व्यक्तित्व तथा कृतित्व
स्रष्टा विष्णु भण्डारी आचार्यको जन्म धनकुटा चौबीसे गाउपालिका- ५ मा २०२५ सालमा भएको कुरा बायोडाटाले भन्छ । पिता स्व. प्रेमबहादुर भण्डारी तथा माता स्व. चन्द्रकला भण्डारीकी तेस्रो सन्तानका रूपमा जन्मेकी कृतिकारले स्नातकसम्म अध्ययन गरेको देखिन्छ । पेसाले शिक्षक भएकाले कृतिकारको कलम एकदम बेगले कुदेको छ ।
श्रीमान् बलबहादुर आचार्य तथा दुई सन्तान सपना आचार्य तथा विपना आचार्यसँगको पारिवारिक वातावरणमा रहेकी कृतिकारको हालको मुकाम बेलबारी मोरङमा रहेको छ ।
२०७८ सालमा यो ‘फेसबुक आईडी’ लघुकथासङ्ग्रह प्रकाशन गर्नुभन्दा पहिले नै २०७२ सालमा ‘मान्छेको भीडभित्र’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित भइसकेको छ । अब कथासङ्ग्रह लिएर आउने योजना बनाएकी कृतिकारको संलग्नता बेलबारी साहित्य विकास समिति, स्रस्टा समाज बेलबारी, इटहरी साहित्य समुह इटहरीमा पनि रहेको छ ।
कृतिकार भण्डारीका ‘फेसबुक आईडी’ मा समेटिएका प्रायः सबै लघुकथाहरू नेपालमा नाम चलेका साहित्यपोस्ट, नागरिक न्युज, निगुरो त्रैमासिक, राष्ट्रिय मासिक पत्रिका, लेखापढी डटकम, जनमत साहित्य मासिक जस्ता पत्रिकामा प्रकाशित भइसकेका छन् । त्यसैले पनि यी लघुकथाहरू स्तरीय छन् भनेर आँकलन गर्न सकिन्छ ।
लघुकथाको कसी
लघुकथा एउटा विशिष्ट शिल्पी आख्यान हो । शिल्पको अनुपस्थितिले कुनै पनि आख्यान लघुकथा बन्न सक्दैन । संसारमा सबै विषयका सीमा छन् । साहित्यका पनि सीमा छन् । त्यसमाथि झन् लघुकथाका त विशिष्ट सीमाहरू नहुने कुरै भएन । त्यो सीमा भन्नु विचारको सीमा होइन । विचार त स्रस्टाको चुली निजत्व हो । तर बुनौटमा चाहिँ स्रस्टाले घोरिनु र सकेसम्म बाँधिनु कृतिको स्तरीयताका हिसाबले पनि उपलब्धिमूलक हुन्छ । त्यस कारण लघुकथालाई कसी लाइरहँदा मूलभूत रूपमा कथानकको अब्बलता र बुनौटमा चुस्ततालाई केन्द्रीय भागमा राखिरहनु पर्छ । विषयवस्तुको गुणस्तरहिनता अब्बल लघुकथाको पहिलो बाधा हो ।
अब्बल विषयवस्तुलाई पनि विशिष्ट बुनाइको तानमा राख्न सकिएन भने स्तरीय लघुकथा बन्न सक्दैन । त्यस कारण कथानक तथा बुनौट दुवै अति आवश्यक कसी हुन् लघुकथाका । बुनौटका हिसाबले हेर्ने हो भने लघुकथामा लघुता, संक्षिप्तता, अल्पता, सूक्ष्मता, कुतूहलता, प्रतिध्यन्यात्मकता, विपरीतभावमा अन्त्य, बिजबाक्य, उठान, उत्कर्ष तथा चुस्त समापन अति महत्त्वपूर्ण हुन् । यिनै दुई कसीका हिसाबमा कृतिमाथि पाठकीय दृष्टि प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
विषयवस्तु
