“नमस्कार ।” परिचारिका बोलिन् ।
“न… ।” मेरो वाक्य फुटेन ।
अक्मकिएँ म । अकल्पित व्यक्तिको त्यो उपस्थिति, त्यो सत्कार । आश्चर्यचकित भावमा अनायासै टोलाएँ म, बोलुँ कि नबोलुँको दोसाँधमा । सपना या विपना, छुट्याउनै नसक्ने आवस्थामाभैmँ ठिङ्ग उभिरहेँ । र, उनको वदनमा एकोहोरो आँखा गाडिरहें, सम्भवतः यसै भएको होस उनलाई पनि । आश्चर्यको झड्काले हृदय अजीव रुपमा फुल्लियो र मुटुको धड्कनले मेरो छातीका वार भत्काउलाझैँ गरी जोड जोडले धड्किन थाल्यो, ढुक–ढुक, ढुक–ढुक ।
“ए … अ … न …नमस्ते ।” निकै समय पछिको मेरो स्वाभाविकता ।
न विहानीको, न कालरात्रीको जस्तो हालत थियो मेरो । कि हर्षमा, कि विष्मातमा, कि त त्रासमा, कि त अकल्पित आश्चर्यमा मान्छेको मृुहारमा आउने परिवर्तन हो यो । यसमा हामी दुईको रहस्यमयी इतिहास उद्घाटित हुँदै थियो शायद । हाम्रा नजर छुट्न मानिरहेका थिएनन् ।
“जाउँ सर अगाडि ।”– सहयात्री दिनेश सरको आग्रह थियो यो ।
झसङ्ग झस्किएँ म । क्रमभङ्ग भयो, हाम्रो समीप्यताको, पुनर्मिलनको । ओहो ! जहाजको भ¥याङको अघिल्लो पङ्तिmमा म सबैको बाटो बन्द गर्ने गरिकन उभिएको रहेछु ।
म अगाडि बढेँ, जबरजस्त बढेँ, उनको दृष्टिघेराबाट मेरो आँखालाई छुट्याएर, घुमाएर । अझ भनँु, मेरो अन्तरआत्माको कोमल भावनाको कोपिलालाई बलात धकेल्दै, घचेट्दै म आफ्नो सिटमा गएर बसेँ, अरु साथीहरु जस्तै गरेर ।
गृष्मकालीन विहानीको समय । काठमाण्डौको हावा । न चिसो, न गर्मी, अनुकुलित मौसम । कोलाहाल र प्रदुषणलाई वेवास्ता गर्र्दै शान्त स्वभावमा गजदम्ब परेको थियो आकाश । चन्द्रागिरि, नागढुङ्गा, नागार्जुन, सिवपुरी, फुलचोकी, अलि अलि कुहिरोको गलबन्दी बेरिएकोझँै देखिन्थे । जहाँबाट बर्षादको मौसम हाम फालँु कि झँै गरेर सोधे जस्तो आभाष हुन्थ्यो ।
हामी माउन्टेन फ्लाईट्मा थियौं ।
एक घण्टाभित्र पूर्वतिरको हिमश्रृंखला अवलोकन गरी फर्कनु थियो, हाम्रो लक्ष्य ।
हर्षोल्लासमा हाँसीरहेका थिए कोही । कोही रोमान्चमा, कोही उत्सुकतामा । नयाँ भ्रमणको, नयाँ यात्राको । अझ भनँु, जहाज चढ्न पाउनुको पनि एक भाग खुशी होस ।
अझै ठाउँमा फर्किएको होईन, मेरो ढुक्ढुकी ।
अवाक् थिएँ म, कुनै अर्को संसारको नौलो प्राणी जस्तै ।
म भित्रभित्रै उद्देलित थिएँ, आन्दोलित थिएँ, त्यस्तो अनुभूति, कुनै अप्राप्य चिज पाउँदाको, या गुमाउँदाको । अथवा, चरम खुशीको । उफ् ! अब्यक्त त्यो अनुभूति ।
जहाज जमिनबाट चल्नासाथ पछिल्लो स्पीकरबाट महिलाको कोकिल स्वरमा सूचना जारी हँुदै थियो । त्यो आवाजमा पनि उनकै जादुमयी प्रेमिल स्वरझैँ लाग्थ्यो मलाई ।
“एक्सक्युज मी”– उनै परिचारिका आइन् ।
“प्लीज, सिट बेल्ट बान्नुस है ।”– उही मधुबोली, विनम्रता ।
