(२०२१ सालमा ‘चुलिजाः गुस्वाँ’ अर्थात् ‘टुसाउँदै गरेको फूल’ प्रकाशन गरेर साहित्यिक यात्रामा निस्किएका मोहन दुवालका अहिलेसम्म ‘आलोचना र परिचय’ (समालोचना), ‘साहित्यिक चिन्तनहरू’ (समालोचना), ‘गर्भका रहस्यहरू’ (निबन्धसङ्ग्रह), ‘घामका छिर्काहरू’ (बाल कवितासङ्ग्रह), ‘बस्तीमा राख्नु हुँदैन बाघहरू’ (कवितासङ्ग्रह), ‘संचेतका धुनहरू’ (कवितासङ्ग्रह), ‘कविताका अक्षरहरू’ (कवितासङ्ग्रह), ‘सिर्जनाका फूलहरु’ (मुक्तकसङ्ग्रह) लगायत तिसोटा कृति प्रकाशित छन् । शरद बनेपा, किरण श्रेष्ठ, बहादुर, लाल किरण, शरद श्रेष्ठ, प्रतिमा श्रेष्ठ, सौरभ शर्माजस्ता विविध उपनामबाट साहित्य सिर्जना गरेका मोहन दुवाल कुनै समय चर्चित समालोचक थिए ।
उनले चार दशकदेखि निरन्तर रूपमा ‘जनमत’ मासिक निकालिरहेका छन् । जीवनलाई नै साहित्य र साहित्यिक पत्रकारितामा होमेका मोहन दुवाल केही समय पहिले सम्पन्न साहित्यिक पत्रकार सङ्घको केन्द्रीय अध्यक्षमा चुनिएका छन् । यसपल्ट यिनै अथक साधक मोहन दुवालसँग साहित्य र साहित्यिक पत्रकारिताका विविध विषयमाथि केन्द्रित रहेर साहित्यकार विष्णु भण्डारीले गरेको काव्यिक संवाद यहाँ प्रस्तुत गरेका छौँ )
मोहन दुवालमा मुख्यगरी कवि, समालोचक र सम्पादक प्रतिभा भेटिन्छन् । बताइदिनुहोस् न तपाईं आफूलाई म के हुँ भन्ने लाग्छ ?
सङ्क्षेपमा भन्नुपर्दा म आफूलाई साहित्यकार तथा साहित्यिक पत्रकार मात्र हुँ भन्न रुचाउँछु । विभिन्न साहित्यिक विधामा कलम चलाइरहन्छु । करिव ६० वर्ष भयो मैले लेख्न सुरु गरेको । आ–आफ्नै ढङ्गले विभिन्न कोणले पत्रकार, समीक्षकहरु मलाई हेर्ने गर्छन् र आ–आफ्नो ढङ्गको मप्रति टिप्पणी र व्याख्या गर्छन् ।
तपाईंका अहिलेसम्म तिसोटा कृति प्रकाशित छन्, साहित्यलाई नै जीवनको आराधना बनाएर छ दशक बिताउनु भयो, जीवनदेखि सन्तुष्ट हुुनुहुन्छ ?
साहित्य नै मेरो जीवन बन्यो; जीवनमा साहित्य नै मेरो कर्म बन्यो । अहिलेसम्म जीवनमा कहिल्यै पनि थकान महसूस भएन । सन्तुष्टि गर्न जानेकैले असन्तुष्टि मनमा राख्नु परेन ।
कुनै समय साहित्यकार खगेन्द्र सङ्ग्रौलाले ‘म शरद बनेपाको असामयिक मृत्युमा शोकाकुल भएँ । अब शरद बनेपा छैनन्, मोहन दुवाल मात्र बाँकी छन्’ भनेका रहेछन् । के उनले भनेजस्तै तपाईंभित्रको शरद बनेपा उहिल्यै मरेको हो ?
