एक दिन शुभमुहुर्तमा जेठी बुहारीले नम्र स्वरमा भनिन्, “बुबा ! आमाले एक साँझ हजुरहरूलाई खानाको लागि आमन्त्रण गर्ने कुरा गरिबक्स्या छ । फोन गरिस्सिन्छ होला, नाइँ नभनिस्योस् ल ।”
छोराहरूको विवाह भएपछि हाम्रो घरमा कहिल्यै प्रवेश नपाएको ‘बक्सियोस्’ शब्दले प्रवेश पाएको छ । जागिरको सिलसिलामा कहिलेकाहीँ प्रयोग गरेको हुनाले यो शब्द मलाई खासै अनौठो त लाग्दैन तर सबैतिर यसलाई मिलाएर प्रयोग गर्नचाहिँ जान्दिनँ । यो ‘बस्सियोस्’ शब्दको कुरा हुँदा बनारसको सम्झना आउँछ ।
मैले हाइस्कुल र आईए बनारसबाटै उतीर्ण गरेको हुँ । त्यो बेला हामी हिन्दी बोल्न जान्दैनथ्यौँ । हाम्रा अग्रज साथीहरूले हामीलाई सिकाउँथे– अरु सबै कुरा नेपालीमा भन्ने वा लेख्ने अन्तिममा ‘हैँ’ जोड्यो भने हिन्दी भइहाल्छ नि ! कस्तो राम्रो आइडिया । त्यसपछि खासै समस्या परेन । अन्तिममा ‘हैँ’ लेख्दालेख्दै बिस्तारै बानी पर्दै गयो । यो ‘बक्सियोस्’ले पनि मलाई त्यसै गरिबक्सेको छ । आवश्यक सबै ठाउँमा मैले यो बक्सियोस्लाई लागू गर्न जान्दिनँ, त्यसैले ‘बक्सियोस्’, ‘आइस्योस्’ ‘खाइस्योस्’ यस्तै सजिलो ठाउँमा मात्र प्रयोग गर्न सक्छु । अरु ठाउँमा अनाडीले अङ्ग्रेजी बोल्दा हिन्दी मिसाएजस्तै हुन्छ ।
“किन दुःख गर्न लाग्नुभएछ ?” मैले सोधेँ । बुहारीले खासै केही भनिनन् ।
भोलिपल्ट फोन आयो, “सम्धिज्यू, भेटघाट नभएको धेरै दिन भएको छ । यसो भेटघाट पनि हुन्छ, साँझ सपरिवारलाई भुजा ज्युनार गर्ने गरी आइस्सेला है त ।”
बुहारीले नाइँ नभन्नु भनेकि थिइन्, तैपनि भने, “घर सल्लाह गरेर खबर गर्छु ।”
अन्तमा उहाँले भन्नुभयो, “म बाटो हेरेर बस्छु ।”
नाइँ भन्न सकेनौँ, बेलुकीतिर गयौँ ।
यो कुरा आजभन्दा करिब चार वर्ष पहिलेको हो र त्यो समय गर्मीको समय थियो ।वैशाख महिना भएकोले सूर्यले क्षितिजको नेटो काटेका भए पनि उड्दा उड्दैका चरा खस्दानजस्तै गर्मी थियो । त्यस्तो गर्मीमा शरीरमा तरतरी पसिना चुहाउँदै दीपनगरबाट शङ्करनगरका लागि प्रस्थान ग¥यौँ ।
सम्धिनीज्यूको घरमा पुगेपछि भव्य स्वागत भयो । बैठक कक्षमा आसनग्रहण ग¥यौँ । आसनग्रहणपश्चात सामान्य कुराकानीहरूभए । कुराकानीसँगै खानाका परिकारहरू आउन थाले ।
पाहुनालाई स्वागत गर्ने सम्धिनीज्यूको आफ्नै मौलिक पारा छ । बाहुन होस् की क्षेत्री मासुदेखि माछासम्म, सागदेखि च्याउसम्म सबै परिकारहरू तयार गर्नुहुन्छ । त्यसपछि दर्जा अनुसारका जुसहरूको तयारी पनि पहिलेदेखि नै भएको हुन्छ । गधापच्चिसी नाघेको कुनै पनि नेपाली नागरिकले उहाँले भनेअनुसारको जुस लिनै पर्छ । नत्र आफू अपमानित भएको महसुस गर्नुहुन्छ । उहाँले तयार गरेका सबै परिकारभित्र प्रेम लुकेको हुन्छ, ममता छिपेको हुन्छ र सौहाद्रता झल्केको हुन्छ ।
अन्य खाद्य सामग्रीसँगै सम्धिनीज्यूले स्कटलेण्डमा बनेको ब्राण्डेड जुसको ठूलो ठेकी अगाडि राख्नु भयो । देख्दै सातो गयो । एक त बाहुन, त्यसमा पनि सम्धिनीको घर । एकैचोटि कसरी खान्छु भन्नु, सकस प¥यो । ठुलो ठेकीतिर हेर्दै घुटुक्क थुक निलेँ र यस्तो पदार्थ नलिने नम्र निवेदन पेश गरेँ । मेरो अमर बाणी हावामा तैरिएर शान्त हुन नपाउँदै बैठक कक्ष स्तब्ध भयो ।
“लौन नि के भनिबक्सेको होला ?”चिन्तित स्वरमा उहाँले भन्नु भयो ।
उहाँको कुरा सुनेपछि म मुसुक्क मुस्कुराएँ मात्र केही बोलिनँ । उहाँले थप्नुभयो, “तिसौँ वर्ष जागीर खाएको, प्रशासन चलाएको मान्छेले खान्न भनेको कत्ति सुहाएन ।”
म केही बोलेको थिइनँ, मीनातिर फर्केर सोध्नुभयो, “साच्चै सम्धिज्यूले केही लिसिन्न र सम्धिनीज्यू ?”
