विहान भएको थियो । मनप्रसाद सधँै जस्तो बाहिर बेतको कुर्सीमा बसेर पत्रिका पढ्दै थिए । बिहान पाँच बजे नै उठेर नित्यकर्म सकी हल्का कसरत गर्थे उनी । त्यसपछि घामको कलिलो तातो लिँदै पत्रिका पढ्ने उनको आदत नै थियो । कलिलो घामबाट भिटामिन डि प्राप्त हुन्छ । पहिले पहिले त परिवारका सबैलाई कलिलो घामको प्रकाश शरीरमा पर्नेगरी बस्न अह्राउँथे उनी । आफू पनि भेष्ट र हाफ पाइण्ट लगाएर बस्थे–जाडो होस् वा गर्मी । तर अब त उनको कुरा कसले सुन्ने ?
श्रीमतीले चिया ल्याइन् । छेउको टेबुलमा चियाको कप राख्दै उनी पनि सँगैको अर्को कुर्सीमा बसिन् अनि अलिकति कुरा खोतल्न थालिन् ।
”छोरीको बारेमा सोच्नुपर्ने हो ।” सुस्तरी कुरा राखिन श्रीमतीले ।
“किन र ? लेखपढ गर्न छोडी ?” मनप्रसादले पत्रिकाबाट आँखा कत्ति पनि नहटाइ बोले ।
श्रीमतीले कर्के आँखाले हेरिन् मनप्रसादलाई । एकछिनसम्म घोरिएर हेरिरहिन् अनि अलि प्याउलिँदै बोलिन् “छ्या, हजुर पनि ! पढाइ त धेरै राम्रो छ नि । अब बिहेको बारेमा पनि सोच्नुपर्ने हैन र !”
“बेला भयो र ?” मनप्रसादले प्रतिप्रश्न गरे ।
“सत्ताईस बर्ष पुगिसकी कविता । घरको त कत्ति पनि वास्ता छैन हजुरलाई ।” चोसो बंग्याउँदै भनिन् श्रीमतीले ।
मनप्रसाद एकछिन घोरिए अनि सुझाव दिए,“रमेश ज्वाइँलाई भन न, वहाँले कोही केटा देख्नुभएको छ कि !”
“आऽऽ । हुन्न उनलाई भन्न । बरु हजुरले यसो मालपोेत, कर अफिसतिर काम गर्ने कोही छन् कि, आफैं खोजिस्यो न साथीभाइहरुलाई भनेर । भन्सार अफिसबाट रिटायर्ड भएको मान्छेको छोरी खोज्न त मान्छेहरु लाइन लाग्नुपर्ने हो ।” श्रीमतीले मनप्रसादको प्रस्ताव ठाडै अस्वीकार गरिन् ।
करीब दुई बर्ष अघि ज्वाइँ रमेशले साली कविताको विवाहको लागि प्रस्ताव लिएर आएका थिए । मनप्रसाद र उनकी श्रीमतीसँगै बसेका थिए उनले कुरा राख्दा ।
“खानदान के हो ? पेशा के छ केटाको ?” मनप्रसादले कुरा बुझ्न खोजेका थिए ।
“केटा एम.ए., एम. एड. हो । एम.फिल.को लागि तयारी गर्दैछ । उच्च मा.वि.मा पढाउँछन् बानेश्वरको एउटा सरकारी स्कूलमा । स्थायी हुन् । छब्बीस बर्ष उमेरको । आमा छैनन्, बुवा उतै पूर्वतिर नै बस्छन् । बुवा पनि शिक्षकबाट रिटायर्ड भएका हुन् ।” एकै सासमा रमेशले कुरा राखेका थिए ।
रमेश ज्वाइँको कुरा सुनेपछि मनप्रसादकी श्रीमतीले चोसो बंग्याउँदै भनेकी थिइन् “खानदान नै मास्टर ?”