म आफ्नो भागको नियम पालना गर्छु । असफल हुन्छु, फेरि प्रयास गर्छु, केही अस्वाभाविकतामाझँै हात काम्छन् । सिट बेल्ट मिलाउन उनले सहयोग गर्छिन्, अझै नजिकिन्छिन् । बायाँ पाखुरामा उनको दायाँ कुहिनाको स्पर्श हुन्छ, हल्का स्पर्श । मेरो मुटु झनै जोड–जोडले धड्किन्छ, कुनै अज्ञात करेन्टको प्रसारित झड्काझैँ ।
यसै मेसोमा म जबरजस्त बोल्ने प्रयास गर्छु, अहँ, सकिन । सकिन मैले उनलाई बोलाउन । कसरी सुरुवात गर्ने होला ? आफैभित्र म प्रश्नै प्रश्नले घेरिन्छु । र मनमनै ‘मलाई बोलाओस’ भन्ने जिम्मा उनैलाई सुम्पिदिन्छु । उनले पनि बोलाईनन् । किन होला बोल्ने प्रसंगको सुरुवात नगरेकी ? पुनः अर्को प्रतिप्रश्नले हठात घेरिन्छु म । मनले सोध्छ ‘माया मारिन् कि ?’ फेरि अर्को शँकाले घेरिन्छु म, ‘घृणा पो गर्छिन् कि ?’ मलाई थाहा छैन, वास्तविकता के छ ।
पछिल्लो सिटनेर गइन् उनी । म आफैलाई असन्तुलित सान्त्वनाको जवाफ दिन्छु– ‘भरसक म जस्तै अप्ठ्यारोमा परेछिन् क्यारे ।’
केही बेरपछि जमिन छोड्छ जहाजले ।
मान्छेहरु, गल्लीहरु, गाडीहरु, घरहरु झन पछि झन टाढिदै, साना–साना हँुदै गए । उपत्यका छाडेर जहाज पूर्वतिर मोडिएपछि आकाशको कुहिरोभित्र हरायो । केही पनि देखिएन, सब शुन्यताझैँ लाग्थ्यो । शुन्यताभित्र म कतै अतीतको स्मृतिपथमा हराइसकेको थिएँ । एकोहोरो जहाजको आवाज । वरिपरि कुहिरोको सघन घनत्व । र, मभित्रको आन्दोलित मनोभावनाको हुण्डरी । म चुपचाप छु, केवल चुपचाप ।
“प्लीज…. ।”– प्लेटमा चक्लेट लिएर आइन् उनी ।
म मनमनै अठोट गर्छु, साहस गर्छु । ‘जसरी पनि बोलाउँछु यस पटक त ।’ आफैसित भन्छु, उनलाई बोलाउन मनमनै शब्द चयन गर्छु, सिर्फ अव्यक्त । हो, आफुसित मात्रै भन्छु– ‘तपाई !? …तपाई कसरी यहाँ ?’ अहँ, आँट खुल्न सक्दैन, मुख बोल्दैन । म भित्रको उथलपुथलसँगै कतै हराए यी शव्द पनि ।
अर्धमुस्कानमा थिइन्, उनी । बैँशको सौन्दर्य झन आकर्षक भएछ, उनमा । हल्का लाली, गाजली, पाउडर, एयर होस्टेजको आकर्षक ड्रेस । उनलाई सौन्दर्यको उचाइमा सजाउने साधनहरु थिए, यी सब । अघिल्लो पटक भन्दा अहिले अलि खुलस्तझँै देखिन्थिन्, बोल्छिन्झँै लाग्ने ।
“बिर्सेको त छैन ?”– म भित्रको कायरपनाको बाँधलाई उनैले भताभुङ्ग पार्दै, तोड्दै अघि सरिन् । प्लेटको एक चक्लेट मैले हातमा लिनु र उनको यो बोली फुट्नु करिब करिब एकैपटक भयो ।
सहज बन्दै जवाफ दिएँ – “अहँ, मेरो लागि त्यो असम्भव ।”
“हो र !”– उनका दन्तलहरले सौन्दर्यताको वकालत गरे ।
“हो, मेरो लागि सास फेर्न भुल्नु र तपाइलाई भुल्नु एकै हुनेछ ।”
“अनि किन नबोलेको त ?”
“आश्चर्यजनक यो भेट सपनाझैँ लागेर ।”
“यथार्थ विपना सपना बन्दैन ।”
“तर यो यथार्थता अहिले सम्म सपनामै सिमित थियो नि ।”
“यो समयको दोष हो ।”– उनी पहिलेभैmँ भलाद्मी पारामा बोल्छिन् ।
चुपचाप, बिलकुल चुपचाप, मौनतामा रह्यौँ निकै समय ।
उनी गइन्, कर्तव्य निभाउन । भनिन्– “पछि कुरा गरौंला, ल !”
