मेरो गाउँमा भ्यागुतानन्दहरुको घरै घर छ, जल, थल सबैतिर । भनौँ म पनि ती भ्यागुतानन्दहरुको आनन्दानुभूतिलाई सर्वस्व ठानेर हायसञ्चो मानेर दिन काटिरहेको छु उनीहरुकै सारमा । घरघरमा भ्यागुतानन्दहरु वर्षा वन्दना गरेर बस्छन । भ्यागुतानन्दहरु घरमा बस्दा चन्दन टीका लाएर आकाशतिर फर्केर ट्वार्रटवर्र गरिरहन्छन भने घर बाहिर हुँदा सर्पहरुको क्रियाकलाप नियालिरहन्छन् । यता न्याउरी मुसाको सर्प सर्च अभियान कार्य प्रति अत्यन्त खुशी भएका भ्यागुतानन्दहरु चाहिँ किरा फट्याङ्ग्रा सर्च अभियानमा थिए भने सर्पहरु चाहिँ भ्यागुतानन्दहरुको सर्च अभियानमा लागेका थिए । भनौ सबै आ आफ्नै धुनमा घुन बन्ने उधुममा उद्यत थिए ।
आफू परियो भान्से बन्ने मान्छे तर छिमेकीहरु परे भ्यागुतानन्दहरु आनन्दले ट्वार्र ट्वार्र गर्दै दिनरात कटाउने । न शोक न भोक न चिन्ता न सुर्ता । बिकार युक्त शिकार खान पाए मस्तानन्दमा । कामीको आरनमा जडित खलाती जस्तो भ्याकुम फुलाएर पृथ्वीलाई जलामय पार्न पाए भ्यागुतानन्दहरु गजानन्द हुन्थे । उनीहरुको भ्याकुम शैली गाँडानन्दको थैली जस्तो छ । गाँडानन्दको थैली भिर्ने शैलीसँग ठ्याक्कै मेलखाने भ्यागुतानन्दहरुको भ्याकुम पृथ्वीका किरा फट्याङ्ग्रा नपाउञ्जेलसम्म हो, पाएपछि सर्पानन्दहरुको मुखमा आनन्दले आराम गर्छन । किरा फट्याङ्ग्राहरुका लागि हराम बन्ने र सर्पका मुखमा परेपछि आराम गर्ने ।
म भ्यागुतानन्दहरुको छिमेकी भै टोपलेको नाताले भ्यागुताहरुलाई भाटाले भिलेन भएर हान्न पनि मिलेन । सर्पको डर देखाउन पनि मिलेन । बकुल्लाको जस्तो ध्यान गर भन्न पनि मिलेन । सधैँ भ्याकुम शैलीमा आँखा पल्टाउँदै थैली भिरेर ट्वार्रट्वार्र गर्दै हिडन पल्केका उमेर ढल्केका भ्यागुतानन्दहरु समाजमा नमाज पढन हिच्किचाउँछन र अरुलाई बिच्क्याउँछन् । कुवाबाट उम्केर जुवामा पुग्न नपाउँदै पुवा खाएर भुवा र रुवामा रुमलिएर भ्यागुतानन्दहरु उफ्रानन्द हुन्छन् ।
छिमेकी कहाँमात्र होइन सात समुन्द्रसमेत वारिपारी गरिरहने यी भ्यागुतानन्दहरु कहिले पानीमा त कहिले जमिनमा जमानन्द हुन्छन । कहिले शिकारको खोजीमा रोजी रोजी ठाउँ कुठाउँ बेनामे गाउँतिर भाउ खोज्न भ्याकुम चलाउँछन । गाँडमा झुण्ड्याएको थैली जस्तो भ्याकुमे शैली फुलाउन थाले पछि वरपरका शिकारहरु बिकार भएर निखार हुन्छन । यी भ्यागुतानन्दहरुको भ्याकुम शैलीले म मानवको मात्र होइन उनिहरुकै वंसजहरुको समेत दिमाग खाएको छ । दिनहुँको ट्वार्र ट्वार्रले म मानवलाई बसाइँ नै सार्ने जस्तो अवस्थामा लैजाला जस्तो लागेको छ । बेला न कुबेला बेमौसमी बाजा बजाएर असामाजिक प्राणीका रुपमा दरिएको प्रमाण हाम्रा सामु भए पनि भाटे कार्वाही गर्न पनि अब जीवजन्तु अधिकार कर्मीहरुले अवरोध गर्ने कुरामा म शून्य आना नै विश्वस्त छु । किनभने योे प्राणी मानवभन्दा चलाख भएकोले भाटा हातमा लिन नभ्याउँदै उफ्रेर कुन दुलोमा पस्छन थाहा पाइदैन । दुलो पता लाउन फेरि तेह्र बज्न सक्ने भएकोले उनिहरुको सेरोफेरोमा मेले घेरो नहाले पनि हुन्छ भन्ने सोच बनाएर मैले भ्यागुतानन्दहरु उपर होहल्ला गरेर बातावरण बिगारेको आरोप लगाउने तयारी गर्दैछु ।