रमेश ज्वाइँ नीलाकाला भएका थिए त्यो बेला । त्यसपछि त उनले कहिल्यै साली कविताका लागि केटा हेर्नतिर लागेनन् । उसो त मनप्रसादहरुले पनि उनलाई फेरि केटा खोजिदिन भनेनन् ।
अलि पछि मनप्रसादले एकान्तमा श्रीमतीलाई “किन मास्टर भनेर होच्याएकी ? ज्वाइँको चित्त दुख्दैन?” भनेर सम्झाउँदा पो यत्ति लामो जिब्रो निकालेकी थिइन् मनप्रसादकी श्रीमतीले ।
रमेश ज्वाइँलाई उनी त्यति मन पराएजस्तो गर्दिनथिन् । ससुराली आएको बेला मनप्रसादसँग यसो सामान्य भलाकुसारी मात्र हुन्थ्यो रमेशको पनि । छोरी सविताले आफैंले रोजेर माध्यमिक विद्यालयका शिक्षक रमेश गुरागाईँसँग विहे गरेकी थिइन् । कलेज पढ्दा दुबैको प्रेम भयो । प्रेमलाई तोड्न मनप्रसाद र उनकी श्रीमतीले कम्ता कोसिस गरेका हैनन् तर केही जोड् चलेन । छोरी सविताले साह्रै हत्ते गरेपछि एउटा मन्दिरमा लगेर केटा पक्ष र केटी पक्षका केही मानिसहरु मात्र भेला गरेर सिन्दुरपोते गराएका थिए । रमेश ज्वाइँका घरपरिवार पनि आर्थिक रुपले मनप्रसादभन्दा कमजोर नै थिए । त्यही भएर पनि ज्वाइँ रमेश ससुराली घर जान अलि हच्किन्थे । छोरी सविता त माइतीमा गइरहन्थिन् । माइती काठमाण्डौको नयाँ बानेश्वर र घर भक्तपुरको नलिन्चोक । धेरै टाढा हैन । चाडपर्वको बेलामा बाहेक रमेश ज्वाइँ ससुराली घरमा त्यति जाँदैनथे पनि ।
झण्डै छ महिना कस्सिएपछि भनेजस्तो ज्वाइँ पाए मनप्रसाद र उनकी श्रीमतीले ।
“राजस्वको अधिकृत हुनुहुन्छ हाम्रो हुनेवाला कान्छो ज्वाइँ ।” मनप्रसादकी श्रीमतीले छिमेकी आफन्तसँग थुतुनो गजक्क पार्दै भनिन् ।
धुमधामसँग विवाह भयो, राजस्व अधिकृत सन्जिव न्यौपानेसँग छोरी कविताको । निम्तो मान्न आएका छिमेकी र आफन्तहरुले कसको घाँटीमा कस्तो हार र माला छ भनेर खुब हेरे । पुरुषहरुलाई भन्दा महिलाहरुलाई बढी चासो हुन्छ गहनाहरुमा ।
“राजस्वको अफिसबाट रिटायर्ड कर्मचारीसँग पैसैपैसा हुन्छ भन्छन क्यार ! विवाहको ताउरमाउर हेर्दा त त्यस्तै हो कि भने जस्तो लाग्यो ।” एकजना महिलाले कुरा गरिन् ।
“ज्वाइँ पनि राजस्वको अधिकृत रे !” टाउकोमा कपालको अग्लो जुरो बनाएकी पातली पातली जीउकी अविवाहित केटीले भनिहालिन् ।
“धनी केटो भएपनि हेर्दा त कान्छो ज्वाइँ भन्दा जेठो नै हेण्डसम लाग्यो मलाई त ।” अर्कीले रातो सिफनको साडीको सप्को मिलाउँदै भनी ।
“हि..हि..हि..हि..” त्यहाँ बसेका सबै महिलाहरुले दाहिने हातले मुख छोप्दै खित्का छोडे ।