माथि भनेजस्तै थुप्रैले मेरो जीवन, मेरो लेखनबारे आ–आफूले बुझेअनुसार, आफूलाई लागेअनुसार टिप्पणी गरेका छन् र गर्दैछन् । मित्र खगेन्द्रजीलाई शरद बनेपा मन परेजस्तै मोहन दुवाललार्ई मन पराउनेहरु पनि हजारौं छन् । पंचायती कालमा ‘शरद बनेपा’को नाम राखेर आफ्ना लेख–रचनाहरु छाप्ने गरेकोमा अहिले आफूलाई लुकाउन नपर्दा मोहन दुवालकै नामले लेख्न थालेको छु र आफ्नो विचार प्रस्तुत गर्दैछु । आखिर शरद बनेपा पनि त मोहन दुवाल नै हो, मोहन दुवाल आफैंले राखेको नाम हो शरद बनेपा ।
त्यस्तो कुन कारण थियो जसले अस्वीकृत जमात र राल्फा आन्दोलनको मात्र नभएर त्यो समयका जल्दाबल्दा साहित्यकार दौलतविक्रम विष्ट, मनबहादुर मुखिया र वैरागी काइँलाहरूको खरो आलोचना गर्नसक्ने हैसियत बनाएको शरद बनेपा मोहन दुवालमा परिवर्तन हुन बाध्य भयो ?
त्यसताका कट्टर आलोचक भएर आलोचना लेखेँ र अहिले म कट्टर आलोचक भइनँ । अहिले मानवीय संवेदनालाई व्यक्त गर्ने भावनाले साहित्य लेख्न, प्रचारप्रसार गर्न र साहित्यकारहरुको सम्मान गर्न ‘जनमत’लाई तीखो अस्त्रका रुपमा प्रयोग गरिरहेको छु ।
२०२१ सालमा ‘चुलिजाःगुस्वाँ’ अर्थात् ‘टुसाउँदै गरेको फूल’ प्रकाशन गर्दा र अहिलेको अवस्थामा निश्चय पनि भिन्नता छ, त्यतिखेरको साहित्यिक माहोल र अहिलेको अवस्थालाई दाँजेर हेर्दा तपाईंलाई कस्तो लाग्छ ?
विज्ञान र प्रविधिले गर्दा २०२०–२०२१ सालताकाको परिवेश र अहिलेको परिवेशमा निकै फरक देखिनु अस्वाभाविक देखिंदैन त्यसैले स्वाभाविक ढङ्गको लेखाइमा, अभियानमा भिन्नता छ ।
तपाईं स्वयंले साहित्यिक पत्रकारिता गरेको झण्डै चार दशक भयो, तर साहित्यिक पत्रकारिताको स्तर अहिले झनै नाजुक अवस्थामा पुगेको छ । यस्तो हुनुको पछाडिको कारण के होला?