मीना बोल बोल मछली मुखभरि पानी भइन् । नर हो वा कुञ्जरो अस्वस्थामा हतोहत भन्नु बाहेक उनीसँग अर्को उपाय थिएन ।
केही समय भोजन सभाको कारवाही बिलम्भ भयो ।
भान्साबाट विभिन्न थरी पकवान सामग्रीहरू आउने क्रम जारी थियो । बैठक कक्ष पकवान सामग्रीको मीठो स्वादले मगमग बसाइरहेको थियो । यता हाम्रो वार्ता जारी थियो र कुनै निष्कर्षमा पुग्न सकिरहेको थिएन ।
धेरैबेरको छलफल तथा मध्यस्थकर्ताहरूको आग्रह समेतलाई स्वीकार गर्दै स्वदेशमै जौँबाट बनेको भनिएको तर विभिन्न केमिकलहरूले सुसज्जित सुगर फ्री र टर्रो स्वाद भएको जुससम्म लिने सहमति भयो । आमसिक रूपमै भए पनि वार्ता सफल भएकोमा सम्धिनीज्यूको मुहार हँसिलो देखियो । अरुले थाहा नपाउने गरी मेरो मन पनि खुसीले पुलकित भयो ।
भोजनका क्रममा देशको राजनीति, दर्शन, साहित्य, इतिहास, अर्थतन्त्र लगायतका विभिन्न क्षेत्रमा गम्भीर बहस भयो । कोठाभित्रबाट भए पनि सरकारले गरेका नराम्रा कामको आलोचना गर्नेदेखि लिएर सरकारले यसो गरेको भए हुने थियो भन्नेसम्मका सुझाव सल्लाह दिने काम पनि सम्पन्न गरियो । त्यो बेला हामी देश विकास नभएकोमा र पदमा बसेका नेताहरूले जनचाहनाअनुसार काम नगरेकोमा निकै चिन्तित भयौँ ।
गफ गर्दा गर्दै विभिन्न प्रकारका जुस तथा खाद्य सामग्रीहरूले पेट भरियो । अन्त्यमा एक गिलास पानी र एक टुक्रा ल्वाँङ खाने ठाउँसम्म पनि बाँकी नरहेपछि आयोजक सम्धिसम्धिनीज्यूलाई कुइन्टलका कुइन्टल धन्यवाद दिँदै बिदाबारी भयौँ ।
बुहारीले गाडी स्टार्ट गरेर घरतिर हिँड्ने सुर गर्दै थिइन्, त्यस्तैमा फेरि मनमा अर्को विचार आयो।
“बुहारी नानी ! मौका परेको बेला एउटा पान पनि चपाईहालौँ कि !”