विवाहको काममा जेठो ज्वाइँ रमेश गुरागाईँले धरै सहयोग गरे । किनमेल, निम्तो दिने काम त हप्ता दिन अघि नै सकेका हुन् । विवाह भइरहेको समयमा पनि तलमाथि, दायाँबायाँ सबै बन्दोवस्त गरे उनले । दाइजो पनि मन फुकाएर दिए मनप्रसादले । कान्छो ज्वाइँको आर्थिक हैसियत भन्दा तल्लो त देखाउँन मनप्रसादलाई पनि किन मन लाग्थ्यो र ! तीन तारे होटलमा पो कार्यक्रम राखेका थिए उनले ।
नयाँ ज्वाइँ सन्जिव न्यौपानेको ठाँटबाँट अर्कै थियो । टाई र कोट अनि आँखामा फेसनदार चस्मा उनको सँधैको पहिरन । छेउमा पुग्दा अत्तरको वासना मग्मग् आउँथ्यो । गाडी थियो उनको । “असी लाख परेको हो यो गाडीलाई ।” गाडी सुम्सुम्याउँदै साथीभाइहरुसँग सन्जिव कुरा गर्ने गर्थे ।
जेठो ज्वाइँ रमेश गुरागाईँको जीवनशैली सामान्य थियो । बिहान घरमा ट्युसन पढाउँने । त्यसपछि खाना खाएर विद्यालय जाने । बेलुकी पनि उतै अतिरिक्त कोचिङ्ग कक्षा लिएर आठ÷साढे आठ बजे घर आउँथे । विद्यालय समयपछि आधा÷पौने घण्टा विद्यालयकै एउटा कोठामा विपन्नहरुलाई निशुल्क पनि पढाइदिन्थे । त्यसपछि कोचिङ्ग सेन्टर जान्थे । सामान्य सर्ट पाइण्ट उनको पहिरन । जाडोको समयमा सर्टमाथि ज्याकेट हुन्थ्यो । विद्यालयबाट फर्कँदा हत्केलाको छेउछेउमा कहिले चकको धुलो हुन्थ्यो अनि कहिले मार्कर कलमको डाम ।
विवाह सकियो । सम्धि÷सम्धिनी भेट् पनि गजबले गरे मनप्रसादका परिवारले । विवाहको पर्सिपल्ट हो सम्धि÷सम्धिनी भेट् गरेको । कान्छो ज्वाइँ अर्थात सन्जिव न्यौपाने दुल्हन फर्काउने कामका लागि ससुराली आएका थिए । मनप्रसाद र उनकी श्रीमतीले छोरी कवितालाई लिएर ज्वाइँकै घरमा सम्धि÷सम्धिनी भेट्का लागि जाने निधो गरे । सम्धि÷सम्धिनी भेट् गर्न जाने भनेर बेलुकी आमाले फोन गरेकी हुँदा जेठो ज्वाइँ र छोरी सविता बिहानै त्यहाँ आएर कान्छा ज्वाइँको घरतिर लागेका थिए ।
कान्छा ज्वाइँका बहिनी, भाउजु, बुहारी सबैका लागि महंगा महंगा साडी उपहारका लागि तयार थिए । सम्धि र सम्धिनीलाई एक÷एक तोलाकै सिक्री लगाइदिए मनप्रसाद र उनकी श्रीमती मिलेर । जतिसुकै पैसावाल भएपनि सम्धि÷सम्धिनीले लगाइदिएको सिक्री देखेर छातीभित्रैबाट हर्ष उम्लिएको थियो कान्छा ज्वाइँका बुवाआमाको । अनुहारमा मज्जाले देखिन्थ्यो उम्लिएको हर्ष ।
त्यति धेरै सामाग्री दिने भन्ने कुरा जेठी छोरी सवितालाई कसैले भनेको पनि थिएन । जेठी छोरी सवितालाई अलि खल्लो लाग्यो । उनको विवाह हुँदाको सम्धि÷सम्धिनी भेट्मा झर्के थालीमा साडी र फलपूmल राखेर दिएका थिए । विवाह भएको दुई बर्षपछि आधा तोलाको सुनको बाला आमाले सवितालाई थपिदिएकी थिइन्, त्यो पनि “विहेमा केही दिन पाइएन, लैजा !” भन्दै ।
रुन्चे रुन्चे अनुहार पारेर सविताले रमेशलाई हेरिन् । रमेशले पनि पुलुक्क सवितालाई हेरे अनि आँखाको इसाराले सान्त्वना दिन खोजे ।