खासमा मैले यो पुस्तकको भूमिकामा आफ्ना कुरा लेखेको छु । यद्दपि भूमिका लेख्नु, विमोचनका आवसरमा बोल्नु, कृतिसमीक्षा गर्नु र पाठक भएर ठोस्नु अलगअलग विषय हुन् । यो आलेखमा म ‘फेसबुक आईडी’मा रहेका केही विषयवस्तुका कथानक र बुनौटका बारेमा पाठकीय विचार पस्कने जमर्कोगर्दैछु ।
सर्जक भन्नु समाजको एउटा अंश हो । त्यस कारण सर्जकको सिर्जनामा ऊ बाँचेको समाजको चित्र खर्लप्पै आउँछ । यसमा सर्जकको निजी चेत, हेराइभोगाइको व्यापकताले ज्यादै ठूलो प्रभाव पार्छ । संसारमा मूलतः विषयवस्तुहरू ४ प्रकारका हुन्छन् । संसार त्यही ४ विषयमा घुमेको छ । त्यसैमा शाखाप्रशाखाको निर्माण गरिएको छ । पहिलो हो दिमाग याने बुद्धि । विज्ञान, तर्क, बुद्धि, अधिकार सबै यही दिमागका खेल हुन् । दोस्रोमा हृदय पर्छ । याने प्रेम, त्याग, दया, सहनशील, माया, आदि ।
तेस्रो पेटको समस्या । याने जागिर, व्यवसाय, उद्योग, खेतीकिसानी आदि यही पेटका विषय हुन् । अन्तिम यौन हो । यौन भनेको भल्ग्यारिटी होइन, दर्शन हो । जीवन हो । सृष्टिको सूत्राधार हो । यी चारै विषयमा लघुकथा लेख्न सकिन्छ ।
प्रस्तुत सङ्ग्रहमा उनिएका लघुकथाहरूको विषयवस्तु केलाउँदा सामान्यतया दिमागका आधारमा आउने विषयवस्तुलाई प्रस्तुत गरिएको पाइन्छ । महिला हिंसा, पुरुष हिंसा, (पक्राउ पुर्जी), सामाजिक विडम्बनाका हारमा मान्छेको स्वार्थी चरित्र (माइत),लाई विषयवस्तु बनाइएको छ ।
लघुकथाकारले समाजको नकारात्मक सोचको रन्काबाट दुखित भएर कलम चलाएको देखिन्छ । त्यसकारण समाजका विविध पक्षमा कलम चलेको छ लघुकथाकारको । कृतिभित्र स्वार्थी समाज स्वार्थी आफन्त, कृतघ्न सन्तानको कथा, समाजको विपर्यास चित्र (दसैँ खर्च)ले मजाले स्थान पाएका छन् ।
कृतिभित्र स्वार्थी मान्छे (सल्लाह), कृतघ्न मान्छे, असल मान्छे, अविवेकी मान्छे तथा प्रगतिशील सोच भएका मान्छेको कुरालाई पनि प्राथमिकतामा राखिएको छ (पुरानो कुरा) । कृतिकार शिक्षक भएकाले शैक्षिक विसङ्गतिमा धेरै लघुकथाहरू लेखिएका छन् । शैक्षिक विसङ्गतिलाई विविध कोणबाट प्रस्तुत गरिएको छ । शैक्षिक बेरोजगार (भविष्य)को कथा छ । स्कुल, विद्यार्थी, बालमनोविज्ञान, असल पठक कस्तो हुनु पर्छ भन्ने सन्देश (माया) छ । यौन शिक्षाको आवश्यकताको विषय गजबले उठाइएको छ (छाडाकुरा) ।
विषयवस्तुभित्र कृतिकारले स्वावलम्बनका कुरा पनि उठाएको देखिन्छ । महिलालाई आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने महिला सशक्तिकरण (साहस) को विषयलाई तदारुकताका साथ उजागर पारिएको छ । महिला विद्रोहको कुरा (गलत निर्णय), नारी दिवशमा आडम्बर (नारी दिवश) यसै गरी वैदेशिक रोजगारीका पीडा (फेसबुक सम्बन्ध), कोरोना (कोरोना रिपोर्ट), राजनीतिक व्यङ्ग्य,(आशीर्वाद), राजनीतिक विसङ्गति (परिवर्तनको नारा), भ्रष्टाचार (कमाइ), बृद्धाश्रम (के काम) जस्ता विषय पनि मजाले उजागर भएका छन् ।
