कारागार भनेको थरि थरिका अपराधीका साथसाथै निरपराधीको पनि बासस्थान हो । निवास हो । वास्तवमा जेल बाहिर बसेका मान्छे सबै निर्दोष हुन्छन् भन्ने कृुरा पनि होइन र जेलभित्र परेका सबै मान्छे दोषी हुन्छन् भन्ने कुरा पनि होइन । कति अवस्थामा त खुँखार अपराधी पनि छाडा साँढे जस्तै बाहिर डुक्रिँदै हिँडिरहेका हुन्छन् जवकि कति निरापराध व्यक्ति पनि जेलको कालो कोठरीमा कष्टकर जीवन बाध्य भइरहेका हुन्छन् ।
हरेक कुराको आयु भए जस्तै कारागारको पनि आयु हुन्छ । राणाकालमा बनेको भैरहवाको कारागार जीर्ण अवस्थामा पुगेको भए पनि त्यसलार्ई मर मरम्मत गर्ने कार्यमा सम्बन्धित निकायको ध्यान आकृष्ट भएको देखिन्न । आज सत्ताको बागडोर सम्हाले पार्टीका कति ठूला ठूला नेताहरूको समेत हिजो यो निवास्थान भएको थियो । बासस्थान भएको थियो । उनीहरूको समेत यसको जिणोद्धारप्रति ध्यानाकृष्ट हुँदैन भने अरु कसको होस् । सुंगुरका खोर समेत साफ सुघ्घर राख्नुपर्दछ भन्ने यो जमानाको अवधारणा हो । मान्छेले नै मान्छेको स्थान पशुभन्दामाथि निर्धारण गरेको देखिन्छ । तर भैरहवाको मात्र होइन देशका अधिकांश कारागारको अवस्था सुंगुरको खोरभन्दा पनि गएगुज्रेको देखिन्छ । खतम देखिन्छ ।
संत बहादुर राना मगर यही सुंगुरको खोरभन्दा पनि गएगुज्रेको कारागारमा कैदी भएका छन् । उनी गोबधका अपराधमा कैद भएको हुन् । उनीमाथि लागेको गोबधको अपराधको दण्ड सजाय स्वरुप उनलाई पुरै बाह्र बर्षसम्म भैरहवा लगायत सरकारले तोकेका विभिन्न कारागारमा स्थानान्तर भइरहनु पर्ने छ । उनीसितै गोबधका अपराधमा थुनिएका उनकै छिमेकी मन बहादुर पुन मगर भने अदालतबाट सफाई पाएर छुटेका छन् । सुनिन्छ उनलका आफन्तजनले कता कताबाट केही पैसाको जोगाड गरी सम्बन्धित ठाउँमा बुझो लगाएको हुनाले उनले गोेबधको अपराधबाट छुटकारा पाएका हुन् । संत बहादुरको परिवारले केही रकमको इन्तजाम गर्न सकेको भए गोबधको अपराधबाट उनले पनि सफाइ पाउँथे होला । उनका परिवारले मागिएको रमम जुटाउन सकेनन् । उनी गोबधको अपराधमको अभियोगमा दण्डित हुन वाध्य भए । सुकुम्बासी बस्तीमा भाडा घरमा बसी मेहनत मजदुरी गरेर परिवारको साँझ बिहानको छाक जुटाउने घरमूली संत बहादुर राना मगर नै जेल परे पछि बेसहारा बनेको उनको परिवार अन्ततः आफ्नै आफन्तीको आश्रय खोज्दे बम्बई पुगेको थियो । संत बहादुरको परिवार लाखापाखा भएको थियो ।
निश्चित रुपमा संतबहादुर राना मगर गोबधको अपराधमा संलग्न थिए । तर गोबध उनको इच्छा वा निर्णयको आधारमा भए गरिएको भने थिएन । भएको के थियो पनि उनकै घरमा पालेको गाईको बाच्छोको बध गरिएको थियो । मारिएको गाईको बाच्छो खुदै संत बहादुर राना मगरको भने थिएन । उनले छिमेकी शिब बहादुरको आग्रहमो गाईको बाच्छो आफ्नो घरमा ल्याएर पालेका थिए । खास गरी मन बहादुर मगर कै जोर बलमा उनी गाईको बाच्छो काटेर खान तयार भएका हुन् ।