सम्धि÷सम्धिनी भेट् सकिएपछि उनीहरु कान्छा ज्वाइँ र छोरीलाई त्यहीँ छोडेर फर्किए । आमाको करले गर्दा त्यो दिन सविता माइतीमै बस्ने भइन् अनि रमेश अर्थात जेठो ज्वाइँ पनि श्रीमतीको अनुरोधमा त्यहीं बसे ।
राति कोठा बन्द गरेपछि एक्कासी सविता भक्कानिइन् । आवाज बाहिर ननिस्कियोस् भनेर दुबै हातले मुख थुनिन् र आँखाबाट धरधरी आँशु झारिन् । त्यो रोदनको कारण रमेशलाई थाहा भइहाल्यो ।
“यति कमजोर किन बनेकी ?” रमेशले अंकमाल गर्दै सोध्यो ।
“किन, किन चित्त दुख्यो । म र बैनीमा यति फरक गर्नुभयो बुवाआमाले ।” नाकलाई आफ्नो दाहिने बाहुलामा दलेर सुँक्क गरिन् सविताले ।
“कति चित्त दुखाएकी त तिमीले ? झुत्राझाम्रा अलिकति कम प¥यो भनेर दुःख मान्नु हुन्न । मरेर जाँदा सुनको सिक्री बोकेर लाने हैनन् कसैले । फोस्रो आडम्बरमा रम्नेहरुलाई रम्न देऊ । भनेजस्तो मिठो मसिनो खान र रोजेको कपडाले जीउ ढाक्न पाइएकै छ नि !” रमेशले ढाढस् दिन खोजे ।
“त्यो त ठीक हो, तर हेर्नु न ज्वाइँको फूर्ति । विहे गरेर दुल्हन फर्काउन आउँदा त यस्तो छ, पछि के होला ?” आँखाको गेडीलाई मास्तिर पारेर रमेशतिर हेर्दै भनिन् सविताले ।
रमेश चुप लागे ।
“मास्टरी पेशाले जीवन धान्न सजिलो छ ? पो अरे ! ज्वाइँ बन्न नपाउँदै यति ठूलो घमण्डी कुरा ?” सविता भुत्भुताउन थालिन् ।
रमेशले अनेक कुरा गरेर उनलाई सम्झाए । भोलिपल्ट त्यो घर अर्थात बानेश्वरबाट नलिन्चोक जान हिँडे रमेश र सविता । आमाले ढोका छेउमा पुगेपछि भनिन् “यो शनिबार आउनु है । कान्छा ज्वाइँ छोरी पनि आउँने रे । कान्छा ज्वाइँले हामी सबैलाई डिनर खान लैजाने रे सोल्टी होटलमा ।” आमा अर्थात मनप्रसादकी श्रीमतीले हँसिलो अनुहार पार्दै भनिन् ।
सविताले केही बोलिनन् । रमेशले चैं “खै, के हुन्छ, हेरौं !” मात्र भने ।
“त्यसो भनेर हुन्न ज्वाइँ ! सोल्टी होटलको डिनर तपाईँ हामीले पाउँनु त ठूलो अवसर हो नि ! आउनैपर्छ ।” आमाले जिद्दी गरिन् । सविता र रमेश हात जोडेर निस्किए । अरु केही भनेनन् ।
दिदी र बहिनीबीच अलि बेग्लैखालको द्वन्द निरन्तर चल्न थाल्यो । व्यक्तिगत सम्बन्धमा नराम्रो त भएन तर व्यवहारबीचको अन्तद्र्वन्दले दिनदिनै चर्को रुप लिँदै गयो ।
कान्छो ज्वाइँ सन्जिव सरर्र कार लिएर एकदुई दिन बिराएर आइपुग्थे । कतै जाऔं भनेर जिद्दी गर्थे । पैसावाल मानिसलाई घुमफिर गर्न सजिलो हुने नै भयो तर रमेश त शिक्षक हुन्, बिहान बेलुकाको ट्युसन नपढाइ घर चलाउन गाह्रो हुन्थ्यो ।
“छाड्नोस् दाइ, ट्युसन स्युसन अर्को दिन गर्नुहोला । आज जाऔं ।” सन्जिवले पटक पटक यसो भन्दै लिएर जान्थे । गाडी हाँक्ने ड्राइभर छँदैथियो । बेलुकी ह्विस्की, वियरले लठ्ठ पर्नु डिनर कार्यक्रमको बिशेषता नै थियो ।
