चुनाव मुखैमा थियो लालपुरमा।
लोकतन्त्रलाई नै द्रौपदी जस्तै चीरहरण गर्दैछन् लालपुरमा भन्ने खवर देवलोकमा पनि पुग्यो। देवलोकले बुद्धलाई लालपुरका ती दु: शासन जस्ता लठैतहरुलाई दण्डित गर्ने जिम्मा सुम्पे।
बुद्धलाई ती लोकतन्त्रको नाम जपेर नथाक्ने पशुहरुलाई दण्डित कसरी गर्ने भन्ने समस्या भयो, किनकि बुद्द हिंसा गर्दैनथे। थुनछेक गर्नु, कुटपिट गर्नु वा अपशब्द बोल्नु पनि हिंसा हुन जान्थ्यो। नरपशुहरुलाई ज्ञान-प्रवचनले छुदैनथ्यो, सुध्रदैनथ्यो।
देवलोकको कार्यादेशको कागजात लिएर सो पुरा गर्न बुद्द कम्युनिस्टको भेष धारण गरेर लालपुर झरे। काँग्रेसका गुण्डाले बुद्धको बाटो रोके। साफसंग कुटेर बुद्दका हातखुट्टा भाचिदिएर हाटो लागे।
अर्को दिन बुद्धले फेरि काग्रेसको भेषमा लालपुर पुगे। हिजोको कुटपिटको खवर कम्युनिस्ट बृत्तमा फैलिसकेको थियो। कम्युनिस्टका कार्यकर्ता पनि कहाँ अहिंसाबादी हुन्थे र, झुण्ड बनाएर बाटो कुरेर तैनाथ थिए। काग्रेस भेषका बुद्धलाई भेट्नासाथ मरुन्जेल कुटे। हातखुट्टा हिजो जस्तै गरेर फेरि भाचिदिएर उनीहरु बाटो लागे।
अर्को दिन बुद्ध फेरि राजावादीको भेषमा लालपुर झरे। यसपल्ट भने काग्रेस र कम्युनिस्ट आपसमा मिलेर जाइ लागे। उनीहरुले फेरि बुद्धका टाउको समेत फुटाइदिेए, उसैगरी हात खुट्टा भाँचिदिएर बाटो लागे।
बुद्ध निरास हुने महामानव थिएनन्, न जिम्मेवारीबाट पलायन हुने कुनै जोगी थिए। उनी यसपल्ट भने अन्त्यन्त सुन्दर र चन्चल युवतीको भेष धारण गरेर फेरि लालपुर झरे।
यसपल्ट भने गजबै भयो बुद्धलाई कसैले हात हालेन, कुन पार्टीको भनेर जान्ने चेष्टा पनि कसैले गरेन। कम्युनिस्ट, कांग्रेस र राजावादी तीनपक्षका मुश्डण्डेहरु युवतीमा कसको अधिकार हुने भन्ने निहुँमा आपसमा खुवसँग मारामार गरेर लडे। एकपक्षले एकअर्काका हात-खुट्टा भाचे दुबैपक्षका केही गुण्डा मारिए। आफ्नै संस्कारले दण्डित भएको बुद्धले मुस्कुराएर चुपचाप हेरिरहे, कार्यादेश सफलता पूर्वक पुरा भएको रिपोर्ट लेखेर देवलोकतिर लागे।
(क्यानडा)