मेरो हृदयको गति झन्–झन् जोडले चल्यो, आँखाबाट हर्षाश्रु गुडुल्किए । मानवीय गुण, अथवा प्राकृतिक गुण भनुँ, सम्भवतः अप्रत्यासित र औधी खुशीमा सबैको यस्तै हालत हुन्छ क्यारे ! एकाएक उनका मुहारमा पनि लालीपना बढ्यो, परेली झिमझिम हुन लागेको देखेँ । देखेँ, गाजलका बार लगाईएका उनका परेलीका घेरा तोड्दै केही थोपा पानी बाहिरिएका । थाहा छैन, हामी दुई मात्र भए स्थिति कस्तो हुन्थ्यो । गुम्लुङ्ग अंगालोमा बेरिन मन लाग्यो । बर्षौ बर्षपछिको यो प्रेम, यो भावना, उनलाई अँगालो हाल्न मन लाग्यो, त्यसै–त्यसै । म कल्पना गर्न थालेँ, आफुभित्र भित्रै हराएर, अवाक् बनेर ।
म भित्रको एक मनले भन्छ दश वर्ष पहिलेको सरिता अहिलेसम्म सरिता नै छिन् या पहिलेकै चिनुमाया तामाङ मात्र रहेकी छिन्, थाहा छैन ।
यो प्रेमले, भावनाले, मलाई जवरजस्त अतीतको भूमरीतिर घुमाइरहेको थियो । उही युद्ध, उही बन्दुक, उही मोर्चा । थवाङ, कुरेली, मिरुल,… सन्धिखर्क, खारा, जुम्ला… । मनमनै म अन्तरसंवादमा रुमलिन्छु । घुम्छु, बोल्छु, कसरी आइन् उनी यो ठाउँमा ? कहाँ बसेकी थिइन् ? किन उनी प्रचारमा आइनन् ? मेरो र उनको सौभाग्य भनुँ या के ? धन्न ! उनी जीवित रहिछिन् । अहिलेको सञ्चारको भूमण्डलीकृत जमाना, फोन, इन्टरनेट । किन बेखबर बसिन् उनी । के मलाई माया मारेकी होलिन् र ? भन्न सकिन्न, मान्छे समयको दास न हो ।
आफु भित्रभित्रै डुलिरहेछु,, बोलिरहेछु म ।
आफूभित्रका नानाथरिका तर्कनाहरुँग धकेलिँदै म अतीततिर घुम्छु । आफु र आफ्नो इतिहास उभिन्छ, आँखामा । हो, अतीतका दृष्य भरिन्छ मेरा दृष्टि भरिभरि, कुनै फिल्मको रिलझँै ।
एकाएक २०५८ सालमा फर्किन्छु म ।
माथिल्लो कमाण्डको सूचना थियो, ‘पश्चिम केन्द्रिय कमाण्डको एक कम्पनी पूर्वी कमाण्डमा जाने… पूर्वबाट एक प्लाटुन पश्चिम कमाण्डमा आउनेछ । शक्ति सुदृढिकरण र अनुभवको आदान प्रदान …। भिन्न परिवेश र भूगोलमा खेल्ने अर्को किसिमको टूेनिङ्ग हुनेछ, जसले हाम्रो जनमुक्ति सेनाको शक्ति केन्द्रिकरणमा ठुलो कोशेढुङ्गाको काम गर्नेछ …।”
दुई महिनापछि पूर्वको समूह आयो ।
थवाङ्गको स्वास्थ्यचौकीको खुल्ला प्राङ्गण । वसन्तको त्यो याम, वैंशरुखको पालुवामा हरिया लहराले पनि उनीहरुको स्वागतमा सहभागी बनेझैँ लागेथ्यो । असरल्ल हल्लिन्छन् हावामा, मानौ कुनै सुन्दरीका आकर्षक केशझैँ । औधी मुस्कुराएझँै लाग्छ जलजलाको चुचुरो । चिसो हावाले निधारमा चुम्बन दिन्छ, मानौं जलजलाले नै त्यो हावामा सत्कार पठाएझैँ लाग्ने । डिसारी, फुली र डुलडाँडाका माथिल्लो पखेरामा गुराँस उन्मूक्त मुस्कानमा घाम तापिरहेथ्योे, मानौँ कि स्वागतको आसनमा । थवाङ्ग खोलाले नयाँ गीत शुसेलेझैँ लाग्थ्यो ।
हामीले सलाम टक्र्यायौं । र, उनीहरुले पनि ।
थवाङ्गवासी जनता र हामी सँगै उभिएका थियौँ, उनीहरुको स्वागतमा । थबाङ्गीहरु भन्दै थिए,– “कटाङ् कटाङा मी र मनि आङ केहुकेर मोरो !”(कहाँ कहाँका मान्छेहरु पनि यहाँ आइपुगे है !)
