिको पृष्ठभूमि पढ्दा भिन्नै आन्दोलनको दुवै पाटा भेटिन्छ। आँखाको सामु आउँछ। दार्जिलिङ आन्दोलन सान्दर्भिक लेखनमा हालैमा तीन पुस्तक मसँग हात परे जसमा शिबु छेत्रीको ‘म उभिएको धर्ती’, मुन्नु गौतमको ‘पर्वत, सोमरा र गोम्बेहरू’ अनि बबिता मादेनको ‘१९८६ वास हराएपछि’। यस्ता लेखनको आवश्यकता पनि छ दार्जिलिङको इतिहास एवं आंदोलनबारे सत्यता जान्नलाई।
उपन्यासको आद्योपान्त गर्दा सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनलाई जीवन्त पाइन्छ। आन्दोलनको परिणाम स्वरूप भएको हिंसा, रोदन, त्रास, भय, डर, निर्दोषहरूको चिच्च्याहट, बर्बरता, विभत्स जनजीवन, आर्थिक संकट, भूखमरी लगायत आन्दोलनमा घटिएका सुक्ष्म घटना एवं दुखको पाटालाई उजागर गरिएको छ। स्वयं मुन्नु गौतम उपन्यासको कथानककी मुख्य पात्र साथै आन्दोलनलाई नजिकैबाट देखेर पनि होला उहाँले आन्दोलनका दुवै पाटालाई मथेर कतिपय प्रश्नहरू उठाएकी छिन्। आन्दोलनमा हिंसा हुनु अप्रत्यासित कुरा होइन तर आन्दोलनको आडमा असमाजिक तत्वले आन्दोनलाई असफल बनाउनु दुखित कुरा हो। यस्तै अदृश्य एवं अलेखीय पाटालाई पात्रको काधमा राखेर यस उपन्यासमा घटनाहरू वर्णित छन्।
तेत्तिस भागमा बाटेर ढाचा बनाइको उपन्यासमा चिठ्ठीको टुक्रा पढेर सुरूआत भएका शब्दले अक्षरान्दोलन गर्दै अभिमन्यु खण्डमा पुर्याउँदा अनेकौं प्रश्न साथै आन्दोलनका झ्याँल, दैला उदाङ्गो पारिदिन्छ। लेखिकाको मनको कुनामा सुप्त अवस्थामा बसेका आन्दोलनका स्मृतिहरू लकडाउनमा थुनिएको घडी कागज-पत्रको माध्यमले जीवित पार्छ।
‘क्रान्ति’ नामकी पात्रले मुन्नु गौतमलाई आन्दोनलका कथा भन्न लगाउनु पनि उपन्यासको आकार लिन मद्दत पार्छ। आन्दोलनले गोर्खाल्याण्ड प्रदान गर्न के कत्ति सफल भयो सर्वविदित छ तर आन्दोलनले जनमानस पटलमा के कत्ति त्रास दियो, उपन्यास भरी अनुभव गरिन्छ। यस्ता सन्दर्भ निकै ठाउँ फेला पर्छन्- स्वयं लेखिकाकी दिदी सुकुमाया आन्दोलनका बेला प्रसव पीडाले छट्पटाउँदा स्वास्थ्य केन्द्रमा आन्दोलनले स्वास्थ्य कर्मी नहुनु, आन्दोलनकारीलाई रोक्न सरकारको आदेशमा सी.आर.पी.एफ. ले हात छोडेर बिहोश हुन्जेल माटो कोच्चाई-कोच्याई कुट्नु, गाउँ घरमा बास बस्न खोजेका कुखुरा, हाँसको चल्लादेखि भोकाएका बाछा-बाछी, गाई बाख्रासम्म गोलीको प्रकोपले हल्ला मच्चाउनु, केन्द्रका वर्दीहरूले खुकुरी, हँसिया प्रयोग गर्दै घरेलु कामका खटेका मानिससम्मलाई गोली ठोक्नु, घरबाट बोलाएर, तानेर, घिसारेर लगी हत्या गर्नु, जघन्य हत्यामा दिनहुँ लोग्नेका हत्या गरी शरीरको अंश विधवा स्त्रीलाई पठाउनु, रातिपख लाग्नेमान्छेले घर छोडेर जंगल बास बस्नु भाग्नु, पत्रकारहरू मारेर टाउको झुण्डाउनु सार्वजनिक ठाउँमा, आन्दोलनकारी लडेर आपसमै हत्या गर्नु, यस्ता कतिपय घटनाहरूको कथ्यले मन पढ्दा-पढ्दै त्रासमय हुन्छ।