संतबहादुर राना मगर भूतपूर्व माओवादी थिए । उनी जनमुक्ति सेनामा प्रवेश गरेर अर्घाखाँची, पाल्पा म्याग्दी लगायतका कैयौं युद्ध मोर्चामा सक्रियतापूर्वक हिस्सा समेत लिएका थिए । त्यतिबेला भूमिगत माओवादीहरूले गाई गोरु भैसी रांगा जे पाइन्छ मारेर खाने गरेका थिए । यहाँसम्म कि उनीहरूले कसैले मरेर गाडेको गाई गोरु भैसीको सिनो भेटे भने त्यो पनि खनेर खोस्रेर बाहिर निकाली भतेर लाएर खाएका थिए । शायद यो उनीहरूको चाहनाभन्दा पनि आवश्यकता भएको थियो । बाध्यता भएको थियो । सरकारको उर्दी थियो माओवादी प्रभावित क्षेत्रमा खाने लाउने कुनै कृुरा नलैजानु । भारतले नेपालमाथि नाकाबन्दी लगाए जस्तै तत्कालीन नेपाल सरकारले माओवादी प्रभावित क्षेत्रमा नाकाबन्दी लगाएको थियो । त्यतिबेला माओृवादीहरूले मात्र होइन त्यहाँ बसोबासो गर्ने सर्व साधरण जनताले समेत आफू ढुंगे युगमा भएको अनुभूति गरेका थिए । पत्र पत्रिका समेत यस्ता कुरा पढ््न पाइन्थ्यो ।
सुरक्षाकर्मीको कडा निगरानी रहेको हुनाले ब्यापारीहरूले माओवादी प्रभावित क्षेत्रमा खाद्य बस्तुका साथसाथै कपडा लत्ता जुता मोजा लैजाने हिक्मत गर्दैनथे । यो खतरनाक काम थियो । माओवादीलाई चामल दाल बिक्री गरेको आरोपमा व्यापरी समेत सुरक्षाकर्मीको गोलीबाट मारिने समेतका घटना घटेका हुनाले माओवादी प्रभावित क्षेत्रको नाकाबन्दी भारतले नेपालमाथि लगाएको नाकाबन्दीभन्दा हजार गुना कडा थियो । शायद यही भएर पनि होला माओवादीहरू भोकको आगो निभाउन पनि गाई गोरु भैंसी रांगा जे भेट्दछन मारेर खान थालेका थिए । त्यतिबेला उनीहरूले सरकारको कुनै कानून नमान्ने हुुुनाले पनि कुन कुरा कानूनले बैद्य मान्दछ कुन अवैद्य त्यससित उनीहरूको कुनै सरोकार हुँदैनथ्यो । फेरि त्यतिबेला उनीहरूको आफ्नैै कानून थियो । आफौ सरकार थियो । आफ्नै अड्डा अदालत थिए । जन अदालत थिए ।,आफ्नै शासन थियो । त्यतिबेला निश्चित ठाउँहरूमा माओवादीहरूको राज नै थियो ।
यही भएर पनि संत बहादुर राना मगरलाई गोबध असहज कुरा जस्तो लागेको थिएन । एक रात मन बहादुर पुन मगर र उनको छिमेकी धन बहादुर सार्कीले उनले पालेको गाईको बाच्छो चुपचाप काटेर खाउँभन्दा उनले बिरोध जनाउन सकेनन् । उनीहरूले योजना बनाएर सुकुम्बासी बस्तीका केही छिमेकीलाई समेत सामेल गराई गोबध गरे ।
संत बहादुरलाई गोबध गर्न उक्साउनेमध्येका मन बहादुर पुन मगर ६ बर्ष जति शिलाङ बसेर नेपाल फर्केका हुन् । उनले शिलाङमा ६ बर्षसम्म लगातार शरीरभरि रगत र पसिनाका धारा चुहाउँर्द गोरुको मासु बोकेका थिए । पशुबधशालाबाट गोरुको मासु डोकामा बोेकेर बडाबजारसम्म पुराउँदा उनको शरीरबाट प्राण फुस्केला जस्तो हुन्थ्यो । ती दिन संझिंदा अहिले पनि मन बहादुर पुन मगरेको आङ जिरिङ्ग गर्दछ । शिलाङको सलटरिङ हाउसमा दिन दिनै दर्जर्नाै गाई गोरु काटिन्थे र बिफ बोक्ने अधिकांश मजदुृर नेपाली नै हुन्थे । मन बहादुरले विफ खान शिलाङमा नै थालेका हुन् । नेपाल फर्के पछि भने उनले गोरुको मासु चाख्न पाएका थिएनन् । सुँघ्न पाएका थिएनन् ।