विशेषता
लघुकथासङ्ग्रह ‘फेसबुक आईडी’ पढिसकेपछि कृतिकारका केही खास विशेषता देखिन्छन् । सर्व प्रथम त लघुकथाकारले लघुकथाका सबै खाले सीमाहरू बुझेको महसुस हुन्छ । लघुकथामा हुनुपर्ने सीमाका बारेमा अवगत भएर नै यी लघुकथा लेखिएका हुन् भन्ने अनुभूत हुन्छ । शब्दसीमा, लघुत्व, संक्षिप्तता, सूत्रता, बहाबमा तिब्रता, झट्कायुक्त मापन आदि बुझेको लघुकथाकार भन्न सकिन्छ । लघुकथाकारको यो स्तरीकरण हुनखोज्ने प्रवृत्ति याने कि सिक्न खोज्ने प्रवृत्ति लघुकथाकारको विशिष्टता हो । किन भने सिकेर कहिल्यै न त सकिन्छ । न त सानो होइन्छ । सिक्नु एउटा अनवरत प्रकृया हो । यो विशेषता लघुकथाकारमा पाइन्छ । त्यसै गरी कृतिकारलाई सामाजिक विषयवस्तुमा कलम चलाउने स्रस्टाको विशेषतामा राख्न सकिन्छ ।
भाषिक मीठास कृतिकारको सबैभन्दा महत्वपूर्ण विशेषता हो । भाषा सरल, बोधीय तथा सुन्दर छ । ठेट शब्दको प्रयोगले लघुकथा अग्र्यानिक मात्र होइन सुन्दर बनेको छ । जस्तै ‘सालिन्ने’ ‘बेसन्तोष’, ‘टाट्नो’, ‘फाँचो’, ‘कठाला’, ‘भाइबुइना’, ‘धाती न गुहारी’, ‘पाइन’, ‘गाईपरानी’, ‘घोइरा’ टिठ्याउनु, जस्ता नेपाली भाषाका ठेट शब्दको मीठाससहित प्रयोग भएको छ । यसैगरी नेपाली भाषामा प्रयोग हुने विशिष्ट उखान टुक्काको यथेष्ट प्रयोग भएको छ । यसले कृतिलाई सुन्दर र स्वादिलो बनाएको छ । कृतिकार नेपाल सरहदको पूर्वी भेगको वासिन्दा भएकाले लेखौटमा पूर्वी लबज मजाले आएको छ । यसले लघुकथालाई स्वादिलो मात्र बनाएको छैन बरु स्थानीयताको स्वाद पनि पस्केको छ ।
लघुकथाकार विष्णु भण्डारीलाई सकारात्मक सोच भएको स्रस्टा भन्न सकिन्छ । समाजमा अनेकन विषयवस्तु छन् । तिनमा प्रायः नकारात्मक दृष्टिकोण पस्कने गरिन्छ । किनभने नकारात्मक धार मान्छेका लागि चखिलो हुन्छ । तर लुघकथाकार विष्णु भण्डारी आचार्यले आफ्ना लघुकथाहरूमा सकारात्मक सोच राखेको पाइन्छ । सुन्दर सुखाय तथा असल चिन्तन छ लघुकथामा ।
केही अर्जी
यो संसारमा पूर्णता खोज्नु सापेक्ष कुरा हो । के कुरा पूर्ण हो ? के कुरा अपूर्ण हो ? यो कुरा तुलना वा पाठकको व्यक्तिगत चेतीय कुरा हो । परिवेशीय कुरा हो । भूगोल र संस्कृतिले मान्छेका जीवनपद्दतिमा पारेको प्रभाव हो । अझ खासमा भन्ने हो भने पाठकको निजात्मक कुरा हो । र पनि फेरि अब्बल र फेच्चा छ्ट्याइहाल्छ समाजले । पाठकले । द्रस्टाले । भोगीले । पूर्णताको यात्रा खोजिहाल्छ चेतले । मान्छेले । त्यसैले यही सापेक्षमा नै भए पनि मेरो निजी विचारमा अझै अब्बल बनाउनका लागि केही भनाइ त राख्न नै परेको छ ।