स्वागतमा बजेका असंख्या तालीका गडगडाहटले थवाङ्ग गुञ्जायमान भयो ।
निधारमा रातो टीका लगाई हात मिलायौं, अँगालोमा बाँधियौ । वर्गीय प्रेमको बन्धन भन्दा अरुथोक केही थिएन त्यो ।
किन किन पहिलो भेटमै मेरो लागि विशिष्ट थिइन् उनी । उनको सादा जीवन, बौद्धिक बिचार, आदर्शवान अभिव्यक्ति, नम्र बोली, शील स्वभाव, जनशैलीका बिबिध कला, अनुशासित र परिपक्व व्यबहार– सबै सबै मलाई आकर्षित गर्ने विषय थिए । अचम्मको कुरो ! उनले पनि मेरा विषयमा, मेरा हरेक कृयाकलापमा अध्ययन गरिछिन्, गहिरो पारामा । पछि थाहा भयो यसबारे ।
आधार क्षेत्रका भूगोल, संस्कृति, साँगठनिक बिशेषता, सबै जान्न उत्सुक थिए उनीहरु । अझ बढी घोलमेल हुन उनै इच्छुक हुन्थिन् भन्दा जायज होला । एक दिन, एकाविहानै धारामा ब्रस गर्ने मौकामा उनी आफै अघि सरिन्– “तपाईको परिचय पाउँ न ।”
“हुन्छ ।”– कुनै सँकोच थिएन ममा ।
“पहिला म बताउँछु ।”– उनी नै बढी तत्पर थिइन्– “मेरो नाम चिनुमाया तामाङ ‘सरिता’, घर दोलखा, पूर्वी कमाण्डको मुख्य फोर्षमा कार्यरत थिएँ, सेक्सन कमाण्डर । ”
उनले यसरी आफ्नो बारे बताईरहँदा उनका मुहारमा अतिशाय चमक थियो, सम्भवतः अब्यक्त इच्छा पनि झल्केको होस् । गहँुगोरो रङ्ग, बाटुलो परेका आँखा, टक्क मिलेका दन्तलहर, अनुहारसँग मेल खाने नाक– समष्टीमा मंगोलियन अनुहार । भौतिक रुपमा जति सुन्दर थिइन्, त्यो भन्दा अझ सुन्दर उनको बिचार लाग्थ्यो ।
मेरो पालो थियो बोल्ने, भनेँ– “मेरो खास नाम बल बहादुर बुढा, यहाँ ‘नवीन’ हो, पहिलो वटालियनको ए कम्पनीको प्लाटुनमा एफ.जी.एल. छु, घर चाहीँ उवा हो ।” बीचमै कुरो काटिन्– “कता पर्छ उवा ? रोल्पामै हो ?”
“हो, यहीँ रोल्पा नै हो” औलाले इँगित गर्दै भनेँ– “ऊ त्यो धुरीको पल्लो पट्टी हो, दुई घण्टा बढी लाग्छ ।”
उनी त्यतै एकोहोरिइन्, जहाँ मेरो औलाले निर्देश गरेको थियो ।
त्यही दिन त्यहाँबाट हामी पश्चिमतिर हिड्नु प¥यो । किन कि हामी ठुलो आक्रमणमा जाँदै थियौं । अछामको मँगलसेनबाट आक्रमण सफल गरी सबै फोर्ष केन्द्रित हँुदै थियो, दाङ्ग सतबरीयामा आक्रमण गर्नको लागि । रोल्पाको बुढागाउँमा आक्रमणको तयारी थियो, प्राविधिक, म्याप रिडिङ, शक्ति विन्यास– समग्रमा पूर्ण योजनाको तयारी ।
मिरुल, कुरेली, भावाङ, कोर्चावाङ, र गैरीगाउँको तिला हुँदै तीन दिनपछि बुढागाउँ पुगेका थियौं । प्रत्यक नौलो ठाउँमा उनीहरुको जिज्ञासा हामीतिर सोझिन्थ्यो । खास गरी सरिताको जिज्ञासामा अर्थपूर्ण भाव लुकेको आभाष हुन्थ्यो ।
साँेचाइको पोखरीबाट बाहिर निस्किएँ, झस्किएँ ।
कुहिरोको शुन्यताबाट फुत्त बाहिर निस्केर जहाज उडिरहेको थियो । अब भने हाम्रो दृष्यमा नयाँ नयाँ भूगोलका चित्र देखा पर्न थालेपछि त्यसले मेरो सोचाईको क्रम टुटाईदियो । अतीतबाट म वर्तमानमा आईसकेको थिएँ । अथवा, नौलो भूखण्ड, प्राकृतिक छटासँग मन जोड्ने जबरजस्त प्रयासमा थिएँ म, आँखाका दृष्टिलाई जहाजको झ्यालबाट बाहिर हुत्याउँदै, धकेल्दै । सबै साथीहरुको ध्यान जहाज बाहिर नै थियो । कोही जानिफकार साथीले बताइरहेको थियो– “उ, त्यो भोटेकोशी, यता दोलखा, त्यता सिन्धुपाल्चोक…..।”
उनी तेस्रो पटक फेरि आईन् ।
“सबैले मोवाइल स्वीच अफ गर्नुहोला ।”– कुनै व्यक्तिले मोवाईलबाट फोटो खिचिरहेको देखेर नै यसो भनेकी हुनुपर्छ, । मनमनै अड्कल काटेँ ।
मसँग अझै नजिकिइन् । अघिल्लो पटक भन्दा सहज र खुलस्त चेहरामा थिईन्, उनी । केही निहुरिइन्, झ्यालबाट बाहिरको दृष्यमा आँखा गाडिन् । मेरो मुखबाट करिब करिब एक इञ्चको दुरीमा थियो, उनको दायाँ गाला । सेपिएका उनका केशबाट छुटेका केही रेशाले मेरा पम्पुरामा सकसक ग¥यो । देखाउँदै भनिन्– “ऊ त्यो नदीदेखि पारि दोलखा, उ त्यो कालो कालो लेक देखिन्छ नि, त्यही हो शैलुङ, त्यहाँबाट बगेको खोला छ नि, हो त्यो अलिकति घुमेको छ, ठिक त्यही हो मेरो गाउँ ।”
कुनै बेला उनले भनेकी थिइन् । मलाई पनि शैलुङ घुमाउँछु भनेर, त्यो बाचा त पुरा भएन तर आज उनले देखाइन्, निकै टाढाको जहाजभित्रबाट मात्र । मैले उहिलेको बाचा मनमनै सम्झिएँ ।
निकै हर्षित थिएँ म, उत्साहित, रोमाञ्चित । क्षणभरमा म अर्कै संसारको कल्पनामा थिए, मन भित्रभित्रै । धेरै ठाउँको जिज्ञासा, चासो, अझ भनुँ, उसबेलाको मनको कौतुहलतामिश्रित वादसंवाद पनि भए ।
“घरमा को को हुनुहुन्छ नि ?”– मेरो प्रश्न ।
“दाई, भाउजु र नानीहरु । ”
“आमा नि ?”