यी भ्यागुतानन्दहरु कोही जनाधार बिना नै कोही उफ्रेर उपल्लो ठाउँमा त कोही मध्यभागमा र कोही तल्लो तहमा अर्थात कोही आकाश मुनि कोही बादल लाग्ने ठाउँमा त कोही जमिनसम्म पुगेका छन् । अब यस्ता बेठेगानका उफ्रानन्दहरुलाई आरोप त लाउने बिचार गरे तर बिचारको निखारले भने म आफैलाई निचोर नाचोर पार्ने सम्भावना देख्दैछु । किनभने म छिमेकी भएको नाताले उनिहरुको घच्चपच्च मैले सहन गर्ने क्षमता नराख्नु भनेको मेरो अहमता हो । म भन्दा ठूलो ठाउँमा, ठूलो पदमा पुगेर ट्वार्र ट्वार्र गरेकै भरमा ठूलो मान्छे बनेका भ्यागुतानन्दहरुले भोलि मलाई नै उफ्रदै आएर टाउँकामा टेके भने म मानव भएको कुनै अर्थ रहदैन ।
साँच्चै भन्ने हो भने ट्वार्र ट्वार्रको भरमा गाउँको पोखरी, कुवामा रजाई गरेर बसेकाहरु आज सात समुन्द्र पारी गएर आफ्नो थात थलोका बारेमा भलो कुभलो सबै बेलि बिस्तार गर्न थालेका छन् । कोही आफ्नो गाउँको विकासका लागि आफ्नो नाउँ पनि बेचेर आएका छन् भने कोही गाउँ नै अर्कालाई जिम्मा लाएर आफू शरणार्थी भएर बस्ने कुरा गर्छन । भ्यागुतानन्दहरुको यस्तो उफ्रानन्द प्रवृतिले मलाई कताकता भित्र मनमा चिसो लाग्यो र गाउँको चित्र कोरे । चित्रमा आफुलाई बाहिर राखेर हेरे तर आफैलाई अमिल्दो लाग्यो आफ्नो गाउँको बसाई र राजिनामा दिने सोच बनाए गाउँबाट । भ्यागुतानन्दहरको गाउँ न ठाउँ मिलेको न नाउँ मिलेको ।
पछि एउटा हल्ला सुने मैले भ्यागुतानन्दहरु एकापसमा ट्वार्र ट्वार्र गर्दै आगो बाल्दैछन रे गाउँमा । आगो बालेर निभाउनेतिर भन्दा आगो अन्यत्र पनि सल्काउने र आफ्नै आपसी एकतालाई भत्काउने भाँडनेतिर लागेका । फेरि जीवजन्तुहरुको न्यूनतम सभामा प्रमुख अतिथि भएर गएका भ्यागुतालाई वक्ताका रुपमा गएका सर्पहरुले लखेटेर निले । दर्शक श्रोताका रुपमा गएका न्याउरीमुसाहरुले सर्पलाई आफ्नो आदेस पालना नगरेको अनि बिरालाहरुले मुसालाई आफूहरु धेरै दिनदेखि भोको बस्नु परेको आरोप लाएर लखेटे । लखेटालखेट गर्दा गर्दै भ्यागुतानन्दहरुको एकान्त भागदौड भेलाले बेला न कुबेला सर्प, न्याउरीमुसा, बिरालाहरुको एकाधिकार अन्त्य होस् भन्दै गाउँमा ठाउँ जमाए ।
जीवजन्तुहरुको बेला न कुबेलाको भेलाले अधिकतमसभा, मध्यमसभा र न्युनतमसभाको आयोजना गरेर सर्प, बिराला, न्याउरीमुसाहरुको पुँजीवादी सत्ता र साम्राज्यवादी नीतिको अन्त्यका लागि शोक प्रस्ताव पारित गर्न नपाउँदै सर्प, बिराला र न्याउरीमुसाहरुले भ्यागुता, मुसा र सर्पहरुकै बिरुद्धमा आमहडतालको आयोजना गरे । यहाँ न्याउरीमुसा र सर्प बिच मान मर्दनका बारेमा बैरीतापूर्ण युद्ध भयो । कारण सर्प न्याउरी मुसाको आहारा र भ्यागुता सर्पको आहारा भएकोले भ्यागुतोले न्याउरी मुसालाई घनिष्ट मित्र मानेकोमा सर्प रुष्ट भयो । आफ्नो आहारालाई न्याउरी मुसाले भगाउने काम गरेको र आफूहरु भोकै बस्नु परेको हुँदा भ्यागुतानन्दहरुको भ्याकुम शैलीले सर्पहरुको अस्तित्व समाप्त भएकोमा छेपारानन्दहरु समेतले ताली बजाएर बाली खाने, गाली खाने काम सफलता पूर्वक गरेकोमा मुसाहरुलाई सबैले धन्यवाद दिएर बिरालोलाई छक्याएका थिए ।
(उदयपुर)