आन्दोलन रोक्ने सी.आ.पी.एफ. ले यस्ता घटनालाई अंजाम दिए तर आन्दोलनको आडमा असमाजिक अपरिपक्व, अनपढ आन्दोलनकारीले त्रास फैलाउनु गोर्खाल्याण्ड मागको उदेश्यमाथि कलंग थियो। पर्वतमा घटेका भयलाग्दा घटनाले कति परिवारले आफ्ना छोराछोरीलाई घरबाट अन्य राज्यमा भगाइएको पनि मुन्नु गौतमले कत्ति पात्रबाट पाठकमाझ राखेकी छिन् जसमा ‘पलायन’ छुट्टै एउटा भाग नै छ।
पर्वतमा अन्य ठाउँबाट काम गर्न आउने कर्मचारीको आन्दोलनले उनीहरूको आयश्रोत एवं कार्यस्थल आन्दोलनकारीले तहस नहस गरेका जस्ता निर्मम घटना ‘जुँगे मोची भैया’ भागमा पढिन्छ। ‘जंगी नेता’, ‘जंगी गुट’ को संदर्भ लिँदै आन्दोलनलाई दिशा दिने अनपढ नेताको बुद्धजीविले सेवा गरेको व्यंगता पनि उदृत छ। चालिस दिनको बन्दमा पर्वत ठप्प भएको एवं लगभग दुई वर्षको निरंतर संघर्षमा लघु एवं गृह उद्योग बन्द भएर आर्थिक संकटले पर्वत चोटिल भएको स्थितिले दार्जिलिङवासीलाई राज्य भन्दा पेटलाई खुराकको खाँचो भएको आभास गराउँछ।
आन्दोलनका कार्यन्वयन गर्ने अनपढ कार्यकर्ताले आन्दोलनको उदेश्यलाई खोट पुर्याउन केही कसर छोडेनन्। सन्दर्भ छ जब तत्कालिन प्रधानमंत्री राजीव गाँधीले कालेबुङमा केही दिनका लागि आएका भूटाने राज परिवारका सदस्यालाई एक टोकरी अल्फन्सो आँप पठाउँछन् तर बाटो मै अबुझ एवं अपरिपक्व आन्दोनकारीले लुट्छन्। मुन्नु गौतम स्वयं साक्षी छिन् आन्दोलनलाई गति दिन ठाउँ ठाउँ नारा लेखेर टाँसिन्थे तर लेख्ने ढंग नभएर मुन्नु गौतमसँग सहायता मागेर आन्दोनलकारी हास्यको पात्र भएको लेखिका ठाउँ-ठाउँमा व्यंगता छर्छिन्।
आन्दोलनले शिक्षाको क्षेत्रलाई बढी असर पारेको तथ्य पनि उपन्यासमा स्थान दिइको छ जब गाउँका विद्यार्थी प्राथमिक शिक्षा पश्चात् सुदुर स्थित विद्यालयमा जान अभिवाहकले आन्दोलनको डरमा दिँदैनन्। यो विडम्बना हो, आन्दोलकारीको दूरदर्शिता नभएको प्रमाण हो।
दार्जिलिङसँग सम्बन्ध बाधेर उपन्यासकारले कतै-कतै ऐतिहासिक सन्दर्भका जानकारीमूलक तथ्यहरू पनि फेला पर्छन् चाहे त्यो नेपाल-भारत मैत्री सन्धि १९५०, भाषा आन्दोलन, भूटानका राज परिवारको कालेबुङसँगको नाता होस् या इन्दिरा गाँधी हत्यको कुरा होस्। पात्रको निर्माणको साथै अनुसन्धानको कार्य गरिएको छ भन्न पनि विश्वास जाग्छ पाठकमाझ।
‘सिन्दुरको टीका के टीका
बिन्दुली टीका के टीका
माटोको टीका राजा टीका
माटो टीका रानी टीका।’
