काठमाडौं, १ माघ ।
आज देशभरि माघी पर्व मनाइँदै छ । थारु समुदायले माघी र मगर समुदायले मकर संक्रान्तिका रूपमा मनाउने यो पर्व नेपालका सबैजसो जनसमुदायले मनाउँछन् । तर थारु समुदायको भने यो मुख्य पर्व हो । राम्रो लगाउने र मिठो खाने पर्वमा पर्वका रूपमा मनाइलने यो चाडमा बिहानै उठी नुहाइधुवाइ गरी मान्यजनबाट आर्शीवाद लिने गरिन्छ । आजकै दिन तरुल, घ्यु, चाकु, तिलको लड्डु, चिउरा, आदि पनि खाने गरिन्छ ।
थारु समुदायले तराईका पाँच जिल्लामा तिनदिनसम्म हर्षोल्लासका साथ यो पर्व मनाउँछन् । पुस ३० गते घरघरमा सँुगुर काट्ने गरिन्छ जसलाई ‘जिता मरना दिन’ भनिन्छ । यो दिन सुँगुर, बङ्गुर, माछा र कुखुराको पकवानका साथै जाँड खाने गरिन्छ । साँझ नाचगान गर्ने र रमाइलो गरी रातभर जागाराम बसिन्छ । माघ एक गते थारु समुदायको नयाँ वर्ष पनि भएकोले यसलाई विशेष दिनको रूपमा लिइन्छ । यो दिन बिहानै नदी र तलाउमा नुहाउन गइन्छ जसलाई ‘माघ लहान’ भनिन्छ । यसैदिन मान्यजनबाट आर्शीवाद लिने चलन छ । माघे संक्रान्तिका नामले प्रख्यात यो दिन अन्नभण्डार छुने र बिबाहित छोरीचेलीको स्वामित्व हुनेगरी केही अन्न छुट्टाएर राखिन्छ । यो दिन फलफूल, तरुल, ढिक्री खाने गरिन्छ । यो दिनलाई मित्रता र मिलनको दिनका रूपमा लिइन्छ ।
तेस्रो दिन खिचडी खाने गरिन्छ । जसालाई ‘खिचरहवा’ भन्ने गरिन्छ । यो दिन पशु बध गरिदैन । यसै दिन विगतको कामको समीक्षा गर्ने र नयाँ योजना बनाउने गरिन्छ । यो दिन हिसाब किताब मिलान गर्ने, छुट्टाभिन्न र मेलमिलापका साथै अधिया, बटैया लगाउने, गाउँको चौकिदार चुन्ने पनि गरिन्छ । चौथो दिन माघेसंक्रान्तिको दिन छोएर राखेको चामल, नुन, दाल, पैसा छोरीचेलीलाई दिइन्छ । जसलाई ‘निसराउ’ भनिन्छ । यसरी माघी पर्व धुमधामसँग समापन हुन्छ ।