“छोराहरु नभएको घरमा ज्वाइँ नै छोरा हो । ज्वाइँले सासूससुरालाई घुमाउने, डुलाउने, रमाइलो गराउने हो ।” सन्जिवले प्रष्टसंग कुरा राख्ने गथ्र्यो । सासूससुरालाई त यति भनेपछि कान्छा ज्वाइँको कुराले घत पर्नु स्वभाविक नै हो तर जेठो ज्वाइँ रमेशका लागि यस्तो सँधै गर्न त बचतमाथि बन्चरो हान्नु जस्तै थियो ।
रमेश र सविता यस्ता गतिविधिबाट आजित जस्तै हुन पुगेका थिए । अर्कोतिर सासूससुरा फेरि उस्तै । कान्छो ज्वाइँको रसिक प्रबृत्तिलाई झन झन प्रोत्साहन गर्ने ।
एकदिन जेठा ज्वाइँ रमेश र छोरी सविता ससुराली आएको बेला सासूले झट्ट भनिहालिन् “भोलि सार्वजनिक विदा पनि छ । कान्छा ज्वाइँले मनकामना केबुल कारमा जाने भन्नुभएको छ । विहानै जानुपर्छ है !”
रमेश अन्कनाए, “खै, नजाउँ होला । सँधै साढुभाइको खर्चमा दौडन त्यति रमाइलो पनि हुन्न ।”
सविताले पनि रमेशकै कुरामा सहमति जनाइन् । मनप्रसादले श्रीमती अर्थात रमेशकी सासूलाई कर नगर्न हातको इसारा गरे ।
सासूले उत्तिखेरै कान्छा ज्वाइँलाई मोबाइल फोन लगाएर हेण्ड्स् फ्री गरिन् ।
“त्यसो हो भने एकपटक कान्छा ज्वाइँले अर्को पटक जेठो ज्वाइँले मिलाएर बुवाआमालाई लिएर रमाइलो गर्न जाउला नि !” उताबाट कान्छा ज्वाइँ संन्जिव न्यौपानेले नयाँ प्रस्ताव राखे ।
रमेश ज्वाइँलाई यसले झन् थप संकटमा पा¥यो । शिक्षकको हैसियत र राजस्वको अधिकृतको हैसियत समाजमा स्पष्ट देखिएकै विषय त हो नि ! यसपटक जेठा ज्वाइँ रमेशले घुमघाम गर्न नजाने कुरा सबैका अगाडि सुनाए ।
“ज्वाइँ नगए पनि छोरी सवितालाई पठाइदिनु नि, हुन्न र ?” सासूले आग्रह गरिहालिन् ।
“हुन्न आमा, नजाने म पनि ।” छोरी सविताले भनिन् ।
“बच्चाबच्ची नभएको बेला त हो घुम्ने डुल्ने ! पछि त रहर गरेर पनि घुम्न पाए त भो !” व्यंग्य कसिन् रमेशकी सासू अर्थात सविताकी आमाले । तर आज भने जेठी छोरी र ज्वाइँ दुबैले बाहाना बनाए ।
अर्को दिन त्यस्तै भयो । कान्छा ज्वाइँले ससुरालीबाट सासूकै मोबाइल प्रयोग गरेर रमेशलाई फोन गरे ।
“म भ्याउँदिन साढुभाइ । तपाईँहरु र बुवाआमा जानुहोला ।” सन्जिवको प्रस्तावमाथि यसरी प्रत्युत्तर दिए रमेशले ।
“जीटीपीएस गरौंला नि !” सन्जिवले भने ।
“जीटीपीएस ?” रमेश अक्मकिए ।
“गोईङ्ग टुगेदर, पेईङ्ग सेपरेट् । आफ्नो आफ्नो खर्च, हुन्न र ?” सन्जिवको यो प्रस्तावलाई पनि रमेशले नकारे । अलि परबाट सासूको स्वर सुने रमेशले, “मरेपछि साथमा सम्पत्ति लैजान्छु जस्तो गर्छन् यी जेठा ज्वाइँ । सवितालाई विहे नगर त्यस्तासँग भनेकै हो, सुनिन । हेर दुःखी आत्मा !”