सुकुम्बासी बस्तीमा मन बहादुरको हैसियत सम्बन्धित निकायमा पैसाको बुझो लगाएर बाहिर निस्किने त अवश्य थिएन । तर पनि उनका आफन्तीले चन्दा उठाएर भए पनि पैसाको जोहो गरी उनलाई सफाई दिलाएर जेलमुक्त गराएका थिए ।
संत बहादुृरहरूले हरैयाको जंगलमा रातिको बेलामा अत्यन्त गोप्य रुपमा गोबध गरेको भए पनि अन्ततः कुरा प्रहरीको कानसम्म पुग्यो । शिव बहादुृरले पाल्न दिएको गाईको बाच्छो संतबहाद्ुरहरूले मारेर खाएको चाल पाए पनि उनी चुपचाप किन पनि बसेको थिए भने उनलाई लागिरहेको थियो गोबध जस्तो गंभीर अपराधको खुलासा भयो भने लहरो तान्दा पहरो समेत गर्जिन सक्दछ । तर पनि कुनि कताबाट कुरो एक कान दुुई कान हुँदै पुलिसको कानसम्म पुग्यो । पुलिस उनको दैलोमा आयो र उनलाई जाहेर दिन लगायो । पुलिसको दबाबमा परेर नै शिबहादुरले गोबधको सम्बन्धमा पुलिसमा जाहेरी दिएका थिए । जाहेरी पनि पुलिसले आफै तयारी पारेको कागज थियो । शिवबहादुरले त जाहेरी दरखास्त नपढी प्रहरीले जहाँ जहाँ सही छाप गर्न भन्छ त्यहीं त्यही सही छाप गरिदिएका थिए । जाहिरी पर्नासाथ सन्तबहादुर, मन बहादुर लगायतका गाउँका केही युवकहरू पक्राऊ परे । केही राता रात फरार भए । पक्राउ परेका मध्ये केहीलाई भने सामान्य सोधपुछ पछि प्रहरीले छोडिदिएको थियो । बाँकीमाथि गोबधको मुद्दा चल्यो । अन्ततः मन बहाद्र सफाई पाएर बाकाइदा थुनामृुक्त भए पनि संत बहादुर मागिएको ठाउँमा मुख बुझो लगाउन नसकेको हुनाले गोबधका अपराधमा दण्डित हुन वाध्य भए । कैद हुन वाध्य भए ।
जाहेरवाला शिव बहादृुरले प्रहरीको दबाबमा संत बहादुर र मन बहादुरका साथसाथै धन बहादुर दल बहादृर र बल बहादृुर माथि किटानी जाहेरी दिएका थिए । धन बहादुर दल बहादृुर र बल बहादुर फरार भएका हुनाले उनीहरू प्रकाउ परेनन् । शिव बहादुरले पुलिसको दबाबमा पुलिसले नै तयार पारेको जाहेरी दरखास्त दिएको भए पनि अदालतमा बयान दिंदा भनेका थिए संतबहादुर र मन बहादुरहरूले गोबध गरेको नदेखेको , कसले गोबध गर्यो त्यसको जानकारी उनलाई नभएको प्रहरीको दवाबमा परेर नै प्रहरीले नै तयार पारेको जाहेरी दर्खास्तमा सही छाप लगाएको मात्र हो ।
गोबधको अपराधमा जेल परेका संत बहादुर सबभन्दा बढी आक्रोशित आफ्नै माओवादी पार्टीसित हुन गएका थिए । आफ्नै पार्टीका नेतासित भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनको परिवार केही समय त माओवादीले युद्धकालमा कब्जा गरेको जमिन्दारको जग्गामा ढुक्कसित बसोबासो बसिरहेको थियो । तर पछि माओवादीले कब्जा गरेको जमीन जमीन्दारलाई फिर्ता गरिदिए पछि उनी सुकुम्बासी बस्तीमा भाडाको छाप्रामा गुुजारा चलाउन वाध्य भएका थिए ।