साहित्यिक पत्रकारितामा स्तर विकास भएजस्तो नदेखिनु अस्वाभाविक मानिदैन किनभने राज्यले अरु पत्रकारितालाई दिएजस्तो सहयोग नहुनु, लगानीकर्ताहरु कोही पनि अग्रसर नहुनु र ‘साहित्य’मा सर्वसाधारणको पहुँच नपुग्नुले साहित्यिक पत्रकारिताको रुप र रङ्ग सुकिलो/मुकिलो नहुनु स्वाभाविकै छ ।
तपाईंलाई लाग्दैन, साहित्य र साहित्यिक पत्रकारितालाई हेर्ने नेपाल सरकारको दृष्टिकोणमै समस्या छ ।
भन्दै आएको छु, भन्दै पनि छु – राज्यबाट साहित्यिक पत्रकारितालाई हुनुपर्ने सहयोग खासै भएको छैन । साहित्यिक पत्रकारितामाथि सौतेनी व्यवहार नेपाल सरकारबाट हुँदै आएको छ– जुन अशोभनीय देखिन्छ ।
भर्खर साहित्यिक पत्रकार संघको सम्मेलन भएको छ, सम्मेलनबाट तपाईं अध्यक्षमा चुनिनु भएको पनि छ, साहित्यिक पत्रकारिताको विकासमा तपाईंका योजना संक्षिप्तमा बताइदिनुहोस् न ।
साहित्यिक पत्रकारितामा मन राखेको २०२७ सालमा प्रकाशित ‘विगुल’ देखि हो । ‘विगुल, वेदना, उत्साह’हुँदै ‘जनमत’ मासिकलाई देश/देशमा समेत पुर्याइरहन पाएकोमा गौरव गरेर भन्ने गर्थेँ– म साहित्यिक पत्रकार हुँ । यसर्थ; ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’ को अध्यक्षमा निर्विरोध निर्वाचित हुनपाउँदा मैले गौरव गरेँ र खुसी भएँ ।
मेरो कार्यकालमा मैले गर्ने योजनाहरू यसप्रकार छन्–
(१) पहिलोचोटी देशभर दर्ता भई प्रकाशित भएका साहित्यक पत्रिकाहरुको तथ्याङ्क निकाल्ने काममा जुट्ने र सकेसम्म सबैलाई संस्थामा भित्र्याउने ।
(२) ७ वटा प्रदेशमा नेपाल साहित्यिक पत्रकार सङ्घको प्रदेश समिति बनाउने ।
(३) नेपाल साहित्यिक पत्रकार सङ्घका सदस्यहरुलाई परिचयपत्र वितरण गर्ने लगायत गर्न सकिने, गर्न आवश्यक कामहरु थाल्ने योजना छ ।
योजना बताइरहँदा नेपाली साहित्यिक पत्रकारिताको विकास र पवद्र्धनमा यो कार्यसमिति सफल हुन्छ भन्नेमा तपाईं विश्वस्त हुनुहुन्छ ?
साहित्यिक पत्रकारिताको विकास र प्रवर्द्धनमा यो समिति सक्रिय रहने र गर्नुपर्ने कार्यहरुमा सक्रिय रहने कुरामा म विश्वस्त छु ।
सम्मेलनमा देशभरिका प्रतिनिधिको समानुपातिक प्रतिनिधित्व भएन, खबर नगरिँदा केन्द्रीय समितिका कतिपय सदस्यसमेत सम्मेलनमा अनुपस्थित हुनपुगे भन्ने चर्चा छ । किन यसरी हतारोमा गर्नुभएको सम्मेलन ?
कोरानाको सङ्कट देशले भोगेजस्तै साहित्यिक पत्रकारिताले पनि भोग्नु परेको कारणले र २ वर्ष ढिला मात्र सम्मेलन गर्न पाएको अप्ठ्यारो स्थितिमा पनि तयारी समिति गठन भयो । त्यही सम्मेलनबाट घोषणा भएअनुसारको नयाँ कार्यसमिति बन्यो । कसैलाई लाखापाखा लगाउने, कसैलाई पन्छाउने हाम्रो कहिले पनि षड्यन्त्र र हतारो भएन । दर्ता भएका साहित्यिक पत्रिकाका २–२ जना प्रतिनिधिहरुलाई समेट्ने र सक्रिय हुन चाहने सबै साहित्यिक पत्रकारहरुलाई गोलबन्द गर्ने ध्येयका साथ सम्मेलनको आयोजना गरियो । देशभरका समानुपातिक प्रतिनिधित्व गर्ने हाम्रो योजना छ, जुन निकट भविष्यमा पूर्ति हुँदै जाने छ ।
साहित्यिक पत्रकार संंघमा अलगअलग पार्टीको सदस्यता बोकेर हिँड्ने र गुटउपगुटमा विभाजित साहित्यिक पत्रकारहरूको बाहुल्यता देखिन्छ, यस्तो विभाजित मानसिकतालाई कसरी मिलाएर लग्ने सोच्नु भएको छ ?