“पैसा भन्ने कुरा हातको मयल त हो नि, दाइ ! बाचुन्जेल मयल पखालेर जिन्दगी जिउँनुपर्छ क्या !” सन्जिव बोल्दै थिए तर रमेशले मोबाइल फोन काटिदिए ।
मन खल्लो भयो तर सवितालाई केही भनेनन् रमेशले । राज्यकोषमा जाने पैसालाई धुर्त मगज र कालो हातले निमोठेर आप्mनो खल्तिमा पु¥याउन खप्पिस मनुवाहरुले खल्खल् पसिना चुहाएर कमाएको पैसाको महत्व पो के जान्नु र ! धन, हातको मयल तर …. । चक डस्टरका कण मिश्रित हातको मयलसंग श्यामल द्रव्य मिश्रित हातको मयल तुलनायोग्य हुन सक्दैन । धनार्थी बाहुमा जमेको मयललाई साबुनपानीले धोएर बगाउँदा रोमान्चकता आउला तर श्रमकणबाट जमेको मयललाई त खुर्केर बट्टामा संकलन गर्न मन लाग्दो रहेछ ।
रमेशले त्यो दिन गरेको क्रियाकलापले सकारात्मक भूमिका खेल्यो । कान्छो ज्वाइँ अर्थात सन्जिवले रमेशसँग डुल्ने, घुम्ने, रसरंगमा जिउने प्रस्ताव गर्न छोडे । सवितालाई पनि भित्री मनमा सन्जिवको आडम्बरी चालढालले हुँडलो चलेको थियो अब अलि विसेक भयो ।
सन्जिवका बुवाआमा आप्mनै समकालिनहरुसँग अलग्गै पाराले रमाइलो गर्ने खालका थिए । त्यसैले सन्जिव आफ्ना बुवाआमा भन्दा सासूससुरासँग बढी रत्तिएका देखिन्थे । उनको ससुराली आगमन नियमित नै हुन्थ्यो । श्रीमती कविता सहित सासूससुरा लिएर विभिन्न ठाउँ घुम्न जाने क्रम उनको कायम नै रह्यो । जुन ठाउँ घुम्न गए पनि होटलवाला, व्यापारीहरु ‘के सहयोग गरौं ? ’ भन्दै अघिपछि लागि हाल्थे । ससुराली घर आएको बेला पनि सन्जिवले ब्लेक लेभेल, अझ बेलाबेलामा कताकताबाट ग्रीन लेभेल व्हिस्की लिएर आउँथे । अर्डर गरेको क्रन्ची चिकेन फ्राइसँग सब परिवार मिलेर ‘चियर्स’ गर्ने गर्थे । रमाइलो गरेका तस्वीरहरु फेसबुकमा राख्थे । टिकटकमा नाचेर भिडियो राखेकी हुन्थिन् कविताले । सवितालाई यो देख्दा आफूप्रति बैनी र बुवाआमाले नै विभेद गरे जस्तो महशुस हुन्थ्यो ।
“हाम्रा कान्छा ज्वाइँ जतिको गतिलो ज्वाइँ जो कसैले पाउँदैन ।”
“कान्छा ज्वाइँ साह्रै फरासिला, गुनैगुनले भरिएका ।”
“कान्छी छोरीले त राजकुमारीको जीवन बाँचेकी छे । जेठीको ज्वाइँ नै घोसेघोसे छन् ।”
माइती नजिकका छिमेकी, साथीसंगीहरुले माइती घरमा आमाले बेलाबखतमा मुखबाट खुस्काएका कुराहरु सविताको कानमा खुसुक्क सुनाउँथे । यो बिषयलाई लिएर घरीघरी रमेशसँग सविताले गुनासो पनि गर्ने गर्थिन् ।