आन्दोलनलका लागि शंखनाद गर्ने सुवास घिसिङले जनता माझ आत्मविश्वास र रगत बगाउन पछि नसर्ने मनमा जाशीला भाषण दिएको एवं उपरोक्त नारा जता-ततै पोस्टरिंग गरेर आन्दोलनलाई गतिमान पारेको थियो। यस्ता अन्य नारा, ‘गोर्खाल्याण्ड पाएपछि सुँगुरले पनि नुनिया चामलको भातर खाने पाउनेछ’, ‘बुन्दुकको गोली सकिन्छ, खुकुरी कहिल्यै सकिँदैन’, ‘हामीलाई पढेको मान्छे चाहिन्दैन’ यस्ता नाराले जनमानसको हृदय पटलमा असर पारेपछि आन्दोलनमा सम्मिलित हुन बाध्य पार्छ। भाषा आन्दोलन, तत्कालिन प्रधान मोरारजी देसाईको ‘नेपाली भाषा विदेशी भाषा हो’ भनाईले गोर्खालीमा आक्रोश, २०१० मा तेलंगनालाई भिन्न राज्य प्रदान गरेको सन्दर्भ जस्ता दस्तावेज राखेर गोर्खाल्याण्ड मागको आन्दोलनमा तीव्रता आएका कारणहरू पनि उल्लेखित छन्।
गोर्खाल्याण्ड पाउने उद्देश्य महान थियो जो गोर्खाहरूले गत १०० वर्षदेखि लडी आएको सपना हो। यसप्राप्ति दार्जिलिङमा धेरै आन्दोलन अग्रतासँग भए तर गोर्खाल्याण्ड माग अझ पूर्ण भएको छैन। यो उपन्यासका पटकथाले त्रास एवं पर्वतवासी कैयौं वर्ष पछाडिएको संदर्भमा पश्नै पश्श्न खडा गरेको छ। आन्दोलनलाई दिशा दिने दिशाहीन, अनपढ, अपरिपक्व, अपूर्ण योजनामा निस्केका अशिक्षित नेतृत्वले आन्दोलनलाई विफल बनाएको कारणहरू प्रष्टतासँग फेला पर्छन्। उपन्यासाको अन्तिम भाग ‘अभिमन्यु’ मा जसरी अभिमन्युबिच कुरुक्षेत्रमा चक्रव्यूको अर्ध ज्ञानले वीरगति प्राप्त गर्छन् त्यसी नै अर्धज्ञान र उद्देश्यहीन भएका नेताले आन्दोलनमा कैयौं निर्दोष जनतालाई मृत्युको मुखमा पुर्याएको वृतान्त दिँदै उपन्यासलाई बिट मारिएको छ।
उपन्यासको अर्को पक्षमा दृष्टि हाल्दा दह्रिलो पात्र नमिल्दा असंतुष्टि लाग्न सक्छ पाठकलाई। सुरूदेखि अन्तसम्म लेखिका बाहेक अरू पात्रको दुई-तीन भाग छोडेर त्यी विशेष पात्रको उठान भइसक्दा टुङिन्छ भने कुनै कुनै पात्रको पात्रत्व सान्दर्भिक नलाग्नतिर जान्छ पाठकीय चेतना। उपन्यासमा पात्र समातेपछि उपन्यास नसकी पुस्तक राख्न मन हुँदैन तर यहाँ कसिलो पात्रको अभावले पृथक पृथक पढ्नका लागि अवसर दिएको छ।
प्राय: भाग छोटा छोटा लेखेर लेखिकाको सन्दर्भ अधिक पाउँदा संस्मरण हो कि भन्नतिर पनि लागिन्छ भने प्रत्येक भागको सुरूवात अनि अन्तमा गौरआख्यान हुनाले निबन्धको बासना पनि आउँछ। यो उपन्यासको छुट्टै शैली भन्न पनि सकिन्छ। भाषाशैली रोचक छ। अंग्रेजीको शब्दको प्रयोग छैन। शब्द भण्डारमा लेखिका धनवान् छिन्। सन्धि गरेका शब्दको प्रयोगले वाक्य कसिला एवं गुणवान् भएको प्रतीत लाग्छ।
दार्जिलिङ आन्दोलनको नेपथ्यको दृश्यबाट अनभिज्ञ हुने सम्पूर्ण गोर्खाली एवं नेपाली भाषीको ज्ञान हुनेले यो जानकारीमूलक उपन्यास पढ्न अत्यावश्यक छ। ‘पर्वत सोमरा र गोम्बेहरू’ उपन्यास मात्र नभएर ऐतिहासिक दस्तावेज हो, महाभारतमा कुरुक्षेत्रको युद्ध निष्पक्षपूर्वक बर्बरिकले हेरे समान हो।
पुस्तकको व्यापक सफलताका लागि हार्दिक शुभकामना।
(मणिपुर)