समाजमा परम्परागत, यथास्थिति, प्रगतिशील र क्रान्तिकारी धारहरू हुन्छन् नै । यी सबै धारमा आदर्शवाद हुन्छ । प्राय लघुकथाले यथास्थितिमा सुधार खोजेका छन् । कति त परम्परागत मान्यताका नजिक पनि छन् । कथानकमा दार्शनिक पक्ष एकदम अभाव छ ।
पात्रहरू कमजोर छन् । आत्महत्याको बाटो समातेको कथा पनि छ । कतिपय पात्रहरू विद्रोह गर्न सक्दैनन् । श्रीमती कुट्ने विषयलाई सहज मानिएको छ (संस्कार)। यसो भएकाले अब लेखिने साहित्यमा कृतिकारले खोजेको परिवर्तन के हो ? कृतिकारले भन्न खोजेको याने चाहेको समाज कस्तो हो ? भन्ने कुरा प्रस्टाप्रस्टी आउनु पर्ने हुन्छ । विषयवस्तुमा अझै विविधता अपनाउन पाए हुन्थ्यो । किन भने यो संसारमा अनेकन विषयहरू छन् ।
विषयमा विविधता छन् । विविधतामा अग्रगमन आजको आवश्यकता हो । जस्तो कि भौतिक, पराभौतिक, आध्यात्म, दर्शन, आधुनिकता, आर्थिक दर्शन, आदिआदि विषयवस्तु छन् । अनि समाजको लक्ष जहिले पनि यथास्थितिबाट सुधारिएर अर्को युगमा पुग्नु नै हुन्छ । त्यस कारण लघुकथा प्रगतिशील धारमा लेख्दा झन् राम्रो हुन्छ । प्रगतिशील धार भन्नु कम्युनिष्टले भनेझैँ राजनीतिक कुरा मात्र होइन ।
मान्छेका दिमागमा सुन्दरताका लागि परिवर्तन आवश्यक छ । हृदयमा परिवर्तन आवश्यक छ । पेटका सामग्रीमा आवश्यक छ । यौनका विषयमा सोचिने कुरामा परिवर्तन आवश्यक छ । यो आवश्यकतालाई साहित्यले प्रस्टाप्रस्टी रूपमा उजागर हुनु बान्छनीय हुनजान्छ । यो समग्र विश्वसंसारकोलागि चलिरहने सतत् प्रकृया हो ।
यथास्थितिको वर्णनभन्दा आउने युगलाई बल पुग्ने गरी लघुकथा लेख्दा झन् सुन्दर हुन्छ । किनकि समाज बदलिन्छ र यथास्थितिमा लेखिएका कथावस्तु बिस्तारै बिस्तारै अप्रासङ्गिक हुन जान्छन् । विषयवस्तुमा कालजेयी कथानक छान्न सके ती सदाबहार हुन्छन् । यद्दपि परिवर्तनको कुनै जेनिथ छैन । त्यो जेनिथ टुङ्गिने कुरा पनि होइन । र पनि हामी लेखकको यात्रा सधैँसधैँ अग्रगमन याने कि सुपरिवर्तनतिर जानु पर्ने नै हुन्छ ।
उपसंहार
विष्णु ! जीवनका जस्केलामा भेटिएका छौँ । अब म यो आलेखको अन्तिम सर्गमा आइपुगेको छु । मैझारो गर्न खोज्दैछु । त्योभन्दा पहिले यो ‘फेसबुक आईडी’ लघुकथासङ्ग्रहका बारेमा भन्नु पर्दा यो कृति नेपाली लघुकथा साहित्यको फलकमा उम्दा बनेको छ । समकालीन लघुकथाका कृतिमा कुनै पनि मानेमा कमजोर छैन यो कृति । लघुकथा संसारमा प्रचलित वा देखा परिरहेका लघुकथाको सरदर स्तरभन्दा धेरै उपल्लो दर्जाको पाएको छु । किन भने यो सङ्ग्रहमा समेटिएका लघुकथाहरूमा केहीलाई छोडेर प्रायः लघुकथाहरू राम्रा छन् । अब्बल छन् । ती मध्ये पनि पक्राउ पुर्जी, माइत, माया, साहस, केकाम ?, सल्लाह, समाजसेवा, अंशवण्डा, कमाइ, कोरोना, परिवर्तनको नारा, महसुस, नारी दिवश, छिमेकी, आदि मलाई अति मन परेका लघुकथा हुन् ।