“फेसबुकमा प्रत्येक पटक पार्टी गरेका फोटोहरु राखेर कविताले तपाईँ र मलाई गिज्याउन खोजे जस्तो लाग्छ ।” उनले बेलाबेलामा भन्ने गर्थिन् ।
रमेश गम्भीर बन्थे अनि सवितालाई निराश नबन्न सम्झाउने गर्थे ।
“यो घरमा म बिहानदेखि बेलुकासम्म व्यस्त छु । दिनमा सयजना भन्दा बढीलाई नयाँ ज्ञान दिएको छु मैले । तिमी पनि हस्तकलाको काममा व्यस्त हुन्छ्यौ । तिम्रो कामले उत्पादन दिएको छ । यसरी हाम्रो दिनचर्या जीवनशील काममा वितेको छ । उनीहरु पो फुर्सतमा छन् । कालो धन साढुभाइले कमाएकै छन् । ससुराली आउँदा पकाउने नोकर साथमा लिएर आउँछन् । कविताको दिन टिकटक लाइभमा बसेर खेर गएको छ । के उपलब्धी छ उनीहरुको जीवनको ? भन त सविता ? यस्तो जीवनलाई त म मरणशील जीवन भन्छु ।” रमेशले पनि यस्तै गरी सम्झाउँथे ।
यस्तै गरी समय वित्दै गयो । रमेशले पनि विद्यालय र ट्युसनमै जीवनको रंग खोजी रहे । एकदिन केही विद्यार्थीहरु विद्यालय समयपछि रमेशलाई भेट्न आए ।
“सर, हजुरको सहयोगले हामी ट्युसन पढेका विद्यार्थीहरु ए प्लस ल्याएर एस.ई.ई. उत्तिर्ण ग¥यौं । हामीले यही विद्यालयमा सानो अभिनन्दन कार्यक्रम गर्ने भएका छौं । हजुरले सहयोग गरिदिनुहोला, सर ।” एस.ई.ई उत्तिर्ण विद्यार्थीहरुले प्रस्ताव राखे । रमेश आत्मप्रशंसा त्यति रुचाउने पात्र थिएनन् त्यसैले उनले सन्तोषजनक उत्तर दिन खोजेनन् ।
“सर, हामी मिलेर आयोजना गर्छौं । हजुरको निष्ठाप्रति हामी नतमस्तक छौं । त्यही भएर हजुरले निः शुल्क पढाएका साथीहरुलाई कुनै खर्च नलगाउने गरी उनीहरु सहित हामी निजी विद्यालयकाहरुले व्यवस्थापन गर्ने भएका छौं । निराश नगराउनु होला ” विद्यार्थीहरुले जिद्दी गरे ।
रमेशले सबै विषयमा ट्युसन पढाएका आफ्नो विद्यालयका पैंतीस जनाले ए प्लस र अरु निजी स्कूल सहितका गरी एक सय जना विद्यार्थीले ए प्लस नै ल्याएका थिए । एउटा शिक्षकको लागि उसका शिष्यहरुले प्राप्त गरेको उत्कृष्टता नै सबैभन्दा बढी खुसीको क्षण हुन्छ । आखिर रमेशले विद्यार्थीहरुको आग्रह मान्नै प¥यो ।
सम्मान कार्यक्रममा अभिभावकहरु उपस्थित भए भने थप उत्साह जाग्छ । रमेशका बुवाआमा गाउँतिरै भएकाले आउन नपाउने भएका थिए । आमाबुवा आउन नपाउने भएपछि सासूससुरालाई नै अभिभावक मानेर बोलाउनु रमेश र सविताको पनि कर्तव्य नै हुन्थ्यो ।
“आमा, ज्वाइँलाई आज विद्यार्थीहरुले सम्मान गर्ने कार्यक्रम राखेका छन् । हजुर पनि बुवालाई लिएर आउँदा हुन्थ्यो ।” सविताले आप्mनी आमालाई फोन गरिन् ।
