यमुना, जसले वैँसका संवेदनाहरू आस्थाका छातीभरि घोप्ट्याएकी थिइन् ! रहरका देउरालीहरूमा पिरतीको मिठो भविष्य रोपेकी थिइन् नसोच्दा–नसोच्दै, छिनभरमै गल्र्याम्म ढलेर आज विस्तारै निदायो उनको पहाड र जीवनको आँटीभरि एउटा निर्जन नीहारिका उघारेर झल्यास्स ब्युँझियो जूनीभर दुखिरहने पीडाको निर्मम इतिहास ! तर, कस्तो अचम्म ! मृत्युका पिरामिडहरू उठाएर रगतले लेखिएका जीवनका शीलालेखहरू सुक्न नपाउँदै आज फेरि हिनहिनाउन थालेको छ- विकराल प्रत्युत्पादन ! सेतीका चिसा बगरहरूमा भासिँदै गरेका उनका करोडौं भविष्यहरू कालापत्थरका चट्टानहरूमा फोरिदै गरेका उनका सहस्र सपनाहरू निर्जीव राष्ट्रको निरीह शासकझैँ अलिक पर ठिङ्ग उभिएर टुलुटुलु हेरिरहेछ- एउटा लाचार वर्तमान ! हो यमुना, तिम्रो पहाड सहिद दुखेर यतिखेर म देश बाँच्न पाएको छु ! साँच्चै ! यमुना, क्रान्तिको गर्भ बोकेर तिमीले तुफानको गुरुत्व निम्त्याउँदै गर्दा दासताको ओढारभित्र म एउटा कायर सहर हुर्किँदै थिएँ ! तिम्रो स्वाभिमानी शिरभरि कालापानीको खिल चसक्क बिझिरहँदा म घरभित्रै, अंशवण्डाको शीत युद्ध लड्दै थिएँ ! वर्गप्रेमका धुनहरू सुसेलेर तिमी हजार माइलको यात्री बन्दै गर्दा जिन्दगीको खण्डरभित्र म घरेलु विभिषण बनी जन्मिदै थिएँ ! सायद, म एउटा खतरनाक देशद्रोही हुँ ! हो यमुना, कृपा गरी मलाई एक थोपा मृत्यु पस्किदेऊ ! मेरी यमुना ! तिमीले स्वर्णीम पहाड हारेर समयको कुरूक्षेत्रभित्र एउटा सिङ्गो युग जितेकिछ्यौ ! अभिशप्त जीवन जलाएर अगणित उदात्त आयमहरू बाँचेकिछ्यौ ! गौरका राष्ट्रिय सिकारीहरू नागरिक तिरो डसेर संसदीय गोठमा उग्राइरहेको समयमा एक हुल कठपुतलीहरू माल्यार्पण गरिरहेछन्- निर्जीव शालिकहरूमा ! अफसोच ! सपनाको बिस्कुन कुल्चिर जीवनको मलामी हिँडेको अघोरी जुलुशभित्र तिम्रो पहाड भेटिने छैन, यमुना ! यसर्थ कि: जासुसी थैली थन्क्याएर विलासिताको घोडचढी दौडिदै गर्दा जिन्दगीको भीरबाट बङरङ्ङ लडेर उसको पखेरू उडेको होइन ! बार्दलीमा उभिएर वैँसका उमङ्गहरू जूनसँग विनिमय गर्दै गर्दा क्रसफायरमा परेर उसले अकस्मात् जीवन गुमाएको पनि होइन ! ऊ त, वर्गयुद्ध लड्दा–लड्दै उत्सर्गको अग्लो पहाडबाट गर्ल्याम्म ढलेर नअस्ताउने तार बनेथ्यो ! (झापा)