सहकर्मी साथीले उनको बारेमा खुसुक्क पहिले नै केही कुरा भनेका थिए । उनी अयोग्य लडाकु थिइन् । उनीसँग अलिकति कारोवार मिलाउनु थियो । मान्छेको चेपबाट झिकेर अलि खुल्ला स्थानमा आयौं । उनी ग्राहक कुरेर बसेको भन्दै थिइन् । अन्दाजी तीस जति हुनुपर्छ उनको उमेर ।
मैले घरायसी हालखबरबाट विषय प्रवेश गरे, र सोधेँ, “विवाह भयो , केटाकेटी कति छन् ? “उनले अप्ठ्यारो मान्दै उत्तर दिइन् , “युद्धकालमा नै विवाह गरेको सँगैको साथीसँग । दुईटी छोरी छन् । श्रीमान कुवेत गएका छन् । कम्पनीले काम गर्ने समय आधा घटाएको छ । तलवले खान पुग्दैन भन्छन् । नानीहरू बोर्डिङ पढ्छन् । खर्च धान्न गाह्रो छ, त्यही भएर अनियमित भएको हो । ” मलाई सोधेको भन्दा बढी जवाफ मिल्दै थियो उनीबाट । उनी बोल्दै गईन्, “उबेला जनबादी शिक्षा पढ्नुपर्छ भन्दै पढ्न छोडियो । अहिले बेरोजगार बनायो । “म केही नबोलेको देखेर उनी बोल्दै गइन्,” छातीको उचाइ नपुगेर बहिर्गमनमा पर्यौं दुवैजना । पहिले त्यत्रो युद्ध थर्काउने मान्छे , व्यारेकमा बसेर पिटी खेल्न अयोग्य ठहरियौं । निजी स्कूल बन्द गर्थ्यौ, छोरीहरू बोर्डिङमा पढाउन थाल्यौं । खर्च बढ्यो ।”
हामीसँग भेट्नुपर्ने अरु धेरै ग्राहकको नाम थियो । मैले प्रसंग बदल्दै भने, ” केही उपाय त गर्नै पर्यो । पौष मसान्त हो । वित्तीय संस्था पनि बाँच्नु पर्यो ।” “त्यै त एकजना ग्राहक आउँछु भनेका थिए, पर्खिरहेकी छु । गर्न हुने नहुने काम सबै गरियो । उबेला वित्तीय संस्थाको करोडौं लुटियो, कर्मचारी पिटियो, लखेटियो, मारियो । नेताहरुले त्यै पैसा लगेर बैंकको शेयर किने । पैसा जहाँ थियो त्यही पुग्यो । मालिक मात्र बदलियो ।”
उनको आशय नबटारियोस् भनेर मैले टुङ्ग्याउने उद्देश्यले थपे, “भोलि मसान्त हो पुग्नुहोला हैं ! तपाईं जाने बुझेको, दुःख भोगेको मान्छे ।”
“हुन्छ , बचेको त्यै घर छ । ग्राहक आउँदैछ, घर बेच्छु सबै ऋण तिर्छु । केही नयाँ सीप सोच्छु । युद्धभन्दा ठूलो कला शिक्षा रहेछ । पटकपटक एउटै ढुङ्गामा ठोक्किएर लड्नु पनि छैन । मनको जुत्ताभित्रका ढुङ्गाहरू निकालेर फ्याक्नु मात्र बाँकी छ । बस् — !
(धनगढी, कैलाली)