“कता छ कार्यक्रम ?” आमाले सोधिन् ।
“आप्mनै स्कूलको हलमा हो, आमा ।” सविताले उत्तर दिइन् ।
“छ्या ! कम्तिमा पार्टी प्यालेसतिर त राख्नु नि !” आमाको कुराले मन कटक्क खायो सविताको ।
कटाक्ष गरे पनि कार्यक्रममा आए सविताका बुवा मनप्रसाद र आमा । बुवाआमाको उपस्थिति नभए पनि बिद्यार्थीहरुले रमेशको सासूससुरालाई मन्चमै बसाए । रमेशको मेहनतको उदात्त प्रशंसा गरे विद्यार्थीहरुले । प्रशंसापत्र र मायाको चिनो पनि दिए रमेशलाई ।
कार्यक्रम रोचक ढंगले चलिरहेको थियो । अकस्मात मनप्रसाद मन्चबाट जुरुक्क उठे अनि श्रीमतीको पाखुरामा छिट्छिटो कोट्याउँदै उठ्न आग्रह गरे । मनप्रसादले रमेशको कानमा खुसुखुसु गरे अनि श्रीमतीको हात तानेर हलबाट बाहिर निस्किए । उद्घोषकले उद्घोषण गरिरहेका थिए । उनीहरु भने हतार हतार विद्यालयको परिसरबाट बाहिर निस्किए ।
“के आइ लाग्यो यस्तो ।” मनप्रसादकी श्रीमतिले कुर्थाको सलले भिजेका आँशु पुछ्दै बोलिन् ।
“बिचरा कान्छा ज्वाइँ । कति आत्तिएका होलान्” मनप्रसादले पनि भने ।
राजस्व कार्यालयकै हातामा तस्करीको समान छुटाउने शर्तमा उसले ठूलो रकमको डिमाण्ड गर्दै गरेको भिडियो सार्वजनिक भएछ । ब्लु तुथको माध्यमबाट मोबाइल फोनसँग जोडिएको स्मार्ट चस्मामा रहेको क्यामरा प्रयोग गरी कसैले भिडियो खिचेछ । त्योे भिडियो पेन ड्राइभमा कपी गरेर क्रान्तिकारी विद्यार्थी संगठन समक्ष पेश भएको रहेछ ।
“भ्रष्ट अधिकृत सन्जिव न्यौपानेलाई कार्वाही गर ।” विद्यार्थीहरुको जमातले कान्छो ज्वाइँ सन्जिव न्यौपानेलाई कालो मोसो दलेर जुत्ताको माला समेत लगाएर हिंडाउँदै प्रहरी कार्यालय लैजादै थिए ।
पुरानो बानेश्वरबाट नयाँ बानेश्वर हँुदै घुमाएको दृष्य मनप्रसाद र उनकी श्रीमतीले पनि देखे । जुलुसको पछि पछि प्रहरीको भ्यान थियो । प्रहरीले जुलुसमाथि हस्तक्षेप गर्न सकेको थिएन ।
“उफ !” मनप्रसादको श्रीमतीले टाउको समातिन् अनि पुर्लुक्क लडिन् बाटोमै ।
“लौ न, के भयो ? ट्याक्सी…. ट्याक्सी ।” मनप्रसादले ट्याक्सी बोलाए ।
“जेठो ज्वाइँलाई चाँडो आउन भन्नु । इमान्दार मान्छेले भनेपछि छोड्छन् कि !” सास हाफ्फ हाफ्फ गर्दै बोलिन् मनप्रसादकी श्रीमतीले ।
मनप्रसादले श्रीमतीको दुबै काखीमा हात घुसारेर सकी न सकी उचाल्दै थिए । जुलुस अगाडि बढ्यो । बजारमा अब गाडीहरु र मोटरसाइकलहरुको चर्को आवाज ‘घार्र – घुर्र’ आइरहेको थियो ।