“आमाको … डेथ भैसक्यो ।”– उनको छाटो जवाफ थियो । पहिला जति उजेली थिइन्, यो जवाफसँग त्यतिकै पारामा अँधेरिइन् । लाग्छ, मेरा प्रश्नले उनको मनको घाउ बल्झियो । मलाई लाग्यो, ‘नसोधे नि हुन्थ्यो, किन सोधे हुँला ?’, उसबेला नै भनेकी थिइन्, बुवालाई पुलिसले मारे, आमा जेलमा, दाइ बिदेशमा, भाउजु माइतमा, घर त बन्द छ भनेर ।
जहाज आफ्नै गतिमा थियो, पूर्व, झन पूर्व वेगिँदै ।
प्राकृतिक सौन्दर्यपान गर्न कत्ति मानेन आँखाले । आँखा चिम्लेँ, लामो स्वास लिएँ, छातीको ढुकढुकीलाई छामेँ । दृष्यमा आएका चित्रसँग सम्बन्ध टुटाएर म मन भित्रभित्रैको आफ्नै इतिहासका चित्रसँग साक्षत्कार गर्न थालेँ ।
लिस्ने भिडन्त, गामको आक्रमण, सन्धिखर्कको आक्रमण र जुम्लाको आक्रमण । करिब आठ महिनापछि जुम्ला आक्रमणबाट फर्केर जेलबाङ्ग आइपुग्यौं, रोल्पाको पूर्वोत्तरको गाउँ । धेरै समय पहिले थवाङ्गमा जाहेर गरेकी इच्छा पुनः त्यहाँ पनि दोहोराइन्, उनले । अथवा, जलजलाको चुचुरोमा पुग्ने धोको ।
दुई दिनको समय छुटाएर जलजला पुग्यौं, करिब एक दर्जनको संख्यामा । इच्छा मुताविक धेरै फोटो खिचिए । युद्ध शुरु हुनुपूर्व बनाईएको जलजलाको स्तम्भलाई सेनाले भत्काएकोले भग्नावशेष मात्र भए पनि मनभित्रको आस्थाको स्तम्भ झन चुलिँदैथ्योे, भग्नावशेषका ढुङ्गामाथि धेरै बेर बस्यौं, आत्मीयता साटासाट ग¥यौं, बात मा¥यौं– जीवनका, युद्धका र जलजलाको ऐतिहासिकताबारे ।
भग्नावशेषको केही तलतिर लेकाली धुपी र चमेलाघारको फेँदमा हिउँका डल्लासँग रमाउन थाले, साथीहरु । म त्यो क्षितिजको उचाईसँग मनभित्र नानाभाँतीका कल्पना नाप्न लागेथेँ ।
मेरो सामु आइन् उनी । र, धेरै प्रसँगका गफिला बेलिविस्तार लगाउन थालिन् । अन्त्यमा प्रस्ताव राखिन्– जीवन मिलनको, यात्रा संगमको । एकाएक मेरो मुटुको धड्कन बढ्यो, उकुसमुकुस बढ्यो, चिसो सिरेटो पनि तातोझैँ लाग्यो । संभवतः मेरो अनुहारको रंग बदलिएथ्यो होला । त्यसो त केही हप्ता पहिलेदेखि मन भित्रभित्रै म उनको मुल्याङ्कनमा थिएँ, अथवा भनुँ अन्तरपरीक्षामा । आज अन्तिम परीक्षा थियो त्यो घडिको, त्यो मनोदशाको । तर यस मामलामा हतारिनु जरुरी थिएन । त्यसो त हामी बीचमा मैले पाएको थिएँ, बैचारिक समानता, भावनात्मक एकता, व्यावहारिक एकरुपता र दृष्टिकोणमा समान बुझाई । त्यसैले जीवन र जगत बारेको, दृष्टिकोण र समाज संस्कृति बारेमा धेरै छलफल गरेपछि अन्तिम निर्णय दिएँ– हुन्छ भनेर । मेरो स्वीकारोक्तिपछि आएको उनको मुहारको चमक र विहानी उषाको बीच एकै एकै सम्बन्ध भएझै देखेँ ।
नाटकीय पारामा खल्तीबाट केही लेखिएको कागज निकालिन् र भनिन्– “यो हाम्रो कसमको वकपत्र ।”
अन्तमा लेखिएको थियो– “देश र जनताको लागि सँगै बाँच्ने, जीवनको सहकार्य गर्ने..।” हेरें, फेरि हेरेर पढेँ, दोहो¥याई, तेहे¥याई ।