नेपाल साहित्यिक पत्रकार सङ्घ देशभरका साहित्यिक पत्रकारहरुका लागि साझा थलो हो । यो कहिले पनि पार्टीगत गुट–उपगुटमा विभाजित रहेन र भविष्यमा पनि रहने छैन । पार्टीको निर्देशनमा, पार्टीगत आधारमा यस सङ्घमा सदस्यता वितरण कहिल्यै भएको छैन र भविष्यमा पनि यस्तो प्रवृत्तिलाई निरुत्साहित तुल्याउँदै जाने हाम्रो उद्देश्य छ ।
अलिकति प्रसङ्ग बदलौं, तपाईंले जनमत साहित्यिक मासिक निकाल्न थालेको पनि चार दशक पूरा भयो । यति लामो समय नियमित रुपमा काम गर्दा के पाएँ, के गुमाएँ जस्तो लाग्छ ?
हालसम्म ‘जनमत’ मासिकको २८९ औं पूर्णाङ्क प्रकाशित भइसकेको छ । २०४५ माघ महिनादेखि निरन्तर साहित्यिक मासिक निकाल्न पाउँदा खुसी अनुभव भएको छ । प्रत्येक महिना जनमत निकाल्न पाउँदा गौरव हुने गर्छ र साँच्चीकै केही गर्न पाएँजस्तो प्रतीत हुन्छ । नाम पाएँ, राष्ट्रले चिन्यो यही पाउनु नै मेरा लागि ठूलो उपलब्धि हो ।
जनमत पत्रिकाले व्यक्ति र जिल्ला विशेष अङ्क पनि निकालेको छ, नियमित रुपमा साहित्यको विकास र प्रवद्र्धनमा काम पनि गरेको छ । तर जनमतको स्तरीयता खस्कँदै गयो भन्नेहरु पनि छन् । सबैको प्रिय हुँदा कसैको पनि नहुने समस्या त हैन ?
‘जनमत’ मासिकमा सबैजसो जिल्लाका विशेष अङ्कहरु प्रकाशित गर्दै जाने उद्देश्यका साथै मोफसलका साहित्यकर्मी÷लेखकहरु र ओझेलमा परेका साहित्यकारहरु समेटेर विशेष अङ्कहरु निकाल्दै जाने हाम्रो उद्देश्य हो । हाम्रो अर्थात् जनमतको कहिल्यै कसैमाथि पूर्गाग्रह रहेन । जनमतले जाति, लिङ्ग, क्षेत्र, पार्टीगत विचारको सीमामा कैद रही साहित्य सेवा गर्ने कहिल्यै दृष्टि नै बनाएन । ‘जनमत’मानवीय समुदायका हीतमा, देशको प्रगति र उन्नतिमा सधैं–सधैं समर्पित रही सेवा गर्न दत्तचित्त रहिरहने छ । जनमतका अङ्कहरु हेर्दै गएमा थाहा हुन्छ जनमतको स्तरीयता बढ्यो या घट्यो ? जनमतलाई अझ स्तरीय बनाउँदै जाने र व्यापकतामा लैजाने भन्ने सन्दर्भमा हामी प्रयत्नशील छौं ।
अन्त्यमा यो विषयमा केही भन्न पाए हुन्थ्यो भन्ने लागेको छ भने भन्नुहोस् न ।
साहित्यको सेवा गर्नेहरुले कहिले पनि पूर्वाग्रही भई अरुहरुको मूल्याङ्कन गर्न खोज्नु हुँदैन । साहित्य सबैलाई आवश्यक रहेर पनि राज्यबाट र सबैबाट पर पन्छाइएको विषय हो । यसैगरी साहित्यिक पत्रकारहरु राज्यबाट असमान व्यवहार भोग्न वाध्य छन् । यसलाई चिर्नु साहित्य र साहित्यिक पत्रिकालाई माया गर्ने सबैको कर्तव्य हो ।