“मिठो पान खान त बुटवल पुग्नुपर्छ बुबा, ट्राफिक चोकमा ।”
मैले भनेँ, “जाऊँ ।”
“बुबाले भनेपछि हिँड न त । कति बेर लाग्छ र ?” छोराले हौस्याए । मीनाले कुनै प्रतिक्रिया जनाइनन् ।
त्यसपछि गाडी बुटवलतिर मोडियो ।
ट्राफिक चोकनिर पुगेपछि गाडी रोकियो । छोरा र बुहारी गाडीबाट बाहिर निस्के र पानपसलतिर लागे । मीना र म गाडीमै बस्यौँ । मैले देखेँ, रातिको समय भए पनि पान दोकान अगाडि हामीजस्ता पानका पारखीहरू लाइन लागेका थिए । पानवाला भाइले हतार हतार पान बनाइरहेको थियो ।
त्यो बेला मेरा मनमा पुनः बनारसको चित्र घुम्न थाल्यो । बनारसमा पढ्न गएको बेला पहिलो चोटि मैले पान खाने शुभअवसर प्राप्त गरेको थिएँ । दश पैसामा एउटा सामान्य पान पाइन्थ्यो । बेला बेला हामी पान खान्थ्यो । त्यहाँको पानको स्वादै फरक थियो । पान चपाउँदै जाँदा कानका लोतीमा समेत पसिना आउँथे ।
बनारसमा पानपछि अर्को मन परेको खाद्य पदार्थ मिठाइ हो । त्यो बेला अर्थात् सन् १९७८ तिर बिच बजारमा राम भण्डार नामको मिठाइ पसल थियो । त्यस पसलमा बाह्र रुपियाँमा एक किलो मिठाई पाइन्थ्यो । कहिलेकाहीँ हामी स्वाद मानेर मिठाई खान्थ्यौँ । मिठाई खाएपछि पान खाँदै डेरामा आउँथ्यौँ ।
मनमनै बनारसको मिठाई र पानको स्वाद लिइरहेको थिएँ, त्यस्तैमा छोराले ‘लिनोस् पान’ भन्दै पान ल्याएर दिए । ‘धन्यवाद छोरा’ भन्दै पान लिएँ ।
पान हात पर्नासाथ मुखमा पानी आयो । ‘आहा पान !’ मनले यसै भन्यो । अनि कुनै बिलम्ब नगरी पान मुखमा कोचेँ ।
चपाउँदै जाँदा मैले खाएको पान बनारसकोजस्तो मिठो लागेन । पानको पत्ता पनि छिप्पिएको जस्तो लाग्यो र स्वाद पनि टर्रो टर्रो खालको थियो ।
‘साला बेवकुफहरू पान बनाउन पनि जान्दैनन् ।’ मनमनै पानवालालाई गाली गरेँ अनि छोरालाई सोधेँ, ‘मिठा पत्ता होइन र ?’
‘हो बुबा, मिठा पत्ता हो ।’ पान चपाउँदै सुमनले जवाफ दिए ।
जति चपायो उति टर्रो, रस निल्न खोज्यो झन् टर्रो । सुरुमा चपाएको रस निल्न नसकेर थुकेँ । त्यसपछि त अलि मिठो हुनु नि । अहँ भएन । झन् टर्रो हुँदै गयो । पानले गर्दा अघि सम्धिनीज्यूले खुवाउनु भएको चौरासी व्यञ्जनको स्वाद पनि हराउला जस्तो भयो । मनमनै रिस उठ्दै गयो ।
पुनः मनमनै पानवालालाई गाली गरेँ अनि छोरालाई भनेँ, ‘तिमीहरूले ख्याले गर्दैनौँ । पानवालाले ठगेछ । मिठा पत्ता हाल्नुपर्ने कुनचाहिँ पत्ता हालेर पानै वेस्वादिलो बनाएछ ।’
छोराले मसिनो स्वरमा भने, ‘मैले खाएको पान त मिठो छ ।’
नराम्रो पान दिएकोमा पानवालासँग रिसाउँदै र पान बनाउँदा ख्याल नगरेकोमा छोराबुहारीसँग रिसाउँदै पान चपाउँदै थिएँ, मुखमा चसक्क घोच्यो । यसो औलाले छामेर हेरेको सिन्काको टुक्रा रहेछ ।
‘सिन्को !’ मनमनै बोेलेँ ।
सिन्को समाउँदा साथ अर्को सम्झना भयो । मन ढुकढुक गर्न थाल्यो । पान टर्रो हुनुको रहस्य खुल्यो । जौँको जुसले रन्थनिएको मेरो दिमागले पानको बाहिर बेरेको सालको हरियो पात फाल्नुपर्छ भन्ने कुरा नै बिर्सेछ । पानको बाहिर रहेको सालको हरियो पातसमेत चपाएपछि किन टर्रो नहोस् ।
केटाकेटीहरूले थाहा नपाउने गरी पूरै पान थुकेँ । तैपनि मुखमा टर्रोपन हराएको थिएन । त्यै बेला एउटा उखानको सम्झना भयो- ‘बाहुनले च्याउ खाओस् न स्वाद पाओस् ।’
(दीपनगर, रुपन्देही)