“ल यसमा सहिछाप गरौं, मसीले होईन, आफ्नै रगतले ।”– यति भन्दै उनले औलाको टुप्पोमा ब्लेडले सरक्क काटिन् र रगतले कागजको एक छेउँमा ल्याप्चे मारिन् । मन भरिभरि नयाँ सपना साँचेर मैले पनि उनकै तरिका पछ्याएँ । फेरि खल्तीबाट त्यसकै प्रतिलिपि निकालिन् र उसै गरिन्, मैले पनि उसै गरेँ । रगतले रंगिएको त्यो कागज पट्याउँदै एउटा मलाई दिईन् र अर्को उनले राखिन्, यसबेला उनको अनुहारमा अवर्णित चमक थियो, औधी खुशीको, प्रेमको । ठिक त्यही दिन देखि तपाईबाट तिमी र कमरेडबाट अझ वरको सम्बन्धमा जोडिएका हौं । तर आज स्थितिको बोध नभएकोले आपसमा तपाई भनेर सम्बोधन गरिरहेछौं । साँेच्दै थिएँ–
“किन यतिका वर्षसम्म पनि उनी बेखबर रहिन्, मदेखि ?”
“बेपत्ता नागरिकमा दर्ज थिइन्, किन बोलिनन् उनी ?”
“कसरी यस पेशामा आइन् ?”
सबै कुरो अनुत्तरित छन् । म यस जवाफको व्यग्र प्रतिक्षामा छु ।
आजको यो भेट सपना भन्दा पनि बढी जादुमयी छ । यस भन्दा पहिले मैले पनि उनलाई वेपत्ता नागरिक नै सम्झिएको थिएँ, द्वन्दकालको बेपत्ता नागरिक । यसरी भेट हुने कुराको कल्पनासम्म पनि गरेको थिइन, मात्र सम्झनाको त्यान्द्रो बोकेर बाँचेको थिएँ ।
“लौ हेर्नुस्, हेर्नुस्– उः सगरमाथा, मकालु, कञ्चनजंघा … ।”
कसैको आवाजले झस्किएँ म, विगतको स्मृतिलाई छाडेर वर्तमानको यथार्थतामा आएँ, सामुन्ने थियो, अवर्णित, अनुपम सौन्दर्यले मुस्कुराएका हिमखण्डका चुचुराहरु । केही कुहिरो, सेता हिमाच्छादित हिमालय, पर परको अनन्त आकाश र आकर्षक हिमक्षितिज– यी मनमोहक दृष्य जीवनमा पहिलो पल्ट देख्दै थिएँ । तर पनि मन अशान्त, अस्थीर र खण्डित थियो । मन नलागी नलागी पनि इतिहासको लागि भनेर क्यामेरामा केही फोटाहरु लिएँ । ती फोटाहरु भन्दा अझ मुल्यवान चिज पाएको छु आज । जसलाई मैले बेनीमै गुमाईसकेको सम्झेको थिएँ, तर आज भेटिइन् उनी, भाग्यमानी ठान्छु म आफुलाई ।
ठिक एक घण्टापछि काठमाण्डौको विमानस्थलमा ओर्लियौं ।
मन भरिभरि बात मार्ने इच्छा थियो, मसँग, उनीसँग । साझा चाहना, जहाँ अहिले सम्मको विछोडको प्यास मेट्नु थियो । नाटकीय पाराको यो पुनर्मिलनको डोरीलाई अझै गाँठो पार्नु थियो, बलियो पारेर, यो जुगसम्मको । रहस्यमय उनको यो आगमनको भित्री कुरो जान्न खसखस थियो मेरो मनमा, अथवा उनको स्पष्टीकरणको । मलाई आफनो नम्बर टिपाईन्, मैले पनि इमेल आई.डी. टिपाएँ । मन खोलेर इतिहास देखाउने तिब्र चाहना भएपनि हामी बीच आ–आफ्नै बाध्यता थिए ।
उनको दुई तीन पोज फोटो लिँदा नलिँदै निगमका कर्मचारीहरु र सुरक्षाकर्मीले छिटो जान आग्रह गरेअनुशार बाहिरिएँ म, गह्रुङ्गो मन बोकेर । गेटबाट अन्तिम पल्ट नियालेँ, उनले हात हल्लाइन्, मैले पनि । र, अलिकति रहस्यमयी मुस्कान ।
“हेलो, म सरीता”– साँझ मेरो मोवाइलमा उनको कोमल आवाज सुनियो । हृदयको तार झंकृत गर्ने खालको । करिव दश मिनेटको वादसंवादपछि उनले भनिन्– “मेरो पुरानो डायरी छ, युद्धकालका … तपाईलाई देखाउने सोँचमा छु ।” पहिले पनि कविता लेिख्थन्, गीत गाउँथिन् ।