भाषामा सलीलता छ । ठेट शब्दको प्रयोगले लघुकथालाई सुन्दर बनाएको छ । पूर्वेली ढप मजाले आएको छ । याने स्थानीयता उजागर भएको छ । आफ्नो माटोको सुगन्ध आएको छ । माटोको सुगन्ध भनेको ‘डाउन टु अर्थ’ हो । आफू बाँचेको धरातलको माया पनि हो । शिक्षक पेसा अपनाएका कारणले स्कुल, विद्यार्थी तथा समग्र शैक्षिक परिवेश आएको छ । वास्तवमा नेपालको शिक्षाप्रणालीमा निकै सुधार आवश्यक छ । विद्यार्थी अनुकूलको शिक्षा प्रणालीको विकास हुन अझै सकेको छैन । त्यसो भएकाले शिक्षण सिकाइका अन्तर्यभित्र पसेर विद्यार्थीका मनोविज्ञान मात्र होइन, त्योसँग सम्बन्धित भएर आउने शिक्षक, प्रशासन, अभिभावक तथा समग्र परिवेशको मनोविज्ञानमा पनि कलम चलाउनु है अब ।
विषयवस्तुमा सामाजिक कथानक धेरै छन् । समाज भन्नु निकै ठूलो घेरा भएको शब्द हो । समाजमा हरेक खाले मान्छे बस्छन् । तिनले सोच्ने धरातल र मेसो पनि फरकफरक हुन्छन् । तर स्रस्टाले जहिले पनि अग्रगम्यताको पक्षमा नै लेख्नु पर्छ । यस कारणले पनि होला यो लघुकथासङ्ग्रहमा सामाजिक कथावस्तु सुन्दर र चुस्त तरिकाले आएका छन् ।
सङ्ग्रहभित्र महिलासँग सम्बन्धित घटना परिघटना उजागर भएका छन् । यो संसार महिला तथा पुरुषको संयुक्त साझे फलक हो । त्यसैले दुवैले आत्मसम्मानका साथ यो संसारमा बाँच्न पाउनु पर्छ । जाहिर छ कि संसार प्रायः पुरुषप्रधान छ । यसका ऐतिहासिक कारण छन् । महिलालाई शतप्रतिशत मान्ने विचारले हेरियो भने मात्र महिलामुक्ति सम्भव छ । अर्धाङ्ग अर्धाङ्गिनी फर्मुलाले पूर्ण महिलामुक्ति सम्भव छैन । महिला तथा पुरुष दुवैलाई शतप्रतिशत र स्वतन्त्र अस्तित्वका रूपमा बुझ्नु र बुझाउनु वर्तमानको समतामूलक समाजको अपरिहार्य तत्त्व हो । त्यसैले विचारमा प्रस्ट भएर अब साहित्य सिर्जना गर्न अनुरोध गर्दछु । विचार भन्नु कुनै राजनीतिक सिद्धान्त मात्र होइन बरु आफूले चाहेको समाज निर्माण गर्न गरिने÷लेखिने प्रयत्न हो ।
अन्त्यमा, विष्णु ! यो कृति निकै राम्रो बनेको छ । मैले मजाले पढेको छु । पाठकलाई यो कृति अब्बल लाग्ने कुरामा मलाई शंका छैन । त्यसैले यो कृतिको सफलताको शुभकामना तथा अर्को झन् परिपाक पुगेको लघुकथासङ्ग्रहको अपेक्षा गर्छु । किन भने अर्कोअर्को कृति पढ्न पाउनु पर्छ भन्ने कुरा पाठकको अधिकार हो भने अन्य स्तरीय कृति सिर्जना गर्नु स्रस्टाको दायित्व हो ।
अब चाहिँ साँच्ची अन्त्यमा छु । जिन्दगीका जस्केलामा भेट भयो । यो लघुकथासङ्ग्रहले भेट गरायो । समयले भौतिक भेट पनि गराउने छ विष्णु । अग्रगामी सामग्री पस्किन सक्नू । यही शुभ कामना छ ।
(सान मार्कोस, अमेरिका)