अनमिनले उनलाई अयोग्य ठहर गरिदिएको हुनाले उनी नेपाली सेनामा भर्ती हुन पनि सकेनन् । सरकारले दिएको दुई चार पैसाले परिवार चलाउन संभव थिएन । तैपनि उनले मेहनत मजदुरी गरेर परिवारका मुखमा जसरी तसरी माड पारिरहेका थिए । संत बहादुर आफ्नो पार्टी र खास गरी आफ्ना नेताहरूसित किन पनि आक्रोशित थिए भने आफ्नो पार्टीको सरकार हुँदा पनि उनलाई जेलबाट छुटाउन कुनै पहल गरेन । उनको परिवार लाखापाखा भयो । उनको केही गर्छु भन्ने उमेर जेलमा नै बित्ने भयो । उनलाई के पनि लागिरहेको थियो भने उनी पकडाउ परको बेलामा पार्टीले पैसा जुटाइदिएको भए उनले अदालतबाट सफाई पनि पाउन सक्दथे । उनी मन बहादुर पुन मगर जस्तै जेलबाट सफाई पाएर छुट्न पनि सक्दथे ।
कारागार भनेको ठाँटी पौवा जस्तो ठाउँ पनि हो । ठाँटी पौवामा कैयौं यात्रीहरू आउँछन् । जान्छन् । यति हो ठाँटी पौवामा बास बस्न आउने यात्रीहरू एक दिन वा एक रात बसेर जान्छन् । तर कारागारमा आउने जाने यात्रीहरू एक दुुई दिन एक दुई महिना एक दुई बर्ष वा आजीवन नै बास बस्न पनि सक्दछन् ।
जब कारागारमा कोही नयाँ पाहुना आउँछ उसको निकै धेरै खातिरदारी हुँदो रहेछ । उसको निकै धेरै सोधी खोजी हुँदोरहेछ । ऊ को हो ? ऊ कहाँबाट आयो ? ऊ कस्तो मान्छे हो ? उसमाथि के अभियोग लागेको छ ? उसले कस्तो सजाय भोग्दै छ । ऊ कारागारमा कति दिनको अतिथि हो ?
हर्क बहादुर भर्खर भैरहवामा कारागारमा कैदीहरूको पाहुना हुन आएको थियो । उसले कारागारमा पाइला राख्नासाथ कैदीहरूले उसको कसुरबारे जानकारी लिन चाहे । जेलमा उसको एक प्रकारले अन्तरबार्तांं जस्तो भयो । थाहा भयो ऊ पनि संतबहादुर राना मगर जस्तै गोबधको आरोपमा पकडाउ परेर जेल चलान गरिएको रहेछ । संत बहादुर र हर्क बहादुर दुबै जना गोबधका आरोपमा जेल परेको हुनाले उनीहरूबीच दोस्ती बढ्नु स्वाभाविक नै थियो । उनीहरूबीच आत्मीयता बढ्नु स्वाभाविक नै थियो ।
हर्क बहादुरसित हात मिलाउँदै संत बहादुरले भने– तिम्रो गोबधको अपराध प्रमाणित भयो भने त तिमी पनि म जस्तै बाह्र बर्ष कारागारको पाहुना बन्ने होला होइन ?
जबावमा हर्क बहादुरले केही हर्षित हुँदै भन्यो – होइन होइन ममाथि लागेको गोबधका आरोप प्रमाणित भयो. भने पनि मलाई तीन बर्षभन्दा बढी कैदको सजाय ह्ुन सक्दैन । नयाँ मुलुकी ऐन (नयाँ फौजदारी संहिता ऐन )ले गोबधको कसुरमा तीन बर्षभन्दा बढी कैद बस्नु पर्दैन ।
तिमी त निकै भाग्यमानी रहेछौ हर्कबहादुर । तिमीमाथि लागेको गोबधको आरोप ठहरे पनि तिमीलाई तीन बर्षभन्दा बढी जेल बस्न पर्दोरहेनछ । तिमी त मभन्दा पहिले नै जेलबाट छुट्ने रहेछौ ।
हर्क बहादुरको अनुहारमा मोनालिसाको जस्तो नजानिंदो मुस्कान छरिए पनि संत बहादुर राना मगरेको अनुहारमा भने खिन्नता देखिन्थ्यो । शायद उनी सोचिरहेका थिए उनलाई भाग्यले जताततै ठगेको छ । यस्तो कानुन पहिले बनेको भए त उनी यतिबेला जेलमुक्त भैसकेका हुन्थे । आफ्नो बिचल्ली परेको परिवारको सम्पर्कमा पुगिसकेका हुन्थे । परिवारको उद्धार गर्न सक्दथे । उनलाई आफ्नोभन्दा पनि बढी चिन्ता आफ्नो परिवारको भइरहेको थियो ।
(रुपन्देही)