“हुन्छ, यहीँ आउनु न ।”– मैले उनलाई बोलाएँ ।
करिब आधाघण्टा पछि उनी आईपुगिन् । सुन्धाराको एक होटेल, जहाँ दश जनाको समूहमा थियौं । साथीहरुसित परिचय गराइदिएँ, साथै इतिहास पनि बताइदिएँ । चकित परे सबै साथीहरु ।
निकै गह्रुङ्गो लाग्यो उनले दिएको डायरी ।
खाना खाएपछि मनको कौतुहलताले मलाई हठात् धकेलेर ओछ्यानमा पु¥यायो । डायरीका सेता पन्ना पल्टाउन मेरा औँला सल्बलाए, मेसीन चलेजसरी ।
डायरीको शुरुमै लेखिएको थियो–“गामको मोर्चामा नवीनको दायाँ पाखुरामा गोलीले छेडेपछि रगत बग्न थाल्यो, मैले खल्ती छामँे, रुमाल थिएन, ड्रेस भित्रको मेरो नरम भेष्ट च्याटेर उनको घाउमा फनफनी बाँधिदिएँ । रगत रोकिएपछि डाक्टरहरुकहाँ पठाएको थिएँ …. वरिपरि बम र गोलीका असङख्य पर्रा त्यतिकै छुटिरहेका थिए, जीवन रहन्छ या रहन्न अनिश्चयको क्षण थियो …।”
“….जुम्लाको लेकमा मेरा हात खुट्टाका रगत जाम भयो, म मुर्छा परेँ । थाहा छैन, त्यसपछि के भयो ? … साँझ म व्युँझिदा महिला साथीहरु मेरा हात खुट्टा मालिस गर्दै थिए । मलाई याद छ, व्युँझेपछिको पहिलो क्षणमा उनै नवीनलाई नै सम्झेँ, उनले आफ्नो ओभरकोट फुकालेर मलाई ओढाइदिएका थिए, मलाई आवश्यक तातोपना दिन धुपीको फेँेदमा चिसा दाउरामा आगो झोसिरहेका थिए … ।”
उफ् ! उही अतीत, उही विगत । सम्झेर मन आधा खिन्न हुन्छ, आधा गौरवान्वित । डायरीका पन्ना अझैँ पल्टाउँदै एक पछि अर्को लिपिवद्ध संस्मरणहरु हेर्दै गएँ । केही मार्मिक रहस्यहरु खोलिएका थिए–“…..जे सपना बोकेर म युद्धमा होमिएकी थिएँ, ती सबै तासको महलझैँ भताभुङ्ग त्यसबेला भयो, जुनबेला म बेनीको खोला किनारमा एक्लै छाडिएँ । बेनीबाट फर्किरहेका थियौं, दायाँ वायाँ असंख्य बमहरु पड्किरहेका थिए, हेलिकप्टरबाट खसालिएका बमहरु । गोली पनि त्यतिकै चलिरहेको थियो । जीवनको प्रवाह कसैसँग थिएन, र पनि उसबेला मैले नवीनलाई खोज्न सबै ग्रुपमा आँखा दौडाएँ, कहीँ देखिन, थाहा थिएन उनी कहाँ थिए त्यसबेला । एक्कासी हाम्रो बीचमा बम खस्यो, त्यसपछि थाहा छैन के भयो । म व्युझँदा सुनसान वगरमा एक्लै लडेकी थिएँ । रातको कुन प्रहर हो, थाहा थिएन । निकै पटकको प्रयासपछि उठेँ, शिरमा ठुलो भारिले थिचेजस्तो रिङ्गटा लागिरहेथ्यो, ठुलो चोट लागेछ टाउकोमा । छामे, रगतका पाप्रा थिए, हिँड्न खोजेँ, निकै मुिस्कल प¥यो । जेन तेन हिड्न त सकेँ, तर कहाँ जाने ? अपरिचित भूगोल छ । नजिकैको झुपडीमा शरण मागेँ ।………संयोग भनुँ या भाग्य, त्यो बकिमले गाउँको अहेव मेरै मामा हुनुहँुदोरहेछ, उपचार गरिदिनुभयो, तीन हप्तामा केही सञ्चो भएँ । त्यस बेलासम्म म त्यो घरमै भूमिगत बसेँ । दुई महिना सम्म पनि पार्टी सम्पर्क हुन सकेन । यस बीचमा मलाई नवीनको सम्झनाले निकै रुवायो । एक्लै रोल्पाको थवाङ्ग पुग्ने हिम्मत गरेँ तर मामाले स्वीकृति दिनुभएन । उहाँकै चाहनामा करिव तीन महिनापछि मामासँग काठमाण्डौ आएँ र पहिलेको इन्टरको पढाई जोडेँ । घर भत्किएको छ रे, दाइ भाउजुले नयाँ बनाउन थाल्दै हुनुहुन्छ रे, आमाको निधन भएको खवरले म कति रातसम्म रोएर बिताएको छु । गाउँको मायाले आसाध्यै सताउँदै छ ।”
