सहस्र किरणहरुमा दासताको विष भरेर लाखौँ ताराहरूलाई गिज्याउँदै अँध्यारोको साम्राज्यसित यो धरतीको उज्यालो साट्ने सम्झौता गर्दैछ एउटा सूर्य महासय ! यो गद्दारीवेशन हो; महाधिवेशन हुनै सक्दैन !! भित्र्र्याउँदै घातक बहुराष्ट्रिय कार्वनडाइअक्साइड आफ्नै सञ्जीवनीको अथाह र स्वच्छ अक्सिजन आवधिक रूपमा आणविक हतियारको कारखानातिर खुलेआम बुझाइरहेछ एउटा बूढो रुख महासय ! यो दलालीवेशन हो; महाधिवेशन हुनै सक्दैन !! बर्साैँवर्ष मान्छेहरूका आँखा, जिभ्रो र पेटमा डस्दाडस्दै मर्न पुगेका भयानक विषालु सर्पहरू फेरि बौरेर एकजुट भई जोत्ने कोसिस गर्दैछन् मान्छेहरूकै छातीमा एउटा नृशंस हलो महासय ! यो अपराधिवेशन हो; महाधिवेशन हुनै सक्दैन !! ठिँगुर्याउँदै सपनाका मुनाहरू दुर्गन्धित सिनोमा दाँत गाडिरहेछ हँसिया वर्गशत्रुको टेबिलमा वीभत्स रसको गिलाँससित ’चेयर्स’ गरेपछि ठाउँ कुठाउँ बज्रिरहेछ हथौडा र, पनि भनिरहनेछन् ती, “किसानसितै छ हँसिया“ “मजदुरसितै छ हथौडा“ महासय ! यो भ्रान्तिवेशन हो महाधिवेशन हुनै सक्दैन !! आउनुहोस् ! हाम्रा जीवन र सपनाका हत्यारा ’महाधिवेशन’हरूको सख्त खारेजीको घोषणा गरौँ !!! (मकवानपुर)