“…..नवीनको हालखवर के छ, आजकाल सपनीमा निकै भेट हुन्छ, जीवित छन् कि छैनन्, बेखवर छु म । जीवित रहुन् भनेर कामना गर्नु भन्दा अरुथोक केही छैन मसँगको उपाय । मेरा नजिकका नातेदार आफन्तदेखि म बेखबर छु, टाढा छु, मामा बाहेक । मेरो सुरक्षाको लागि पनि कसैसँग भेट नहुने बचन खाएको छु । मेरो नाम बेपत्ताको सुचीमा छ, म यहाँ छु, हाँसो लाग्छ ।”
रात भर म उनकै डायरीमा हराएँ । उनी यहाँ आएको कारण बल्ल थाहा पाएँ । साठी सालको मध्यतिर लेखिएको संस्मरण रहेछ यो । शान्तिकालपछि त उनको सुरक्षाको प्रश्न हटेकोले सार्बजनिक पेशामा लागेकी होलिन् ।
“… नवीनको जति माया लागे पनि अचेल पार्टीसँग मेरो कुनै साइनो छैन, अहिलेसम्म उनको सम्पर्क खोज्न निकै धाएँ, तर असफल भएँ, उनी पाँचौँ डिभिजनमा छन भन्ने कुरा थाहा छ । कसैले पनि दिन मानेनन्, उनको नम्बर । आशा छ, एक न एक दिन हाम्रो भेट हुनेछ ।”
हालसालै लेखिएको हरफ रहेछन् यी ।
“नेताले हाम्रो सपनाको हत्या गरेका छन्, जनतालाई धोखा दिएका छन्……।”– डायरीको अन्त्यमा लेखिएको संस्मरणका अनुच्छेद यही थियो । यस तर्कसँग म पनि सहमत छु, सत्यतामा म झुटको खोल हाल्न सक्दिन । विगतका बाचा कसम सम्झन्छु र अहिलेको अवस्था हेर्छु, हो नेताले हाम्रो भर्भराउदो बैँशलाई चुसेका छन्, लुटेका छन् र अहिले आएर हाम्रा भविश्य माथि खेलवाड गरेका छन्, अपमान गरेका छन्, यही नै हाम्रो दुर्भाग्य हो । हामी र हाम्रो सँगठनको नाम इतिहासमा लेखिएको छैन, विघटन गरिएको छ, निरास छु म यस प्रकृयाबाट । तर गर्व यस अर्थमा गर्छु अढाई वर्षको राजतन्त्र जनता र हाम्रो बलबाट खतम गरियो, बस यही छ गर्व ।
म रोल्पा आएपछि पनि फोनमा धेरै कुराकानी भए ।
दिनहुँ जसो भेट हुन्छ, फोनमा । मिनेटौंको गफ पनि छोँटोझैँ लाग्छ ।
“……. एयरको माउण्टेन फ्लाइट् दुर्घटनाग्रस्त…….।”– मुटुमा किला रोपेभन्दा शक्तिशाली तिखो थियो यो समाचार । छाती ढुकढुक हुन्छ, जोडजोडले । छाँगाबाट खसेझैँ हुन्छु, आँखा तिरमिराउँछन्, भाउन्नझैँ लाग्छ । थर्थराउँदै गरेका औँलाले फोन नम्बर डायल गर्छु । स्वीच अफ भन्छ, झन् बेचैन बढ्छ ।
जताततै सम्पर्क गर्छु, समाचार सत्य सावित हुन्छ ।
त्यो एयरको केन्द्रिय कार्यालयमा फोन गर्छु, पहिचान माग्छु । पाइलटको, एयर होस्टेजको र यात्रीहरुको ।
उफ् ! रिङ्न थालेका आँखा बन्द गरेर आफ्नो सन्तुलन कायम राख्ने यत्न गर्छु, कडा यत्न ।
एकाएक सम्झन्छु, । रगतले ल्याप्चे लगाएको सम्झौतापत्र ।
(दाङ)